ऋणले निचोरिएको मान्छे,कविता :डिल्लीराम अम्माई

जवानीको सूर्य उदाउनुपूर्व
बैंसका उर्वर लहरहरूमा
उन्मत्त बनेर हराउनुपूर्व
म ऋणले निमोठिएको थिएँ ।
सुत्ने बेलामा सोचिरहन्थेँ
बिहान कसरी बिताउने होला
के भनेर हाकिमकी श्रीमतीलाई
अर्काे हप्तासम्म ऋण थामिदिनुस् भन्दै
विनयी हुँदै मनाउने होला ।

बिहान उठ्ने बित्तिकै
देवघाटबाट घाम उदाउनेबित्तिकै
सूर्यको मुस्कानबाट तर्सिने गर्थें,
एक एक पलमा दिन फलेको देखेर
डर त्रासले म लगलगी काँप्थेँ,
एक्काइस वर्षपछिको मेरो दिनमा
मेरा कपालका रौँहरू
फिटिक्कै कोरिन मान्दैनथे
मेरो उमेरसँगै बढेको जवानी
ढुङ्गामा ठोक्किएको तामाझैँ
प्रौढझैँ नुघेको थियो

उज्यालोले तर्साउँथ्यो
घरबाट भगाउँथ्यो र उदास कल्पना भर्दै
तनभरि खलबल
पाखातिर हल्लाउँथ्यो
ऋणको भारी बोकेको गह्रँुगो मन लिएर
नयाँ ऋणदाताको खोजीमा भौँतारिन्थेँ
हार गुहार र अनुरोध
निर्मोही ठक्कर सुनाउँथे  ।

तल्लो चोकदेखि तल
नारायणीको छेउसम्म
घरको तलाबाट पनि हेरिन,
ती मेडम हिँड्ने बाटोमा
पुगेर पनि स्वास फेरिन
ऋणको डरले होकी
थर्काइले किचिएर मुर्छा परेको
स्वाभिमान नब्युँझिएर हो
गाउँ नै ब्युँझिने कर्कस गाली
भूतको झैँ डर लाग्थ्यो उनको
खुला आकास भएर पनि
मेरो आकास बन्द थियो,
खुल्ला धरती भएर पनि
धरतीका बाटाहरू बन्द थिए ।

अन्धो नभएर पनि ज्योति थिएन आँखाहरूमा
निसासिँदै थिए थुनिएका रहरहरू
मनका कल्पनाले लय बिर्सेको थियो
कानहरूमा
कुनै चराहरूको वा
कुनै गित संगीतको वा
आमाले बाबु भनेर बोलाउँदाको वा
साथीले डिल्ली भनेर बोलाउँदाको
कुनै आवाज आउन डराउँथ्यो
केवल तिनै ऋणदाताको
कर्कस ध्वनिले
तिनैको अपमानजनक हुर्काइले
जीवभित्रको चेतना तर्सेको थियो
ऋणतिरे दुई दिनभित्रतिर
हैन भने समाज जोड्छु
लैनो भैंसी फुकाएर लगिदिन्छु
सपनामा पनि सपना आउँदैनथ्यो
सपनामा हाबासरी
बिपनाको असह्य चोटले
तिनै मेडमलाई बोलाउँथ्यो
तीन प्रहरसम्म उनकै आवाजमा थर्काउँथ्यो
बिउझिँदासमेत
त्यही सपनाले कायल गराउँदथ्यो
होचिँदै गएको मेरो किशोरकाललाई
पातकीले निमोठ्न खोजे पनि
मेरो आमाको आँशुभित्र
निर्दयीले खुशीको झलक देखे पनि
मेरो मनको फूल च्यातिँदै थियो
आफ्नै आँगनको जुनेली चहक पनि
मन गह्रुँगो भएकाले होला
बिष वृक्षको काँडाले कोपेर
रक्ताम्य हुँदै भासिँदै थियो

फेरि मलाई कुल्चिनका लागि
हप्ता दिनको भाका सकिएको दिन
डम्पिङ साइडको दुर्गन्धलाई गाली दिँदै
मेरो छातीमा तीर चलाउन
उनी डल्फिन माछाझैं उफ्रँदै
मेरै घरको पाली तल बाङ्गिइन,

घृणाले धिक्कार्न मन लागेर पनि
उनको निर्दयी चेतलाई
कुचो लागाउन मन लागेर पनि
उनको कर्कस अवतारलाई
गला निचोर्न मन लागेर पनि
मेरो स्वाभिमान माथिको आक्रमणलाई
गोली बनेर छातीमा बज्रिन मन लागेर पनि
म डरले लुट्पुटिएँ ।

मेरो घर प्यारो भएर पनि
डरको नयाँ नाम बनेको थियो,
मेरी आमाको माया भएर पनि
ऋणले बिटुल्याएको थियो ।
जीवन प्यारो कसलाई हुँदैन र ?
तर ऋणको चोटले होला
खुट्टाको चोट दुख्न छाडेको थियो ।

राक्षसी छायाबाट म तर्सिएँ
फारसी बदाम जस्तै
डल्लो परेर खुम्चिएँ
भन्नुपर्ने कुरा थोरै भनेँ
उनले फर्सीझैँ
पल्याँटी कसिन्
मैले कुराको टपरी गाँस्न थालेँ,
आमा रुन थाल्नु भो
बैनीको अनुहार बिग्रियो,
सुत्केरी श्रीमती रुँदै बाहिर आइन् ।
छिमेकीले सहानुभूति दर्साए
मैले हजार बिन्ति चढाएँ
खुट्टा समाएँ ।

निर्दयी हुरीले घर उजाड बनायो
ऋण तिरिदिने शर्तनामा भो,
कुटिल छिमेकीले उनकै मूल्यमा
लैनो भैंसीको दाम्लो फुकाए
मेडम मस्किन्
भैंसीले टाट्नो फेर्यो
छोरीको मुख पुछियो
आमाको सितन र शिशुको बुबु
श्रीमतीको सुत्केरी खुराक
सब सकियो
मेरो चेत शुष्क हुँदै
मुटुबाट निचोरिएर
आँखाबाट तप्कियो ।

छिमेकी बुबाले नराम्रो मान्नु भयो
र सुनिनेगरी सराप दिनुभो
ुअभागी हो भन्दैमा डिल्ली बाबुको
गरिब हो भन्दैमा डिल्ली बाबुको
भैंसी फुकाउनु हुँदैनथ्यो,
भर्खरै जन्मेकी चिचिली छोरीको
मुखको दूध छिन्नु हुँदैनथ्यो
बूढी आमाको गाँस भिजाउने
गलाको मलम लुट्नु हुन्नथ्यो
जिउँदो शिशुको श्राप लागोस ।
वैधानिक लुटका लागि
दुष्टहरूलाई नराम्रो बात लागोस ।

आज म उनैलाई सम्झी रहेछु
सम्झनालाई हरियाली दिने
सभ्य असभ्यको मर्म बुझ्ने
आडम्बर र अहंकारले लिप्त
अभिसप्त ज्यानमाराहरू विरुद्ध
मेरो मनमा सङ्कल्प भरिदिँदै
अनिष्टको छाया आफ्नै भए पनि
मुर्दावादको दियो जलाउने
अरूको आस्थालाई अपमान गर्दा
न्याय र समानताको आवाज बोल्ने
प्रिय ज्योतिष बुबा ।

त्यतिखेरैबाट
म निखारिँदै आएको हुँ
जतिबेला आतङ्ककारीहरूले
मेरो खुशी लुटे
तपाईंले साहसको सङ्कल्पले
मेरो रोएको मन पखाल्नु भो
कञ्चन मणि जस्तै
पवित्रताको न्यायिक धुनले
मुर्दातुल्य पशुहरूको
मलामी हुन समेत इन्कार गर्नु भो,
र त अहिले म पनि
निर्धक्क तपाईंकै पथमा
तपाईंकै धुकधुकी बचाउने धुनले
मेरो स्वतन्त्रतालाई
कसैले छुन नसक्ने बनाएको छु,
तपाईंले कायर घोषणा गरेका
सामाजिक आतङ्ककारीहरूलाई
तपाईंले झैँ औँलाले छातीमा देखाएर
मान्छेझैं बाँच्न सिकेको छु ।

आफ्नै दृष्टिमा आफै हराउने
झन्डै अन्धकारतर्फ हिँडेको म,
विग्रहको आगोबाट सेकिएर
झन्डै झन्डै पग्लिँदै गएको म
विजातीयहरूको विरुद्ध
कलमरूपी हरियार प्रहारले
छियाछिया बनाएर छिमल्दै
साइनाइड गर्धनमा बाँधेर
दृढताले उभिने भएको छु ।

मलाई केरकार गर्ने हिम्मत
मलाई छेक्ने हिम्मत,
मेरो घरको भैँसी फुकाएर
मेरा शिशुहरूको खुराक लुट्ने हिम्मत,
तपाईंले दिएको उज्यालोले
सप्तरङ्गी बनाइदिएको छ बुबा ।

तपाईं तपाईमा नभएर केभो त
तपाईं ममा हुनुहुन्छ अचेल,
तपाईं जीवमा नभएर केभो त
तपाईं गति र मनमा हुनुहुन्छ अचेल,
निशाचरको निन्दा गर्दै
उनीहरूको निर्गतिमा
दृढतापूर्वक शोक धुन बजाउने
तपाईंले फुकेको त्यो शंख
अचेल मैले फुक्दै छु बुबा ।

मेरो जीवनलाई कालरात्रि बनाउने
कुरूप साहुजीहरूको छातीमा
काला पोस्टरहरू टाँसेर
मेरा काला दिनहरूमा
सिङ्गै पर्वत भएर उभिएको
तपाईंको सजीव चित्र
जीवन्त छ मेरो जीवनमा,
सिङ्गो युग भएर उभिएको छ
आँखामा पट्टी बाँधेर
हुटिट्याउँले आकास थामेझैँ
आफैलाई सरकार सम्झने मेडम
मेरो भैँसी फुकाउने महाजन ।

तिमीले थाम्दैमा अँध्यारो युग
तिमीले रोक्दैमा काला दिन
तिमीले निभाउँदैमा उज्यालो प्रकाश
तिमीले खोस्दैमा शिशुको गाँस
थामिने छैन मक्काइसकेको द्वार ।
ढल्दैछ तिम्रो आयुसँगै
तिम्रो पट्यार लाग्दो जीवन
र तिम्रा कर्तुतहरूको पिरामिड ।

जीवनका धक्का कारण बनेर
सुन्दरताको पछिपछि
विदेशिएको छ मेरो कथा,
र अर्को कथा बनेर
सूर्यझैँ प्रकाशमा
आफ्नै रङको जलपमा
जवानी बनेर फेरि उदाएको छ
निभाउने प्रयत्नमा पनि
पुनः प्रकाश बनेर व्यथाहरूको
इन्धनबाट  पुनः कुदाएको छ ।

बाग्लुङ
हाल : बेल्जियम

IME Remittance