नेपालको संविधानः नेपाली सङ्गीत, नाट्य, कलाको संरक्षण र सम्वद्र्धन विषयक परिचर्चा कार्यक्रम सम्पन्न

असोज २ गते, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संविधान दिवसको सन्दर्भमा नक्सालस्थित नवनिर्मित कार्यालयको सभाहलमा नेपालको संविधानः नेपाली सङ्गीत, नाट्य, कलाको संरक्षण र सम्वद्र्धन विषयक परिचर्चा कार्यक्रम असोज २ गते आइतबार सम्पन्न गरेको छ ।प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको सभापतित्वमा आयोजना भएको कार्यक्रमा वरिष्ठ संविधानविद् भिमार्जुन आचार्य प्रमुख वक्ताको रुपमा हुनुहुन्थ्यो ।प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले कार्यक्रमको व्यानर वाचन गरे कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

नेपालको वर्तमान संविधानमा नेपाली सङ्गीत, नाट्य, तथा कलाको संरक्षण र सम्वद्र्धनमा के–कस्तो व्यवस्था छ भन्नेबारे डा. भिमार्जुन आचार्यले कार्यक्रममा व्याख्या गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. आचार्यले देशका सम्बद्ध नागरिकले संविधान तथा कानुन जान्नै पर्ने र यसको अज्ञानता क्षम्य नहुने पनि बताउनु भयो । नेपालमा संविधान निर्माणका विकासक्रम र यसमा नेपाली सङ्गीत, नाट्य र कलाको अवस्थितिका बारेमा व्याख्या गर्नु भएको थियो ।आचार्यले संविधान निर्माणमा आफू पनि प्रत्यक्ष रुपमा संलग्न रहँदा संगीत, नाट्य, कला साहित्यलाई कुनै ठाउँमा सम्बोधन गर्नु पर्ने प्रस्तावमा छलफल भए पनि राजनीतिक नेतृत्वले वेवास्ता गरेको बताउनु भयो ।यसका बारेमा बोल्दै डा. आचार्यले नेपालको संविधानमा सङ्गीत, नाट्य र कला शब्दावली नरहेको र यसलाई नेपालको संविधानमा अभिव्यक्ति स्वतन्त्रताले सम्बोधन गर्ने बताउनु भयो ।  नेपालको संविधानमा राज्यको निर्देशक सिद्धान्तमा धर्म, संस्कृति, संस्कार जस्ता पदावलीको प्रयोग भए पनि संगीत, नाट्य, साहित्यलाई छुट्टै धाराको व्यवस्था नरहेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले नेपालको संविधानमा संगीत, नाट्य कला साहित्यलाई समाहित गर्न कञ्जुस्याईं गरेकोमा मन कुडिएको बताउनुभयो । संविधान निर्माणका क्रममा  गीतकार संघ, सङ्गीतकार संघ तथा रोयल्टी संकलन समाजका स्रष्टा कलाकारहरुले संविधानमा संगीत, नाट्य, कला साहित्यलाई अटाउनु पर्छ भनी पहल गरेको तर नितिनिर्माताले वास्ता नगरेको स्मरण गर्नु भयो ।संघियता, राज्य संरचनमा मात्र राज्य सिमित भएको बताउँदै अध्यक्ष अधिकारीले नेपालको संविधानमा कलाकार श्रष्टाहरुका लागि एउटा चित्त बुझाउने ठाउँ भनेको नेपालको संविधानको मौलिक हकको धारा २५ मा सम्पत्तिको हक भित्र बौद्धिक हकको रुपमा रहेको बताउनु भयो । उहाँले डा. आचार्यको भनाईलाई समर्थन जनाउँदै अभिव्यक्ति स्वतन्त्रतालाई थप व्याख्या गरी संगीत, नाट्य, कला, साहित्यलाई समेट्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रमलाई समापन गर्ने क्रममा कुलपति नारायणभक्त श्रेष्ठले नेपालको राजनीतिक दलले कलाकारलाई प्रयोग मात्र गरेको बताउनुहुँदै देशमा समाज परिवर्तन र अग्रगमनका लागि राजनीतिकर्मी भन्दा ठूलो योगदान स्रष्टा, कलाकारहरुको भएको बताउनु भयो । कलाकारहरु देशका गहनाका रुपमा नभई पाँचौ अंगका रुपमा स्थापित हुन सबै स्रष्टा÷कलाकारहरु एक जुट भई आवाज उठाउनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा कलाकारहरु रुपक चौधरी, सञ्जय तुम्रोक तथा साजन राईले राष्ट्रिय भावका गीतहरु समेत गाउनु भएको थियो ।

उक्त कार्यक्रमकाे संचालन प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले  गर्नु भएकाे थियाे । कार्यक्रममा  प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, पूर्व प्राज्ञ परिषद सदस्य, संगीतकार संघका  अध्यक्ष चेतन सापकोटा, शास्त्रीय संगीत साधक ध्रवेशचन्द्र रेग्मी, वरिष्ठ गीतकार चुडामणि देवकोटा, वरिष्ठ रङ्गकर्मी सकुन्तला गुरुङ शर्मा लगायतका स्रष्टा-सर्जक, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यलयका रजिष्ट्रार लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।