किन हो कुन्नि हिजोआज डर मात्रै लाछ
छिनछिनमा तर्सिएर मन भरंग भाछ
सदाका लागि तिमीले बिर्सिन्छौ कि कतै
हेर्दाहेर्दै आँखा पनि बन्द गर्छौ कि कतै
बोल्दा बोल्दै होइ भन्नै छोड्दिन्छौ कि कतै
बिच बाटोमै हराएर विचल्ली पार्छौ कि कतै
किन किन हिजोआज सबै विरानो लाछ
चस्किएर छाती पनि गह्रुगो झै भाछ
बानी परिसक्यो आमा तिमी संगै हास्ने
चाडवाड आउदा घेरिएर वरिपरि बस्ने
तिमीले सन्तान गनि गनि भाग पस्केको हेर्ने
खाने कुरा जे छ सबै बाडीचुडी खाने
बाहिरी दुनियाँ भुलेर तिमी सँगै नाच्ने
सधैंभरी यसैगरी वितोस् दिनरात
कतै फेरि झुक्किएर छुट्छ कि त साथ
किन किन हिजोआज डर मात्रै लाछ
झस्किएर मुटु पनि ढड्किएझै भाछ
धेरै माया लाग्छ आमा कुन शब्दले पोखौं
संसारमै नपाइने कुन तराजुले जोखौं
न घट्छ उमेर तिम्रो कुन सुत्रले मिलाउ
जीवन फेरि जोडिने कुन मेशीनले सिलाउ
जोडदाजोड्दै अंकहरु पाना सबै भराउछु
खोज्दाखोज्दै जीवन फेरि त्यही म हराउछु
हिसाबकिताब नमिलेर वेहोसी मै कराउछु
सुन्यो कि त कसैले भनी भित्रभित्रै डराउछु
किन किन हिजोआज मनमा त्रास लाछ
आफै भित्र विस्वास पनि डगमगाएझैं भाछ
आमा शब्द कति प्यारो स्वास फेर्नै सजिलो हुने
बोली मात्रै सुन्न पाए मन कति दरिलो हुने
आमा नै हो बाँचुञ्जेली स्वार्थ बिना माया दिने
यो धर्तीमा अरु के छ आमासँग दाँज्न मिल्ने?