मेरो देश विभाजित छैन

डिल्ली अम्माई (अनाथ अंकल)

अचेल,
पुराना मित्रहरु भन्दछन् गाउँतिर
तिमी त परदेशमा छौ यार
आउँदै गर नत्र हेलो-हाइ मर्किन्छ !

गाउँ पुग्दा आफन्तहरु दुःखी देखिन्छन्
कुवाको पानी भुल्यौ र भतिज ?
पुराना कुराहरु सम्झिँदा मन चर्किन्छ

तिमी त विदेशमा छौ
सधैँको लागि आऊ र स्वर्गलाई स्पर्श गर !

तर मलाई त्यस्तो लाग्दैन
मित्रहरु,
त्यो गाउँ र यो गाउँतिर
हावाको झोक्कामा फुल लहराउँछन् उसैगरी
समुन्द्रको लहरसँगै खबरहरु डुल्छन् उसैगरी
कहाँ फरक छ र समवेदनामा

चिसिँदा कोही उसैगरी बर्सिन्छ तातो झरी
नियतिको कारागारमा कोही पीडाले छट्पटिँदा
तप्किन्छ प्रेमको थोपा यता पनि उसैगरी

चराहरुको आवाजमा प्रकृति बोल्दछ यता पनि
खोलाहरुको कलकलमा संगीत बज्दछ यता पनि
हरियालीमा यता पनि इन्द्रेणी हाँस्दछ
यता पनि फूलहरुमा पुतली नाच्दछ ।

त्यसैले मित्र,
ठोकेरै भन्न सक्छु अहिले
मन विभाजित हो हाम्रो
विभाजित छैन मेरो देश

अलिक पर पुग्दा घरबाट
केहीबेर अल्मलिन्छौँ
पाखोबाट अलिक तल झर्दा
केहीबेर नियास्रिन्छौँ

जीवनको सुन्यता मृत्यु हो सबैतिर
सबै सुन्यताभित्रकै परिचय हो हाम्रो
सबै परिचय सुन्यतामै सकिने हो ।

प्रिय,
मैले त कहीँ फरक देख्दिनँ खै
मेरो देश यहीँसम्म उस्तै छ
माटोको काया उस्तै छ यहाँ
मेरो छाया गाउँको पाखोमा झैँ
उस्तैगरी सुकाइन्छ घाममा
माया त्यहाँजस्तै टोलाउँछ जुनमा
चरा उस्तैगरी चित्र कोर्छन् पातमा
जल उस्तै गहिराइमा निलमणि झैँ चम्किन्छ
आकाश अनन्तमा गाँठा छ,
गोधुलिमा क्षीतिज त्यहीँ जति टाढा छ ।

साथी, तिमी भन्छौ देश विभाजित छ
काका भन्नुहुन्छ ‘तिमी परदेशमा छौ’
मेरा आफन्तको भाषामा देश विभाजित छ
तर हैन नि यार,
म त्यहाँबाट यता आउन एकै दिन त हो
दमेकबाट पांग गएजस्तै
तिमी यता आउन पनि एकै दिन त हो
बन्दीपुरबाट धरान आएजस्तै

मामा भन्नुहुन्छ भान्जा देश फर्क
तिमी भन्छौँ मित्र परचक्री नबन
मित्र म कहाँ पर छु र ?
त्यसैले मित्र,
ठोकेरै भन्न सक्छु अहिले
मन विभाजित हो हाम्रो
विभाजित छैन मेरो देश ।

हाम्रो पुरानो गाउँमा जस्तै
मानवतालाई माया गर्नेहरु यता पनि छन्
हाम्रो पुरानो गाउँमा जस्तै,
समवेदनामा रुनेहरू यता पनि छन्
मित्र, म टाढा छैन तिमीबाट

मानिसले लगाएको फलामे तार
गाउँले लगाएको साँधको पर्खाल
तिम्रो हाम्रो प्रेमको सीमा बन्न हुन्न
कोठाका अलग-अलग भित्ताहरु
विभाजित भावनाका कारण बन्नु हुन्न ।

मानवीय चेतना यता पनि छ
भावनाको विशालता यता पनि छ

मेरो गाउँमा जस्तै खँदिलो छ धरा
ब्रह्म बिन्दुको सिमामा छ धरा
गाउँकै गोरेटोझैँ समान आकृति
सबैतिर ऋतुसहित उही प्रकृति

मेरा मित्र,
फलामे पिल्लरमा विश्वास नगर
प्रकृतिको सिमा स्वीकार गर
त्यो गाउँ नेपाल होला
तर प्रकृतिको देश नेपाल हैन
तिमीमाथि झैँ यता पनि
एउटै गगन घुम्दछ चराहरुसँगै
बोधगम्य सृजनामा मान्छे
सबैतिर उस्तै गरि रम्दछ उषाको झुल्कोसँगै
विशाल एक छहारीभित्र
प्रकृतिले बनाएको प्यारो घरभित्र
कोठा-कोठा अलग बनाएर
पृथ्वी बाँडेको भ्रममा छौँ हामी
उही हावाले प्राण धानेर
विभाजित मनले बाँचेका छौँ हामी ।

कोठा विभाजित छन् हाम्रो घरका
हाम्रो घर विभाजित छैन
गाउँहरु सभ्याताको बगैंचामा
संस्कृतिको विविधताले फूलेका छन्
तर
मेरो देश विभाजित छैन !

IME Remittance