सर्प बेरिँए झैँ बेरिँदै
सुर्खेतबाट उकालो लाग्नु छ
ओढेको सिरक मिल्काएर
कुहिरोको कोट लगाउँदै
झिसमिसेमै म हिँड्नु छ
मलाई मेरो आँगनमा पुग्नुछ ।
सात्सल्ली ओर्लँदै
फेरि सर्प झैँ बेरिँदै
बादलको बख्खु लगाएर
म अबेर रात सम्म हिँड्नु छ
मलाई मेरो आगन सम्म पुग्नु छ।
लालीघाट तर्नुछ
मान्म उक्लिनु छ
तातो सेराबाडामा
चिसो मुग्लानका कथा सुनाउँदै
तिलाको कलकल संगीत सुन्दै
संगिनी भेट्न नाग्म आइपुग्ने
हिमाको पछेउरीको किनारै किनार
अझै उत्तर तिरको यात्रा सोझ्याउनु छ
मलाई मेरो आँगन मै पुग्नुछ ।
प्रिय काठे साघु
तिमी छौ या छैनौ
तिमी भएरै म पूर्व तर्नु छ
झमक्क साँझ परेको भए पनि
मलाई आज मेरै आँगनमा पुग्नु छ ।
कैलू गाई
चुर्के बल्लंं (गोरु)
सुरी बिरालो
कक्कक च्याखुरो
के तिमी सबै सन्चै छौ
म आइपुगेँ नी ,
म त मेरै आगँनमा आइपुगेँ ।
ए सुनसरी स्याऊ
मगमग धुपी
म तिम्रो पोथ्रा मुनि छु
देऊ तप्प तप्प शीत
म तिर्खाएको छु ।
तिम्रो प्रेमको प्याला
नचुमेको धेरै भो ,
म काकाकूल छु
म यही प्रिय आँगनमा छु ।
ए प्रिय आगँन
आज तिमी छैनौ
आज मेरो बारी छैन
मलाई बिजुलीको झड्का सिकाउने
सिस्नो घारी छैन
गोठ छैन , खेत(खलियान) छैन
अन्न पात छैन, बिस्कुन छैन
ए प्रिय मेरो आगँन
म आइपुगेको छु
मनभरि माया
र , आँखाभरि आँशु लिएर
म तिम्रो डिलमा छु
र , तिमी मेरो दिलमा छौ
लिहीको आगन
मेरो मातृभूमि
तिमी मेरो दिलमा छौ ।