कोभिडले दिएको पिडा र केही सन्देश : निलिमा पुन

गत साल कोराेनाकाे बेला २०७७ कार्तिक ९ गते  सुगर, प्रेसर, निमोनिया अनि कोभिडको कारण जेठो दाजीलाई गुमाउनु पर्याे । आमाले जेठो दाजीको फोटो सिरानीसँगै टाँसेर राख्नुभएको अझै बर्ष दिन पनि पुगेको छैन। त्यो घटनाले अझै पलपल झस्काइरहन्छ।अहिले फेरि कान्छो दाजीलाई २०७८ बैशाख २७ गते कोभिड पोजिटिभ देखिए पछि फेरि अर्को त्रासमा बस्नु पर्याे। बिचमा अलि गाह्रो भएपछि कान्छो दाजीलाई पनि ७ दिन हस्पिटल भर्ना गर्नु पर्याे। केही सजिलो भएपछि घरमा आइसोलेसनमा बस्नु भयो। तर यसपल्ट आमा आत्मबलको खम्बा बनेर १८ दिन एउटै कोठामा दाजी सँगै बस्नुभयो। उहाँको कुरा सुन्दा ८६ बर्षको जस्तो लाग्दैन। जो छोराको नजिक बसेर रेखदेख गर्नुभयो। अहिले सम्म वहाँ सुरक्षित र स्वस्थ हुनुहुन्छ।दाजीपनि २५ दिनपछि  काेराेना मुक्त हुनुभएकाे छ ।दश बर्षदेखि आमाको मुटुको एउटा भल्भ बन्द छ। आमाको स्वास्थ्य को लागि हामीले आमालाई छुट्टै बस्न अनुरोध गर्दा समेत मान्नु भएन । आफ्नै आस्था पाेख्दै भन्नूभयो “लैजान छ भने भगवानले जहा लुकेपनि देख्छन् र लैजान्छन्”। आमाको यो भनाइपछि कसैको केही लागेन र एउटै कोठामा ढुक्कै बस्नुभयो। कान्छो दाजीपनि बीस बर्ष परदेशमा बसेर अहिले नेपाल आएर आमाको साथमै बस्नुभएको छ। बुढेसकालमा छोरासँगै बस्दा आमा पनि खुशी नै हुनुन्छ।

हाम्रो परिवार भित्रको अर्को एउटा आत्मविश्वासको पहाड माइली दिदी हुनुन्छ, जो सबैको स्वास्थ्यलाई कडा निगरानी गर्नुहुन्छ। पेशाले वहाँ परोपकार प्रशुती तथा स्त्री राेग अस्पताल थापथलीको नर्स हुनुहुन्छ र चौबीस घण्टामा मुस्किलले ६ घण्टा आराम गर्न भ्याउनुहुन्छ। वहाँको मिहिनेत देख्दा हामी थाक्छौ। परिवार, वरिपरिका आफन्तमा जो कोही विरामी पर्दा वहाँ नै अघि सर्नुहुन्छ। यसरी कसैलाई दुख,अप्ठ्यारो पर्दा परिवारकै सदस्यहरुको निस्वार्थ सेवा,समर्पण र प्रोत्साहनले सबैलाई हौसला मिल्दोरहेछ। यो कुरामा मैलेपनि सधैं साथ पाएकोछु। गत साल २०७७ असोज १५ देखि जेठो दाजी विरामी भएर २४ दिन हस्पिटल राख्दा माईली दिदी दिनको ३/४ पल्ट वीर हस्पिटलको कोभिड वार्डको ढोकामा पुग्नुहुन्थ्यो चियाएर दाजीलाई हेर्नुहुन्थ्यो अनि खबर सुन्न आतुर परिवारका अन्य सदस्यहरुलाई सुनाउनु हुन्थ्यो । त्यतिबेला पनि दिदीलाई न रोगसँग डर थियोे, न आराम थियोे। दाजीको अवस्था नाजुक देखेर ढोकामा बसेर चिच्याउनु हुन्थ्यो। न भित्र जान मिल्ने न नजिकैबाट बोलाउन मिल्ने, हरेकदिन हामी फोनमा धेरै रुन्थ्यौं तर आमाको अगाडि कहिले आँसु देखाएनौ। दाजीको अवस्था हामीलाई थाहा थियोे तर आमालाई सुधार हुदैछ भन्नुपर्थ्यो। मैले करिब २२ दिनसम्म दिनको दुईपल्ट जाउलोको रस बनाएर पठाउथे। हरेक पल्ट यो जाउलोको रसले मेरो दाजीको प्राण आओस् भनेर मनमनै सम्झिन्थे। दाजी भेन्टिलेटरमा अचेत हनुहुन्थ्यो। के थाहा बैनीको हातले बनाएको जाउलो खाएको । के थाहा बहिनी ढोकामा आएर विलौना गरेको । भाउजू र सानो भदैलाई पनि कोभिड देखियो त्यसपछि झनै विपत्ति थपियो ।रातदिन दाजीकै स्वास्थ्यको खबर के आउछ भनेर त्रास भइरहन्थ्यो। प्रत्येकपटक फोनको घण्टी बज्दा मन ढुकुढुक हुन्थ्यो । तरपनि खबर सुन्ने आँट गर्नुपर्थ्यो। २२/२३ दिनसम्मको त्यो परिवेशमा म पनि निकै कम्जोर भएकी थिएँ। सुत्दा हर फर्काउन गाह्रो हुन्थ्यो रातभरि निदाउन सक्दैनथे तर कसैलाई भन्दैन थिएँ। किनकि म भन्दा नाजुक मेरो दाजीको स्वास्थ्य सम्झिन्थे अनि वृद्ध आमा सम्झिन्थे। आमालाई कसरी भन्ने, कसरी सम्हाल्ने त्यो चिन्ताले पनि धेरै सताएको थियोे। जीवनमा  उतारचढावहरु धेरै भोगेकी थिएँ तर कहिले निराश भइन। जब दाजीको स्वास्थ्य गम्भीर बन्दै गयो त्यो वेला जस्तो आँसु कहिले बगेन, त्यतिबेला जस्तो दुखी पनि कहिले भइन। शायद जीवनमा कहिले नसोचेको बज्र त्यतिबेला नै भोगियो जब दाजीलाई गुमाउनु परयो। ८५ बर्षिया वृद्ध आमालाई ६२ बर्षको छोराको मृत्युको खबर सुनाउने आँट आएको थिएन। परिस्थिति जटिल थियोे तर सबैले धैर्य भएर सल्लाह गरेयौं। कान्छो दाजु सधैं आमाको साथमा बस्नुभयो। तीन भाईबहिनीको सल्लाह अनुसार हामीले परिस्थिति सम्हाल्ने हिम्मत गरेयौं। हरेक दिन आमाले दाजीलाई भेट्न हस्पिटल लैजा भनेर सताउनुहुन्थ्यो तर कोभिडको वेला लैजान सम्भव थिएन। आमा भन्नुहुन्थ्यो “उसलाई सानोमा मलेरिया हुन्थ्यो त्यही भएर ज्वरो ठुलो आयो गाउँबाट बासक मगाएर ख्वायो भने निको हुन्छ”दाजीलाइ छिटाे घरमा ल्याउ भन्नुहुन्थो  तर भेन्टिलेटर बाट छुटाएर घरमा ल्याउन  सम्भव थिएन। छोरासँग बोल्ने आमाको इच्छा पुरा गर्न सकिएन।

२०७७ कार्तिक ९ गते राति एक बजे दाजी बितेको खबर आयो। दाजी बितिसकेपछि भोलिपल्ट विहान कोभिडको रिपोर्ट नेगेटिभ आयो । हामीले त्यसपछि मात्रै आमालाई एकपटक दाजीको अनुहार देखाउन को लागि हस्पिटल लग्याै। हामी हस्पिटल पुग्दा दाजीलाई प्लाष्टिकभित्र प्याक गरेर सुताइएको थियो । त्यो दृश्यले जीवनमा कहिले नपरेको चोट दियो। आमाको हालत र भाउजूको वियोग सम्हाल्न निकै गाह्रो भयो । मृत्युपछि मात्रै हामीले दाजीलाई भेट्न पायाै। हस्पिटलले दहासंस्कारको लागि दाजीको शव हामीलाई दिएपछि केही आफन्त र परिवारका सदस्य मात्रै आर्यघाट गयौं । आमा पनि पशुपति आर्यघाट सम्मसँगै पुग्नुभयो र आफ्नै आँखा अगाडि आगोमा जल्दै गरेकोे छोराको शव हेरेर ८५ बर्षीय वृद्ध आमाको त्यो चीत्कार यी भनाइ सुन्न निकै गाह्रो हुन्थ्यो “बाबु मलाई छोडेर किन गयौ? तिमीलाई अब म कहाँ देख्न सक्छु ? “आँसुको भेल सँगै आमाले छोरालाई विधाई गर्नुभयो। भाउजुको विलौना “मलाई एक्लै पारेर गयौं…….”  मृत्युपछि विछोडिदाको कारुणिक शब्दहरुले मन साह्रै उद्वेलित बनाउदोरहेछ । दाजीको दुई छोराहरु जेठो छोरा अष्ट्रेलिया र माइलो छोरा युकेबाट आर्यघाटमा बाबाको अन्तिम दाहसंस्कार गरेकाे  भिडियो लाइभ हेरेर रुँदै बाबालाई बिधाई गरे। साच्चै सन्तान परदेश भएको वेला अभिभावक गुमाउनुको असह्य पिडा हुदोरहेछ। उता गाउँमा ठुली दिदी दाजीको मृत्युको खबरले उतै विचलित हुनुहुन्थ्यो, अझै पनि माइती सम्झेर चेलीको आँसु सुकेको छैन। सन्तान गुमाउदाको त्यो पिडामा हृदय फाटेर निस्केका भावविह्वल आमाका शब्दहरु बयान गर्न र लेख्न निकै गाह्रो हुन्छ। त्यो दिनदेखि हाम्रो परिवारमा त्यति खुशी छाउन सकेको छैन। भाउजु एक्लो हुनु भएको छ। दुई जना भदैहरु परदेश छन् । माइतीघर वास्तवमै सुनसान छ। बर्षदिन भएको छैन अझै त्यो घटनाले स्तब्ध पारिरहन्छ। एकबर्षको यो अन्तरालमा यही यस्तै अनुभव सँगालियो। जुन जीवनमा कहिले बिर्सन नसकिने क्षण बन्यो। सबैभन्दा दुख लागेको क्षण बन्यो । हुन त संसारमै यस्तो दुखद अवस्था लाखौंलाख मानिसहरुलाई परेकाे छ । त्यस माहोलभित्र हाम्रो परिवार पनि अछुतो रहनसकेन। परिवारमा जन्म दिने आमाको सन्तानप्रतिको माया, समर्पण र परिवारका अन्य सदस्यहरुको भुमिकाले पारिवारिक जीवनलाई कति सहज बनाउछ भन्ने कुरा अनुभव भयो। कोभिडको वेला यो मेरो विशुद्ध पारिवारिक यथार्थ भोगाइ थियोे। जन्मेपछि मृत्यु स्वाभाविक हो भन्ने बुझ्दा बुझ्दै पनि कुनै घटना यस्तो भइदिँदोरहेछ जसले हृदयलाई सधैँ पिडा दिइरहने रहेछ। त्यसैले यो पिडालाई विसाउदा मन अलि हल्का होला कि भनेर यथार्थ पाेखेकाे छु । यो कसैलाई प्रेरणा बन्ला या कसैलाई व्यर्थ लाग्न सक्ला ।  मैले अनुभव गरेको कुरा परिवारमा दुख पर्दा,आपतविपत पर्दा, विरामी पर्दा एकअर्काको मनोभावना बुझेर निस्वार्थ सहयोग, सहानुभूति र प्रोत्साहनले कठिन परिस्थितिसँग जुध्ने शक्ति मिल्दोरहेछ।

२०७८ जेठ २३ गते ।