काठमाडौं । सुनकोशी मरिण डाइभर्सनको आज सुरुङमार्ग ब्रेक थ्रु हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सुरुङमार्गको ब्रेक थ्रू गर्दैछन्। उनी हिजै सिन्धुली पुगिसकेका छन् ।
आयोजनाको काम २०७९ असोज २८ गते सुरु भएको थियो । सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ ।सो आयोजनाले सुनकोशी नदीको पानी मरिण खोलामा झारेर विद्युत उत्पादन गर्ने र तराईका १ लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।
सुरुङको ब्रेक थ्रु हुन लागे पनि बाँध तथा विद्युत गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोशी(मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई ९०० मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ ।
बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।सुनकोशी गाउँपालिका-७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोशी नदीलाई मरिण खोलामा लगिनेछ ।
सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका( २ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिंचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिंचाइ हुनेछ ।
एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल भइरहेको बरालले बताए ।
बरालले भने, ‘जेठमा मात्रै १.२ किलोमिटर सुरुङ मार्ग खनेको र विश्व रेकर्डमा नाम लेखाउन पहल भइरहेको छ । हामीले विश्वमा यस्तो भौगोलिक ठाउँ भएको स्थानमा यसरी सुरुङ खनिएको छ वा छैन भनेर खोजिरहेका छौं । अहिलेसम्म कुनै देशले यस्तो भौगोलिक संरचना भएको ठाउँमा यति छिटो खनेको पाएका छैनौं ।’
सो आयोजनाको सुरुङको काम चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङले गरिरहेको छ । सो कम्पनीले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । नेपाल प्रेस बाट


