काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डसमाथि ९ विकेटको जित हात पारेको छ ।शनिबार नेदरल्याण्डसले दिएको १३७ रनको सामान्य लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका अनिलकुमार साहले ५७, आसिफ सेखले ५४ र कुशल भुर्तेलले २८ रनको योगदान गरे ।
बिहान ब्याटिङ गर्न कठिन मानिने त्रिविको विकेटमा टस जितेर फिल्डिङ गर्ने कप्तान रोहितकुमार पौडेलले निर्णयलाई सही सावित गर्दै ओपनर बलर सोमपाल कामीले तेस्रो बलमा नै विकेट लिएका थिए ।खाता नै नखोली माइकल लेभिटलाई गुमाएपछि नेदरल्याण्ड्सले नेपाली बलर सामु खुलेर खेल्न पाएन । अर्का ओपनर म्याक्स ओडाउड व्यक्तिगत १० रनमा रनआउट भए ।
त्यसपछि कप्तान स्कट एडवाड्र्सले ३३ रन बनाए । उनी कुशल भुर्तेलको एलबीडब्लू धरापमा परे । नवौं विकेटका रुपमा उनी आउट हुँदा नेदरल्याण्ड्सको स्कोर बोर्डमा १२७ रन थियो । थप १० रन जोड्दा भिभियन किंग्माको विकेट लिँदै भुर्तेलले नेदरल्याण्ड्सलाई अल आउट गरे ।
यसअघि कीर्तिपुर मैदानमा भएको लिग टु को पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।