बलेवा (बागलुङ ) झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी…बागलुङको जैमिनी नगरपालिकामा चलिरहेको जैमिनी महोत्सवको चौथो दिन माघ ३ गते बुधबार । सहारा खेल मैदानमा भरिभराउ दर्शकको अघि उभिएर गायक जीवन शर्माले आफ्नो प्रस्तुतिको सुरुआत गर्नुभयो ।
शर्माले सिर्जना गरेका हजारौँ गीतमध्ये सहारा खेल मैदानमा यो गीत प्रस्तुत गर्नुको आफ्नै कारण छन् । बागलुङको जैमिनी र बागलुङ नगरपालिकाको सङ्गममा पर्ने नियालमारे खोलाको छेउमा तारेभिरको सानो चौतारीमा बसेर शर्माले अहिलेभन्दा ३० वर्षअघि यो गीत सिर्जना गर्नुभएको हो । बुधबार शर्माले यही गीत गाउँदै गरेको खेल मैदान र उहाँले यो गीत सिर्जना गरेको ठाउँ पैदलयात्रा गर्दा आधा घण्टाको दूरीमा पर्छ ।
“घर छाउने ढुङ्गा बोकेर हिँडेको जोडी, श्रीमान् नियालमारे खोलापारी पुगेका थिए । श्रीमती चौरीमा बिसाइ मारेर भारी बोक्दै थिइन् । असिनपसिन, ठूलो भारी बोकेका खेताला भिरको बाटो निरन्तर हिँडिरहेको देखेपछि मैले गीत बनाएँ”, शर्माले भन्नुभयो ।
विसं २०५० तिर बागलुङको दक्षिण क्षेत्रमा अर्मपर्म र खेताला हालेर घर छाउने र ढुङ्गा बोक्ने प्रचलन थियो । कैयौँ मजदुरहरु यही घर छाउने पाटे ढुङ्गा बोकेर गुजारा चलाउँथे । त्यही देख्नुभएका उहाँले खेतालाको जिन्दगानीको गीत बनाएको सुनाउनुभयो ।
महोत्सवमा शर्माले झण्डै एक घण्टा आफ्ना गीत गाउनुभयो । मैदानमा उपस्थित अधिकांश दर्शक उहाँका गीतमा झुमे । शर्मालाई उहाँकी जीवन सङ्गिनी निलिमा पुनले र छाेरी अनु शर्माले साथ दिनुभयो । जीवन र जगतका जल्दाबल्दा विषयवस्तु गीतमार्फत प्रस्तुत गर्ने शर्माले ३० वर्षदेखि हरेक वर्ष जैमिनीमा हुने माघे सङ्क्रान्ति मेलामा प्रस्तुति दिनुहुन्छ ।
स्थानीय हेमलाल शर्माले भन्नुभयो, “उहाँका गीत कहिलै पुराना भएनन् । सधैँ सुनौँ, सुनौ लाग्छन् ।” उहाँका गीतले जहिले जनताको दु:ख बोल्यो । जसको परिणाम अहिले उहाँ जनवादी गायकको परिचयले बाँच्नुभएको छ । साङ्गीतिक यात्राको पहिलो खुड्किलो उहाँको बाँसुरी हो । वनजङ्गलमा घाँस, दाउरा गर्न जाँदा होस् वा विद्यालयका कार्यक्रममा उहाँले बाँसुरीको धुन राम्रोसँग निकाल्नुहुन्थ्यो ।
शर्माको पहिलो गीतिएल्बम जनसाङ्गीतिक यात्रा रक्तिम भाग–१ हो । त्यसयता दुई हजार बढी गीत उहाँले जनताकै पक्षमा गाउनुभएको छ । मेला महोत्सव हुन वा अन्य कुनै साङ्गीतिक कार्यक्रम शर्माका गीतले तताउँछन् । शर्माले बाल्यकालदेखि वृद्धसम्मका लागि सदावहार गीत गाउनुएको छ । ‘सिमली छायाँमा बसी भरिया लामो सास फेरेको’ देखि ‘झरनाको चिसो पानी’सम्मका गीत उहाँले गाउनुभएको छ । ती गीत सबैले रुचाएका लोकप्रिय गीत हुन् ।
“मैले गाएका गीतले ऊर्जा भरेर भएका परिवर्तन धेरै होलान् आफैँले कसरी मूल्याङ्कन गरुँ”, शर्माले भन्नुभयो, “समयसँग सम्झौता होइन, सङ्घर्ष गर । सङ्घर्ष, भन्ने गीतले आत्महत्या गर्न कस्सिएकालाई रोकेका उदाहरण छन् ।”
सिमली छायाँ उहाँको गीतले अहिले पनि धेरैको मुटु चिरिन्छ । शर्मा अहिले पनि सङ्गीत साधनामै हुनुहुन्छ । परिवर्तनका लागि सङ्गीत उपयुक्त माध्यम भएको भन्दै लाग्नुभएका शर्माले सांस्कृतिक क्रान्तिमार्फत परिवर्तनको सपना देख्नुभएको छ । जन्मेको ११ दिनमा टीकानिधि नाम पाएका शर्मा, बाल्यकालमा ताराकृष्ण, जवानीमा रामकृष्ण र साङ्गीतिक बजारमा जीवन शर्माका नामले परिचय बनाउनुभएका व्यक्ति हुनुहुन्छ ।रासस