नेपालमा भूकम्प,उत्पत्ति र सावधानी : महेन्द्र आचार्य , खोमेन्द्र भण्डारी

भनिन्छ, नेपाल मात्र होइन हिमालय आसपासमा अवस्थित सबै जस्तो क्षेत्र भूकम्पीय दृष्टिले उच्च जोखिममा छन्। अहिलेसम्म भूकम्पको सफल पूर्वानुमान गर्न त सकिएको छैन तर ढिलोचाँडो नेपालमा भूकम्प अवश्यंभावी छ। अझै भन्ने हो भने नेपालको पश्चिमी क्षेत्र पोखरादेखि लिएर सुदूरपश्चिमी भू-भागमा सन् १५०५ देखि आजको दिनसम्म ठूला भूकम्प नगएको विभिन्न अध्ययनले  देखाउँछन्।

उक्त क्षेत्रमा हालै भइरहेका अध्ययनले पनि ठूलो मात्रामा शक्ति सञ्चय भएर बसेको भन्ने देखाइरहेका छन्। योसँगै काठमाडौं पूर्वमा पनि ठूलो भूकम्प नगएको र २०७२ सालको भूकम्प जाँदा पनि पूर्ण मात्रामा शक्ति खर्च नभएको अध्ययनहरुले देखाउँछन्। यसको अर्थ यो हो कि नेपालमा पूर्व-पश्चिम क्षेत्रमा कुनै पनि बेला ठूलो भूकम्प जान सक्छ।

उसो त गोरखा भूकम्पपछि केही समय थला परेको आम जनजीवन अझै पनि राम्रोसँग उठ्न सकेको छैन। विशेषगरी शहरी क्षेत्र भने भूकम्प गएको लामो समय भइरहँदा भूकम्पीय जोखिमलाई नै बिर्सेर विज्ञानलाई नै चुनौती दिने गरी पुनर्निर्माणमा तल्लीन देखिन्छ। पहाडी क्षेत्रलाई नियाल्ने हो भने पनि भूकम्पको जोखिमलाई नै चटक्कै बिर्सेर अगाडि बढेको स्पष्टै देखिन्छ जसको उदाहरण केही दिन पहिले बझाङ केन्द्रबिन्दु बनाएर र अहिले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिबाट देख्न सकिन्छ।

यिनै क्षेत्रलाई मात्रै हेर्ने हो भने पनि तीनवटै सरकार र जनताबीचको समन्वय, भूकम्पीय चेतना साथसाथै तिनीहरुको भूमिकाको बारेमा स्पष्ट देख्न र बुझ्न सकिन्छ। त्यसकारण आगामी दिनमा नेपालभरि नै भूकम्पीय सचेतना बढाउनु जरुरी छ साथै भूकम्प प्रतिरोधी संरचना निर्माणमा विज्ञहरुको प्रभावकारी उपस्थिति गराई देशभरि नै नयाँ अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ।

भूकम्पबारे केही महत्त्वपूर्ण जानकारी  

क. भूकम्प के हो ?

हामी महसुस गर्न सक्छौं कि पृथ्वीपिण्डको जति तल गयो त्यति तातो हुन्छ। अब यो बुझौं कि आन्तरिक भागमा तापक्रम कति धरै होला ? त्यही तापक्रमको कारणले पृथ्वीको आन्तरिक भागमा रहेका चट्टान पग्लिने र माथि निस्किन खोज्ने प्रक्रिया हुने गर्दछ। जसको भित्री प्रभावले एक किसिमको चक्र बन्ने गर्दछ। त्यही कारणले पृथ्वीको माथिल्लो पत्र जुन छ त्यसलाई चर्काउन थाल्दछ। जसको प्रभावले गर्दा चट्टानहरु टाढा जाने वा नजिक आउने गर्दछन्। जुन प्रक्रिया करोडौं वर्षदेखि छ। त्यहीबेला जहाँ चक्रको असर बढी हुन्छ त्यो बेला चट्टान चर्किने र उर्जा नि:सृत हुने गर्दछ र हामीले भूकम्पको महसुस गर्ने गर्दछौं।

नेपालको सन्दर्भमा भन्ने हो भने नेपाल आफैं दुई विशाल भौगर्भिक खण्डमा अवस्थित छ। ती दुई प्लेटहरु हरेक सय वर्षमा झन्डै दुई मिटरको दरमा एक अर्कोतिर सरिरहेको पाइन्छ। यो गतिविधिले गर्दा चट्टानमा चाप बढी उत्पन्न हुने गर्दछ। जुन चाप बढ्दै गएपछि भूकम्पको रुपमा त्यो विसर्जन हुने गर्दछ। हो यही कारणले गर्दा नेपालमा भूकम्प जाने गर्दछ।

अझै बुझ्ने हिसाबले भन्ने हो भने चट्टानहरुमा तन्काई बढी हुँदा थाम्न नसक्दा चट्टान टुक्रिनुको कारणले हुने गर्दछ। जुन चट्टान टुक्रिने प्रक्रिया छ त्यसलाई फल्ट अथवा भौगर्भिक चिरा भन्ने गरिन्छ। जहाँ दुवै चट्टानहरुको बीचमा पारस्परिक स्थानान्तरण हुने गर्दछ जुन केही मीटरदेखि केही किलोमिटरसम्म हुने गर्दछ। सामान्यत: भूकम्प भन्नाले पृथ्वीको सबैभन्दा माथिल्लो भागमा कुनै कारणले पृथ्वीको आन्तरिक शक्ति नि:सृत हुने क्रममा हुन जाने जमिनको कम्पनलाई नै भूकम्प भन्ने गरिन्छ जुन कम्पन हामी सतहसम्मै महसुस गर्दछौं।

भूकम्पीय विज्ञानका अनुसार ठूला भूकम्पहरू जानुपूर्व र गएपछि पनि हामी भूकम्पका साना–ठूला धक्काहरु महसुस गर्ने गर्दछौं। जहाँ भूकम्पको मुख्य धक्का जानुभन्दा पहिले क्रमिक आउन सक्ने स-साना कम्पनहरुलाई फोरसक भन्ने गरिन्छ भने ठूला कम्पन गइसकेपछि आउने साना भूकम्पहरूलाई आफ्टरसक भन्ने गरिन्छ जुन धक्काहरु महिनौंदेखि वर्षौंसम्म महसुस गर्ने गरिन्छ।

भूकम्प जाँदा हुने सानादेखि ठूला धक्काहरु सेईस्मोग्राफ नामक उपकरण प्रयोग गरेर मापन गर्ने गरिन्छ जुन म्याग्निच्युड स्केलमा मापन गर्ने गरिन्छ। हाम्रो समुदायको भूकम्पबारे अझै पनि जुन मौसमी प्रक्रिया भन्ने बुझाइ छ  त्यो भने बिल्कुल गलत बुझाइ हो र यो अहिलेसम्म भूकम्पीय विज्ञानले भन्न सकेको छैन।

ख. नेपालमा भूकम्पीय इतिहास कस्तो छ ?

नेपालमा भूकम्पको इतिहास हेर्ने हो भने पहिलो पटक १३१० सालमा भूकम्प गएको विभिन्न सरकारी विवरणले देखाउँछन्। त्यतिबेला नेपालका राजा अभय मल्लको भूकम्पकै कारण निधन भएको विवरणमा उल्लेख भएको पाइन्छ।

साथै सबैभन्दा शक्तिशाली भूकम्प भने १९९० सालको महाभूकम्प (जुन भूकम्प संखुवासभाको चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको थियो, ८.३ म्याग्निच्युड) लाई लिने गरिन्छ जुन भूकम्पले नेपाल लगायत भारतका विभिन्न ठाउँमा तहसनहस बनाएको पाइन्छ।

त्यही १९९० सालको भूकम्पले झन्डै १२ हजार बढी घरहरु ध्वस्त बनाएको थियो भने नेपालमा मात्रै ८ हजार बढी मानिसको ज्यान गएको थियो। १९९० सालको भूकम्पलाई संसारका शक्तिशाली भूकम्पमध्ये लिने गरिन्छ। त्यसपछि हेर्ने हो भने २०४५ सालमा उदयपुर जिल्लाको मुर्कुछे भन्ने ठाउँमा केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो जुन भूकम्पले सोचेभन्दा बढी क्षति गरेको थियो। त्यतिबेला झन्डै ६५ हजार घरहरु भत्किन पुगेका थिए।  त्यसपछि २०६८ सालमा नेपाल र भारतको सिमानामा केन्द्रबिन्दु बनाएर ६.९  म्याग्निच्युडको भूकम्प गएको थियो र त्यसपछि २०७२ सालमा गएको भूकम्प नै अर्को शक्तिशाली भूकम्प हो।

ग. अहिलेकै अवस्थालाई हेर्ने हो भने काठमाडौं उपत्यकाको अवस्था कस्तो छ त ?

माथि भनिए जस्तै नेपालमा भूकम्पको जोखिम वर्षौंसम्म छ। २०७२ सालमा जुन महाभूकम्प गयो त्यसपछि पनि हाम्रो चेतनाको स्तर अझै माथि उठ्न नसकेको जस्तो देखिन्छ। काठमाडौं उपत्यकालाई नै हेर्ने हो भने अनियन्त्रित विकास निर्माण, अपर्याप्त भौतिक पूर्वाधार लगायत घरको डिजाइनमा भूकम्पीय सुरक्षाका तत्वहरुको अभाव, निर्माण सामग्रीको गुणस्तरमा अभाव, जगको लागि माटो परीक्षण लगायतको कमीले गर्दा उपत्यकामा अझै पनि जोखिम देखिन्छ जहाँ पूर्वाधार निर्माणमा न्यूनतम पनि सावधानी नपुर्‍याएको देख्न सकिन्छ।

विभिन्न वैज्ञानिक अध्ययनलाई हेर्ने हो भने १९९० सालको जत्रै भूकम्प जाने हो भने काठमाडौंमा मात्रै झन्डै ४० हजार बढी मानिसको मृत्यु हुनसक्ने, ९५ हजारको हाराहारीमा मानिस घाइते हुने र झन्डै ६ लाख मानिस घरबारविहीन हुने आकलन गरिएको छ। यसै तथ्याङ्कलाई हेर्ने हो भने पनि थाहा हुन्छ हामी अझै कहाँ छौ ? 

घ. भूकम्पीय पूर्व तयारी कसरी गर्ने ?

हो, हामी भूकम्पीय हिसाबले अति अनि संवेदनशील क्षेत्रमा छौं। यो भन्नुको अर्थ यो हैन कि हामीलाई भूकम्पबाट बच्न धरै नै गाह्रो छ। भूकम्प जाँदा हामीलाई भूकम्पले भन्दा पनि हामीले बनाएका संरचनाले बढी नोक्सान पुर्‍याउने गर्दछन् र त्यसैको लागि पनि हामीले परिवारदेखि समुदायसम्म तयारी गर्नुपर्ने हुन्छ।

जस्तो कि पूर्वतयारीको लागि पनि पारिवारिक विभिन्न संकटकालीन योजना बनाउन सकिन्छ।

व्यक्तिगत सुरक्षाकै निम्ति विभिन्न सावधानीका उपाय बारे विज्ञ मार्फत बुझ्न सकिन्छ। आपतकालीन सामग्रीको छुट्टै समूह बनाएर राख्न सकिन्छ।

साथै आफ्नो घरको स्थितिको नियमित रुपमा विज्ञ मार्फत जाँचबुझ गरेर सुरक्षित छ या छैन यस बारेमा सचेत हुनु जरुरी हुन्छ।

यति मात्रै हैन आफ्नो  घरबाहिर रहेको सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने जरुरी हुने गर्दछ। जस्तै ठूला घरहरु, बिजुलीका तार, अग्ला रुखहरु भएको ठाउँलाई पहिचान गर्नुपर्ने हुन्छ जुन सुरक्षाको हिसाबले अति नै जोखिम मानिने गरिन्छ।

शहर बजारको केसमा भन्ने हो भने घरभित्र पानि ग्याँस तथा विद्युतको आपूर्तिका विभिन्न स्रोतहरुलाई कसरी आपतकालीन अवस्थामा बन्द गर्न सकिन्छ भन्ने कुरा सबै परिवारका सदस्यहरुले जान्नु र बुझ्नु जरुरी हुने गर्दछ।

यसका साथै हामीले विभिन्न आपतकालीन उद्धारको लागि आवश्यक पर्ने निकायको सम्पर्क नम्बर राख्न सकिन्छ। साथ-साथै प्राथमिक उपचारका लागि अति नै आवश्यक पर्ने सामानहरु तयारी अवस्थामा राख्नु जरुरी हुने गर्दछ। 

ङ. भूकम्प गइरहेको बेला के के गर्न सकिन्छ ?

सम्झिनुस् यदि तपाईं भूकम्प गइरहेको बेला घरभित्रै हुनुहुन्छ:

यस्तो अवस्थामा यदि तपाईंको घर माटोको प्रयोग गरेर बनाउनुभएको छ भने त्यो बेला तपाईंको घर अगाडि रहेको सडक तपाईंको घरको उचाइ भन्दा फराकिलो छ भने मात्रै तपाईं घर बाहिर जानुहोस् यदि माथि भनिएको जस्तो अवस्था छैन भने घरभित्रै बस्नुपर्ने हुन्छ र पहिचान गरिएको सुरक्षित ठाउँतिर बस्नुहोस्। र शरीरका संवेदनशील भाग जस्तै टाउको जोगिने गरी सुरक्षित बस्नुपर्ने हुन्छ।

अझै सम्भव छ भने कुनै टेबलको तल बस्नु सुरक्षित हुन्छ। घरभित्रै रहेको अवस्थामा तपाईं जस्तो झ्यालबाट र आफूमाथि खस्न सक्ने वस्तुबाट भने टाढा रहनुपर्ने हुन्छ।

घर हल्लिएको अवस्थामा हतारिएर भर्‍याङबाट कहिल्यै तल झर्ने काम नगर्नुहोस्। यदि तपाईंको घर इँटा वा ब्लकले बनेको छ भने माथि भनिएको जस्तै सावधानीका उपाय अपनाए सुरक्षित रहन सकिन्छ। यदि पिलरबाट बनेको घर छ भने तपाईं माथिल्लो तलामा हुनुहुन्छ भने माथि नै बस्नुपर्ने हुन्छ साथै पहिचान गरिएको सुरक्षित ठाउँमा बस्नुहोस्।

च. यदि भूकम्प गइरहेको बेलामा तपाईं घर बाहिर हुनुहुन्छ भने

घर बाहिर भएको अवस्थामा भने ठूला घरहरु, अग्ला पर्खाल, बिजुलीका तार, रुख लगायत आफूमाथि खस्न सक्ने विभिन्न कुराबाट टाढा बस्नुपर्ने हुन्छ। घरबाहिर भएको बेलामा कदापि घरभित्र पस्नु राम्रो हुँदैन। सवारी भित्रै भएको खण्डमा भने साधन सुरक्षित ठाउँमा रोकेर बस्नुपर्ने हुन्छ।

असुरक्षित ठाउँ जस्तै पुल, अग्ला रुख, अग्ला पर्खाल लगायत अन्य सामान झर्ने सम्भावना भएका ठाउँमा सवारी नरोक्ने र सवारीको ढोका भने खुल्ला राख्नुपर्ने हुन्छ। तर भूकम्पकै बेला सवारी चलाउनुपर्ने अवस्था आएमा भने सडकमा भूकम्पबाट पर्ने चिराहरुको भने राम्रोसँग पहिचान गर्नुपर्ने हुन्छ।

पहाडतिर भएको अवस्थामा भने चट्टानहरु खस्ने सम्भावना भएका ठाउँबाट टाढा जानुपर्दछ।

छ. भूकम्प गएपछि के गर्ने, के नगर्ने ?

भूकम्पको ठूलो धक्का गइसकेपछि हामी हतारिनु स्वाभाविक हो तर ठूला कम्पन भइसकेपछि साना धक्काहरु जाने क्रम चाहिं निरन्तर लामो समयसम्म हुने गर्दछ। त्यसैले पनि भूकम्पपछि आफू र परिवारका सदस्यहरु पहिचान गरिएको सुरक्षित ठाउँमा जानु पर्दछ।

त्यसका साथसाथै घरभित्र रहेका विभिन्न संवेदनशील सामग्रीहरु (जस्तै ग्याँस सिलिन्डर, पेट्रोल लगायत अन्य)को राम्रोसँग पहिचान गरेर मात्रै प्रयोग गर्नुपर्दछ र आफू सुरक्षित भएको पहिचान भइसकेपछि अन्य मानिस र पशुचौपायाहरुको  उद्धार निम्ति खटिनुपर्दछ। उद्धार गर्ने बेलामा फुटेको ऐना जस्तै बिझ्न सक्ने वस्तुबाट बच्न बाक्लो जुत्ता लगाउनु राम्रो हुन्छ।

भूकम्प गइसकेपछि कुनै प्राविधिक जाँच विना घरभित्र पस्नुहुँदैन, सिसाजन्य सामग्रीहरु फुटेको नजिकै रहेका खुल्ला भाडामा पानी खानुहुँदैन, अति प्रज्ज्वलनशील पदार्थ लिक भएको छ या छैन त्यो थाहा नहुन्जेल सलाई, लाइटर, स्टोभ लगायत विद्युतीय सामग्री उपयोग नगर्ने र यस्तो ठाउँमा केटाकेटीहरुलाई जान नदिने गर्नुपर्दछ।

अर्को कुरा यदि घरभित्र नै थुनिनुभयो भने त्यस्तो बेलामा नआत्तिनुहोस् र आफू बच्नेछु भन्ने कुरामा विश्वास गर्नुहोस् र उद्धार टोली आएको जस्तो थाहा भएपछि मात्रै चिच्याउने वा सिट्ठी बजाउनुपर्दछ। 

ज. घरभित्र र बाहिरका सामानलाई कसरी सुरक्षित राख्ने ?

घरभित्र र बाहिर हामीले राखिने सामग्रीहरु पनि हाम्रा चोट-पटकका कारक हुन्। त्यसैले पनि हामीले सामानहरुको सुरक्षित व्यवस्थापन गर्नु जरुरी हुन्छ। जस्तै हामीले राख्ने गमलाहरु घरको टपबाट हटाउनुपर्छ। ऐना लगायत सिसाजन्य सामग्रीहरु बिस्ताराबाट टाढा राख्नुपर्दछ। ग्याँस पाइप, विद्युतीय  तारहरुको समयान्तरमा मर्मत गरिरहनुपर्दछ।

ठूला फर्निचर, पुस्तक दराजलाई बलियो बनाएर किला ठोकेर जडान गर्नुपर्दछ। पंखा लगायत सामग्रीलाई राम्रोसँग फिक्स गरेर राख्नुपर्दछ। साथै कीटनाशक औषधि, पेट्रोल लगायत ज्वलनशील पदार्थलाई तापको स्रोतबाट टाढा राख्नुपर्दछ। 

झ. सुरक्षित संरचना निर्माण स्थलबारे न्यूनतम पनि के के कुरामा विचार गर्नुपर्दछ ?

कुनै पनि संरचना निर्माणमा संरचना निर्माण गरिने जमिनको पहिचान गर्नु महत्त्वपूर्ण हुने गर्दछ। जस्तै सम्भावित पहिरोले पुर्न सक्ने, जग भासिन सक्ने जस्ता यस्ता प्राकृतिक विपद्का सुरक्षित ठहरिन सक्ने स्थललाई मात्रै भवन निर्माण स्थलको रुपमा छान्नु पहिलो कुरा हो। अन्य कुराहरु हेर्ने हो भने जस्तै भौगर्भिक चिराहरु रहेका ठाउँहरु जहाँ नियालेर हेर्दा चिरा रहेको देखिने ठाउँको ५०० मीटर वरिपरि घर बनाउनु सुरक्षित मानिंदैन तर सामान्य अस्थायी किसिमका घरहरु बनाउन भने सकिन्छ।

पहाडी इलाकाको सबैभन्दा ठूलो समस्या भूकम्पपछि जाने पहिराहरू जहाँ जमिनको भित्री बनोट र बाहिरी स्वरूप फरक पाइन्छ यस्ता ठाउँको पहिचान राम्रोसँग गर्नुपर्दछ। कतिपय पहाडी भिराला जमिनहरुमा सानो कम्पनमै झर्न सक्ने ढुंगा हुने गर्दछन्। यस्तो ठाउँको पहिचान राम्रोसँग गरिनुपर्दछ। साथै दलदल, पानी जम्ने क्षेत्र, पुरुवा माटोको ठाउँ लगायत कुराको पहिचान राम्रोसँग गर्नुपर्दछ।

 (लेखकद्वय आचार्य  भण्डारी भौगर्भिक इन्जिनियर हुन्।)