किसानलाई अलैंची भित्र्याउन चटारो

ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैं सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो। अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ। बेंसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैंची टिपाइ हुन्छ।

अहिले मध्यभागमा अलैंची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ। अलैंची संकलन ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्‍याइदिने हुँदा किसानलाई अलि बढी चटारो लागेको पाथीभरा याङवरक गाउँपालिका–१ थेचम्बुका ज्ञानबहादुर गुरुङले बताए। अलैंची थन्क्याउने यामका कारण चाडपर्व सहज गरी मनाउनै नपाएको उनले बताए। मुख्य याम भएकाले चाडपर्वमा पनि अलैंची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका वसन्त लिम्बूले बताए। तिहार अलैँची बगानमै मनाउने उनको योजना छ।

फुङ्लिङ नगरपालिका–६ बिहीबारेका खाङ्डु शेर्पाले पनि अलैंची टिप्न, छोडाउन र सुकाउनमै दसैं बितेको बताए। घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैंची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको उनले बताए। अलैंची खेतीमा संलग्न जिल्लाभरका किसानलाई अहिले अलैंची भित्र्याउन भ्याइनभ्याइ छ। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैंची  खेती गर्दै आएका छन्। जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ। ताप्लेजुङमा प्रतिमन (४० किलो) अलैंची रु ५५ हजारमा खरिद बिक्री हुँदै आएको छ।

अलैंची बगानमा रोजगारी 

फुङ्लिङ–७ बिहीबारे क्षेत्रमा रहेको अलैंची बगानमा पूर्ण राई अलैंची टिपाइमा व्यस्त छन्। उनी पाथीभरा याङवरक गाउँपालिका–१ नाङखल्याङबाट अलैंची टिप्न रोजगारी गर्न फुङ्लिङसम्म आएका हुन्। दसैं सकेलगत्तै राई घरबाट निस्किएका हुन्। बिहान उठेपछि अलैंची टिप्न बगानमा पसेको राई साँझमात्र बगानबाट बाहिर निस्कन्छन्। उनी साँझ–बिहानको खाना खाजा पनि अलैंची बगानमै खान्छन्। बिहान र दिनभरि टिपिएको अलैंचीको थुङ्गा बगान नजिकै रहेको अलैंची सुकाउने भट्टीमा जम्मा गर्छन्। दिनभरि टिपिएको अलैंचीको थुङ्गा बेलुका १० बजेसम्म छोडाउनु राईको अहिले दैनिकी बनेको छ।

पाथीभरा याङवरक–१ नाङखल्याङ गाउँका पूर्ण राईसँगै सात जना घर छाडेर अलैंची टिप्न फुङ्लिङ पुगेका हुन्। गाउँमा रोजगारी नभएपछि रोजगारी खोज्दै फुङ्लिङ–६ अवस्थित अलैंची बगानमा आइपुगेको नरप्रसाद राईले बताए। उनी तिहारसम्मै बगानमै बसेर अलैंची टिप्ने, ओसार्ने, भट्टी लगाउने काममा व्यस्त छन्। देउसीभैलो खेल्नेलाई दान दक्षिणा दिनका लागि खर्च जुटाउन अलैंची बगानमा रोजगारी गर्न थालेका हुन्। अलैंचीमै बसेर टिप्ने, छोडाउने र सुकाउने मजदुरलाई प्रतिदिन पाँच सयदेखि सात सय रूपैयाँसम्म ज्याला दिने गरेका छन्।

IME Remittance