बागलुङ । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ ।
गाउँ छेउका पल्लो पाखार सामुदायिक वन र जलुके तारेभिर सामुदायिक वनमा चितुवा कराउन छोडेका छैनन् । दिनभर गाउँमा बाँदरको आतङ्क छ । रात परेपछि चितुवा कराउँदै घरघरै आइपुग्छन् । “पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो”, शर्माले भन्नुभयो, “छ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाइते छन् ।”
उहाँको बाख्रो खाएको एक दिनपछि छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताउनुभयो । “गाउँ पातालो छ । मान्छेभन्दा जङ्गली जनावर धेरै हुन थाले”, उहाँले भन्नुभयो, “गरिखान नसकिने अवस्था आयो । बालीनाली बाँदरले खान्छ । पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा ?”
बसाइँसराइले बस्ती पातलो हुनु, जङ्गलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनुले जङ्गली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख शरद अधिकारीले बताउनुभयो । “मुख्यगरी जङ्गलमा आहारा नभएपछि मात्रै जङ्गली जनावर जोखिम मोलेर गाउँ पस्छन्”, उहाँले भन्नुभयो, “जिल्लामा सिकार आरक्ष छ । तर वफर जोन छैन । आरक्षबाट बाहिर निस्केका जनावर बस्तीसम्म पुगेका हुन सक्छन् ।” रासस