मृत भेटिए लोपोन्मुख डंगर गिद्ध

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेका छन् जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरूंगे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए। बिहीबार साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन्।

गिद्ध विषाक्त मासु खाएका कारण मरेको हुन सक्ने संरक्षणकर्मी चौधरीले बताए।’चारवटा गिद्ध मृत भेटिएका छन्। विषाक्त खानाकै कारण मरेको अनुमान छ,’ संरक्षणकर्मी चौधरीले भने।साँझको समय भएकाले राम्ररी नदेखिएको र अन्य गिद्धसमेत मरेको हुन सक्ने उनले बताए।

गिद्ध मरेको स्थानमा स्याल जस्तो देखिने जनावर मरेको अवस्थामा फेला परेको पनि उनले बताए। सोही जनावरको मासु खाएकाले मरेको हुन सक्ने अनुमान छ।

गिद्ध मरेको विषयमा पशु प्राविधिकले अनुसन्धान गरिरहेको उनले बताए। गएको फागुन महिनामा समेत यसै क्षेत्रमा स्यालको विषाक्त मासु खाएर पाँचवटा गिद्ध मरेका थिए। नमूना सदरमुकाम निर्माण स्थल क्षेत्रमा रहेका सिमलका रूखमा गिद्धको बासस्थान छ।

हाल गिद्ध मरेको स्थान गिद्ध संरक्षण गरिएको जटायु रेस्टुरेन्टदेखि करिब ६ किलोमिटरको दूरीमा समेत पर्छ। कावासोतीकै पिठौलीमा गिद्ध संरक्षण गरिएको छ। संरक्षण गरिएका गिद्धको आहारविहार गर्ने स्थाननजिक पटकपटक गिद्ध मर्दा संरक्षणमा चुनौती थपिएको संरक्षणकर्मी एवं जटायु रेस्टुरेन्टका व्यवस्थापक डिबी चौधरीले बताए।

IME Remittance