मिथिलामा ‘जुड–शीतल’ मनाइँदै

 

मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
फाइल तस्बिर

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख–२ गते घर परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घजीवनको आशीर्वाद दिने चलन छ ।

मिथिलामा घरका कुलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये ‘जुडशीतल’ पर्दछ । यो पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता ,कुलदेवता लाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजन ९मुन्गा०को तरकारी, चनाको पिठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढी–बरी’ बरीलाई मथिएको दहीमा पकाएर बनाइने परिकार काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

वैशाख सङ्क्रान्ति अर्थात नयाँ वर्ष प्रारम्भ भएकै दिन ‘जुडशितल’ पर्व सुरु गरिन्छ । पहिलो दिन चना ,बदाम जौ, मकै, कँगनो , गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कुलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरुलाई दान गरिन्छ । बढ्दो गर्मीमा शितलता दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘सतुवाइन’ मैथिल ९मिथिलाका बासिन्दा०ले हिजै सम्पन्न गरेका छन् ।

पर्वको दोस्रो दिन अर्थात आज वैशाख–२ गते घर घरमा परिवारका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घजीवनको आशिर्वाद दिएका छन् । नयाँ वर्षले जीवनमा  शितलता प्रदान गर्न सकोस्भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाताहरुको भनाइ छ । यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा चना बदाम को सातु, दाल, सोहिजन मुन्गाको तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ ।

जुडशितल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । धुलो र हिलो माटो छेपाछेप गर्नु पनि कृषि कार्यमा सधैँ लागि रहन पाइयोस् भन्ने कामना रहेको मिथिला संस्कृति तथा परम्पराका जानकार सेवानिवृत शिक्षक भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारु बताउँछन् ।

खासमा नयाँ वर्ष प्रारम्भसँगै यो वर्षभरि खेतीपातीका लागि अनुकूल समय रहोस् भन्ने पर्वको अन्तर्य रहने हुँदा यो कृषि पर्व रहेको बर्दिबास–९ पशुपतिनगरका ८५ वर्षीय किसान नथुनी महतोको भनाइ छ । रासस

IME Remittance