मान्द्रा बुनेर जीविकोपार्जन

सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार। शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो आफ्नो दैनिकी सुरुवात गर्छन् ग्याल्बो शेर्पा।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका शेर्पा  ७० वर्ष पुगे। उनले सानै उमेरदेखि बाँस र निगालोको चोयाबाट डोको र डालो बनाउन थालेका हुन्। चाडबाड, बिहे, ब्रतबन्ध, खेतीपातीको समय आउँदा गाउँलेले उनलाई नै डोकोडालो बनाउने जिम्मा दिन्छन्। शरीर बुढो भएपनि डोकोडालो बनाउन उनी युवाजस्तै सक्रिय छन्।

‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु,’ उनले भने। शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ। माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ। शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन्। घरमै  आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टारेका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहोसमेत गरेका छन्।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ। एउटा मान्द्रा तयार गर्न झण्डै तीन दिन लाग्छ। मान्द्रादुई हजार दुई सयमा बिक्री हुने गरेको शेर्पा बताउँछन्।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ। अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको सो वडाका कर्मा स्याङ्बो बताउँछन् । उनी पनि  मान्द्रा बुनेर बेच्छन्।

‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु,’ उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ।

अन्न उब्जाउन जमिन छैन । कमाउन अरू इलम छैन । यहाँका अधिकांशले  आलु खेती गर्दै आएका छन् । आलु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका  छैनन्। मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेललगायत जङ्गली जनावारले दुःख दिँदा हैरान छन्। आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रुपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ।

IME Remittance