डिल्ली अम्माई
दर्शनले समुदायको चेतना , विज्ञानको प्रयोग र प्रविधिको विकासलाई थप व्याख्यासहित समाजका अन्तरविरोधहरु समाधान गर्दै भविष्यको तस्बिर देखाएन भने त्यो दर्शन त्यतिखेरै निष्प्राण बन्दछ । तर त्यसले चेतना, भौतिक विकास र प्रयोगका अनुभवहरुलाई संश्लेषण गरेर भविष्य हाक्न सक्यो भने त्यो दर्शन परिवर्तनको जीवन्त दर्शन बन्दछ ।
इतिहासको अघिल्लो कालखण्डमा स्थापित मान्यताहरु भौतिक विज्ञानका विभिन्न चरणका आविष्कारले उल्टाइदियो । समाजको पुरानो मान्यतालाई  मार्क्सवादले जन्म लिएपछि चुनौति दियो । द्वन्द्वत्मक भौतिकवादको जगमा उभिएको दर्शनले मानव चेतनामा पारेको असर अकल्पनिय छ । त्यस्तै समाज विज्ञानमा पनि अन्धविश्वासका पुराना विश्वासहरुलाई शिक्षामा भौतिक विज्ञानका प्रयोगशालाको नतिजाले खारेज गर्दै लग्यो ।
नयाँ मान्यताहरुलाई संसारले तथ्यसहित स्वीकार्दै गयो। धार्मिक विश्वासमा मानिएका र भनिएका कुरा सूर्यका रथ र दश घोडा झैँ  हावामा उडे । तथ्यसहितका प्रमाणिक कुराहरुले विस्तारै संसारको चेतनालाई छर्दै लग्यो ।  संसार मात्र हैन निहारिका र सिङ्गो ब्रह्माण्ड चलायमान भएको, समयको गति हुने वा नहुने कुरा त्यस क्षेत्रमा हुने चाल र खिचावले निर्धारण गर्ने कुरा भनेर मानियो । समाज विज्ञानमा डार्विनको विकासवादी सिद्धान्तलाई स्वीकारियो । धार्मिक साहित्यमा लेखिएका ब्रह्माको अङ्गबाट मानव शृष्टि भएको कुराप्रतिको विश्वास धर्मराउँदै गयो ।
त्यसैले भन्नैपर्छ, पछिल्लो वैज्ञानिक आविष्कारले समाजका विश्वास र मानव चेतनामा समेत अथाह परिवर्तन ल्याएको छ । हाम्राे सोच र दर्शनका मान्यताहरुलाई क्वान्टम विज्ञान, सफ्टवेयर, प्रकाशको तरङ्ग र शक्तिद्वारा पदार्थको निर्माण र पुनः पदार्थको शक्तिमा रुपान्तरण जस्ता खोजले प्रभाव पारेको हुन्छ । वैज्ञानिक खोज र दर्शनको सन्तुलन मिल्न सक्यो भने त्यो दर्शनले मात्र समाज रुपान्तरणमा मार्गदर्शनको काम गर्न सक्ने हुन्छ। अन्य अवस्तुवादी कुरा समय अन्तरालमा फ्याँकिदै जान्छन् । दर्शनको क्षेत्रमा पनि सत्य कुरा त्यही हो ।
केही समाज विज्ञानका ज्ञाताहरुले भौतिक विकासको आधारमा नयाँ आयाम र त्यो विकासका आधारभूत नियमहरुको व्याख्या गर्न दर्शनको विकास हुँदैआएको हो । संसारभरका मेहनत मानव समुदायको हितमा लेखिएको मार्क्सवादी दर्शनको निरन्तर समृद्धि हुनुपर्ने कुरालाई महसुस गरेर दर्शन विकासबारे समेत चासो राख्दै अबको आन्तरिक तथा बाह्य वस्तुस्थितिको वस्तुनिष्ठ आङ्कलनसहित तात्कालिक कार्यनीति र रणनीति तय गर्न एक दीर्घकालिक मोर्चा निर्माण गरेर जानुपर्ने कुराहरु आएका छन् । विशेष गरी यो कुरा युरोपका केही मार्क्सवादी बुद्धिजीवीहरुले बहसमा ल्याएका छन् । जुन कुरा समय सान्दर्भिक मात्रै नभएर अहिलेको आवश्यकता पनि हो ।
समाज परिवर्तनका आधारहरुलाई वैज्ञानिक रुपमा व्याख्या गर्ने र समाज परिवर्तनका परम्परावादी सोच र मान्यताहरुलाई भत्काउँदै उत्पादनका साधनहरुको न्यायिक वितरण गर्ने वैज्ञानिक समाजको परिकल्पनामा मार्क्सवाद अहिलेसम्मको सबैभन्दा अग्रगामी दर्शन मानिँदै आएको छ । त्यसैले समाज विकासको बहसमा कम्युनिष्टहरुको द्वन्दात्मक विश्लेषण नै संसारको व्याख्यामा मात्र सीमित नभएर संसारको न्यायिक सुधार र रुपान्तरणको लागि एकमात्र सही दृष्टिकोण हुनसक्छ ।
मानव इतिहासमा प्रमाणित भएको कुरा यो हो कि मार्क्सवादी दर्शनसँगै आएको परिवर्तनको लहरले ल्याएको तरङ्गमा मजदुरहरुको अधिकार स्थापित भयो । समाजवादी दर्शनद्वारा रुपान्तरित चेतनाले युरोपमा महिलाहरुको हकलाई स्थापित गरायो । औद्योगिक क्रान्तिदेखि संसारभरिका राजनैतिक क्रान्तिको अग्रगामी बहावमा मार्क्सवादी दर्शनको ठूलो प्रभाव रहेको छ ।
संसारभरिका परम्परावादी तथा धार्मिक शासकहरुसमेत वर्ग संघर्षको छालबाट आफ्नो शासन जोगाउने धुनमा अधिकतम प्रगतिशील सुधार गर्न बाध्य भए । त्यो पनि यही दर्शनको देन हो । आधुनिक दर्शनले अधिक मानिसहरुको हितमा प्रयोगसिद्ध मान्यताहरुको आधारमा टेकेर विश्वका चराचरहरुको सेवा गर्न सक्नुपर्दछ । अबको लागि मानवीय हित र समाज विकासको गतिलाई रुपान्तरित गर्दै मानव चेतनाको सशक्तिकरण गर्ने दर्शनको आवश्यक छ । त्यसैले समयसापेक्ष परिवर्तनको लागि वैज्ञानिक दर्शनको समृद्धि वा विकासबारे संसारभरि बहस चल्न थालेको छ जुन आफैँमा अत्यन्त सकारात्मक कुरा हो ।मार्क्सवादको दर्शन विकासमा पुरानो रणनीतिका मूलभूत सारबाहेकका तात्कालिक मान्यताहरुको समृद्धिकरण आवश्यक मात्र हैन असम्यभावी छ ।
मानव चेतनाले समाज विकास र विज्ञानबीचको यथार्थ चित्र उतार्न सक्यो भने कुनै पनि दर्शन विकसित हुँदै जान्छ । संसारभरिका भौतिकवादी दार्शनिकहरु तथा २१ सौं शताब्दिका सबै बामपन्थी नेताहरुले आफूलाई विज्ञानमा नयाँ आविष्कारहरुले मारेको फड्को र त्यसको अनुकूल हुनेगरी दर्शनको विकास गर्न बहस कलाको विकास अहिले खड्केको समस्या हो । मार्क्सवादको दर्शन विकासमा पुरानो रणनीतिका मूलभूत सारबाहेकका तात्कालिक मान्यताहरुको समृद्धिकरण आवश्यक मात्र हैन असम्यभावी छ ।
सामाजिक अन्तरविरोधमा आएको फेरबदलसँगै आधुनिक दर्शनको विकास समय अनुकूल हुँदै जानुपर्छ । त्यसैले आधुनिक दर्शनको विकास वैज्ञानिक आविष्कारहरुलाई सम्बोधन नगरी हुनै सक्दैन । भौतिकवादी दर्शन युग युगमा समाजभित्रका अन्तरविरोध वा दुःखका कारणहरु खोज्दै अगाडि बढिरहेको इतिहास छ । उदाहरणको लागि, पुरानो इश्वरीय सत्ताको विकल्पमा बुद्धले विज्ञानसम्मत प्रतीत्यसमुत्पाद दर्शनको आविष्कार गरे ।
जसले मानिसको आत्मा, शृष्टि, मुक्ति र जीव उत्पत्तिका अवैज्ञानिक धारणालाई पूर्णरुपमा विस्थापित गरिदियो ।  महात्मा बुद्धले  ईश्वरको सत्तालाई कहिल्यै स्वीकार गरेनन किनकि उनको विचारमा “ब्रह्माण्ड प्रतीत्यसमुत्पाद” नियमानुसार चल्दछ भनेर स्पष्टसँग बताइदिएका छन् । प्रतीत्यसमुत्पादको नियम भन्नाले कारण-कार्यको श्रृङ्खलालाई बुझाउँछ । जसमा आन्तरिक कारण प्रधान र बाह्य कारण कम हुन्छ । यस श्रृङ्खलाका धेरै चक्रहरु छन् । जसलाई बुद्ध दर्शन अनुसार बाह्र अङ्गमा बाँडिएको छ ।
अत: बुद्ध दर्शन अनुसार यस ब्रह्माण्डको सुचालक कोही हुँदैन । न त कोही उत्पत्तिकर्ता नै छ ।  त्यो आन्तरिक संरचनागत प्रक्रियाबाट सञ्चालित छ । किनकि  उत्पत्तिकर्ता भन्नेबित्तिकै ‘अन्त’को आभाष हुन्छ । बुद्ध दर्शन अनुसार ब्रमाण्डको न त प्रारम्भ छ अथवा अन्त । त्योबेलाको बुद्ध दर्शन तात्कालिक परम्परावादी हिन्दुहरुको बीच क्रान्तिकारी दर्शन थियो ।
त्योबेला मात्र हैन, अहिलेसम्म पनि परम्परावादी हिन्दुहरुले आत्मा अजेय छ भनेर मान्दछन् । तर बुद्ध दर्शनले आत्मालाई मान्दैन । बुद्ध दर्शनको एक मुख्य सार अनात्मवाद हो । अनात्मवादको यो अर्थ हैन कि सत्य रुपमा ‘सूक्ष्म चेत’ छैन । जसलाई मान्छे आत्मा सम्झन्छन्, त्यो चेतनाको अविच्छिन्न प्रवाह हो । यो प्रवाह जहिले पनि  बिग्रेर जडमा विलीन हुनसक्छ, अथवा अन्धकारमा लुप्त हुन सक्छ ।
त्यसैले बुद्धमार्गीले विपासना ध्यानद्वारा आफूलाई चिन्ने कलाको विकास गरे । यो अभ्यासले चेतनालाई बलवान् बनाउन मद्धत गर्छ ।  स्वयंले आफूलाई नचिनेसम्म चैतन्य बलवान् हुन सक्दैन ।
बुद्ध दर्शनले परिवर्तनलाई प्रतीत्यसमुत्पादको नियम अनुकूल स्वीकार्छ । जसरी आधुनिक विज्ञानले  आधारभूत कणहरू अविभाज्य छन् भने इलेक्ट्रोनहरू विभाज्य छन्, संसारको प्रत्येक वस्तु परिवर्तनशील छ, भौतिकशास्त्र परिवर्तनशील छ, न्युटनको भौतिकशास्त्रका नियमहरू परिवर्तनशील छन् भनेर स्वीकार्दछ । त्योबेलाको जड समाजले बुद्धको दर्शनलाई दुत्कार्यो र उनका चेलाहरुलाई धर्म विरोधीको आरोप लगाइयो । तर उक्त दर्शन त्यो कालको युगान्तकारी दर्शन थियो ।
ज्ञान सधैँ गतिवान् र विकासशील हुन्छ । हामी ठूलो दुर्बिनद्वारा अझ बढी ताराहरू देख्न सके झैँ प्रविधि विकास र तदनुरुप ज्ञानको विकासले दर्शनको व्याख्याले मानिसलाई उनीहरुको सुन्दर भविष्यतर्फको यात्रा सहज बनाइदिन्छ ।आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा हरेक वस्तुका तीन आयामसँग समयको चौथो आयाम (समय) जोडिएको हुने कुरा बताएका छन् ।
भौतिक विज्ञान र परम्परावादी सोच बीच सधैँ अन्तरविरोध चलिरहन्छ । विज्ञानले गति र रुपान्तरणलाई सात्स्वत मान्दछ । एउटा उदाहरणलाई लिउँ, सामान्यतया प्रकास सिधैँ हिँड्छ । न्युटनले पनि प्रकाश सोझो रेखाबाट हिँड्छ भने ।  त्यसैलाई विज्ञानको नियम भनेर पढियो तर अल्बर्ट आइस्टाइनले गुरुत्वाकर्षणले प्रकाशलाई पनि बङ्ग्याउन सक्ने तर्क राखे । अझ असीमित गुरुत्वशक्तिले त प्रकाशलाई समेत निलिदिने कुरा बताए । भौतिक विज्ञान जगतमा उनको आविष्कारले अर्को सन्सनी मच्चियो । आइन्स्टाइनका अनुसार ब्रह्माण्डमा हरेक वस्तुका तीन आयामसँग समयको चौथो आयाम (समय) जोडिएको हुने कुरा बताएका छन् । यी सबै नियमहरुको असर आधुनिक प्रविधि र त्यसको प्रभाव समाज विकासमा पनि पर्नेगर्छ ।
त्यसैले भौतिक नियमका यिनै परिधिमा टेकेर नै अबको समाज परिवर्तनको आधार तय गरिनुपर्दछ । भौतिक विज्ञानमा आएको नयाँ परिवर्तन प्रविधिको विकासले समाजमा नयाँ परिवेश तयार हुने तर नयाँ राजनीतिक शक्ति निर्माणको सचेत प्रयत्न नहुने हो भने समाज सदैव यथास्थितिको सिकार हुन्छ । भौतिक आविष्कार अघि र दर्शन पछि छोडियो भने त्यसले सामाजिक विकासलाई खोक्रो र चेतनारहित बनाइदिन्छ । जसको समाज विकासमा कुनै योगदान हुँदैन ।
अहिले विज्ञानको क्षेत्रमा भएका आविष्कारहरुले सामाजिक मान्यताहरुमा जबर्जस्त प्रभाव पारेका छन् । विज्ञानमा सफ्टवेयरको विकास आजभन्दा ५० वर्ष अगाडि कसैले कल्पना गरेको थिएन । कार्ल मार्क्सले पनि आफ्नो दार्शनिक व्याख्यामा सफ्टवेयरको सायदै कल्पना गरेका थिए । सफ्टवेयरको विकास परम्परागत भौतिकवाद वा अध्यात्मवाद दुबैका कल्पनाभन्दा बाहिरको विषय थियो । यसको उपस्थितिले परम्परागत दार्शनिक मान्यतालाई सङ्कटमा पारिदिएको छ । सफ्टवेयरको आविष्कार क्वान्टम विज्ञानको देन हो । त्यसैले यो आविष्कारको वास्तविक रहस्य थाहा पाउन क्वान्टम विज्ञानका विशेषताको चर्चा गर्नु जरुरी हुन्छ ।
मार्क्सवादी दर्शनशास्त्र ‘न्युटनीय विज्ञानको युग’मा निर्माण भएकोले अहिलेको सामाजिक सुचालक र कुचालकहरूबारे भेउ पाउन सकेन । अहिले भौतिक विज्ञान ‘आइन्स्टाइनको युग’ हुँदै क्वान्टम विज्ञानका पनि अनेकौँ संस्करण भएर गुज्रिरहेको छ । (प्रकाश सानो, अविभाज्य इकाइहरू, वा क्वान्टा, ऊर्जाबाट बनेको छ, जसलाई हामी फोटानहरू भन्छौं।
कतिपयले त यो तर्क गर्न प्रयोग गरेका छन् कि क्वान्टम संसार मानव चेतनाबाट प्रभावित छ, यसले हाम्रो दिमागलाई एजेन्सी र ब्रह्माण्डको ओन्टोलजी (ओन्टोलजी दर्शनको शाखा त्यो हो जसले अस्तित्व, हुनु र वास्तविकता जस्ता अवधारणाहरूको बारेमा अध्ययन गर्दछ) मा स्थान दिन्छ । हाम्रो दिमाग पनि क्वान्टम मेसिनद्वारा कम्प्युटर झैँ ह्याक गर्न सकिन्छ भन्ने कुरा पनि वैज्ञानिकहरुले हालसालै बहसमा ल्याएको विषय हो ।
बिग डाटाको विकास, कम्प्युटरको गणना गर्ने क्षमतामा गुणात्मक फड्को, एआईको विकास एवं जैविक रासायनिक र जैविक प्राविधिक क्षेत्रमा देखिएको फड्कोका कारण अबको सामाजिक–आर्थिक रूपान्तरणको स्वरूप विगतको भन्दा नितान्त भिन्न हुनेछ । अबको प्रधान अन्तरविरोध पनि सफ्टवेयरका मालिक र राज्य, प्रविधि सम्पन्न देश भर्सेस् तेस्राे विश्व र उपभोक्ता बीच हुने देखिन्छ । संसारभर अबको राजनैतिक तथा सूचना नियन्त्रण सफ्टवेयर मालिकहरुले आफ्नो हितमा गरे भने अन्यथा मान्नु पर्दैन ।अबको उत्कृष्ट आधुनिक राजनैतिक पूर्वाधारबारे बहस, अध्ययन, अनुसन्धान, क्रान्तिको कार्यदिशाको तय र व्यावहारिक प्रयोगमा ज्ञानको संश्लेषण आजको आवश्यकता हो ।
धेरै वर्षदेखि मार्क्सवादको विकास रोकिएको छ । यो दर्शनको प्रयोगमा आएको अवरोधले मात्र दर्शनको विकास रोकिएको हो वा अन्य कारणले ? बहस समेत रोकिएको छ । त्यसैले मार्क्सवादले भौतिक विज्ञानको आधुनिक चरण, त्यसले समाज विकासमा पार्ने असर र अबका प्रमुख अन्तरविरोधहरूबारे बहस गर्न डरायो वा दर्शन विकासको नयाँ चरणबारेको बहसलाई पुरानो बाटोमा अल्मल्याइरह्यो भने मार्क्सवादको बाटो अवरुद्ध हुन्छ र यो दर्शनको पनि मृत्यु हुन्छ। त्यसैले चिनिया कम्युनिष्ट पार्टीका नेता तथा आधुनिक चीनका निर्माता माओत्सेतुङले भनेका छन्, “मार्क्सवादको पनि जन्म, विकास र मृत्यु हुन्छ । मार्क्सवादको मृत्युको अर्थ मार्क्सवादभन्दा उच्च कुनै दर्शनले त्यसको प्रतिस्थापना गर्नेछ ।”
अबको उत्कृष्ट आधुनिक राजनैतिक पूर्वाधारबारे बहस, अध्ययन, अनुसन्धान, क्रान्तिको कार्यदिशाको तय र व्यावहारिक प्रयोगमा ज्ञानको संश्लेषण आजको आवश्यकता हो । विज्ञानमा जस्तै सामाजिक नियमका पुराना व्याख्याहरुको आधारलाई भौतिक विज्ञानका नयाँ आविष्कारहरुले प्रतिस्थापन गर्दै नलाग्ने हो भने मार्क्सवादको विकास प्रक्रिया रुमलिन्छ र साम्राज्यवादले प्रविधि विकासलाई आफ्नो बचाउको कार्यमा लपेटिरहन्छ ।
किनकि अमेरिका बायोटेक, न्यानोटेक र इन्फोटेक जस्ता केही मुख्य प्रविधिमा अझै अगाडि छ । यी प्रविधि एक्काइसौं शताब्दीको आर्थिक बृद्धिमा अग्र पङ्क्तिमा आउँछन् । चीनले पनि अनुसन्धान र विकासमा प्रशस्त खर्च गर्दैछ र कति क्षेत्रमा गतिलो प्रतिस्पर्धा पनि गर्दैछ । तर, संसारका २० मुख्य अनुसन्धान गर्ने विश्वविद्यालयमध्ये १५ अमेरिकामा छन्, अझैसम्म चीनमा एउटा पनि छैन ।
त्यसैले अनुसन्धान र प्रविधिको क्षेत्रमा पनि अमेरिकाको संसारभर एकल दवदवा अझै लामो समयसम्म चल्नसक्छ । अहिले फेसबुक र ट्युटरलगायत सफ्टवेयरका मालिकहरुले अमेरिकाको केन्द्रीय सरकार मात्र नभएर संसारकै सूचना साम्राज्यलाई आफ्नो नियन्त्रणमा लिने खतरा देखिएको छ । त्यसको विकल्पमा समाजवादीहरुले अर्को सफ्टवेयर विकास नगरी उनीहरुको सूचना चङ्गुलबाट निस्कने विकल्प हुँदैन । अमेरिकाका राष्ट्रपतिलाई समेत सफ्टवेयरका मालिकहरुले कारवाही गर्न सक्ने अवस्थाले राज्यको नेतृत्व र सञ्जालको नेतृत्वबीच नयाँ खालको अन्तर्विरोधले भोलि कस्तो रूप लिने हो यसै भन्न सकिन्न ।
अन्तमा, वैज्ञानिक आविष्कारहरुको उपयोग गर्दै समाज दर्शनको विकास गर्न निरन्तर छलफल, प्रयोग र प्रतिक्रियाहरुको आवश्यकता रहन्छ । दर्शनको विकासमा उन्नत प्रविधिको प्रयोगले समाजिक चेतनामा परेको असर र त्यसले जन्माएको अन्तर्विरोध नबुझिकन नयाँ आयामबाट मार्क्सवादको विकास असम्भव प्रायः छ ।