सुर्खेत । जिल्ला अस्पताल डोल्पामा दुई वटा एम्बुलेन्स छन् । तर, अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदीमाथि र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारीपट्टी थन्क्याउनु पर्ने बाध्यता छ । दुईमध्ये एक एम्बुलेन्स वर्ष दिन अघिदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीपट्टीसम्म मात्र सेवा दिने गर्दछ ।झण्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरको माध्यमबाट बिरामीलाई अस्पतालसम्म लिने र ल्याउने गरिन्छ ।
स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा छ भने अस्पताल पल्लो दुनैमा रहेको छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउन मात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल छ । भेरी कोरिडोरभित्र दुई वर्षअघि मात्र डोल्पाको सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।
ठूलीभेरी, त्रिपुरा सुन्दरी नगरपालिकाबाट ल्याइएका बिरामीले सबैभन्दा बढी सास्ती भोग्दै आएका छन् ।त्यस्तै तिब्ला सडक लिने भन्दै दुनै बजार नै जोखिममा पर्ने गरी पहाड खोलिँदै छ । तर, अस्पताल जाने र आउने सडक निर्माणतर्फ कसैको पनि ध्यान नगएको भन्दै सर्वसाधारण आक्रोशित भएका छन् ।