सन्तानलाई डाक्टरी पढाउनुअघि जान्नै पर्ने ५ कुरा: डा.जीवन क्षेत्री

एमबिबिएस भर्नाको मौसम सुरू भएसँगै नेपालमा मेडिकल शिक्षाको अवस्था र ‘स्कोप’ बारे सोधपुछ गर्न मानिसहरूले मलाई फोन गर्छन्। मैले सकेको परामर्श दिन्छु।

तर यस पटक त्यस्तो परामर्श चाहने सबैका जानकारीका लागि अक्सर सोधिने केही प्रश्नहरूको जवाफसहित यो छोटो लेख तयार पारेको छु।

१. छोरा वा छोरीले डाक्टर बन्ने जिद्दी गर्दैछन्, के गर्ने?

जिद्दी गर्ने छोराछोरीलाई एउटा प्रश्न सोध्नुहोस्- किन डाक्टर बन्ने? यसको जवाफमा बाँकी सबै कुरा भर पर्छ।

यदि तलबै नलिई स्वयंसेवा गरेर भए पनि यो देशको स्वास्थ्य क्षेत्रलाई उकास्ने उनीहरूको चाहना छ भने थप धेरै कुरा नसोधी डाक्टरी पढ्ने बाटोमा लगाइदिए हुन्छ। अझै देशका दुरदराजमा मानिसहरू उपचार नपाएर छट्पटाइरहेका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार डाक्टर पुगेका छैनन्।

त्यस्तो सेवक मनोवृत्ति भएका अरू हजारौं डाक्टरहरू देशलाई आवश्यक छन्।

होइन, राम्रो आर्थिक प्रतिफल हुने करिअरका लागि डाक्टर बन्ने हो भन्छन् भने त्यो निर्णयका बारेमा दसपल्ट सोच्न लगाउनुहोला।

कारण- सुरूमा माथेमा उच्चस्तरीय कार्यदलले नेपालमा स्वास्थ्य क्षेत्रको जनशक्तिको उत्पादन र खपतका लागि गरेको यो प्रक्षेपण हेरौं।

सन् २०३१ मा जब अहिले भर्ना भएका विद्यार्थी स्नातक गरेर निस्कने छन्। देशमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आवश्यक जनशक्ति ३५ हजार हुनेछ। पलायन हुने र सेवा निवृत्त हुनेहरूलाई छाडेर पनि झन्डै ५५ हजार चिकित्सक सेवाका लागि उपलब्ध हुने छन्।

अर्थात्, अबको दशकमा नेपालको स्वास्थ्य क्षेत्रमा कुनै चमत्कार भएन भने आठ वर्षपछि बीस हजार चिकित्सक बेरोजगार हुने छन्।

यसका प्रारम्भिक लक्षणहरू देखिइसकेका छन्।

नेपाल मेडिकल काउन्सिलको अद्यावधिक आँकडाअनुसार देशमा एमबिबिएस र बिडिएस गरी ३२ हजारभन्दा धेरै चिकित्सक दर्ता भएका छन्। स्नातकोत्तर गरेर लाइसेन्स लिनेहरूको संख्या १० हजार काटेको छ।

माथेमा  प्रतिवेदनमा उल्लिखित सन् २०१५ को आँकडालाई काउन्सिलको अहिलेको आँकडासित तुलना गर्दा यस्तो पनि देखिन्छ- नेपालमा चिकित्सक दर्ता हुन थालेयताका दशकौंको अवधिमा (सन् २०१५ सम्म) जम्मा १७,६६६ चिकित्सक (एमबिबिएस र बिडिएस) दर्ता भएका थिए। त्यसयताका आठ वर्षमा मात्रै १५ हजार चिकित्सक थपिएका छन्। अर्थात् पुराना चिकित्सकहरूको अवकाश दरको समेत हिसाब गर्दा जनशक्ति आठै वर्षमा दोब्बरभन्दा धेरै बढेको छ। जबकि त्यो जनशक्तिलाई खपत गर्नुपर्ने स्वास्थ्य संस्थाहरूको क्षमता वृद्धि असाध्यै कम छ।

कामदार फालाफाल र कामको अभाव भएका अरू क्षेत्रमा झैं स्वास्थ्य क्षेत्रमा पनि आम चिकित्सकको पारिश्रमिक र सुविधा घट्दो क्रममा छ। मेडिकल कलेज र अस्पतालहरू महँगिए पनि, एउटा मेडिकल कलेज चलाउनेले अरू चारवटा थपे पनि त्यहाँ काम गर्ने अधिकांश चिकित्सकको अवस्था नाजुक छ।

धेरैले तीनदेखि ६ महिनासम्मको तलबै नपाउँदा पनि त्यही रोजगार समेत नगुमोस् भनेर चुपचाप काम गरिरहेका छन्। त्यस्ता संस्था छाडेर जानेले ६ महिनासम्मको तलब माया मारेका छन्।

असाध्यै सानो संख्याका चिकित्सकहरूले अझै राम्रो वा अकुत कमाइ पनि गरिरहेका छन्। तर खास गरी ‘मेडिकल माफिया’ भनेर कुख्यात व्यक्तिहरूका मेडिकल कलेजमा काम गर्ने विशेषज्ञ चिकित्सकहरूले एउटा टिपर चालकको जस्तै कमाइ गर्ने र त्यो पनि समयमा तलब नपाउने अवस्था छ।

देशका ९० प्रतिशत डाक्टरका लागि आज सम्मानजनक रोजगारी आकाशको फल बनेको छ।

२. सन्तानलाई डाक्टर बनाएरै छाड्नु छ। तयारी के गर्नुपर्ला?

सन्तानले छात्रवृत्तिमा नाम निकाल्न सक्छन् भने त्यो राम्रै कुरा हो। तर त्यसमा पनि माफियाहरूका मेडिकल कलेजले छात्रवृत्तिका विद्यार्थीको समेत दसौं लाख नाजायज रूपमा असुल्छन्। हाम्रै पुस्ताका छात्रवृत्तिमा पढ्ने थुप्रै चिकित्सक साथीहरू असन्तुष्ट छन्।

उनीहरू भन्छन्- पैसा नलागे पनि यतिका वर्ष समयको लगानी बर्बाद भयो नि! अब यसको ‘अपर्चुनिटी कस्ट’ जीवनभर चुकाउनु पर्छ।

संयोगवश, यी पंक्ति लेख्नुभन्दा केही घन्टाअगाडि एक त्यस्तै विशेषज्ञ चिकित्सकसित भेट भयो।

दसौं वर्ष देशमा सेवा गरेपछि श्रीमतीको सहयोगमा विदेशिन लागेका उनले भन्दै थिए- सके लाइसेन्स निकालेर उतै डाक्टरी गर्ने हो। नत्र होटलतिर काम गर्न केले पो छेक्छ र!

उनको मुख्य गुनासो कमाइमा त थियो नै, त्योभन्दा बढी पद्धतिको बेथितिमा थियो। सरकारी अस्पतालमा आँखै अगाडि चार करोड रूपैयाँको सामान चौबीस करोडमा किनिन्छ। अस्पतालमा गरिब मरेका मर्‍यै छन्, अस्पताल र देशका नेताले त्यस्तै कारोबारमार्फत बीसौं करोड कुम्ल्याएका कुम्ल्यायै छन्। बोलौं आफैं अर्घेलो, नबोलौं अपराधबोध हुन्छ।

छोराछोरीले यदि छात्रवृत्तिमा नाम निकाल्न सक्दैनन् भने मेरो एउटा सिफारिस छ- अहिले उनीहरूलाई पढाउन लाग्ने चानचुन ६० लाख रूपैयाँबाहेक उनीहरूको रोजगारीको सुनिश्चितता लागि अर्को १० करोडदेखि एक अर्ब रूपैयाँसम्म जम्मा गर्न नबिर्सिनुहोला!

कारण- सरकारी सेवामा बीस जना माग्दा दुई हजारले आवेदन दिने अवस्था छ। त्यसैले अब उत्पादन हुने ९५ प्रतिशत चिकित्सकलाई निजी क्षेत्रमा रोजगार खोज्नुको विकल्प छैन। विशेषज्ञ चिकित्सकले निजीमा काम पाउन अब हम्मे हुन थालेकाले नै मेडिकल कलेजहरूले सफेद ठगी गर्न आँट गरेका हुन्।

त्यसैले कुनै निजी अस्पतालमा दस करोड वा त्यस्तै रकम लगानीका रूपमा हाल्ने वा एक अर्बमा आफैं अस्पताल खोल्नेबाहेक अरूका लागि अब स्वास्थ्यको निजी क्षेत्रमा रोजगार कठिन बन्दै गइरहेको छ। दस वर्षपछि त अवस्था योभन्दा निकै खराब हुने निश्चित छ।

३. नेपालमा कमाइ र सेवा दुवै हुन सक्दैन?

सिद्धान्ततः सक्छ। देशको स्वास्थ्य क्षेत्रमा कुनै चमत्कार भयो भने पनि सक्छ। तर यथास्थितिमा सक्दैन।

देशका अधिकांश सरकारी संस्था पञ्चायतकालमा स्थापना हुँदाखेरिका दरबन्दीमा आजसम्म चलिरहेका छन्। तिनलाई बिस्तार गर्न सरकारको कुनै दिलचस्पी छैन। अर्बौं लगानी भइसकेको धनगढीको गेटा मेडिकल कलेजलाई त पार्टी कार्यकर्ताहरूको स्वार्थको फुटबल बनाएर वर्षौं अड्काइरहने सरकारले अब धेरै रोजगार बढ्ने गरी स्वास्थ्य सेवालाई विस्तार गर्ने सम्भावना कम छ।

त्यसैले पढेर सरकारी सेवामा छिरेर सेवा गर्छु भन्ने सय जनामध्ये एकाधले मात्रै त्यसो गर्न पाउँछन्।

आँखा विधाबाहेक अन्यत्र गैरनाफामूलक अस्पतालमा सेवाको अवसर शून्यप्रायः छ।

अब बाँकी रह्यो निजी क्षेत्र। त्यो केही सहरमा केन्द्रित छ। निजी अस्पतालको सञ्चालन खर्च नै अत्यधिक छ। त्यसमाथि त्यहाँ नाफा सर्वोच्च छ। पार्टीका भ्रष्ट नेताहरूसित जोडिएका माफिया भनेर कुख्यात केही मानिसले निजी स्वास्थ्य क्षेत्रमा बिस्तारै एकाधिकार जमाउँदै छन्।

जुन व्यक्तिले अर्को व्यवसायीलाई अपहरण गरेर सम्पत्ति हत्याएर संस्था चलाउँछ, त्यहाँ तपाईं कस्तो सेवाको अपेक्षा गर्नुहुन्छ? रोजगारीका लागि त्यस्तै मानिसका संस्थाको भरमा पर्नु छ भन्ने जानी जानी सन्तानलाई डाक्टर बनाउनु कति उपयुक्त होला?

४. देशमा पढाउने, विदेशमा सेवा दिने गरे हुँदैन?

नेपालमा एमबिबिएस गरेपछि अमेरिकातिर पुगेर राम्रै गर्ने नेपालीहरूको संख्या अब ठूलै भइसकेको छ। तर त्यसका लागि तपाईंका सन्तान पढाइमा अब्बल र तिनले पढ्ने संस्था पढाउनमा अब्बल हुनु अनिवार्य हुन्छ।

त्यसमाथि त्यस्तो व्यवस्था अलि खर्चिलै छ। प्रशस्त जायजेथा छ र खर्चको डर छैन भने त्यो विकल्प राम्रै हुन सक्ला। तर अवस्था त्यस्तै हो र विदेश जाने नै हो भने पनि आफ्नै विद्यार्थीसित गुण्डागर्दी गर्ने र तिनलाई ६ वर्ष चरम मानसिक यातना दिने माफियाहरूको चंगुलमा तपाईंका सन्तान पर्ने जोखिम उच्च छ नेपालमा।

यो सब विचार नगरी उज्यालो भविष्य मात्रै ताक्ने धेरैको बिजोग भएको देखेकाले पनि यो विकल्पमा जानु अगाडि धेरैपल्ट सोच्ने मेरो सुझाव छ।

५. के उसो भए चीन, बंगलादेश वा फिलिपिन्समा पढ्न पठाउनु त?

मेरो सल्लाह- त्योभन्दा बरू नेपालमै पढाउनू।

चीनका धेरै कलेजहरूमा गुणस्तरको ठूलो समस्या छ। बंगलादेश र फिलिपिन्समा पढाइ सोचे जति सस्तो छैन। यहाँ पढे भने कम्तीमा यहाँको भद्रगोल र भविष्यमा भोग्नुपर्ने समस्याबारे उनीहरू जानकार त हुन्छन्।

IME Remittance