लूसुनका केही निबन्धहरू : नारायण योगी

नारायण याेगी 

विश्वका महान् क्रान्तिकारी साहित्यकार लू–सूनका केही छोटा निबन्ध जसमध्ये गुरुहरू, पैल्हो र थुत्थो, रित्तो गन्थन, चलन र सुधार रहेका छन् । जसबारे संक्षेपमा यहाँ चर्चा गरिनेछ ।

समाज परिवर्तनको बहानामा आफ्नो स्वार्थ पूर्तिका लागि नानाथरीका जलप लगाएर झुण्डका झुण्ड रहेका मानिसहरू जसलाई समय मै पहिचान गर्न कठिन भएपनि असम्भव भने पक्कै पनि होइन । त्यसैले नयाँ जोश, जागर, स्पष्ट दृष्टिकोण र स्वार्थपरायणता नभएका सङ्घर्षशील युवाहरूले नयाँ नयाँ गुरुहरू खोज्न जरुरी छैन । यस सिलसिलामा उनले लेखेका छन् : “आफ्नो विषयमा आफै झ्याली पिटी देखावटी जलप लगाइएको विज्ञापन पाटी झुन्ड्याई हिँड्ने पथ प्रदर्शकहरूको खोजी तन्नेरीहरू किन लाग्ने नि ? बरु उनीहरू साथीहरूको खोजी गर्न, उनीहरूसित एकगठ हुन र बाँच्न सम्भव हुने त्यस्तो कुनै ठाउँतिर एकसाथ मिलेर अघि लम्कन खोज्नु राम्रो हुनेछ ।” उनी अगाडी भन्छन् : “तपाईंहरूसँग बल छ, र त्यसलाई जोगाउनु । तपाईंहरू घना जङ्गलमा पुग्नुभयो भने तपाईंहरूले त्यो जङ्गललाई फाड्न सक्नु हुन्छ । तपाईंहरू एउटा सुनसान ठाउँमा पुग्नुभयो भने तपाईंहरूले त्यहाँ रुखहरू लगाउन सक्नुहुन्छ, तपाईंहरू मरुभूमिमा आईपुग्नु भयो भने त्यहाँ इनारहरू खन्न सक्नुहुन्छ । तपाईंहरू काँडेझारपातहरूले लटरम्म ढाकेका ती पुराना गोरेटाहरूको विषयमा किन सोधिरहनु हुन्छ ? तपाईंहरू ती अलमलिएका पुराना गुरुहरूको किन खोजी गर्नुहुन्छ ?” आज हाम्रो देशको क्रान्तिकारी आन्दोलनमा नयाँ गुरु खोज्ने समस्या निकै गम्भीर छ । यसरी नयाँ–नयाँ गुरुहरूको खोजी गर्ने अधिकांश व्यक्तिहरूले पलायनको बाटो नै समातेको देखिन्छ । आशा गरौँ यस पटक नयाँ गुरु खोज्नेहरूले त्यो बाटो नसमातुन ।

यसैगरी पैल्हो चुत्थोमा चीनको एउटा खेल हेर्ने सन्दर्भमा उनले दौड खेलको प्रसङ्ग कोट्याउँदै लेख्छन् ः “दौडमा सबैभन्दा छिटो दगुर्ने, तीन चार जना लक्ष्यमा पुगी सकेपछिपछि पर्नेहरूले दौडलाई खुकुलो पार्छन् । केहीले त हतोत्साहित भएर लक्ष्यसम्म पुगिहाल्नुभन्दा अगावै बीचैमा दगुर्न रोकिहाल्छन् र दर्शकहरूको ताँतीमा सामेल हुन पुग्छन् वा लडे जस्तो गरेर पल्टेर प्राथमिक उपचार डफ्फाबाट आफूलाई बोक्न लगाउँछन् ।पछि परेको खेलाडी दौडिदैं रहन्छ भने सबैले उसलाई हेरेर पेट मिची, मिची हाँस्छन् । मेरो विचारमा उ चुत्थो परियो भनी पिरोलिन नजान्ने जस्तो लाग्छ । यसरी चुत्थो परियो भनी नपिरोलिने धेरै मानिस भएको राष्ट्र आपत्कालिन स्थितिमा माटोको डल्लो जस्तो धूलोपीठो हुनेछैन । खेलकुद हेरी रहँदा म जहिले पनि विचार गर्दछु ः वास्तवमा म विजयीहरूको सम्मान गर्छु । तरपछि परे पनि लक्ष्यतिर ताकेर लागेको लाग्यै गरी दगुरीरहेहरू र उनीहरूलाई हेरेर नगिज्याउने दर्शकहरू कुनै दिन चीनका लागि बलियो ढाड हुनेछन् । निश्चय पनि सङ्घर्षमा हार जीत जोडिएकै हुन्छ । जय पराजय, एक रथका दुई पाङ्ग्रा हुन् । हामीले हारबाट शिक्षा लिंदै विजयको शिखर चुम्न सदैव प्रयत्नसिल हुनुपर्दछ ।”

यसैगरेर विविध विषयमा चर्चा गर्दै अन्तिम पातोमा लडाइमा गएको एउटा घाइते सैनिकको प्रसङ्ग उल्लेख गरेर त्यो निबन्ध निकालेका छन् । शू–चुन भन्नेसैनिकले आफ्ना काँधहरूको बचावट गर्नका लागि कुनै कुराले नछोपी सङ्ग्राममा जाँदा उसको जीउभरि वाणका घाउहरू लाग्यो र चिनसेङ थानले टिप्पणीका साथ खिस्सी गरेर सोध्यो ः “तिमीले आफ्नो काँध नछोपी जान कसले भन्यो त ?” यतिका गोलावारुदहरू र हातहतियारहरूको आविष्कार भइसकेको आधुनिक विश्वमा लामो खाल्डो खनेर लड्नु सामान्य नियम हो । यो मान्छेहरूको ज्यान बलिदान दिने कुरा असन्तोष व्यक्त गर्न गरेको होइन । किनभने हामी ज्यान सित्तैमा फाल्न चाहन्नौ र एकजना सिपाहीको जीवन मूल्यवान हुन्छ । यसले मेरो भनाइ हामीहरूले उनीहरूलाई घरमा त्यसै डराएर राखी छाड्नु पर्छ भन्ने होइन । हामीहरू कमभन्दा कम पूँजी लगाएर बढीभन्दा बढी फाइदा गर्न चाहन्छौँ वा हामीहरूले कमसेकम सुहाउँदो परिणाम भेट्टाउनु पर्दछ ।

यसरी सदैव सङ्घर्षमा क्रियाशील र साहसी व्यक्तिहरूले त्यसकार्यको सफलतालाई मात्र ध्यान दिने होइन त्यसबाट क्षति कति हुन्छ ? अनुमान गर्न नसकेमा आन्दोलनले अनावश्यक क्षति मात्र बेहोर्ने सम्भावना निकै प्रबल रहन्छ । त्यसबारे सम्बन्धित पक्ष निकै चनाखो बन्नुपर्दछ ।

चलन र सुधार शीर्षक निबन्धमा उनीहरू लेख्छन् ः “मानसिक र शारीरिकरूपले कट्टर भै सकेकाहरूले सानोभन्दा सानो सुधारको पनि पक्कै विरोध गर्दछन् । यसो हेर्दा तिनीहरू असुविधा मानेर डराएका जस्ता देखिन्छन् । तर वास्तवमा तिनीहरू आफ्नो कुरा आफ्नो मुठ्ठीबाट गुम्लान् भनि डराएका हुन्छन् । तैपनि तिनीहरू बरोबर सबभन्दा आडम्बर पूर्ण कुराहरू अघि सार्छन् ।” यस सिलसिलामा यसपटक एकजना श्रद्धेय मित्रको अर्धाङ्गिनीको असामयिक निधन भएछ र उनको १३ औँ पूण्य तिथिमा पनि सहभागी बन्ने अवसर प्राप्त भयो । स्व. देविकला खनालको श्रद्धाञ्जली सभामा नयाँ विचारका पक्षपातीहरूको नै बाहुल्यता थियो । त्यस प्रकारको श्रद्धाञ्जली सभा देख्न त के सुन्न पनि नपाएकाहरू सभास्थल नजिक पनि परेनन्, आ–आफ्ना घरका झ्याल ढोकाका चरबाट र आगन, करेसावारीका डिलबाट चियाउने काम गरे । श्रद्धाञ्जली सभामा बोल्ने वक्ताहरूले यस प्रकारको कार्य सराहनीय भएको बताए । स्व. देविकला खनालको मुत्युपश्चात उनका छोराहरूले परम्परागत क्रियाकर्म नगरेर केवल सेतो कपडा पहिरेर बसे । न त ब्राह्मणको उपस्थिति गराइयो न त कोरा बार्ने काम भयो । कपालमुण्डन मात्र गरेर बसे । १३ ओं दिनमा न त कुनै दान पुण्य, न त कुनै धार्मिक अनुष्ठान, केवल, फोटोमा माला र अविर अर्पण गरिएको थियो । यसको साथै उनीहरूले आफ्नी आमाको नाममा अश्रयकोष खडा गरेर स्थानीय मा.वि.मा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई उक्त धनशालीको ब्याजको रकमलाई छात्रवृत्ति दिने कुराको सभामा घोषणा गर्दै, उक्त राती विद्यालयका प्रतिनिधिलाई सुम्पने काम भयो । यो कार्यले त्यस क्षेत्रमा दूरगामी प्रभाव पार्ने खालको कार्य भएको त्यहाँ उपस्थित हामी सबैले अनुभव गर्‍यो । निश्चय पनि पिछडिएको समाजमा यो एउटा सङ्घर्षशील कार्य हो र सचेत वर्गले यसकार्यलाई अङ्गालेर पुरानो सामन्ती रूढिवादी संस्कृति विरुद्ध धावा बोल्नै पर्दछ । तर यसो गर्दा हामीले क्रमिक सुधार गर्दै अगाडि बढ्नु पर्दछ । उग्रप्रकारका नीति अपनाउनु हुँदैन । जसरी देशका केही उग्रपंथीले कतिपय स्थानमा गरे, धामीको टुप्पी काट्ने, मन्दिरमा गाई काटेर फाल्ने, मन्दिरमा पुजा गर्नबाट रोक्ने, जनै चुंडाली दिने, कृया बस्न नदिने आदि कार्य बलपूर्वक गरे । जसले गर्दा समाजमा कम्युनिस्ट आन्दोलन प्रति तीव्र घृणा पैदा गर्ने कार्य भएको छ । समाजमा जुनसुकै परिवर्तनका लागि त्यस देशका युवाहरूको महत्वपूर्ण र अग्रणी भूमिका हुन्छ । त्यसकारण हाम्रो देशका युवा साथीहरूले पनि आफूलाई बदल्दै समाज बदल्नका लागि अग्रसर हुनुपर्दछ । क. माओले भने झैं – “युवा साथीहरू तपाईंहरू बिहानको उदाउँदो सूर्य जस्तो हो । भोलिको संसार तपाईंहरूको हो । यो देशको भविष्य पनि तपाईंहरूकै हातमा छ ।” आजको समाजमा विभिन्न प्रकारका विकृतिहरू बढिरहेको बेलामा निष्ठापूर्वक क्रान्तिकारी आन्दोलनमा लाग्नु पक्कै पनि निकै कठिन कार्य हो । तर पनि हाम्रो अगाडी अरू विकल्प छैन । किनकी व्यक्तिले एक्लै आफ्नो समस्या समाधान गर्न सम्भव छैन, यो सत्ताद्वारा सिर्जित समस्या भएकोले यो व्यवस्थाको नै समूल नष्ट गर्नु छ । त्यसको लागि हामी सबैले आजैबाट साङ्गठनिक कार्यको थालनी गरौँ, तब मात्रै समाजमा स्थाई परिवर्तन गर्न सफल हुनेछौँ ।

IME Remittance