ए घाम तँ निष्ठुरी नबनि दे
तेरो तापले म बाँचेको छु
बादल भित्र लुकेर तँ मलिन हुँदा
थरथरी कापेर म थकित हुन्छु
दाँत ठोक्किएर म सिथिल बन्छु
निष्पट्ट अन्धकार एक्लै काट्छु
बास मेरो खुल्ला आकाशमुनि छ
गाँस मैले हुँदा खान्छु त्यही काफी छ
जस्तो जन्मे म त्यस्तै छु
कसरी जन्मे केही पत्तो पाइन
थाहा पाउने हुँदा आमा भेटिन
काख के हो बुझ्नै सकिन
ए घाम तँ नै मेरो उर्जा हो
तेरो आगमनमा म हर्षित हुन्छु
कहिले चिसो शीतले चिस्याउछ
कहिले झरीले भिजाउँछ
तुषारो छिचोल्दै तँ आइपुग्दा
म ढुक्क भएर स्वास फेर्छु
तेरो क्षितिज म हेरिरहन्छु
त अस्ताएको ख्याल गर्छु
फेरि भोलिको आशामा
रात गुजार्छु,जाग्राम बस्छु
ए घाम तँ कठोर नबनि दे
तुँवालो छलेर धर्तीमा आइ दे
म जस्तै दीनदुखीलाई दया गरि
भोकानाङ्गाहरुको आङमा न्यानो छरि दे
थरथराइरहेका ओठ शान्त पारि
सुकाइ दे चिसिएका सबै चिस्यानहरु
छुटाइ दे दुखीका सबै दर्दहरू,र
बनी दे बेसाहाराहरुको दरिलो साहारा।