ब्राजिलका विश्वविख्यात फुटबलर पेलेको निधन

ब्राजिलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित पेलेको बिहीबार अस्पतालमा निधन भएको हो । साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।उनले ब्राजिललाई तीनपटक विश्वकप जिताएका थिए । पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।

चारपटक विश्वकप खेलेका उनले ६ दशकभन्दा बढी फुटबल खेलाडीको रुपमा बिताए ।  सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे । ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन् ।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।

IME Remittance