तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्छन्, अनि बसपार्क पुग्छन्।उनी प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन्।न त उहाँ बसपार्क सफा गर्ने कर्मचारी नै हो। तर सामाजिक उत्तर दायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन्। यसरी बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो।
तुलसीपुर बसपार्क फोहर थियो। अव्यवस्थित रूपमा फोहर फालिएको थियो। तर, कसैले पनि त्यो फोहर उठाउँदैनथे। त्यसैले पनि उनले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे। ‘बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो’, उनले भने।
फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेका भएको हो। उनले केही डस्टबिन त्यहाँ राखे र फोहर राख्न अनुरोध गरे।‘मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ’, उनले भने,‘यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको थियो।’
बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले भने। ‘पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ’, उनले भने, ‘हामीले सचेतना फैलाउने हो।’ विक अहिले कक्षा ११ मा सेन्टर स्कुल अध्ययनरत छन्।
अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन्। यातायात व्यवसायी टंक विक भन्छन्, ‘पहिले निकै फोहर हुने गर्थ्यो, अहिले नियमित उहाँहरुले सफा गर्न थालेपछि बसपार्क सफा हुँदै गएको छ।’ उनीहरूले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ। रासस