रंगमञ्च : निलिमा पुन

यो रंगमञ्चमा अहिले
थरीथरी झण्डा छन्
थरीथरी नारा छन्
थरीथरी भाका छन्
थरीथरी ताल छन्
थरीथरी सुर छन्
आफैले आफैलाई सज्जन भन्दै
बयान गर्न व्यस्त छन्

कहिले नदेखेको मान्छेले
बा भन्दै ढोग्छन्
आमा भन्दै पाउ छुन्छन्
कान नसुन्नेलाई बोलाउछन्
आँखा नदेख्नेलाई नमस्कार गर्छन्
देख्न, बोल्न,हिड्न,चल्न नसकेपनि
आफ्नै भोटमा गन्छन्
एकैछिन अँगालो हालेर
आँसु पनि झार्छन्

जनता कहिले पुर्व हेर्छन
कहिले पश्चिम हेर्छन्
कहिले उत्तर हेर्छन्
कहिले दक्षिण हेर्छन्
चारैतिर जबर्जस्त
नमस्ते फर्काउन बाध्य छन्
कहिले यता फर्केर हजुर
कहिले उता फर्केर हजुर,
अनि यता पनि हुन्छ
उता पनि हुन्छ
टाउको हल्लाउदा हल्लाउँदै दिन वित्छ
के गर्ने के नगर्ने सोच्दा सोच्दै रात वित्छ
मात्रै ‘भोट’ भन्ने शब्दले
देश हल्लिएको छ
मान्छेको मन खल्बलिएको छ

अधिकार भनौ कि,अवसर भनौ
यही मौकामा कसैको वर्तमान चलेको छ
कसैको भविष्य चल्ने निश्चित बनेको छ
एकले अर्कोलाई सम्मान नगर्ने
आफू भन्दा राम्रो अरु नदेख्ने
यस्तो परिवेशमा देश बन्छ कसरी भन्ने ?
नोटले चल्ने भोटबाट समृद्धिको कल्पना कसरी गर्ने ?

IME Remittance