‘पहिरो पन्छाएर कार्यालय आइनपुग्दै फेरि खस्छ, दगुर्दै जानुपर्छ’

गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ। पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्छ। अविरल वर्षाका कारण छिनछिनमा पहिरो खस्ने क्रम नरोकिएपछि कठिनाइ भोग्नुपरेको तनहुँका प्रहरी निरीक्षक राजकुमार विक बताउँछन्।

पहिरा पन्छाएर गाडी सञ्चालन गरेर कार्यालय आइनपुग्दै फेरि पहिरो खसेको जानकारी आएपछि दगुर्नु पर्ने बाध्यता रहेको उनले बताए।शुक्रबार बिहान जिल्लाको म्याग्दे–१ गुणादी र व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरा खस्दा राजमार्ग अवरूद्ध भएपछि पहिरो पन्छाएर सवारी साधन सञ्चालन गरेलगत्तै पुनः राजमार्ग रोकिएको उनले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ स्थित मादीनदी पुल नजिक पहिरो खस्दा अवरोध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पानी नरोकिएका कारण पहिरो पन्छाउन सास्ती हुने गरेको छ।

IME Remittance