कोभिड–१९ महामारीका बीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले ‘साइड इफेक्ट’ पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक कुशलकृष्ण शर्माले जानकारी दिए । यी औषधिको असर पनि नहुने भएकाले यसको प्रयोगमा आकर्षण बढेको हो ।
दीर्घकालीन रोग र ‘साइड इफेक्ट’रहित आयुर्वेद उपचार पद्धतिबाट उपचार गराउने रोगीको सङ्ख्या दिनानुदिन बढ्दै गएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा ३३ हजार छ सय ६७, आव २०७६/७७ मा ३४ हजार पाँच सय ५७, आव २०७७/७८ मा ५१ हजार सात सय ३४ र आव २०७८/७९ मा ५४ हजार दुई सय ३४ बिरामीले विभिन्न किसिमका सेवा लिएका छन् ।केन्द्रका सूचना अधिकारी शर्माका अनुसार बाथ, अमलपित्त (ग्यास्ट्रिक), छाला रोग, पायल्स तथा रगतसम्बन्धी विकारका समस्या भएका बिरामी धेरै आउने गरेका छन् ।
सरकारी तवरबाट जिल्लामा सञ्चालित आयुर्वेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सेतोपलादी चूर्ण, हिङवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगुल, कैशोर गुगुल, महाशङ्ख वुटी, षड्बिन्दु तेल, अर्श कुठार रसअर्शोघ्नी वटी, खदिरादी बुटी, सर्पगन्धाघन बुटी, महानारायण तेल, महासुदर्शन चूर्ण, गन्धक रसायन, जात्यादी तेल, टङ्कण भष्म, पञ्चसकार चूर्ण, चन्द्र प्रभा बुटी, बालामृत, मृगमदासव, शताबरी चूर्ण, आश्वगन्धा चूर्ण, आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २७ प्रकारका औषधि निःशुल्क पाइने सूचना अधिकारी शर्माले बताए । केन्द्र आफैँले प्रयोगशाला स्थापना गरेर ४२ प्रकारभन्दा बढी रगतसम्बन्धी परीक्षणसमेत निःशुल्क गर्ने गरेको शर्माले बताए ।
सरकारी आयुर्वेद औषधालयबाहेक जिल्लामा निजी क्षेत्रका आयुर्वेद औषधालय पनि सञ्चालनमा आएका छन् । केही वर्षअघिसम्म पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीलगायतका मुख्य बजारमा गन्न सकिने आयुर्वेदिक औषधि पसल दुई–चारवटा थिए । अहिले हरेक मुख्य बजारमा गरेर दुई दर्जन बढी आयुर्वेदिक औषधालय रहेको र उनीहरूबाट गुणस्तरीय सेवा लिन सकिने आयुर्वेद औषधि व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष गणेश आर्चायले बताए ।