श्रीलंका टापूका बासिन्दालाई सताएको छ चिन्ताले

सुनसरीको बराहक्षेत्र वडा नम्बर ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलंका टापूको नामले चिनिन्छ। श्रीलंका टापूका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ।मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन, क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तकोसीको पूर्वी र पश्चिमी भँगालोको बीचमा अवस्थित छ। यस क्षेत्रका बासिन्दा तरकारी खेती गरेर परिवार धान्दै मात्र नभई बचतसमेत गर्दै आएका छन्।

खासगरी मौसमअनुसारको तरकारी परवल, बोडी, करेला, घिरौंला, आलु लगायतका तरकारी उत्पादन गरी परिवार धान्दै आर्थिक रूपमा फड्को मारेका छन्। तरकारी बिक्री गरेरै दस जनाको परिवार धानेर कोसीपूर्व प्रकाशपुरमा जग्गा जमिन किनेर घर बनाएर राम्रो आम्दानी गर्नेमा विनोद मण्डल पर्छन्।

पछिल्लो समय भने उनीहरूलाई चिन्ताले सताएको छ। डेढ साताअघि सप्तकोसी नदीले धार परिवर्तन गरी उदयपुरको बेलका नगरपालिकाका पाँचवटा वडाको मानव बस्तीमा प्रवेश गरेको थियो। यसपछि श्रीलंका टापूमा उत्पादन गरेको तरकारी बजारसम्म बिक्री गर्न लान गाह्रो परेकाले उनीहरूलाई चिन्ताले सताएको हो। टापूमा आठ सय घरका तीन हजारभन्दा बढी जनसंख्या छ।

कृषिमा निर्भर यस टापूका बासिन्दाले तरकारीबाटै परिवार धानेर मनग्य अतिरिक्त आम्दानी गरे पनि सरकारी निकायले प्रोत्साहन नगरेको स्थानीय किसान प्राण मण्डलको गुनासो छ।’दुःख गरेर तरकारी लगायो, कहिले पानी पसेर सखाप पार्छ त कहिले जंगली जनावरले खाइदिन्छ,’ उनले भने, ‘तरकारी लगाउन सजिलो छ तर, जोगाउन धेरै दुःख गर्नुपर्छ।’

हिउँदमा पूर्व र पश्चिम दुवैतिरका लामालामा बलौटे बगरको बीचमा रहने र बर्खाका बेला पानीले घेरिएर टापूको रूप धारणा गर्छ।गत साउन १८ गते सप्तकोसीले बेलकामा धार परिवर्तन गरी बस्तीमा प्रवेश गरेपछि अब बर्खाको बेला उत्तरबाट पनि घेरिएको छ। पाँच दशकअघि कोसीका किनारामा तटबन्ध थिएनन्। कोसी पश्चिमबाट बग्थ्यो। त्यसबेला श्रीलंका टापू थिएन। कोसी पूर्वी र पश्चिम भँगालो भएर बग्ने गरेकामा अब उत्तरबाट समेत बग्न थालेकाले बीचमा कतै पनि सजिलै आउजाउ गर्न नसक्ने टापू बन्न पुगेको छ।राजनीतिक दलका नेताहरूले श्रीलंका टापूका बासिन्दालाई हरेक निर्वाचनताका आकर्षक आश्वासन दिएर भोट बैंकका रूपमा प्रयोग गर्दै आएका छन्।
IME Remittance