झरी परेको रात : निलिमा पुन

साउन महिना
झरी झ्यालमै तपतप गरिरहन्छ
किचन पछाडि प्लास्टिकको छानोबाट
परपरपर आवाज आइरहन्छ
दिनभरि आफुले गरेको कामको मुल्यांकन गर्दै
म विस्तरामा पल्टिन्छु
मनले एकान्त वातावरण खोजेको जस्तो लाग्छ
रात वित्दै जान्छ म निद्राको खोजीमा हुन्छु
जवरजस्त आँखा बन्द गर्छु
कानमा अविछिन्न अव्यवस्थित झरीको
आवाज मात्रै गुञ्जिरहन्छ।

ओबानो ठाउँ खोज्दै मुसा, छुचुन्द्रो
पालैपालो झ्यालमा आउछन्
सम्झन्छु यिनलाई पनि आपत परेरै आए होलान्
उठेर बत्ती बाल्छु
अध्यारोमा रमाउने जात
तर्सेर एकछिन चुपचाप लुक्छन्
फेरि बत्ती निभाएर पल्टिन्छु
उनीहरू फेरि सल्बलाउन थाल्छन्
भोलिपल्ट गर्नुपर्ने काम सम्झेर
समय हेर्दै कोल्टे फेर्छु तर
शरीर थाके पनि मस्तिष्क सक्रिय हुँदा
तालमेल नमिल्दो रहेछ विहानीपख निद्रा
आउदा उठ्नेवेला भइसक्छ
रात सकिन्छ दिनमा काम गर्नै पर्यो।

शायद यसै गरी विते होलान्
हाम्रा आमाबाबाको जीवन पनि
दिनरात,महिना, बर्ष गन्दै गन्दै,
कति रहरहरु खुम्चे होलान्
कति अभावहरु सहे होलान्
हाँस्न, रमाउन सबै बिर्से होलान्
उमेर नपुग्दै जिम्मेवारीको भारी बोकेर
सन्तानलाई जीवन अर्पे होलान्
झुपडीलाई सँसार सम्झी जीन्दगी गुजारे होलान्
म त्यही झुपडीमा हुर्केको एउटा पात्र हुँ
युग बदलिए पनि धर्ती उहीँ हो
आमाले थाप्लोमा भारी काखमा नानी गरी गरी
परिवार सम्हाले
बाबाले काँधमा राइफल बोकेर जोखिम मोल्दै
रासन र नुन भरिदिए।

त्यही परिवेशबाटै मैले स्वाभिमानी संंस्कार सिके
छाप्रो मुनि हुर्किएको विरूवा
हुर्किदै जादा बोटमा परिवर्तन हुन्छ
हावाहुरी सँग भिड्ने सामर्थ्य राख्छ
झुपडी छोडेर शहरको पक्की घरको
एउटा कोठामा बसेर म ती
अनगिन्ती सम्झनाहरु केलाउदै
वास्तविक धरातलमा उभिन खोज्दैछु
जीवनरूपी विश्वविद्यालयमा पढ्दैछु
जुन ज्ञान बाचुञ्जेली मेरै लागि उपयोगी हुनेछ
छतबाट झरेको पानीको यो परपर आवाज भन्दा
खरको बलेनीको त्यो माधुर्य आवाज सम्झेकोछु
अनि त्यही झुपडी भित्रको आनन्द छुटेको महसुस गरेको छु।

IME Remittance