सृष्टि बचाउँ,प्रकृतिमैत्री गीत -डिल्लि अम्माई

चरी किन कराउन्न कर्सैमा
झरी किन झर्दैन बर्खैमा !

अब कैले तल झर्ला आकासैको मैलो
समुन्द्र त्यो बन्दै गयो फोहोरको थैलो
अमिलो त्यो माटो पनि निर्जन हुँदै गयो
माथिकाले नसोच्दिँदा यस्तो बिजोग भयो !

भाग्य हैन दुःख दियो कर्मैले
झुकेकी छन् धरती शर्मैले !

हावा किनी बाँच्ने दिन नजिकिँदै आए
हाम्रा सारा सन्ततिले दुःख पाउने भए
ठुला-ठुला मालिकलाई नाफा मात्रै चाहिने
सृष्टिकै विनास भए होला के पो पाइने !

अमेजन त्यो खरानी हुँदैछ
धर्ती आकाश धर्धर्ती रुँदैछ !

जीव–जगत् नै सङ्कटमा छ भन्छन् जान्ने बुझ्ने
हामीचाहिँ एसी लगाइ मस्तसँग सुत्ने
विनासले आकाशबाट अमिलो झोल झर्ला
बेलैमा नै सोचौँ सबले नत्र रुनु पर्ला !

सन्तानको सपना साँच्नलाई
पाउनुपर्छ जीव-जगत् बाँच्नलाई !

एक रुख काठको मूल्य कति हजार पर्छ
त्यै रुखको अक्सिजनले हाम्रो हित गर्छ
अब कैले सोच्ने होला मानवले पूर्ण
हावापानी बिग्रेपछि सृष्टि हुन्छ चुर्ण !

बैगुनीले मास्दैछ जङ्गल
सम्भव छैन पुग्नलाई मंगल !

नाफा-नाफा भन्दै दैत्य विज्ञापनमा डुल्छन्
भविष्यको पिँढीलाई किन उनले भुल्छन् ?
फर्क मानव प्रकृतिमा समुदाय हित
कहिले होला सृष्टिप्रेमी मानवताको जित !

माछा-मासु समुन्द्र रित्तिँदै
अनाज फाल्ने जमिन सिद्धिँदै !

निजी स्वार्थ सृष्टिको नमिठो अचार
फोक्सोभित्र क्यान्सर हुँदा गर्छौ के विचार ?
उपभोगी स्वार्थी संस्कार उल्ट्याउनु पर्छ
सन्तानको लागि धर्ती बचाउनै पर्छ !

जल जङ्गल समुन्द्र बचाउँ
छ कमजोरी बेलैमा सच्याउँ !

सङ्घर्षको दाउपेचले संसार खरानीमा
कस्तो असर पर्छ त्यसको जगत-प्राणीमा
किन पार्छौ धुलोपिठो कमजोर जिवात्मालाई
देखावटी पुजा किन ईश्वर परमात्मालाई !

किन चल्छ बारुद बम गोला
भविष्यमा यो संसार के होला ?!

IME Remittance