कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ । आर्थिक वर्ष २०७८÷७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन् । स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नं २, ३ र ४, मुगुको खत्याड गाउँपालिका वडा नं ८ र १० तथा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ औलो रोगको उच्च जोखिममा रहेका स्थानमा पर्दछन् ।
कर्णालीमा अधिकांश भारतबाट फर्कने नागरिकमा औलो फेला परे पनि जलवायु परिवर्तन तथा हिमाली क्षेत्रमा तापक्रम वृद्धिका कारण लामखुट्टे देखिन थालेपछि यसको प्रभाव विस्तार भएको बताइएको छ । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा १४ जना छन् । हुम्लामा पाँच, मुगुमा छ, कालिकोटमा तीन, दैलेखमा एक, सल्यानमा दुई र रुकुमपश्चिममा एक जना छन् ।
निर्देशनालयले औलोको निःशुल्क परीक्षण तथा उपचार, हरेक बिरामी तथा जोखिम क्षेत्रको खोजपड्ताल, किटनाशक झुल वितरणलाई तीव्रता दिएको जनाएको छ । निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत आचार्यले औलो प्रभावित क्षेत्रमा गर्भवती महिलालाई लक्ष्य गरी यस वर्ष दुई हजार ६७१ थान झुल वितरण गरिएको बताए ।