काठमाडौँ, ५ मंसिर । शान्ति सम्झौता भएको आज १५ वर्ष पुगेको छ । द्धन्द्ध पिडितका आँखा अझै ओभाएका छ्रैनन् ।
सशस्त्र द्वन्द्वमा १८ वर्ष पुगेर हुर्कंदै गरेकी छोरी गोमा मगरलाई सेनाले घरबाट जंगलमा लगेर हत्या गर्यो । शव समेत देख्न पाइनन्, उनले । युद्ध अन्त्य भएको धेरैपछिसम्म पनि गाउँमा कसैका छोरीचेली देख्दा उनी भक्कानिएर रुन्थिन् । उनलाई लाग्दो रहेछ, नमारिएकी भए मेरी छोरी पनि यत्रै हुनेथिई ।
युद्धताका सेनाले छोरीलाई माओवादी भनेर घरबाटै लिएर गएको थियो । ‘जंगलमा लगेर मार्यो भन्छन्, लास पनि देख्न पाइनँ’ हत्केलाले आँसु पुछेर ती ९२ वर्षीया आमाले भनिन्, ‘छोरी नदेखेको दिनदेखि म रोएको रोयै छु ।’
सशस्त्र द्वन्द्व अन्त्य भएर शान्ति सम्झौता भएको पनि आज १५ वर्ष पुग्यो । तर सेती मगरका आँखामा आँशु रोकिएको छैन । अहिले पनि उनी छोरीको सम्झनामा रुन छाडेकी छैनन् । धेरैले मुलुकमा युद्धविराम भएर शान्ति सम्झौता पनि भयो र देशमा शान्ति फर्कियो भनिरहेका छन् । तर उनको मनमा एकछेउ पनि शान्ति आएको छैन ।
छोरी मारिएको बदलामा उनले १० लाख रुपैयाँ पाइन् । तर उनको घाउमा मल्हम लगाउने अरू कुनै काम सरकार र तत्कालीन विद्रोहीबाट हुन सकेन । भासिएको मसिनो स्वरमा उनले भनिन्, ‘शान्ति फर्कियो भन्छन् । मेरो मनको घाउ त उस्तै छ ।’
युद्ध प्रभावित रोल्पाकै अन्य गाउँहरूमा शहीद स्मारक बनेका छन् । तर जेलवाङमा द्वन्द्वमा ज्यान गुमाएकाहरूको सम्झनामा शिलालेखसम्म पनि राखिएको छैन । ‘
जेलवाङ ठूलो गाउँकै विर्सा विकको सशस्त्र द्वन्द्वमा काख रित्तियो । २०५९ सालमा सेना र माओवादीको भिडन्तमा परेर उनले एउटी काखे छोरी गुमाइन् । त्यस दिन उनी आफ्ना श्रीमान्सँग गाईबस्तु चराउन गएकी थिइन् । त्यही बेला माओवादी र सेना बीचमा भिडन्त भयो । उनीहरू बीचमा परे । संयोगले उनका श्रीमान् खुसीलाल कामी त बाँचे तर पिठ्यूँमा बोकेकी चार वर्षीया छोरीलाई गोली लाग्यो ।
अनलाइनखबर