प्यान्डोरा पेपर्स : ‘ट्याक्स हेभन’मा नेपालीका पनि लगानी

काठमाडौँ १८ असोज । गैरकानुनी धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरूले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘आईसीआईजे’ को संयोजनमा खोज पत्रकारिता केन्द्र ९खोपके० नेपालले सार्वजनिक गरेको एउटा रिपोर्टमा नेपालका केही व्यक्ति र व्यापारिक घरानाले ‘अफसोर कम्पनी’ खोलेर गोप्य लगानी गरेको उल्लेख छ ।

विगतमा पानामा पेपर्स, प्याराडाइज पेपर्स, फिनसेन फाइल्स सार्वजनिक गरेको आईसीआईजेले यसपटकको रिपोर्टिङलाई ‘प्यान्डोरा पेपर्स’ भन्ने नाम दिएको छ । र, यसलाई ‘अफसोर लगानी’ तर्फ ‘हालसम्मकै सबैभन्दा ठूलो खुलासा’ भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा खोपकेका तर्फबाट पत्रकारहरू कृष्ण आचार्य र रामु सापकोटा सहभागी थिए ।

९० देशका ३३० भन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, ‘सेलेब्रेटी’ र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको दाबी प्यान्डोरा पेपर्समा गरिएको छ ।

यो सूचीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ । तर, नेपालका राजनीतिज्ञ, सरकारी अधिकारी, सेलेब्रिटी र अपराधमा संलग्न व्यक्तिहरूको लगानी भने नभेटिएको रिपोर्टले जनाएको छ ।

kantipur
IME Remittance