काठमाडौं ४ साउन,। मन्त्रिपरिषद्को आजको बैठकले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम असोज मसान्तसम्म लागू हुने गरी दुबै जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यसवर्ष बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । सिन्धुपाल्चोकमा आएको बाढीले २६ जनाको घर बगेको छ भने ५६९ जना विस्थापित छन् ।
यस्तै मनाङमा बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।