काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्धका बहस गर्ने क्रम र एमीकस क्युरीको राय दिने काम सकिएको छ । मुद्दाको अर्को पेसी असार २८ गते तोकिएको सर्वाेच्च अदालतले जनाएको छ ।
जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । उक्त कदमका विरुद्ध १४६ सांसदले रिट दायर गरेका थिए ।
सोही रिटका सन्दर्भमा पक्ष र विपक्षका कानुन व्यवसायीको बहस र संवैधानिक इजलासले झिकाएका एमिकस क्युरीबाट राय दिने काम समेत आज सकिएको छ। सम्भवत असार २८ मा फैसला हुने छ ।
उक्त रिट निवेदकका ३६ कानुन व्यवसायीले सुरुवाती बहस गरेका थिए । त्यसपछि विपक्षीका तर्फबाट महान्यायाधिवक्तासहित ११ सरकारी वकिलले बहस गरेका थिए ।
प्रधानमन्त्री ओलीका तर्फबाट २१ जना कानुन व्यवसायीले बहस गरेका थिए । यस्तै सभामुख अग्निप्रसाद सापकोटाकोतर्फबाट ५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।