उद्धारका लागि सशस्त्र प्रहरीलाई स्ट्रेचर सहयोग

 

काठमाडौँ, ३ असार । विपद्का बेला मृतक वा घाइतेको उद्धारका लागि प्रयोग गर्न सशस्त्र प्रहरी बल नेपाललाई एक व्यक्तिले स्ट्रेचर सहयोग गर्नुभएको छ ।

पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बु निवासी डा निमानाम्गेल शेर्पाले आज सशस्त्र प्रहरी बल नेपाल नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँलाई १५ थान स्केड स्ट्रेचर प्रदान गर्नुभएको हो । यसको मूल्य रु छ लाखभन्दा बढी रहेको जनाइएको छ ।

बाहिनीको बलम्बुस्थित कार्यालयमा शेर्पाले बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई स्ट्रेचर हस्तान्तरण गर्नुभएको हो । डा शेर्पाले विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्यालले प्राप्त उद्धार सामग्रीको पूर्ण सदुपयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

उक्त स्ट्रेचर नेपालको कठिन भूबनोट तथा अप्ठ्यारो स्थानमा विपद् प्रतिकार्य तथा उद्धारमा प्रयोग गरिने उहाँले जानकारी दिनुभयो । उक्त स्ट्रेचर सशस्त्रको उपत्यकाका विभिन्न युनिटमा प्रयोग गरिने जनाइएको छ ।

 

IME Remittance