स्वास्थ्यकर्मी कुट्नेलाई कारवाही हुन्छ : गृह

काठमाडौँ, १४ जेठ : गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने स्पष्ट पारेको छ ।

यस्ता घटना आफैँमा गैरकानूनी भएकाले उक्त कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको मन्त्रालयले जनाएको छ ।

यही जेठ १३ गते राती भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत विरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ । यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य सँस्थाको सुरक्षा राज्यले गर्ने आज मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भइ छानविनको काम भइरहेको जनाएको छ ।

सबै स्वास्थ्यकर्मी र संस्थाको सुरक्षामा सरकार गम्भिर रहेको र उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भिरताका साथ लागिरहेकाले संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले आग्रह गरेको छ ।