काठमाडौँ, १४ जेठ ः काठमाडौँ उपत्यकामा आजबाट लागू भएको निषेधाज्ञामा किरानापसल समेत खोल्न नपाइने उल्लेख गरिएको छ ।
यही जेठ २० गते राती १२ बजेसम्मका लागि थप गरिएको निषेधाज्ञामा थप कडाइका प्रावधान राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकराी दिनुभयो ।
उपत्यकाको तीन जिल्ला (काठमाठौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहितको मङ्गलबारको बैठकले आदेश थप गरेको हो । यसपाली भने किराना पसल, खाद्याह्न, तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ । विहानी बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।
यसपाली निषेधाज्ञमा अत्यावश्यक खाद्य सामग्री (तरकार, फलफूल, दुध, डेरी, मासु, खानेपानी र ग्याँस) खरिद, विक्रीका लागि विहान ९ बजेसम्म खुला रहने भएको छ । यसअघि विहान १० बजेसम्म खुला गरिएको थियो ।
उक्त अवधिमा सबै प्रकारका भिडभाड हुने गतिविधिमा रोक लगाइएको छ । यसपाली तोकिएको तरकारी बजार बाहेकका क्षेत्रमा विक्री बन्द गर्ने र थोक बजारमा फुटकर विक्रीमा रोक लगाइएको छ ।
अत्यावश्यक सेवाका बाहेक अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था÷संस्थान, बीमालगायतका कार्यालयको सेवा स्थगन गरिएको छ । सरकारी कार्यालय, संस्थान, बैँक, इन्टरनेट सेवा प्रदायक संस्थाको सवारी साधान विहान ९ः३० देखि १०ः३० र साँझ ५ देखि ६ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।
बाणिज्य बैँकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैँकको हकमा प्रधान कार्यालयसहित दुई वटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमती छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्युनतम जनशक्ति (२० प्रतिशत) मात्र परिचालन गर्नुपर्ने छ ।
बैँकका गाडी जम्मा २ वटा मात्रै सञ्चालन गर्न पाइने छ । सार्वजनिक तथा निजी विकास निर्माणका काम तथा ढुवानीका सबै गतिविधि सञ्चालनमा रोक लाइएको छ । अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेलाई सिधै विमानस्थल जाने सवारी साधनको हकमा सहजीकरण गरिने छ ।
विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा ७ जनाभन्दा बढी उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ । नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संसकारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।
विरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र विरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाउने छन् ।