अन्तर्राष्ट्रिय श्रमिक दिवस : विभिन्न कार्यक्रम गरी देशैभरि मनाइँदै

काठमाडौं। आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी देशैभरि मनाइँदै छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी यो दिवस देशैभरि मनाइँदैछ ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाइँदै आएको छ ।

मजदुरहरूले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलनरत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन् झन् चर्किँदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घण्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार वर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरूको  संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

नेपालमा पनि विराटनगरमा विसं २००७ मा पहिलो मजदुर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस

तपाईंको इमेल प्रकाशित हुने छैन । अनिवार्य छ *

IME Remittance