सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ।गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरूङको अन्तिम विन्दुमा यहीँ मंसिर १८ गते आइपुगेको पानी सुरूङमा सुरूङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको सुरूङ जम्मा भएको फोहर सफा गर्न सुरूङको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका ईञ्जिनीयर रामचन्द्र पौडेलले जानकारी दिए। यहीँ मङ्सिर १९ गतेदेखि नै सुरुङमा पानी भर्न थालिएको थियो।
केही दिन सुरूङमा भरिएको पानी बिहीबारदेखि महांकालचौर शाखामा पठाइएको उनले बताए। वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि गत हप्ता मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको थियो।
असारदेखि सुरुङ बन्द रहेकाले सुरुमा थोरै पानी परीक्षणका रुपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम विन्दु सुन्दरीजलमा एक हप्तामा आइपुगेको हो। आजदेखि भने दैनिक १७ करोड ५० लाख लिटर पानी नै सुरूङमा हालिने आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
यहीँ मङ्सिर ११ गते आइतबार साँझदेखि हालेको पानीले सुरुमा सुरूङ सफा गरेको थियो। पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले वितरण सञ्जाल निर्माण गरिरहेको छ। यो सञ्जालमार्फत आजदेखि राजधानीवासीले फेरि मेलम्चीको पानी पाउने भएका छन्।
वर्षामा बाढी आएर सुरूङमार्गमा क्षति गर्ने भएपछि गत असारदेखि मेलम्चीको पानी बन्द गरिएको थियो। विसं २०७७ चैतमा मेलम्चीको पानी अस्थायी रुपमा राजधानी आइपुगेको थियो। विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीले मेलम्चीका संरचना एवं प्रवेशमार्गमा क्षति पुगेपछि २०७८ चैतमा दोस्रोपटक मेलम्चीको पानी राजधानी आइपुगेको थियो।
आज बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालचौरस्थित पानी ट्यांकीबाट पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम रहेको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए।