सदर चिडियाखानाले पहिलो पटक अवलोकनका लागि राख्यो चिम्पाञ्जी

नयाँ वर्षको आगमनसँगै सदर चिडियाखानाले सर्वसाधारणको लागि पहिलो पटक एक जोडी चिम्पाञ्जी अवलोकन कक्षमा राखेको छ।जावलाखेलस्थित सदर चिडियाखानाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी चम्पा (पोथी) र  चिम्पु (भाले) नाम गरेका एक जोडी चिम्पाञ्जी अवलोकनका लागि सार्वजनिक गरेको हो।यो एक दुर्लभ प्रजातिको वन्यजन्तु हो।

चार वर्षअघि अवैध रूपमा ल्याइएका चिम्पाञ्जीलाई विसं २०७४ असोजमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धार गरी सदर चिडियाखानालाई दिएको हो।सोही अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेल तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले चिडियाखाना परिसरमा चिम्पाञ्जीको नवनिर्मित घरको पनि उद्घाटन गरेका थिए।  उक्त जनावरको जोडीलाई राजी राणा ट्रष्टले वार्षिक रु १० लाख उपलब्ध गराएर अभिभावकत्व लिएको छ।

मुख्यतया अफ्रिकामा पाइने यस जनावरको प्राकृतिक वासस्थान नदीतटीय, घाँसे मैदान, वन तथा झाँडी हो। यसको औसत तौल ४० देखि ६० केजीसम्म रहेको छ। यसले फलफूल, रूखका बोक्रा, बीउ र फूल खाने गर्छ भने यसको गर्भाधारण अवधि आठ महिना हो भने आयु ४५ वर्ष रहेको पाइएको छ।  चिडियाखानाकी प्रमुख व्यवस्थापक रचना शाहले चिम्पाञ्जी अवलोकनका लागि राखेसँगै यहाँको आकर्षण बढेको भन्दै अवलोकनकर्ता बढ्ने विश्वास व्यक्त गरिन्।   चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जनावर रहेका छन्। जहाँ मुख्य आकर्षणको रूपमा बाघ, भालु, चितुवा, रेडपाण्डा रहेका छन्।ती प्रजातिमध्ये ३३ स्थनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।

अब चिडियाखाना जाँदा पहिलेजस्तो टिकट काट्नको लागि लाइन बस्नुपर्दैन।अग्रिम अनलाइन टिकट काट्न सकिने व्यवस्था गरिएको छ। चिडियाखानाको वेबसाइट वा इसेवामार्फत् टिकट काट्न सकिने व्यवस्था मिलाइएको व्यवस्थापकको भनाइ छ। रासस