लमजुङको क्व्होलासोथर गाउँपालिका ३ स्थित ग्रामीण पर्यटकीय घले गाउँ सुखी गाउँ घोषणा भएको छ । शुक्रवार नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच घले गाउँलाई सुखी गाउँ घोषणा गर्नुभएको हो। ०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रम सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घले गाउँमा होमस्टे सुरु भएकोमा अहिले ४२ घरमा छ । घले गाउँमा १ सय ३५ घर छन् । दैनिक ३ सयभन्दा बढी पाहुनालाई सेवा दिन सक्ने क्षमता रहेको घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार २०५७ सालदेखि २१ वर्षमा २ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् ।
पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताउनुभयो । “म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्केँ । स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ । के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुईचार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनेँ, ” उहाँले भन्नुभयो ।
घले, गुरुङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो । “घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौँ”, उहाँले भन्नुभयो । विसं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरुमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो । मान्छेहरूको भीडभाड हुने भएकाले सुरुमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेको प्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवद्र्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताउनुभयो । पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले । प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । बिस्तारै घलेगाउँबारे देशविदेशमा प्रचारप्रसार हुँदै गयो ।
घलेगाउँमा प्राचीन सभ्यताको झल्को दिने सामुदायिक भेडीगोठ छ । सामुदायिक चिया बगान र प्रांगारिक खेतीले पर्यटक लोभिन्छन् । लमजुङ हिमालसँगै माछापुच्छ्रे, अन्नपूर्ण, डा. हर्क हिमाल, हिमालचुली, मनास्लु, गणेश हिमालको छहारीले घलेगाउँलाई रमणीय तुल्याएको छ । २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँ परम्परागत गुरुङ संग्रहालय उद्घाटन गरेकी थिइन् । त्यसपछि घलेगाउँ आउने पर्यटक अझ बढेका हुन् ।
लमजुङ सदरमुकाम बेंसीसहरबाट ६ घण्टा हिँड्नुपर्ने घलेगाउँ अहिले डेढ घण्टामै मोटरमा पुगिन्छ । काठमाडौंबाट तनहुँको डुम्रे हुँदै बेंसीसहरसम्मको १७२ किलोमिटर छ । प्रदेश राजधानी पोखरादेखि बेंसीसहर ११० किलोमिटरको दूरीमा पर्छ । बेंसीसहरबाट घलेगाउँ पुग्न बेंसीसहरबाट २४ किलोमिटरको यात्रा गर्नुपर्छ ।