अझै खसिररहेको छ हेलम्बुका पहाड, मेलम्चीको जोखिम कायमै

नारायण ढुंगाना,

हेलम्बु, २० भदौँ । चरक्क चर्किने घाम पहाडका केही थुम्कालाई छेल पारेर बसेको कुहिरो, उक्त पहाडको बीचबाट बग्दै गरेको मेलम्ची खोला । जब कुहिरो बाक्लिन्छ अनि मुटु काँप्न थाल्छ हेलम्बुवासीको । यसरी प्रकृतिसँगै डराएर रात काट्न बाध्य छन् उनीहरू ।

शनिबार भने दिनभर सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रको मौसम सफा थियो । त्यसैले मेलम्ची खोलाका दायाँबायाँ किनारा चियाउन सकियो, जहाँबाट बाढी र पहिरोलो छियाछिया पारेका तटीय बस्ती र अलिक परका गाउँ स्पष्ट देखिन्थ्यो ।

माथिबाट चियाउँदा लाग्थ्यो, खोला किनारबाट सयौँ मिटर माथिसम्म पहाड थिल्थिलो परेको छ । अहिले पनि अर्थात् बिनावर्षा नै पनि ठाउँठाउँका पहाडबाट गेग्य्रान खसिरहेको छ । जंगलबीचका सेतो कमेरे माटोका धर्साहरू त्यही हेलम्बुको पहाड चुहिएर बनेका छन् । यसरी हेर्दा लाग्छ, अहिले पनि बगिरहेको छ हेलम्बुको पहाड । अनि, प्रकृतिले उत्पन्न गरेको त्रासमै बाँचिरहेका छन् यहाँका बासिन्दा ।

कतिपय स्थानमा चोइटिएका पहाडबाट सुक्खा पहिरो खस्दै थियो भने कतै खस्न ठिक्क परेका ढुंगा–माटोका ढिक्का थिए । खोला किनारको तल्ला तहमा माथिबाट बगाएको बाढीले थुपारेर ठूलो बगर बनाएको छ । खोलाले किनाराका बगरछेउछाउ कटान गर्ने क्रम पनि जारी नै थियो । हेलम्बुको माथिल्लो स्थानमा कलकल बगेको सङ्लो पानी तल्लो तहमा आइपुग्दा बाढीमा परिणत हुने क्रम अझै रोकिएको छैन ।

“थोरै पानी पर्दा जुनसुकै बेला तल्लो तटीय क्षेत्र जोखिममा छ, भत्किएको पहाड १० प्रतिशत पनि खसेको छैन, अझै धेरै खस्न बाँकी छ, त्यसैले मेलम्ची र हेलम्बुवासी जोखिममै दिन काट्न बाध्य छन्,” हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ।

यसो बाहिरबाट हेर्दा नै मक्किएझैँ देखिएका पहाड खसेर बाढीको उदण्ड रूप देखाउन सक्ने जोखिम अझै छ । त्यसैले सानो पानी पर्दा नै तल्लो तटीय क्षेत्रका बासिन्दालाई रातमा निद्रा लाग्दैन ।

माथिल्लो तहमा गेगर बग्ने क्रम नरोकिए पनि मेलम्ची बजारलगायत नदी आसपासमा पुरिएका घर खोतल्ने र पुरानै अवस्थामा फर्काउने प्रयास पनि भइरहेका थिए । मेलम्ची नगरपालिका–११ की मैया दुलालको घर पनि अन्य छिमेकीको झैँ दुई तला पुरिएको थियो । एक्जाभेटर लगाएपछि अहिले घरको भुइँतला फेला पारेकी छन् । मजदुर लगाएर घर खोतल्दै गरेकी उनलाई पनि अझै मेलम्ची आउने डर हटेको छैन ।

कतिपय घर खोलाभित्रै पुरिएका छन् भने कति घर बगाएका छन् । अनि, कति घरको चार तलासम्म बगर भरिएको उनले सुनाइन् । त्यसको माथिल्लो क्षेत्र हेलम्बुका ठाउँठाउँका खोला किनारसमेत तहसनहस भएपछि विस्थापितहरू अस्थायी टहरामा बसिरहेका छन् । उनीहरू स्थायी बसोबासको माग गरिरहेका छ्न ।

गएको असार १ र १६ गते आएको भीषण वर्षापछिको बाढीले त्यस्तै पीडा भोगिरहेको बस्ती हो, हेलम्बु गाउँपालिका–२ को गणेशेबगर । यहाँका ४५ परिवारका घरखेतमा खोला बगेको छ । केही घर खोलामा पल्टिएर बसेको छ । केही बगरभित्र पुरिएको छ । केही घरको त निसाना नै नामेट छ । पीडित स्थानीयवासी भने त्यही भग्नावशेषमा बगेको खोलो टुलुटुलु हेरेर बसेका छन् । उनीहरूका पक्की घरबाट खोला बगेको छ । तर, उनीहरू भने केहीमाथि अस्थायी टहरामा बसिरहेका छन् ।

“अब हामी कतिञ्जेल अस्थायी टहरामा बस्ने, हामीलाई स्थायी बसोबासको व्यवस्था मिलाइदिनुपर्‍यो,” आज गृहमन्त्री बालकृष्ण खाँणसामु बाढीपीडित राम तामाङले अनुनय गरे । उनले समूहमा मिलेर खाना खाने गरे पनि दैनिक जीवनयापनमा ठूलो समस्या परेको दुखेसो पोखे ।

गृहमन्त्री खाँणले अवश्यक व्यवस्थापनका लागि सरकार गम्भीर रहेको र छिट्टै निकास पाउने आश्वासन दिएर फर्किएका छन् । उनले विपद् व्यवस्थापनमा लागेका संघ–संस्थालाई तत्काल गर्नुपर्ने कामका विषयमा योजना तयार पारेर काम गर्नसमेत निर्देशन दिएका छन् ।

“सबैभन्दा पहिलो कुरा बाटो, पुल, राहत, उद्धार, गाँस र बासस्थानलगायत हो, त्यसलाई कसरी हुन्छ सम्भव गर्नुपर्‍यो,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेललाई गृहमन्त्री खाँणले भने ।

हवाई तथा स्थलगत निरीक्षण अध्ययनपछि गृहमन्त्री खाँणले त्यस क्षेत्रमा कमलो भूबनोटका कारण लेदो आएर तहसनहस पारेको बताउँदै तत्कालका लागि अत्यावश्यक ठाउँमा कजवे, झोलुंगे पुल बनाइहाल्नुपर्ने आवश्यकता औँल्याए ।

“कतिपय ठाउँमा बस्ती बस्न नसक्ने छ, त्यहाँका मानिसलाई नयाँ घर नै बनाउनुपर्छ,” उनले भने, “सिन्धुपाल्चोकलाई बाढी–पहिरो र भूकम्पले विपद् निम्त्याइरहनु दुःखद् छ ।” दीर्घकालीन समाधानका लागि माथिदेखि नै चेकड्यामको आवश्यकता महसुस गरेका गृहमन्त्री खाँणले पुनर्निर्माण प्रारम्भ गर्न छुट्टै कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएका छन् ।

 

IME Remittance