–नारायण शर्मा
सर्वहारा वर्गका एक महान नेता, जसको बौद्धिकता र प्रर्खताले पेरुभियाली जनतालाई मात्र होइन विश्वभरिका श्रमजिवी जनतालाई मन्त्रमुग्ध पार्दथ्यो, उनै पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) का अध्यक्ष कमरेड गोञ्जालो अब हामी बीच रहेनन् । विगत २९ वर्षदेखि अमेरिकाको कठपुतली पेरुको प्रतिक्रियावादी सरकारको जेलभित्र रहेका सर्वहारा वर्गका उनै महान नेता डा. अविभायल गुञ्मन रेनोसो अर्थात कमरेड गोञ्जालोको ११ सेप्टेम्बर २०२१ का दिन पेरुको राजधानी लिमा स्थित एक सैनिक अस्पतालमा ८७ वर्षको उमेरमा निधन भएको बताइएको छ । विश्व सर्वहारा वर्गका आर्दश नायक कमरेड गोञ्जालोको यो मृत्यु स्वभाविक रुपमा भएको मान्न कदापी सकिदैन । समयक्रमसँगै कमरेड गोञ्जालोको मृत्युको कारण अवश्य पनि खुल्दै जानेछ । तर अहिले नै यति अनुमान लगाउन सहजै सकिन्छ कि– गोञ्जालोको मृत्यु स्वभाविक होइन, यो एक प्रकारको हत्या नै हो, अमेरिकी साम्राज्यवादको सुनियोजित योजनामा गराइएको हत्या । सर्वप्रथम त विश्व सहर्वहारा वर्गका महान नेता कमरेड गोञ्जालोप्रति भावपूर्ण श्रद्धासुमन ।
कमरेड गोञ्जालोको नेतृत्वमा पेरुभियाली जनताले जनयुद्ध अगाडि बढाइरहेका थिए । पेरुमा जनयुद्ध यति प्रभावशाली प्रकारले अघि बढ्दै थियो कि जनयुद्ध शुरु भएको एक दशकमै त्यहाँको ८० प्रतिशत स्थानीय जनसत्ता साइनिङपाथको हातमा आएको थियो । पेरुमा जनयुद्ध रणनैतिक प्रत्याक्रमणको चरणमा प्रवेश गरेकै बेलामा १२ सेप्टेम्बर १९९२ मा राजधानी लिमाबाटै अध्यक्ष गोञ्जालो प्रक्राउ परे । अमेरिकाको नाकै मुनि रहेको पेरुमा जनयुद्ध सफल भएमा निश्चय नै त्यो अमेरिकी साम्राज्यवादका निम्ती ठूलो चुनौतिको विषय हुन्थ्यो । त्यसैले पेरुको जनयुद्ध दबाउन अमेरिकाले भएभरको तागत लगाएको थियो । सन् १९९० मा मात्र अमेरिकाले साइनिङपाथको दमनका निम्ती सैनिक सहायतामा ९० लाख अमेरिकी डलर नै खर्च गरेको थियो । एकातर्फ पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) पेरुको प्रतिक्रियावादी सरकार र अमेरिकी साम्राज्यवादको निम्ति सबैभन्दा ठूलो चैनौति बनिरहेको थियो भने– अर्कोतर्फ विश्वभरिका श्रमजिवी वर्गका निम्ति प्रेरणाको स्रोत बनिरहेको थियो । साइनिङपाथ र त्यसका अध्यक्ष गोञ्जालो विश्वभरिका कम्युनिस्ट एवं क्रान्तिकारीहरु बीच निकै लोकप्रिय थिए । विश्व सर्वहारा वर्गका निम्ती माओपछिका आशा गरिएका एक महान नेता थिए गोञ्जालो ।
चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिको पराजय र सोभियत संघमा समाजवादी सत्ता ढलेपछि विश्व क्रान्तिको आकाशमा उदाएका एक चम्किला तारा थिए कमरेड गोञ्जालो । उनको प्रभाव विश्वभरि नै यसरी फैलिएको थियो कि नेपालमा रक्तिमका संस्थापक अध्यक्ष जनगायक जीवन शर्माले पेरुको जनक्रान्ति र नेता गोञ्जालोको संघर्षको गाथाको वर्णन गर्दै एउटा क्रान्तिकारी गीत नै लेखेका थिएः–
ओ याङ्की गो होम डर्टी याङ्की गो होम
हाम्रो रातो झण्डा पेरुमा फरफराउँदै छ….
बन्दुकको नालले सत्ता जन्मायो
गरिबले सत्ता खोस्न बन्दुक समायो
वर्गयुद्ध पेशा हाम्रो क्रान्ति हाम्रो काम
पेरुको क्रान्तिलाई हाम्रो लाल सलाम…
यसरी यो गीत मार्फत पेरुमा श्रमजिवी जनताले सञ्चालन गरिरहेको जनयुद्धप्रति नेपालका प्रगतिशील साँस्कृतिककर्मीहरुका तर्फबाट पनि पूर्ण समर्थन जनाइएको थियो । आज भन्दा ३३ वर्ष अगाडि नै गीतमा जनगायक शर्माले पेरुमा साइनिङपाथले अपनाइरहेको सिद्धान्त र नीतिलाई बडो सरल शब्दमा हुबहु रुपमा उतारेका थिए । साइनिङपाथ चीनमा माओले अपनाएको राजनैतिक लाइनलाई नै आफ्नो आर्दश मानेर अगाडि बढेको थियो । वास्तवमा हतियार र सेनाद्वारा सुसज्जित राज्यसत्ता आफ्नो हातमा लिनका निम्ती श्रमजिवी जनताले पनि अन्तत हतियार उठाउनै पर्दछ । कम्युनिस्ट आन्दोलनमा लागेका प्रत्येक यात्रीहरुले वर्गयुद्धलाई आफ्नो पेशा सम्झनु पर्छ । उनीहरुको काम भनेकै देश, समाज र दिनदुःखीको जीवनमा परिवर्तन अर्थात क्रान्ति ल्याउने हुनुपर्दछ ।
पेरुको जनयुद्ध त्यहि मान्यताका साथ अघि बढेको थियो । चीनको हुनान प्रान्तको किसान विद्रोह, नयाँ जनवादी क्रान्ति, महान् सर्वहारा साँस्कृतिक क्रान्ति, अर्धसामन्ती र अर्धऔपनिवेशक समाजको विश्लेषण, दीर्घकालिन जनयुद्धको कार्यदिशा लगायतका विषयमा माओत्सेतुङका योगदानहरुलाई गोन्जालोले कुशलतापूर्वक संश्लेषण गरेर अगाडि बढेका थिए । चीनमा माओपछि पेरुमा जनवादी क्रान्ति पुरा गर्ने अभियानमा लागेका कमरेड गोञ्जालो वास्तवमा विश्व सर्वहारा वर्गका निम्ती युगनायक नै थिए । गोञ्जालो आफ्नो स्वार्थका निम्ती कहिल्यै पनि साम्राज्यवादका सामु झुकेनन् । पेरुको प्रतिक्रियावादी सरकार र अमेरिकी साम्राज्यवादका अगाडि उनले कहिल्यै आत्म सर्मपण गरेनन् । उनलाई जेलभित्र कठोर यातना दिइयो । फलामको पिंजडा भित्र राखियो । तर, उनी कहिल्यै गलेनन । क्रान्ति प्रतिको आफ्नो अगाध आस्था र विश्वासलाई उनले कहिल्यै ढल्न दिएनन् । २९ वर्षसम्मको कठोर बन्दी जीवन विश्व कम्युनिस्ट आन्दोलनका सायद अरु कुनै नेताले बिताएका पनि छैनन् । गोञ्जालोको नेतृत्वमा पेरुमा अघि बढिरहेको जनक्रान्तिले संसारका अन्य देशका कम्युनिस्ट पार्टीहरु र कम्युनिस्ट क्रान्तिकारीहरुलाई ठूलो उर्जा र प्रेरणा दिइरहेको थियो । पेरुभियाली जनताले अघि बढाएको जनक्रान्तिले विश्व सर्वहारा वर्गमा एउटा आशाको सञ्चार गरेको थियो । पेरुको जनयुद्धले साम्राज्यवादीहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको थियो । पेरुभियाली जनताको त्यो गौरवपूर्ण संघर्षको गाथाबाट प्रेरणा लिएर अन्य देशहरुका जनताले पनि क्रान्तिको तयारी गर्दै थिए । संसारमा जहाँ–जहाँ शोषक वर्गको शासन चल्दछ ती ठाउँहरुमा क्रान्ति अवश्यमभावी छ । हरेक देशमा क्रान्तिको स्वरुप एउटै नहुन सक्छ । तर ध्रुवसत्य यहि हो– पूँजीवादको विनास अवश्यमभावी छ । आफ्नो दमनकारी नीतिले पूँजीवादले आफ्नो विनासको बाटो आफैं खनिरहेको छ । हरेक देशका क्रान्तिका स्वरुपहरु त्यहिको देशकाल, परिस्थिति अनुसार फरक–फरक हुन सक्छन । तर उद्देश्य एउटै हुन्छ शोसकहरुको शासनको अन्त्य र शोसित पीडित श्रमजिवी जनताको राज्यसत्ताको स्थापना । संसारबाटै साम्यवाद ढल्यो भनेर रमाइरहेका जालीहरुलाई पेरुको जनवादी क्रान्तिले दरिलो झापड दिइरहेको थियो । गीतमा जनगायक शर्माले त्यहि वास्तविकता पस्किएका थिए ।
पेरुको कम्युनिस्ट पार्टीको इतिहास र त्यसमा कमरेड गोञ्जालोकोा योगदान निकै गर्भिलो खालको रहेको छ । रुसमा समाजवादी अक्टोबर क्रान्ति सफल भएको एक दशकपछि सन् १९२८ मा कमरेड जोसे कालोस मारिएतेगको नेतृत्वमा पेरुमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सन् १९३० मा संस्थापक अध्यक्ष मारिएतेगको निधन भयो । सन् १९३० देखि १९४५ सम्म त्यहाँ कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लागेको थियो । सन् १९४८ को कलाओ जनविद्रोह पश्चात फेरि अर्को प्रतिबन्धको शिकार हुनु परेको थियो पेरु कम्युनिस्ट पार्टी । विश्व कम्युनिस्ट आन्दोलनमा आएको दक्षिणपन्थी संशोधनवादको हावाको प्रभाव पेरु कम्युनिस्ट पार्टी भित्र पनि नराम्ररी परेको थियो । नेपालमा जस्तै पेरुमा पनि कम्युनिस्ट पार्टी फुटेर विभिन्न समूहमा विभक्त भएका थिए । विभाजित ती समूहहरुलाई एकीकृत गर्न कमरेड गोञ्जालोको महत्वपूर्ण र निर्णायक भूमिका रहेको थियो । सन् १९६९ मा सम्पन्न पेरु कम्युनिस्ट पार्टीको छैठौं महाधिवेशनमा गोञ्जालोले “पार्टी एकता र पुननिर्माण सम्बन्धी प्रस्ताव” नै पेश गरेका थिए । महाधिवेशनले गोञ्जालोद्वारा प्रस्तुत प्रस्तावलाई पारित गरेको थियो ।
सन् १९३४ डिसेम्बर ३ मा पेरुको एरक्वेपा एण्डिज श्रृंखलामा जन्मिएका गोञ्जालो सानै उमेरदेखि नै क्रान्तिकारी स्वभावका थिए । पेरुको एरक्वेपा विश्व विद्यालयबाट दर्शनशास्त्रमा विद्यावारिधी गरेका गोञ्जालो सन् १९६२ देखि १९७४ सम्म हवामांगा विश्व विद्यालयमा प्राध्यापन पेशामा समेत संलग्न रहेका थिए । सन् १९४६ मे कम्युनिस्ट योग बिग्रेटको सदस्य रहेका उनी १९५६ मा एरक्वेपा विश्व विद्यालयमा विद्यार्थी युनियनको अध्यक्षको जिम्मेवारीमा थिए । गोञ्जालो सन १९७५ मा पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) को अध्यक्ष बनेका थिए ।
उनी नेतृत्वमा आएको ६ वर्षपछि अर्थात सन् १९८१ देखि पेरुमा जनयुद्धको शुरुवात भएको थियो । उनकै नेतृत्वमा पेरुमा जनयुद्धले तीव्रतर गतिमा विकास गरेको थियो । सन् १९९० सम्म आउँदा पेरुको ८० प्रतिशत ग्रामिण इलाकामा साइनिङपाथको स्थानीय सत्ता कायम भैसकेको थियो । पेरुमा सञ्चालित जनयुद्धलाई विभिन्न देशका न्यायप्रेमी जनताको साथ समर्थन जुटाउने सिलसिलामा पेरु साइनिङपाथका प्रतिनिधिहरुसँग भारतको दिल्लीमा भेट्ने अवसर पाएका रहेछन नेपालका जनगायक जीवन शर्माले “यो त्यस्तै सन् १९८७÷८८ तिरको कुरा हुनुपर्छ । म साँगितिक यात्राको क्रममा भारतको दिल्ली पुगेको थिए । त्यहाँ मलाई पनि साइनिङपाथका प्रतिनिधि नेताहरुसँग भेट गर्ने अवसर मिलेको थियो ।” गीत रचनाको पृष्ठभूमि सम्झिदै जनगायक जीवन शर्माले भने –“पेरुमा कमरेड गोञ्जालोको नेतृत्वमा जनक्रान्ति अघि बढिरहेको थियो । पेरुका जनताको त्यो न्यायपूर्ण आन्दोलनलाई मद्दत पुगोस भनेर नै त्यति बेला यो गीतको रचना गरिएको थियो ।” गीत बने लगत्तै रक्तिमका कलाकारहरुले यो गीतलाई आफ्ना अभियानहरुमा गाउँदै हिड्न थाले । यो गीत रक्तिमको जनगीति यात्रा भाग चारमा समाविष्ट छ । २०४८ साल तिर म्युजिक नेपालबाट रेकर्ड गरिएको यस गीतमा त्यतिबेला जीवन शर्मा, रेम राना, लक्ष्मी गुरुङ, निलिमा पुनलगायतका कलाकारहरुले स्वर दिएका छन । सन् १९९२ अर्थात वि.सं. २०४९ सालमा गोञ्जालो गिरफ्तार भैसकेपछि संसारभर उनको रिहाइका लागि दबाबपूर्ण आन्दोलन उठेको थियो ।
नेपालमा पनि नेकपा (मसाल) र नेकपा (एकताकेन्द्र) लगायतका पार्टीहरुले गोञ्जालोको रिहाइका लागि विभिन्न आन्दोलन तथा अभियानहरु सञ्चालन गरेका थिए । ती प्रत्येक आन्दोलन तथा अभियानहरुमा जनगायक शर्माको “ओ याङ्की गो होम” बोलको यो गीत निकै घन्कीने गथ्र्यो ।
आज विश्व क्रान्तिका नायक क. गोञ्जालोको निधनको खबरबाट संसार भरिका श्रमजिवी जनताहरु शोकाकुल बनिरहेको अवस्था छ । विश्व कम्युनिस्ट आन्दोलन र पेरुको जनक्रान्तिमा कमरेड गोन्जालोले पु¥याउनु भएको योगदानको चर्चा गर्दै विद्वान लेखकहरुबाट विभिन्न्न लेख रचनाहरु लेखिएका छन । सामाजिक सञ्जालका वालहरु गोञ्जालोप्रति भावपूर्ण श्रद्धाञ्जली दिदै भरिएका छन । यस परिवेशमा पेरुको जनयुद्ध र नेता गोञ्जालोको संर्घषको यर्थाथ गौरव गाथा बोकेको क्रान्तिकारी गीतका बारेमा प्रिय पाठकहरुलाई एउटा समिक्षात्मक लेख दिनु आफ्नो कर्तव्य सम्झेर यहाँ यसरी कलम चलाउने प्रयास गरिएको हो ।
संजोगको कुरा क्रान्ति नायक गोञ्जालोको मृत्युको खबर सार्वजनिक हुनुभन्दा केही घण्टा अगाडि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले काठमाडौंमा गोञ्जालोको रिहाइका लागि दबाब अभियान सिर्जना गर्ने उद्देश्यले एउटा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको थियो । त्यो कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माओवादी–केन्द्र) र नेकपा (मसाल) का नेताहरु सहभागी रहेर क्रान्ति नायक गोञ्जालोले विश्व कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानका बारेमा चर्चा परिचर्चा गरेका थिए । त्यही कार्यक्रममा निम्त्याइएका थिए जनगायक जीवन शर्मा पनि । शर्माले त्यहाँ कुनै लामो भाषण गरेनन् । सम्बोधन गरे, थोरै गीत रचनाकालको पृष्ठभूमि बताए र तालीका साथमा शुरु गरे –क्रान्तिनायक गोञ्जालो र पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) को संघर्षको गौरवगाथा बोकेको त्यहि गीत “ओ याङकी गो होम, डर्टी याङकी गो होम” । कुनै बाध्ययन्त्रको प्रयोग नगरी विशुद्ध तालीको तालसँग उक्त कार्यक्रममा गाइएको उक्त गीत २७ भाद्रमा जीवन शर्मा युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
अब हामी पनि जीवन शर्मा युट्युब च्यानलमा गएर सुनौं र हेरौं क्रान्तिनायक गोञ्जालो र पेरु कम्युनिस्ट पार्टी (साइनिङपाथ) को संघर्षको गौरवगाथा बोकेको जनगायक जीवन शर्माको त्यहि क्रान्तिकारी गीत – “ओ याङकी गो होम, डर्टी याङकी गो होम” ।