रक्तिम झिल्को

-मानबहादुर भण्डारी

बगाई पसिनाको धारा
बजार्छु बाँझो खेतमा पाखुरा
जुटाउँछु खाने आहारा
म त हुँ गरिब सर्वहारा

न त छ खाने गतिलो गाँस
न त छ बस्ने ओतिलो बाँस
न त छ लगाउने कपडा खास
बोझिलो जीवन सधैंको निरास

न त छ खेत न त छ वारि
काम गर्न न त छ रोजगारी
यो दुखी जीवन बनेको छ भारी
पीडा छ मनमा बाँच्ने हो कसो गरि

न देख्छ कसैले गरिबको ब्यथा
न बुझ्छ कसैले गरिवको कथा
न गर्छ कसैले गरिबको वास्ता
मर्नु न बाँच्नु बेहाल छ अबस्था

जति काम गरे पनि पुग्दैन खान
भोकले रुन्छन घरमा जहान
पोल्छ भतभती जल्छ यो मन
यस्तै छ मर्म दुखीको जीवन

आपतमा छैन कोही सहारा
दुखमा बाँच्ने छैन रहर
खै कस्ले घोल्यो सुखमा जहर
मनमा उठ्छ अनगिन्ती लहर

जो काम गर्छ त्यही भोकै पर्छ
जो बसी खान्छ त्यही मोज गर्छ
कजाई हामीलाई त्यही आँखा तर्छ
हाम्रो खुन पसिनामा त्यही भुँडी भर्छ

गरिब भनी सताउँछन हामीलाई
हेला र होँचो किसान ज्यामिलाई
शासन सत्तामा बसेका छन रमाई
हाम्रो खुन पसिनामा गरेर रजाइँ
राख्ने छ्न तिनले आजीवन कजाई
भो उठौँ भाइ हो अब लडौँ लडाइँ

किसान मज्दुर एक भई उठौंं
अन्याय बिरुद्ध एक बनी जुटौँ
बर्ग दुश्मनलाई मिलेर ठोकौँ
मुक्तिको निम्ति लाल झण्डा बोकौँ।

IME Remittance