हतारै हतार : निलिमा पुन

बोली राम्रो फुटेको हुन्न
कखरा पढाउन हतार
हिड्न राम्रो थालेको हुन्न
स्कुल पठाउन हतार
कलम समाउन जानेको हुन्न
पाना भराउन हतार
मान्छेलाई सधैं हतारै हतार

बुद्धि राम्रो पलाएकै हुन्न
पाठ रटाउन हतार
पढ्न लेख्न आएकै हुन्न
रिजल्ट सुन्न हतार
पढाइ पूरा भएकै हुन्न
सर्टिफिकेट बनाउन हतार
मान्छेलाई सधैं हतारै हतार

दिन उमेर खाएकै हुन्न
जिम्मेवारी दिन हतार
वालापनले छाडेकै हुन्न
बिदाइ गर्न हतार
घरधन्दा सिकेको हुन्न
बुहार्तन कटाउन हतार
मान्छेलाई सधैं हतारै हतार

हातपाखुरा सप्रेकै हुन्न
पासपोर्ट बनाउन हतार
भरपर्दो काम पाएकै हुन्न
तलब बुझ्न हतार
कमाउन थालेको बर्ष दिन हुन्न
घडेरी खन्न हतार
मान्छेलाई सधै हतारै हतार ।

IME Remittance