देश हाँक्न उत्प्रेरित गर्ने गीतः सबै चेली–२

 

 

– नारायण शर्मा
तीज पर्व चेलीबेटीहरूले आफ्ना मनका भावना , पीर र व्यथाहरू साटासाट गर्ने एक अवसर हो । यो पर्वमा चेलीहरूले गीतहरू मार्फत् आफ्नो मनको बह पोख्ने  गर्छन । समाजमा चेतनाकाे विकास सँगै गीतहरू पनि परिमार्जित र परिस्कृत हुँदै आइरहेका छन् । अब सचेत चेलीहरूले तीजका गीतहरूमा घर आँगन चुलो चौकाभित्रका समस्या मात्र होइन समाज देश र समग्र जनताले भोग्न परिरहेका समस्याहरू पनि उठाउन थालेका छन् ।  नारीहरू चुल्हो चौकोमा मात्र सीमित हुनुपर्छ भन्ने पुरातनवादी सामन्ती मान्यतालाई उनीहरूले तोड्दै आएका छन । विभिन्न पेशागत जिम्मेवारीमा रहेर आफ्नो भूमिका कुशलतापूर्वक पूरा गर्दै पनि आएका छन् ।  समाजमा विभिन्न पेशामा क्रियाशील तिनै चेलीहरूको साझा कथा र व्यथालाई समेटेर जनगायिका निलिमा पुनले यसपटक पनि नयाँ तीज गीत सार्वजनिक गरेकी छिन – “सबै चेली– २” । गीतले नेपाली चेलीहरूलाई देश नै हाँक्ने अभियानमा अघि बढ्न स्पष्ट रुपमा अभिप्रेरित गरेको छ । शब्दमा गीतको स्वरूप यस्तो रहेको छ :–

आमा:
फेरि आयो तीज पनि फेरि भयो भेट
के छ खबर भन चेली खोली मन पेट

शिक्षक चेली :
जीवन यसै बिती गयो स्कुलमा धाएर
अहिले घरमै बसेकी छु पेन्सन खाएर

स्वास्थ्यकर्मी चेली :
अस्पतालमा काम गर्दै वित्छन् मेरा दिनरात
कहिलेकाही फुर्सदमा बस्छु सबको साथ

पाइलट चेली :
जहाजमा उड्दा सधैं सम्झिरन्छु आमालाई
आकाशमा हुरी चल्दा खोज्छु बाबालाई

वकिल चेली :
अन्यायको विरुद्धमा आवाज बोकी हिड्छु म
न्याय दिन अदालतमा बहस गर्छु म

गिट्टी कुट्ने चेली:
बगरमा गिट्टी कुट्दै बालबच्चा पढाउछु
यस्तै दुख गरी गरी जीवन चलाउछु

गाउँकी चेली:
गाउँघर सुनसान छ एक्लै भए आमा बाउ
परदेशभरि छरिएका सबै फर्की आउ

सुरक्षाकर्मी चेली :
देशकै सेवा गर्नलाई सफथ मैले खाको छु
छुट्टी मिलाई तीजको वेला भेट्न आको छु

आमा:
सबै चेली भेट हुँदा पीर व्यथा साट्ने हो
घरधन्दा मात्रै होइन देशै हाँक्ने हो

यसरी विभिन्न पेशागत जिम्मेवारीमा रहेका नेपाली चेलीहरूको भोगाइ समेटिएको छ यो गीतमा । आफ्नो कथा व्यथा मात्र बताइरहेका छैनन् यो गीतमा चेलीहरूले, देश संचालनको बागडोर समाउन आफूहरू सक्षम रहेको उद्घोष समेत गरेका छन् । गीतका शब्दहरू सरल छन् तर त्यसभित्र गम्भीर र यथार्थ भाव अन्तर्निहित छन् । गीतले गाउँघर र देशको यथार्थ अवस्था बोलेको छ ।

देश भित्रै रोजगारीको अवसर नहुँदा विश्वका विभिन्न देशमा पुगेर आफ्नो रगत र पसिना बेच्न बाध्य छन् लाखौँ लाख नेपालीहरू । धेरै युवा युवती वैदेसिक रोजगारीमा लागेकै कारण गाउँघरहरू युवायुवती विहिन जस्तै भएका छन् । कतिपय गाउँका ती घरहरूमा बृद्धअवस्थाका बुवा आमाहरू मात्र बसिरहेका छन् । खेतबारी बाँझो पल्टिरहेको छ । देशका गाउँ घरको अवस्था साच्चै नै दारुणिक बन्दै गैरहेको छ । गीतमा गाउँकी चेली मार्फत् जनगायिका निलिमा पुनले त्यही यथार्थ तथ्य बोलेकी छिन । गीतमा गाउँको यथार्थ अवस्थाको चित्रण मात्र गरिएको छैन, रोजगारीका लागि परदेशिएका नेपाली युवा युवतीहरूलाई स्वदेश फर्किन आह्वान समेत गरिएको छ । वास्तवमा त्यसरी परदेशिएर समस्याको स्थायी सामाधान कहिल्यै हुन सक्ने छैन । हामीलाई परदेशिन बाध्य पार्ने को हो ?अब हामीले ती सबैलाई चिन्नु पर्दछ । हामीलाई परदेशिन बाध्य पार्ने यहाँको रीतिथिती बदल्नका निम्ति अब हामी आफै नै लाग्नु पर्दछ । देशमै उद्योगधन्दा र कलकारखानाहरूको विकास गरी रोजगारीको सिर्जना गर्न सरकारलाई बाध्य पार्ने अठोटका साथ परदेशिएका नेपाली दाजुभाइ दिदी बहिनीहरू अब आफ्नै देश फर्किनु पर्दछ । जनगायिका निलिमा पुनको यो तीज गीतले त्यही सन्देश प्रवाह गरेको छ ।

न्यायिक क्षेत्र, स्वास्थ्य क्षेत्र, शिक्षण पेशा, हवाइ उड्डयान र शान्ति सुरक्षा जस्तो सम्बेदनशील क्षेत्रमा रहेर पनि नेपाली नारीहरूले देश र समाजलाई उल्लेखनीय योगदान दिइरहेका छन् । ती सबै पेशामा रहेका चेलीहरूका पनि आ–आफ्नै समस्याहरू रहेका छन् । नारी भएकै कारण उनीहरूले आ–आफ्नो पेशामा भोग्नु परेका पीडा र विभेदहरू समान प्रकृतिकै रहेका हुन्छ्न । तर ती समस्याहरूसँग जुध्दै आ–आफ्नो पेशा र क्षेत्रमा उन्नति र प्रगति पनि नारीहरूले गरिरहेका छन् । भिन्दा भिन्दै पेशा र क्षेत्रमा क्रियाशील भए पनि तीज पर्वको अवसर पारेर ती सबै चेलीहरू एकै ठाउँमा जम्मा भएका छन् । आफू आफ्नो पेशा र क्षेत्रमा क्रियाशील हुँदाका अनुभवहरू उनीहरूले माइती घरमा आमाका अगाडि एक अर्कालाई सुनाइरहेका छन् । जनगायिका निलिमा पुनको यस तीज गीतमा गिट्टी कुटेर जीवन निर्वाह गर्ने मजदुर चेलीदेखि हवाइजहाज उडाउने पाइलट चेलीसम्मका कथा व्यथा समेटिएको छ । त्यसैले यस गीतलाई नेपाली समाजमा विभिन्न क्षेत्र र पेशामा क्रियाशील र रोजगाररत रहेका सबै चेलीहरूको साझा तीज गीतका रुपमा लिन सकिन्छ ।

उचित पात्र, उत्कृष्ट भिडियो

यस गीतमा जनगायिका निलिमा पुनलाई स्वरमा साथ हरिमाया पुन, रुपा पुन, माया पुन, सुकमाया बुढाथोकी र बिमा पुनले दिएका छन् । जनगायक जीवन शर्माको युट्युव च्यानलबाट २०८० भाद्र ७ गते बिहान ७ बजे सार्वजनिक गरिएको सो भिडियोमा । चर्चित गीति नाटक ठूलीकी नायिका नवीना के.सी.को केरियोग्राफी रहेको छ । समिर राईको छायाँकन र तुलसी बाँस्कोटाको सम्पादन रहेको यो गीतको भिडियोमा डम्मर भण्डारीले निर्देशन गरेका छन् । भिडियोमा निलिमा पुनकै ८८ वर्षीय वृद्ध आमा पञ्चकली पुनले आमाको भूमिका निभाएकी छिन् । यस्तै शिक्षण पेशाकी चेलीको भूमिका रुपा पुनले, स्वास्थ्यकर्मी चेलीको भूमिका माया पुनले, पाइलट चेलीको भुमिका बिमा पुनले वकिल चेलीको भूमिका बेली माया पुनले, गिट्टी कुटि जीवन निर्वाह गर्ने मजदुर चेलीको भूमिका तुलसा पराजुलीले, सुरक्षाकर्मी चेलीको भूमिका मनिषा बुढाथोकीले र गाउँकी चेलीको भूमिका हरिमाया पुनले निभाएका छन् । भिडियोमा नृत्य गर्ने कलाकारहरूमा कोरियोग्राफर स्वयम् नवीना केसी, अनु शर्मा, आकृति भण्डारी, कुसुम श्रीष, र श्रृष्टि बस्याल रहेका छन् । यस्तै गीतको भिडियोमा गरीमा पाण्डे, मञ्जु खड्का, बुद्धलक्ष्मी मुनिकार, एलिसा मगर, समिता बुढाथोकी र भावना बस्याल समेतको नृत्य तथा अभिनय रहेको छ ।

८८ वर्षीय आमा पन्चकली पुनको भूमिका आकर्षणको केन्द्र बन्न पुगेको छ । भिडियो हेर्दा आमाले गीत गाएको अभिनय गरेको भन्दा पनि साँच्चैनै आफ्ना चेलीहरूलाई सम्झाइ बुझाइ गरेर देश हाँक्ने अभियानमा अघि बढ्न आहवान गरेको भान हुन्छ । भिडियोमा ८८ वर्षीय आमाको उपस्थिति मात्र पनि सहभागी सबै चेलीहरूका लागि उर्जा र प्रेरणाको श्रोत रहेको प्रष्ट बुझ्न सकिन्छ । सबै पात्रहरूकाे नृत्य  निकै कलात्मक र आकर्षक रहेको छ । गीतको भावले खोजेका दृश्यहरू सबै भिडियोमा समेटिएको छ । छायाँकार, निर्देशक र सम्पादकले आफ्नो क्षमता र कला कौशलताको पूर्ण प्रयोग गरेको  स्पष्ट रुपमा देख्न सकिन्छ । पोषाक र श्रीङ्गार स्वाभाविक छ ।  यसरी सबैको एकीकृत प्रयासले गीतको भिडियो जुन रुपमा तयार भएको छ त्यसलाई उत्कृष्ट  मान्नु पर्दछ ।

गितबारे सर्जकको भनाइ

गीतकी सर्जक तथा गायिका निलिमा पुन जुन रुपमा गीतको भिडियो तयार भएको छ यसमा सन्तुष्ट देखिन्छिन । “हामीले निकै छोटो अवधिमा यो गीत निर्माण गरेका हौँ । त्यसमा संगीत संयोजक, रेकर्डिस्ट, भिडियो निर्माणमा सहभागी कोरियोग्राफर, कलाकारहरू, छायाँकार, निर्देशक, सम्पादक सबैले मिहिनेत गर्नु भएको छ । ” गीतकी सर्जक निलिमा भन्छिन– “वास्तवमा उहाँहरू सबैको एकीकृत प्रयासबाट मात्र छोटो समयमा हामीले यो गीत सार्वजनिक गर्न सकेका हौँ । त्यसका लागि सर्वप्रथम त म उहाँहरू सम्पूर्ण प्रति हार्दिक आभारका साथ कृतज्ञता प्रकट गर्न चाहान्छु । हरेक वर्ष जब जब तीज पर्व नजिकिँदै जान्छ देश विदेशमा रहनुहुने नेपाली चेलीहरूले हामीबाट यस्तै सन्देशमूलक र चेतनामुलक गीतहरूको अपेक्षा राख्नु हुन्छ । त्यही अपेक्षालाई सम्बोधन गर्ने एक सानो प्रयास मात्र हो– “सबै चेली – २ । ” – जनगायिका पुन अगाडि भन्छिन – “यस गीतमा हामीले समाजभित्र विभिन्न पेशामा क्रियाशील रहेका नेपाली चेलीहरूको भावनालाई समेट्ने प्रयास गरेका छौँ । नेपाली नारीहरू जुनसुकै पेशाका लागि पनि सबल र सक्षम छन्, परिआएको खण्डमा उनीहरू देशकै बागडोर सम्हाल्न पनि पछि पर्ने छैनन् भन्ने सन्देश हामी यो गीत मार्फत् प्रवाह गर्न खोजेका हौ । ”

चेतनामुलक जनगीत एवं क्रान्तिकारी भावका उर्जाशील गीतहरूको निर्माणमा जनगायिका निलिमा पुनको अमुल्य योगदान रहँदै आएको छ । “म त तिम्रो दासी होइन”, “आएन परदेसी”, “क्रान्तिकारी योद्धाहरू”, “आँसु झार्दै आँखाबाट” लगायतका दर्जनौँ चर्चित क्रान्तिकारी तथा जनगीतकी गायिका पुनले विगत लामो समयदेखि तीज पर्वको अवसरमा यस्तै चेतनामूलक एवं सन्देसमूलक तीज गीतहरू ल्याउने गरेकी छिन । उनका ती तीज गीतहरूमा कहिले राष्ट्रियताको विषयवस्तु समेटिएको हुन्छ त कहिले चेलीहरूको बेदना अनि कहिले फेरि समसामायिक राजनैतिक घटनाक्रमलाई उनले गीतको विषयवस्तु बनाएकी हुन्छिन । पुनले २०५० देखि हाल सम्म आउँदा “हस्तक्षेप”, “सिमा अतिक्रमण”, “गाउँ गाउमा” लगायतका तीज गीत एल्बमहरूमा स्वर दिएकी छिन । ती मध्यका कतिपय एल्बमभित्र रहेका गीतहरूमा त शब्द तथा संगीत पनि उनको आफ्नै रहने गरेको छ । गत वर्ष जनगायिका पुनले “सबै चेली” बोलको तीज गीत ल्याएकी थिइन । अहिले उनले ल्याएको “सबै चेली – २” गत वर्षकै तीज गीतको निरन्तरता हो । गत वर्षको गीतमा विभिन्न पेशामा आवद्ध चेलीहरू तीज पर्व मनाउन एकै ठाउँमा जम्मा भएको र उनीहरूलाई हालखबर सोधिएको विषयवस्तु थियो । यस पटकको गीतमा जम्मा भएका चेलीहरूले आआफ्नो पेशा र क्षेत्रमा काम गर्दाका अनुभावहरू सुनाएका छन् । यसरी जनगायिका पुनले विगत वर्षको तीज गीतमा उठाएको विषयवस्तुलाई अहिले आएर पूर्णता दिएकी छिन भन्न सकिन्छ । उनका हरेक गीतहरूले महिला मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनमा उर्जा भर्ने काम गर्दै आएका छन् । अहिले उनले ल्याएको तीज गीत “सबै चेली–२” ले पनि उर्जा भर्ने त्यो शिलशिलालाई निरन्तरता दिएको छ । विभिन्न पेशामा आवद्ध रहेका चेलीहरूले यस गीतमा आफ्नै कथा व्यथा पाउने छन् । एउटै तीज गीतमा धेरै पेशा र क्षेत्रमा कार्यरत चेलीहरूको कथा व्यथा समेटिएको प्रगतिशील तीज गीत सायद यो नै पहिलो होला ।

शिष्ट, सभ्य र सुन्दर सन्देस

तीज पर्व नजिकिए सँगै नेपाली साङ्गीतिक बजारमा तीजका गीतहरूको बाढी नै आएको छ । व्यवसायीकताका नाममा ल्याइएका कतिपय गीतहरूले त तीज गीतको मौलिकता र मर्म माथि नै गम्भीर प्रहार गरेका छन् । प्रगतिशील सङ्गीतकर्मीले समाज र श्रमजीवी वर्गको दुरावस्था फेर्नका निम्ति, देशको मुहार बदल्नका निम्ति, शोषित पीडित जनहरूको मुक्तिका निम्ति, सुसभ्य र विकसित समाज निर्माणका लागि गीतहरू गाउने गर्छन् ।  समाजमा यस्ता गीतहरूको विशिष्ट महत्त्व रहेको हुन्छ । यस्ता जनपक्षीय प्रगतिशील गीतहरूको महत्त्व दीर्घकालसम्म रहिरहन्छ । मुख्य कुरा गीतले कस्तो सन्देश र शिक्षा दिन्छ भन्ने हो । जनगायिका निलिमा पुनको नयाँ तीज गीत “सबै चेली–२” ले जुन सन्देश प्रवाह गर्न खोजेको छ त्यो निकै शिष्ट, सभ्य र सुन्दर छ । यो गीत स्वास्थ्यकर्मी चेली, जहाज उडाउने चेली, स्कूल पढाउने चेली, अदालतमा वकालत गर्ने चेली, गिट्टी कुटेर जीवन निर्वाह गर्ने चेली, गाउँघरमा दाउरा घाँस गरेर जीवन गुजार्ने चेली सबै सबैले ढुक्कसँग गाउन मिल्छ । जनगायिका निलिमा पुनले आगामी दिनमा पनि यस्तै जनपक्षीय चेतनामूलक गीतहरूलाई निरन्तरता दिउन् ! गीतकी सर्जक एवं गायिका पुन लगायत तीज गीत “सबै चेली–२” निर्माण युनिटका सम्पूर्ण सदस्य एव कलाकारहरूलाई बधाईका साथ यो गीत सफलताको हार्दिक हार्दिक शुभकामना ।

IME Remittance