सबै क्षेत्रका चेलीहरुको व्यथा र कथा समेटिएको वास्तविक तीज गीत–“चेली”

नारायण शर्मा
तीज नेपाली चेलीहरुको एक महान चाड । चेलीबेटीहरुले आफ्ना मनका कथा र व्यथाहरु गीत मार्फत अभिव्यक्त गर्ने एक अवसर तीज पर्व । पहिले पहिले पितृसत्तात्मक सामन्ती बन्धनमा बाँधिएका नेपाली नारीहरुले आफ्नो कर्मघर, गाउँमा भोग्नु परेका पीडाहरु तीज गीतमार्फत् पोख्ने गर्थे । तिनै गीतमार्फत् आफ्ना माइतीलाई आफ्ना कथा र व्यथा सुनाउने गर्थे नेपाली चेलीहरु । तर पछिल्लो समयमा तीज गीतका नाममा विभिन्न विकृति र विसंगतिहरु बढ्दै जान थालेका छन नेपाली सांगीतिक बजारमा । कुनै कुनै तीजका गीत सुन्दा त ती “रत्यौली” गीत हुन कि तीज गीत ? छुट्टाउन मुश्किल पर्दछ । कतिपय तीज गीतहरु चेलीका बेदनाहरु होइन काल्पनिक माया प्रेमका भावबोकेर दोहोरी लयमा आउने गरेका छन् । तर ती सबै तीज गीतका नाममा आएका विकृतिहरु हुन् ।त्यस्ता विकृति र विसंगतिहरुमाथि चोटिलो प्रहार गर्दै वास्तविक तीज गीतको नमुनाका रुपमा एउटा तीज गीत आइपुगेको छ, नेपाली सांगीतिक बजारमा ।

विगत लामो समयदेखि गीत संगितको माध्यमबाट नेपालको जनसांगीतिक अभियानमा अमूल्य योगदान पुर्याउँदै आएकी जनगायिका निलिमा पुनले यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत “चेली” ल्याएकी छिन् । जनगायक जीवन शर्माको युट्युब च्यानलबाट २०७९ साउन २६ गते सार्वजनिक गरिएको यस गीतमा शब्द र संगीत निलिमा पुनकै रहेको छ । नारायण दंगालको संगीत संयोजन रहेको यस गीतमा जनगायिका निलिमा पुनलाई स्वरमा साथ सुकमाया बुढाथोकीले दिएकी छिन् । जीवन श्रेष्ठको छायांकन र सम्पादन रहेको यस गीतको भिडियोमा नृत्य र अभिनयमा निर्देशन रक्तिम सांस्कृतिक अभियानका कोषाध्यक्ष डम्मर भण्डारीले गरेका छन् । गीतले बोकेको शब्द भाव निकै उच्च र फराकिलो प्रकारको छ ।

सबै चेली भेट भइयो तिजको वेलामा
नाचौं गाउ सबै मिली तीजकै मेलामा

स्कुलमा पढाउने चेली पनि आएको
भन चेली तिम्रो कथा मनमा भएको

अस्पतालमा काम गर्ने चेली पनि आएको
भन चेली तिम्रो व्यथा मनमा भएको

हवाइजहाज उडाउने चेली पनि आएको
भन चेली तिम्रो खबर मनमा भएको

अदालतमा बहस गर्ने चेली पनि आएको
भन चेली तिम्रो कुरा मनमा भएको

बगरमा गिट्टी कुट्ने चेली पनि आएको
भन चेली तिम्रो पीडा मनमा भएको

बनपाखामा काम गर्ने चेली पनि आएको
भन चेली तिम्रो दुख मनमा लाएको

सुरक्षामा खटिएकी चेली पनि आएको
भन चेली तिम्रो पीर मनमा भएको

मनको बह बिसाएर खुशीयाली भरौं है
अर्को साल फेरि भेट्ने वाचा गरौं है ।

तीज वास्तवमा सबै क्षेत्रमा कार्यरत आमा, दिदी, बहिनीहरुको साझा पर्व हो । जुनसुकै क्षेत्रमा कार्यरत महिला भए पनि उनीहरुले भोग्नु परेका पीडाहरु प्रायः एकै प्रकार नै हुने गर्छन । यो पितृसत्तात्मक समाजमा आफ्नो क्षेत्रको काममा आइलाग्ने दुःख कष्टहरु एकातर्फ छँदैछन्, अर्कोतर्फ त्यहाँ सँगै कार्यरत पुरुष सहकर्मीहरुको महिलालाई हेर्ने र बुझ्ने गलत दृष्टिकोणका कारण पनि कैयौं चेलीहरुले बढी समस्याहरु झेल्न परिरहेको हुन्छ । हामीले यही समाजमा देखिरहेका छौं , शिक्षाको ज्योति छर्दै स्कूलमा पढाउने चेलीहरु पनि महिला हिंसाका सिकार बनिरहेका हुन्छन् । अस्पतालमा काम गर्ने चेलीहरुका आफ्नै कथा र व्यथा हुन्छन् । जहाज उडाउने चेलीहरुले पनि महिला हिंसाका अनेक प्रकारका सास्तीहरु खेपिरहेका हुन सक्छन् । अरुको न्यायका निम्ति अदालतमा बहस गर्ने चेलीहरु आफै अन्यायमा परिरहेका घटनाहरु पनि हामीबाट छिपेका छैनन् । सुरक्षामा खटिएका चेलीहरु सहकर्मी पुरुषहरुबाटै  हिंसामा पर्नु परेका घटनाहरु पनि सार्वजनिक भइनै रहेका छन् । वनपाखामा पसिना बगाउने र गिट्टी कुट्दै जिविको पार्जन गर्न बाध्य बनिरहेका चेलीहरुका दर्दनाक पीडा पनि हामीले देख्दै आएका छौं । जनगायिका निलिमा पुनको तीज गीत “चेली” ती सबै क्षेत्रमा कार्यरत नेपाली चेलीहरुको साझा गीत बनेर आएको छ । समयक्रमको विकाससँगै अहिले नेपाली चेलीहरु विभिन्न क्षेत्रमा रहेर कार्यरत रहेका छन् । पहिले पहिले जस्तो अहिले चुल्हो चौको र मेलापातमा मात्र सीमित छैनन् नेपाली नारीहरु । तीजका भाकाहरुमा पोखिने उनीहरुका व्यथामा अहिले सासु, ससुरा, श्रीमान र नन्द आमाजुले गर्ने व्यवहारको वर्णन मात्र गरिएको हुँदैन । अहिलेका चेलीहरुले आफूहरुलाई दोस्रो दर्जाको नागरिक बनाउने यहाँको रीतिथिति र सामन्ती पितृसत्तात्मक सोचलाई चिन्दै गैरहेका छन् । त्यसैले हिजो आजका तीज गीतहरू यहाँको समाज व्यवस्था, रितिथिति र राजनैतिक क्षेत्रभित्रका विकृति विसंगतिहरू लगायतका विषयहरुमा आधारित बनेर पनि आउन थालेका छन् । समय परिस्थितिमा आएको बदलावसँगै नेपाली चेलीहरुमाथि हुने शोषण, दमन र अत्याचारका रुपहरु पनि बदलिंदै आएका छन् । पहिले पहिले देशभित्रको  सामन्ती पितृसत्तात्मक सोंच र प्रवृत्तिबाट मात्र पीडित हुन्थे नेपाली चेलीहरू । अहिले त्यसमाथि साम्राज्यवादी पाश्चात्य छाडा संस्कृति पनि थपिएको छ । सामन्ती संस्कृतिले नारीलाई दासी, पैतलाको धुलो र दोस्रो दर्जाको नागरिक सम्झन्छ। साम्राज्यवादी संस्कृतिले नारीलाई एक खेलौना, उपभोगको साधन मात्र बनाउन खोजिरहेको छ । सचेत नारी ती हुन जसले ती दुवै खाले प्रवृत्ति र सोंचका विरुद्धमा आफूलाई उभ्याउने गर्छिन । “नारी पुरुष बराबरी” को सोंचका साथ अगाडि बढ्ने गर्छिन् । तीज गीत “चेली” लाई सचेतनातर्फ अगाडि बढ्दै गरेका नेपाली नारीहरुको कथा र व्यथा बोकेको एक सन्देशमूलक र चेतनामूलक गीतका रुपमा लिन सकिन्छ ।

गीतको भिजुअलमा पात्रहरुको छनौट पनि विचारपूर्वक गरेको देखिन्छ । आ–आफ्नो भूमिकामा तीपात्रहरु प्रवेश गर्दा ठ्याक्कै त्यही क्षेत्रबाट काम गर्दा गर्दै आएको भान हुन्छ । तीजका नाममा देखिने गरेको अर्को विकृति भनेको बहुमुल्य गहना र कपडाहरुको प्रदर्शन पनि हो । तीजको दर खाने नाममा शहर बजारका ठूला ठूला पार्टी प्यालेसहरुमा विभिन्न गरगहना र महंगा साडीहरुमा सजिएर आउने, त्यही विभिन्न प्रकारका गीतहरु लगाएर नाँच्ने गरेको हामीले देख्दै आएका छौं । त्यो दृश्य देख्दा यस्तो लाग्छ त्यहाँ चेलीहरु एक अर्काको मनमा रहेका दुःख, पीडा र व्यथाहरु साटासाट गर्न होइन, आफूले लगाएका महंगा गहना र कपडा प्रदर्शन गर्न जम्मा भएका हुन । त्यसको प्रत्यक्ष असर हिजोआजका व्यवसायिक तीज गीतका भिजुअलहरुमा पनि देख्न सकिन्छ । तर जनगायिका निलिमा पुनले ल्याएको नयाँ तीज गीतको भिडियोमा तडकभडक र असोभनीय सिंगारपटार कतै देखिंदैन । गीतको भिजुअल पनि सरलीकृत रुपमा गरिएको छ । बजारको कुनै पार्टी प्यालेसभित्रको हलमा होइन चौपारीमा बसेर यो गीतको छायाँकन गरिएको छ । गीतको भिजुअलमा नृत्यतर्फ मुख्य नेतृत्वदायी भूमिका रक्तिमकै कलाकार आकृति भण्डारीले निभाएकी छिन् । नृत्यमा भण्डारीलाई साथ रक्तिमक उदयमान कलाकार आषिका रिजाल र रक्तिमकै पुरानी पाकी कलाकार हरिमाया पुनले दिएकी छिन् ।तीज गीत मार्फत् आफ्नो मनको बह पोख्न चौपारीमा विभिन्न क्षेत्रमा कार्यरत चेलीहरु जम्मा हुँदै जान्छन् । कुन पात्र कुन क्षेत्रबाट आएको हो भन्ने कुरा गीतले भन्दै जान्छ । गीतमा स्कूलमा पढाउने शिक्षिका चेलीको भूमिका मनिषा बुढाथोकीले, अस्पतालमा सेवा गर्ने डाक्टर चेलीको भूमिका माया पुनले, जहाज उडाउने पाइलट चेलीको भूमिकामा विमा पुनले, अदालतमा बहस गर्ने वकिल चेलीको भूमिका उमा गुरुङले, बगरमा गिट्टी कुट्ने श्रमिक चेलीको भूमिका मनु वि.क.ले बनपाखामा काम गर्ने गाउँले चेलीको भूूमिका बेलीमाया पुनले र सुरक्षामा खटिएकी सुरक्षाकर्मी चेलीको भूमिका सविता गुरुङले निभाएका छन् । सबैलाई आ–आफ्नो भूमिका निकै सुहाएको छ । ती सबै चेलीहरुले आ–आफ्नो भूमिका प्रति पूर्ण न्याय गरेका छन् । आफ्नो मनका बह विसाएर खुशीयाली मनाउँदै ती चेलीहरु अगाडि नाँचिरहेका बेला ८७ वर्षीय बृद्ध आमा पंचकली पुन , बालबालिकाहरु आभाष रिजाल र आकृति रिजालले पछाडि बसेर खुशी साथ ताली बजाइरहेको दृश्यले जो कोहीको पनि मन छुन पुग्छ । गिनिज बुढा, हिमानी रम्बा, अनु तामाङ, शिवा पुन र एलिसा पुन लगायतका चेलीहरू समेत त्यो जमघटमा सहभागी बनेर ताली बजाउँदै साथ दिइरहेका देखिन्छन् । झण्डै १६ मिनेटको गीतको उक्त भिजुअल हेर्दा खोट लगाउने ठाउँ कतै भेटिदैन । गीतको नृत्य तथा अभिनयका समग्र दृश्यहरुमा डम्मर भण्डारीले सरलतापूर्वक कुशल निर्देशन गरेका छन् । यो गीत निर्माणमा संगीत संयोजक नारायण दंगाल, छायाँकार/सम्पादक जीवन श्रेष्ठ सबैले राम्रो मेहेनत गरेको प्रष्ट देख्न सकिन्छ । आखिर सबैको एकीकृत प्रयासबाट एउटा राम्रो सन्देशमूलक तीज गीत तयार भएको छ । “तीज पर्व नजिकिन थाले सँगै देश विदेशमा रहेका नेपाली चेलीहरुले हामीबाट नयाँ गीतको अपेक्षा राख्ने गर्नुहुन्छ । हामीलाई पनि तीजका बेला प्रत्येक वर्ष नयाँ सन्देशमूलक गीत ल्याउने बानी परिसकेको छ । यस पटकको तीजमा कुन विषयमा ल्याउने होला भनेर धेरै सोचियो ।” गीतकी रचनाकार, संगीतकार तथा गायिका निलिमा पुन भन्छिन । “समाजका धेरै क्षेत्रमा अग्रमोर्चामा रहेर चेलीहरुले काम गरिरहेका छन् । ती सबै क्षेत्रका चेलीहरुका आ–आफ्नै समस्याहरू छन् । आखिर ती सबै चेलीहरुको भावनालाई सम्बोधन गर्ने गरी झण्डै दुई महिना अघि यो गीतका शब्द कोरेकी थिएँ । धेरै साथीहरुले साथ सहयोग दिनु भयो र आज भिजुअल सहित गीतलाई यो रुपमा ल्याउन सकियो ।” जनगायिका निलिमा पुनले गीतमा, निर्देशक, संगीत संयोजक, छायाकार, सम्पादक र सबै कलाकार एवं सहभागीजनको भूमिकाप्रति आफू पूर्ण सन्तुष्ट रहेको बताइन । “हामीसँग जे जति साधन स्रोत थिए त्यसैका आधारमा यो गीतको भिजुअल तयार गरिएको छ । समाजका विभिन्न क्षेत्रमा कार्यरत चेलीहरु जो आफैमा सबल र सक्षम छन् र पनि विभिन्न समस्याहरुको सामना गर्दै क्रियाशील रहिरहेका छन् । तीज गीत “चेली” ती सबै चेलीहरुको साझा भावनाको प्रतिनिधित्व गर्ने गीत हो ।” जनगायिका पुन भन्छिन्–“गीत जुन रुपमा निर्माण भयो, त्यसमा म पूर्ण सन्तुष्ट छु । निर्देशक, छायाँकार, सम्पादक, संगीत संयोजक, कलाकारहरु र सहभागी सम्पूर्णको भूमिकाबाट म निकै खुशी र उत्साहित भएकी छु । उहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।”देशमा तीजका गीतहरुका नाममा रत्यौली र छाडा प्रकृतिका गीतहरुको विगविगी बढ्दै गैरहेका बेला “चेली” जस्ता सन्देशमूलक र चेतनामूलक गीतहरुको महत्व र अर्थ छुट्टै र विशेष रुपको रहन्छ । यस प्रकारका गीतहरुको तुलना ती अन्य व्यवसायिक गीतहरुसँग हुन सक्दैन । सभ्य, सुसंस्कृत र विकासपूर्ण समाजको अपेक्षा राख्ने जो कोहीले पनि यस्तै चेतनामूलक तीज गीतहरुलाई सुन्ने र हेर्ने बानी बसाल्नुपर्दछ । यो गीत हेरिसकेपछि जो कोही दर्शक स्रोताको मनले भन्न सक्छ–तीज गीत भनेको वास्तवमा यस्तो पो हुनुपर्छ त । समाजका धेरै क्षेत्रमा क्रियाशील चेलीहरुको भावनालाई समेटेर वास्तविक तीज गीतको नमुनाका रुपमा चेतनामूलक तीज गीत “चेली” ल्याएकोमा जनगायिका निलिमा पुन लगायत यो गीत निर्माण युनिटका सम्पूर्ण सदस्यहरुलाई हार्दिक धन्यवाद एवं बधाई । आगामी दिनमा पनि यस प्रकारका सन्देशमूलक, चेतनामूलक र उर्जाशील गीतहरुले निरन्तरता पाइराखुन  । तीज गीत “चेली” एवं जनगायिका निलिमा पुनको समग्र जनसंगीत यात्राले सफलताको शिखर चढ्दै जाओस् हार्दिक शुभकामना पनि ।
आखिर कस्तो छ त जनगायिका निलिमा पुनको नयाँ तीज गीत “चेली” ?– अब जीवन शर्मा युटुव च्यानलमा गएर हेरौं र सुनौं ।

 

IME Remittance