राताे लालटिन (बर्ष १८, अङ्क १)

सम्पादकीय
सत्तालोलुप राजनैतिक संस्कृति
नेपालका प्रायः राजनीतिक दलहरु यति बेला चुनावी रङ्गमञ्चमा आ–आफ्नो भूमिका निर्वाह गर्न तल्लीन छन । चुनावमा होमिएका सबैलाई एउटै मनोविज्ञानले व्याकुल पारेको छ– चुनाव कसरी जित्ने वा जिताउने । पुँजीवादी लोकतन्त्रलाई रणनीतिका रूपमा विश्वास गर्ने दलहरु यस प्रकार चुनावमा होमिनु स्वाभाविक छ । गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा यसलाई सकारात्मक अर्थमा लिनु जरुरी पनि छ । संविधान नै च्यातेर राष्ट्रलाई विखण्डन गर्न खोज्नेहरुलाई पनि यसले तत्कालको लागि केही कमजोर पार्ने छ । चुनावलाई कार्यनीतिको रूपमा लिएका र जित्ने आशा नभएका दलहरू पनि आफ्नो दलीय अस्तित्व बचाउन बढीभन्दा बढी भोटको आँकडा देखाउने कसरतमा विभिन्न रोगनमा रङ्गिएका छन । संसदमा भाग लिएकादेखि लिएर वहिष्कार गर्नेसम्मका सबै दलहरुलाई चुनावले राम्ररी गाँजेको छ ।
चुनावी मौसम घना हुँदै जाँदा रानीतिक दलहरूमा मौलाएको पद, पैसा र प्रतिष्ठाको राजनीतिक संस्कृतितर्फ हाम्रो ध्यान आकर्षित भएको छ । चुनावको मिति घोषणा हुँदै गर्दा राजनीतिक ध्रवीकरणको प्रकृया पनि तीव्र बन्दै गएको छ । समान दार्शनिक र राजनीतिक मान्यता भएका दलहरुबीचको यस्तो गठबन्धन वा एकता सिद्धान्त, निष्ठा र नैतिकतामाथि आधारित हुनु आवश्यक हुन्छ । त्यसका विपरीत दलहरुका बीचमा सिद्धान्त, निष्ठा र नैतिकलाई बेवास्ता गर्दै सत्ता, पदलाई केन्द्रबिन्दुमा राखेर गठबन्धन वा एकता कायम हुन्छ भने त्यसलाई स्वस्थ राजनीतिक संस्कृति मान्न सकिन्न । राजनीतिक दलहरुले गत स्थानीय चुनावमा सिद्धान्तहीन तथा सत्तालोलुप संस्कृतिको नाङ्गो प्रदर्शन गरेका थिए । अहिले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा पनि यस्तो संस्कृति कायमै छ ।
राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डता, जनतन्त्र तथा जनजीविका पक्षमा वकालत गर्ने र त्यसका विपरीत कृयाशील पार्टीका बीचमा जसरी अहिले गठबन्धनहरु बनेका छन्, त्यसले नेपाली राष्ट्रियता, लोकतन्त्र अस्वस्थ हुने निश्चित प्रायः छ । संविधानमा लोकतन्त्र र समाजवाद उन्मुख जस्ता शव्दावली राखिए पनि चुनावका बेला सिद्धान्त, निष्ठा र नैतिकताभन्दा चुनावपछि बन्ने सरकार र त्यसमा आफ्नो भूमिकालाई केन्द्रमा राखेर गठबन्धन बनाउनु दुर्भाग्यपूर्ण छ । राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतालाई ठाडै चुनौती दिने शक्ति र राजतन्त्र तथा हिन्दू राष्ट्रको पुनस्र्थापना चाहने शक्तिसितको गठबन्धन र तालमेलमा अलिकति पनि हिच्किचाहट नदेखिनु विडम्बनापूर्ण छ । यस्तो गठबन्धनबाट राष्ट्रको हित कति होला र लोकतन्त्र कति संस्थागत होला ? चुनावको सन्दर्भमा राजनीतिक दलका बीचमा देखा परेको सत्तालोलुप, पदलोलुप तथा सिद्धान्तहीन गठबन्धन र यसरी विकसित भएको राजनैतिक संस्कृति राष्ट्र र जनताका लागि हानिकारक छ । यस्तो संस्कृतिको अन्त गर्दै सिद्धान्त, निष्ठा र नैतिकतामाथि आधारित स्वस्थ संस्कृतिको निर्माण र विकास गर्नतिर जिम्मेवार राजनीतिक दलहरुको ध्यान जानु जरुरी छ ।

नेपाली चाडपर्वहरुमा रूपान्तरणको समस्या
जीवन शर्मा
दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला ?
चोरी ल्याउँला
चोरी ल्याउन भन्दा त भोकै मरौँला ।
चाडवाडमा, विशेष गरेर दशैँमा जसरी पनि मिठो खानु पर्छ र राम्रो लाउनु पर्छ भन्ने कुराको परम्परागत सामाजिक अभिव्यक्ति हो, यो । दशैँ आउने बेलामा नेपालको पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने केटाकेटीहरुले प्रायः यो गीत गाउने गर्दछन् ।
नेपालको सम्पूर्ण पहाडी भेगमा र हिमाली बस्तीहरुमा गत केही दशक अघिसम्म पनि यातायातको कुनै व्यवस्था थिएन । तराई र त्यस नजिकका बजारबाट पिठ्यँुमा भारी बोकेर खाने, लाउने सामानहरु ओसार्नु पर्दथ्यो । जीवनयापनका साधनहरुको र बौद्धिक विकासका लागि आवश्यक कुराहरुको ठुलो अभाव थियो । खास गरेर लेकाली इलाकामा मिठोचोखो खाने दिन भनेका वर्षभरिमा मुस्किलले तीन÷चार पल्ट पर्दथे । मिठो खानेकुरा भनेको मासु, खिर, दाल र भातलाई मानिन्थ्यो । कहिलेकाहीँ चाडवाडहरु पर्दा मात्र त्यस्तो दालभात, तरकारी मज्जाले खान पाइन्थ्यो । त्यस्ता चाडवाडका दिनहरुमध्ये दशैँलाई मुख्य महत्व दिइन्थ्यो । चाहे ऋण काढेर होस् अथवा मागेर होस् या चोरेर, त्यो दिनमा जसरी भए पनि मिठो–मसिनो खानै पर्छ भन्ने सामाजिक मनोविज्ञानले आम रूपमा काम गरेको थियो । त्यसैले दशैँ आउने बेलामा बच्चाहरु माथिको यस्तो गीत गाउँदै नाच्ने÷गाउने गर्दथे ः दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला ?
चोरी ल्याउँला
चोरी ल्याउन भन्दा त भोकै बसौँला ।
यसमा कान्छी औँलादेखि बुढी औँलासम्मको रमाइलो संवाद छ । यो बालगीतमा चार भाइबहिनी साना साना केटाकेटीहरु र बुढीआमाबीचको दोहोरी देख्न सकिन्छ । यो गीतले त्यति बेलाको दशैँ पर्वप्रतिको बाल मनोविज्ञानलाई अभिव्यक्त गर्दछ । अहिले पनि पुरानो संस्कारमा अभ्यस्त समाजमा हुर्केका केटाकेटीहरु यस्ता दिनहरुको पर्खाइमा औँला भाँची भाँची दिन गनेर बस्ने गर्दछन् ।
दशैँ आउने बेलामा बुढीआमाले आफ्ना धराला बलाबच्चालाई भुलाउन गाउने गरेको यो लोहोरीले गहिरो सामाजिक सन्देश पनि दिएको छ । सबभन्दा सानो बच्चा अर्थात् कान्छी औँला मिठोचोखो खान आत्तिन्छ र दशैँको सम्झना गर्दै भन्छ– दशैँ आयो । साइली औँलाले थप्छ– खाउँला पिउँला । अनि, अलि ठुलो बच्चाको प्रतीक साइली औँलालाई घरको गरिबी थाहा हुन्छ र शङ्का व्यक्त गर्छ– कहाँ पाउँला ? तर जेठोबाठो बच्चा चोर औँलामा लोभ–लालच, पारिवारिक स्वार्थ र दुनियालाई ढाँटेर भए पनि आफू मोजमस्तीमा बाँच्नु पर्छ भन्ने प्रवृत्ति छिपेको हुन्छ र भन्छ– चोरी ल्याउँला । यो विचार सुनेपछि नैतिकताको प्रतिमूर्ति बुढी औलाले असहमति प्रकट गर्दै भन्छ– चोरी ल्याउन भन्दा त छुट्टै बसौँला ।
आफैले स्वीकार र प्रचार गर्ने गरेको दर्शन, सिद्धान्त, नीति र नैतिकता सबै छाडेर जसरी पनि चुनाव जितेर सत्ताको रस लिनु पर्छ, आफ्नो घर–परिवार सम्पन्न बनाउनु पर्छ भन्ने अवसरवादी राजनैतिक दलहरु र त्यसभित्रका स्वार्थी नेताहरुलाई समेत यो दशैँ बाल सङ्गीतले राम्रो नैतिक पाठ सिकाएको मान्न सकिन्छ ।
नेपाली सांस्कृतिक परम्परा बोकेका यस्ता चाडवाड तथा रीतिरिवाजका रमाइला दिनहरुमध्ये तिहार, माघे सङ्क्रान्ति, फागु पूर्णिमा, ब्याउँते सङ्क्रान्ति, राँके सङ्क्रान्ति, तिज, बुढाबा, बुढीआमा र बाआमाका श्राद्ध, कुलाइन पूजा आदि पर्दछन । यी दिनहरुले बेग्ला बेग्लै प्रकारले आफ्नै इतिहास, पौराणिक र धार्मिक मान्यता लिएर समाजमा चली रहेका हुन्छन् । यिनीहरुका आफ्नै विशिष्टता छन् । तिनले इतिहासको एउटा निश्चित युग र कालखण्डमा समाजलाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । तर अहिले तिनीहरुको सान्दर्भिकता औचित्य एवं रूप र सारमाथि गम्भीर बहस, छलफल र सही निष्कर्षको खाँचो सर्वत्र महशुस भई रहेको छ ।
प्रकृतिको स्वभाव अनुसार नेपालमा साउनदेखि नयाँ वर्ष सुरु हुन्छ । नयाँ हरियाली, नयाँ नयाँ प्राकृतिक छ“टा, नदी र छहराले उत्पन्न गरेका नयाँ नयाँ मनोलहर र उत्साहहरु, आउँदै गरेका चाडपर्वहरुले पैदा गरेका कौतुहलता र उत्कण्ठाहरु तथा नयाँ आशा र उमङ्गले समाजलाई यसै महिनादेखि तरङ्गित गर्न थाल्दछ । राँके सङ्क्रान्तिपछि र विशेष गरेर हरेलो सँगसँगै नेपाली समाजमा हिउँदे चाडपर्वको रन्को सुरु हुन्छ । सामान्यतया साउन महिनामा पर्ने यस हरेलो नाम गरेको चाडलाई हिले पर्व पनि भनिन्छ । यसले वर्षे धानको रोपाइँको समापन गर्दछ । यस वर्षाको कठिनतम कामको चटारो समाप्त भए वापत्को खुशीयालीमा मनाइने यो अनौठो पर्व हो । नेपालको पहाडी परम्परा अनुसार हरेलोपछि कतै पनि धान रोपिँदैन । यसपछि बल्ल चाडपर्वको ओइरो सुरु हुन्छ । यति बेलादेखि सुरु भएका चाडपर्वहरु कार्तिक महिनाभरि र कहिलेकाहीँ त मङ्सिरको पहिलो हप्तासम्म पनि चली रहन्छन् । यो ऋतुलाई चाडपर्वको ऋतु भनेर पनि भन्ने गरिन्छ । यसबीचमा जनै पूर्णिमा, तिज (पञ्चमी समेत), इन्द्रजात्रा, बडादशैँ, दशैँ पूर्णिमा, छठ, तिहार, एकादशी आदि चाडपर्वहरु पर्दछन् । यस्ता चाडपर्वहरुले नेपाली समाजको इतिहास, परम्परा, आम सामाजिक चेतनाको विकास स्तर र सामाजिक, आर्थिक अवस्थाको प्रतिनिधित्व गरी रहेका हुन्छन् ।
नेपाली चाडपर्वहरु प्रायः विभिन्न धार्मिक परम्पराको जगमा उभिएका छन् । वेद, उपनिषद, बौद्ध धार्मिक ग्रन्थ, पुराण, कुरान, बाइबल आदिमा उल्लिखित पात्रका गतिविधिहरुका आधारमा चाडपर्वको स्वरूप निर्धारित भएको पाइन्छ । यस्ता चाडहरुमा नेपाली समाजको एउटा निश्चित कालखण्डका विविध आयामहरुका राम्रा तथ्यहरु प्रस्तुत भएका हुन्छन् । हरेक चाडले आफ्नै विशिष्ट महत्व बोकेको हुन्छ । नातापातासँग भेटघाट गर्ने, मासु, भात, रोटी आदि राम्रा र मिठा परिकारहरु खाने, तनावरहित भएर दाजुभाइ तथा आफन्त जनकहाँ गएर खुशीका क्षण गुजार्ने, पिङ खेल्ने, नयाँ लुगा लगाउने, हासीखुशी रमाइलो गर्ने चाडको रूपमा दशैँ प्रशिद्ध छ । यो पर्व खास गरेर हिन्दू धार्मिक परम्पराको आधारमा सुरु भएको मानिन्छ । आश्विन महिनाको शुक्ल प्रतिपदादेखि सुरु हुने यो चाड पूर्णिमामा गएर समापन हुन्छ । घटस्थापनामा राखेका जमरा दशमीका दिनदेखि पूर्णिमाका दिनसम्म दहीमा मुछेका अक्षतासँगै शिरमा लगाएर हिड्ने आम प्रचलन छ । चण्डीपाठ गरेर दुर्गा भवानीका विभिन्न अवतारहरुको पूजा अर्चना गरेपछि शक्ति प्राप्त हुन्छ भन्ने विश्वास हिन्दू धर्मावलम्वीहरुमा सदियौँदेखि व्याप्त छ । रामले रावणमाथि विजय प्राप्त गरेको र दुर्गा भवानीले दैत्यमाथि विजय प्राप्त गरेको खुशीयालीमा दशैँ मनाउने गरेको भन्ने गरिन्छ । यो पर्वले काम, क्रोध, लोभ, मोह, आलस्य आदि दश प्रकारका विकारहरुका विरुद्ध विजय प्राप्त गर्ने प्रेरणा दिन्छ भन्ने धार्मिक विश्वास छ । सुरुमा यसले धार्मिक विधिबाट मानिसको मनोपचार गर्ने प्रयास गरेको पाइन्छ । कालान्तरपछि यसले सामाजिक रूप लिँदा अर्कै मनोतस्बिर सिर्जना गरेर नेपाली समाजमा उपस्थित भएको छ । तत्कालीन समाजमा नैतिक तथा सांस्कृतिक मूल्य स्थापित गर्ने अभिप्राय अनुसार सुरु भएको भएता पनि सत्ताको नियोजित प्रयास, समाजमा हिन्दू सम्प्रदायको बाहुल्य आदि विविध कारणबस यो चाडपर्व बढीभन्दा बढी राजनीतिक र सामाजिक सत्ता प्राप्त गर्न आम नेपाली जनतालाई प्रभावित गर्ने चाडको रूपमा विकसित भएको छ । अब यो धार्मिक रूपमा मात्र नभएर विविध सामाजिक आयाममा फैलिएको छ ।
विजयादशमीको लगत्तै दशैँ पूर्णिमा आउँछ । यसले दशैँको धार्र्मिक, सामाजिक, सांस्कृतिक सम्पूर्ण गतिविधि र रमझमको साङ्गेता गरी दिन्छ । पूर्णिमालाई दशैँ पर्वको अन्तिम परिपुरक चाडको रूपमा मानिन्छ । दशैँ सकिएको लगत्तै बिस दिनपछि तिहार आउँछ । तिहार खास गरेर नेपाली समाजमा लामो समयदेखि बिछोडिएका दाजुभाइ र दिदीबहिनीका बीचमा मिलन गराउने चाड हो । कार्तिक कृष्णपक्षको त्रियादशीबाट सुरु हुने यो चाड शुक्लपक्षको तृतीयाको दिन भाइटीकापछि सकिन्छ । यो दशैँपछिको ठुलो पर्व मानिन्छ । पौराणिक कथा अनुसार यो चाड सूर्यपुत्र यमराजकी बहिनी यमुनाको इच्छा बमोजिम सुरुवात भएको मानिन्छ । पौराणिक र परम्परागत प्रचलन जे जस्तो भए पनि अहिले आएर यसले दाजुभाइ र दिदीबहिनी एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने दिनको रूप लिएको छ । यो पर्वमा पशुपङ्क्षीको पूजा अर्चनालाई विशेष महत्व दिइएको हुन्छ । यसमा कागदेखि लिएर कुुकुर, गोरु, गाइ र भाइसम्मको पूजा गर्ने चलन छ । मानव जातिलाई सबैभन्दा बढी साथ दिने र सहयोग गर्ने पशुपङ्क्षी र मानिसलाई सम्मान गर्ने प्रचलन तिहारमा चलाएको पाइन्छ । पहाडी इलाकातिर धान पाकी सक्ने मौसममा पर्ने भएकाले पनि तिहार बढी सहज, आनन्दमय र प्राकृतिक रूपमा बढी रमाइलो हुन्छ । त्यसमाथि वर्षा याम सकिने र हिउँदको चिसो सुरु भई नसक्ने सङ्क्रमण कालीन मौसम बोकको शारदी शोभाले पनि यति बेला मानव मन–मस्तिस्कलाई आनन्दित पारी रहेको हुन्छ ।
तिहारको महत्वपूर्ण पक्ष भनेको शारीरिक स्वास्थ्यमाथिको विशेष ध्यान हो । यो पर्वमा स्वस्थ र पौष्टिक खाने कुरामाथि विशेष ध्यान दिइएको हुन्छ । मुटु, फोक्सो, कलेजो र मृगौलालाई फाइदा पु¥याउने फलफूल र खानाका परिकारमा मुख्य जोड दिइएको पाइन्छ । देउसीभैलोमा गाइने गीतहरुमा पनि विशेष गरेर सुस्वास्थ्य र दीर्घायुमा नै बढी जोड दिएको हुन्छ । मानव जातिको इतिहासमा यस्ता प्रकारका रीतिथितीले स्वास्थ्य र शरीरको संरक्षण सम्बद्र्धनमा महत्वपूर्ण योगदान दिने गरेका छन ।
तिहारको अर्को महत्वपूर्ण पक्ष भनेको यसको आर्थिक पाटो हो । बलिराजाका पालादेखि मानिसको आर्थिक अवस्थामा फेरबदल ल्याउने अभिप्रायले यस चाडको उपयोग गर्ने गरेको किंवदन्ती सुन्न पाइछ ।
बाँकी चाडपर्वहरुका पनि विभिन्न मौसम, ऐतिहासिक कालखण्ड र धार्मिक मान्यता अनुरूपका छुट्टाछुटट्ै महत्व र विशेषताहरु छन् । ती सबैका बारेमा यो लेखमा विस्तार गर्नु अहिले सम्भव छैन । मात्र यहाँ जोड दिन खोजिएको यी चाडपर्वहरुका अन्तर्वस्तु र सारको विवेचना मात्र हो ।
नेपाली परम्परागत चाडवाडहरुका आवरण र बाह्य रूपरङ्गहरु जे जति आकर्षक देखिएता पनि ती वर्गीय हिसाबले सामन्त र पुँजीपति वर्गको सांस्कृतिक धरातलमा उभिएका छन । यी चाडपर्व र रीतिरिवाजको भरमा नै सामन्त र पुँजीपति वर्गले आफ्नो सांस्कृतिक र सामाजिक आधार जोगाई राखेको छ । यिनले सर्वहारा संस्कृतिमाथि थिचोमिचो गरी रहेका छन् । समाजमा यस्ता संस्कृति, रीति, कुरीति, परम्पराको ठुलो हैकम र बोलवाला छ । यसलाई बदल्नु अति नै जरुरी छ, तैपनि सर्वहारा वर्गले अहिलेको अवस्थामा यी चाडपर्वहरुलाई पुरै निषेध गरेर जानु सम्भव छैन, बरु यिनीहरुलाई उपयोग गरेर प्रगतिशील दिशा दिँदै अन्ततः सर्वहारा वर्गीय जगमा उभ्याउन हरदम प्रयास गर्नु पर्दछ । यो राजनीतिक सत्तासँग पनि जोडिएको सवाल भएकाले सर्वहारा वर्गको हातमा पुरै राज्यसत्ता नआएसम्म यो युगिन सांस्कृतिक अभिभारा तत्काल पूर्ण रूपले सम्पन्न हुनु सम्भव छैन । फेरि पनि यसमा भएका मानवोपयोगी पक्षहरुलाई जोगाउँदै सामन्ती र पुँजीवादी सारका विरुद्ध निरन्तर प्रहार गर्दै जान जरुरी छ । यिनीहरुमा विकसित कला पक्ष र प्रविधिलाई समयानुकूल परिमार्जित गरेर सामन्ती पँुजीवादी सारलाई हटाएर जनवादी अन्तर्वस्तुले समृद्ध पारेपछि मात्र अहिलेको युगको सापेक्षतामा नेपाली संस्कृतिको रूपान्तरण प्रकृया सम्पन्न हुने छ । यसमा भएका राम्रा इ“ट, काठपात आदि सामग्रीहरुलाई भावी नयाँ संकृति निर्माणका लागि एकातिर सँगाल्दै अहिले यो संस्कृतिको जग हल्लाउँदै र कति सकिन्छ ? भत्काउँदै जानु जरुरी छ ।
दशैँ आयो
खाउँला पिउँला
कहाँ पाउँला ?
चोरी ल्याउँला
चोरी ल्याउन भन्दा त भोकै मरौँला ।
यो बाल लोहरीको नैतिक अन्तर्वस्तुलाई आत्मसात गर्नु अहिलेको बिग्रँदो राजनीतिक संस्कारका लागि पनि वाञ्छनीय हुने देखिन्छ ।

सांस्कृतिक रूपान्तरण किन ?
युवराज पन्थी
हामी सांस्कृतिक रूपान्तरणका बारेमा चर्चा गरी रहेका छौँ । त्यसो गर्ने बेलामा अहिले हामीहरुले अँगाली रहेको संस्कृति के हो र हामीहरुले रूपान्तरण गरेर अँगाल्न खोजी रहेको संस्कृति के हो भन्ने प्रश्नहरु तथा तीसित सम्बन्धित कैयौँ प्रश्नहरुको उत्तर खोज्नु पर्ने आवश्यकता हुन्छ । अहिले यो सानो लेखमा ती सबै प्रश्नबारे विस्तृत व्याख्या–विश्लेषण गर्नु सम्भव छैन, तैपनि अहिले हामीहरुले अँगाली रहेको संस्कृति र रूपान्तरण गर्न खोजी रहेको संस्कृतिका बीचको अन्तरविरोधबारे विचार गर्नै पर्ने हुन्छ । तसर्थ यहाँ उपर्युक्त दुई थरि चीजको चर्चासित सम्बन्धित प्रश्नमा नै मैलै आफूलाई सीमित गर्ने छु ।
हामीले जुन चीजलाई संस्कृति भन्दछौँ, त्यो सामाजिक अस्तित्व र सामाजिक चेतनाको प्रतिबिम्ब हो, जीवनको मार्ग (वे अफ लाइफ) हो । त्यसो भनेर के भन्न खोजिएको हो भने जुन किसिमको सामाजिक, आर्थिक र राजनैतिक प्रणाली हुन्छ, मानिसको चेतना पनि त्यही किसिमको हुन्छ र सामाजिक रीतिथिति, चालचलन र बानी–व्यवहोराहरुको छाप मानिसको चिन्तनमा परेको हुन्छ । त्यसरी सामाजिक अस्तित्वले मानिसको चेतनालाई निर्धारित गर्दछ । निर्णयात्मक पक्ष सामाजिक अस्तित्व नै हुन्छ । निश्चय नै मानिसको चेतनाले पनि सामाजिक अस्तित्वलाई प्रभावित गर्दछ, त्यसलाई बदल्नका लागि प्रयत्न गर्दछ र सामाजिक अस्तित्वको रूपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्दछ । त्यसरी सामाजिक अस्तित्व र मानिसको चेतनाका बीचमा द्वन्द्वात्मक सम्बन्ध हुन्छ । त्यो द्वन्द्वात्मक सम्बन्ध भनेको के हो भने सामाजिक अस्तित्व र मानिसको चेतनाको बीचमा एकता र सङ्घर्ष हुन्छ । त्यही विपरीत तत्वहरुको एकताको नियम हो । त्यो नियम अनुसार प्रथम, सामाजिक अस्तित्व र सामाजिक चेतना दुई बेग्ला बेग्लै चिजहरु हुन्, द्वितीय, ती दुईका बीचमा अन्तरविरोध हुन्छ अर्थात् तिनीहरुबीच एकातिर, एकता हुन्छ भने अर्कातिर, सङ्घर्ष चली रहेको हुन्छ । तृतीय, तिनीहरुमा एक–अर्कोमा रूपान्तरित हुने विशेषता समेत हुन्छ ।
हामी भन्ने गर्दछौँ– हाम्रो समाज पिछडिएको छ । त्यसरी हाम्रो संस्कृति पनि पिछडिएको संस्कृति हो । विश्वस्तरमा पँुजीवाद र पँुजीवादी संस्कार–संस्कृति विकसित भई सक्दा पनि हाम्रो समाज अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्था रहनु नै हाम्रो समाजको पिछडिएको अवस्था हो । त्यसरी हाम्रो संस्कृतिमा जुन संस्कृतिको बोलवाला छ, त्यो अर्ध सामन्ती र अर्ध औपनिवेशिक संस्कृति हो । अर्ध सामन्ती र अर्ध औपनिवेशिक संस्कृति भनेको के हो भने एकातिर, हाम्रो संस्कार–संस्कृतिमा सामन्ती चिन्तन, व्यवहारका साथै त्यही किसिमको संस्कार–संस्कृतिको छाप रहनु तथा अर्कातिर, त्यसको सँगसँगै पँुजीवादी तर साम्राज्यवादी, विस्तारवादी संस्कार–संस्कृति र चिन्तनको प्रभाव समेत पनि पर्नु हो । हाम्रो सामाजिक चेतना त्यही प्रकारको छ । विश्वमा एकातिर, पँुजीवाद, त्यसको चरम रूप साम्राज्यवाद र पँुजीवादी साम्राज्यवादी विचारधाराको बोलवाला छ भने अर्कातिर, साम्राज्यवाद र साम्राज्यवादी पँुजीवादी तथा भारतीय विस्तारवादका साथै सामन्ती, दलाल र नोकरशाही पँुजीवादी शोषण–दमन र उत्पीडनका विरुद्ध सङ्घर्ष गर्नका लागि माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधारा (माक्र्सिज्म–लेनिनिज्म एन्ड द आइडियोलोजी अफ माओत्सेतुङ) ले लैस माजवादी विचारको प्रभाव र प्रेरणा पनि तीव्र रूपमा बढ्दै गई रहेको छ ।
समाजवादी चेतनाले एकातिर, श्रमप्रति श्रद्धाभाव पैदा गर्दछ भने अर्कातिर, श्रमजीवी जनतामाथि हुने शोषण–दमन र अन्याय–अत्याचारको विरोध गर्दछ । समाजवादी चेतनाले खालि श्रमप्रति श्रद्धाभाव र श्रमिकमाथिको शोषण–दमनको विरोध गर्दैन, त्यसका साथसाथै मानसिक श्रम र शारीरिक श्रमबीच, कृषिमा काम गर्ने श्रमिक र उद्योगमा काम गर्ने श्रमिकबीच तथा गाउँ र शहरसबीच अर्थात् सुविधायुक्त ठाउँ सुविधा नभएको ठाउँबीचको अन्तरविरोधलाई उन्मूलन गर्न प्रेरित गर्दछ । समाजवादी चेतनाले श्रमलाई पारिश्रमिकका लागि गरिने चीजको रूपमा होइन, मानवीय क्षमताको विकासको अपरिहार्य तत्व मान्दछ । त्यसरी यसले खालि अरूको श्रमप्रति श्रद्धाभाव राख्ने मात्र होइन, स्वयं पनि स्वेच्छाले श्रममा संलग्न हुनु पर्ने आवश्यकतामा जोड दिन्छ ।
त्यसरी हामीहरुले जुन संस्कृतिलाई बदल्न चाहन्छौँ, त्यो साम्राज्यवादी र विस्तारवादी सामन्ती र अर्ध सामन्ती तथा औपनिवेशिक र अर्ध औपनिवेशिक संस्कृति हो । हामीहरुले जुन संस्कृतिको स्थापना गर्न चाहन्छौँ, त्यो प्रगतिशील संस्कृति हो, अग्रगामी संस्कृति हो, मानिसले मानिसको शोषण, दमन र उत्पीडन गर्ने कुराको विरोधी संस्कृति हो र त्यो मानिसले प्रकृतिमाथि विजय हासिल गर्ने संस्कृति पनि हो ।
निश्चय नै त्यस प्रकारको संस्कृतिको हामीहरुले अपेक्षा गर्दछौँ । तर सामाजिक अस्तित्वलाई रूपान्तरण नगरिकन हाम्रो त्यो अपेक्षा पुरा हुन सक्दैन, तापनि मानिसको चेतना वा दृष्टिकोणले सामाजिक चेतना र दृष्टिकोणको स्वरूप ग्रहण गर्नु तथा सामानिक चेतना र सामाजिक दृष्टिकोणले सामाजिक अस्तित्वलाई प्रभावित गर्नु, त्यसलाई रूपान्तरण गर्न उत्प्रेरित गर्नु र त्यसको रूपान्तरणमा जोड दिनु आदि कुराले ढिलोचाडो मूर्त रूप ग्रहण गर्नु अपरिहार्य छ । किनभने समाजमा जहिले पनि श्रमजीवी वर्गको अत्यधिक आधिक्यता रहने गरेको छ र विद्यमान समाजमा ९५५ भन्दा बढी जन समुदाय मानसिक वा शारीरिक श्रमसित सम्बन्धित छन् । अतिरिक्त श्रम अर्थात् अतिरिक्त मूल्यको शोषणको आधार र भरमा मात्रै शोषणयुक्त राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक प्रथा टिकेको छ र टिक्दछ । त्यसरी हामीहरुले जुन संस्कृति अँगाल्न अहिले बाध्य छौँ, त्यसले केवल अल्पसङ्ख्यक मानिसहरुका हितको प्रतिनिधित्व गर्दछ भने जुन संस्कृति अँगाल्नु पर्ने अपेक्षा गरी रहेका छौँ, त्यसले बहुसङ्ख्यक जन समुदाय, अझ वास्तवमा आम जन समुदायका हितहरुको प्रतिनिधित्व गर्दछ । तसर्थ सामाजिक संस्कृतिलाई अल्पसङ्ख्याको हितमा मात्र केन्द्रित नगरेर बहुसङ्ख्यक अर्थात् आम जन समुदायको हितको पक्षमा रूपान्तरित गर्नु आवश्यक छ । त्यसो गर्नु कसरी सम्भव हुन्छ भने विद्यमान संस्कृतिका जुन जुन नकारात्मक पक्षहरु छन्, तिनलाई हटाएर तिनको ठाउँमा त्यसमा रहेका सकारात्मक पक्षहरु र नयाँ सन्दर्भमा उत्पादनका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष तथा वैज्ञानिक एवं प्राविधिक अध्ययन, अनुसन्धान प्रयोगबाट मानव जातिले हासिल गरेका वा गर्न प्रयत्न गरेका चीजहरुलाई मिलाएर संयोजन गर्नु पर्दछ । महान् अक्टोबर समाजवादी क्रान्ति तथा चीनमा सम्पन्न नयाँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिले देखाएको बाटोमा अगाडि बढ्नु र बढ्ने प्रयत्न गर्नु पर्दछ ।
महान् अक्टोबर समाजवादी क्रान्ति आजभन्दा एक सय वर्ष पहिले नोभेम्बर ७, १९१७ मा माक्र्सवाद–लेनिनवादको आलोकमा लेनिन र स्टालिनको नेतृत्वमा रूसमा सम्पन्न भएको थियो । त्यसले खालि रुस र मजदुर आन्दोलन गतिशील अवस्थामा रहेका र पँुजीवादी दृष्टिकोणले विकसित मुलुक र त्यहाँका जन समुदायलाई मात्र नभएर सामन्ती र अर्ध सामन्ती एवं औपनिवेशिक र अर्ध औपनिवेशिक अवस्थामा रहेका एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका जन समुदायलाई समेत अभिप्रेरित र विश्वव्यापी रूपमा नै राष्ट्रिय मुक्ति आन्दोलनको लहर उठ्यो तथा दोस्रो विश्वयुद्धको अन्त्यसँगै प्रत्यक्ष उपनिवेशको अन्त्य गर्ने अभियान सशक्त बन्दै गयो । त्यही क्रममा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र त्यसका साथसाथै विश्वको भूगोलको ६ भागको एक भाग एवं विश्व जनसङ्ख्या तीन भागको एक भागले साम्राज्यवादी जुवाबाट उन्मुक्ति पायो ।
महान् सर्वहारा सांस्कृतिक क्रान्ति माक्र्सवाद–लेनिनवाद र माओत्सेतुङ विचारधाराको मार्गदर्शनमा माओत्सेतुङको नेतृत्वमा चीनमा चीनको कम्युनिस्ट पार्टीद्वारा पुराना विचार, पुराना संस्कार र संस्कृति, पुराना बानी–ब्यहोरा तथा पुराना चालचलनका विरुद्ध चलाइएको थियो । यसको उद्देश्य नयाँ समाजवादी सामाजिक, आर्थिक, राजनैतिक व्यस्थाको उद्देश्य अनुरूप नयाँ दृष्टिकोण, नयाँ विचार, नयाँ संस्कार, नयाँ संस्कृति, नयाँ बानी–ब्यहोरा र नयाँ चालचलन स्थापित गर्नु तथा तिनलाई संस्थागत र सुदृढ बनाउँदै साम्यवाद प्राप्त गर्ने दिशामा अगाडि बढ्नु थियो । त्यस मार्गमा बाधा–विरोधको रूपमा खडा हुने र त्यसरी अग्रगामी दिशालाई पश्चगामी दिशामा मोड्ने वा मोड्न खोज्ने प्रतिगामी पँुजीवादपन्थी संशोधनवादी विचारलाई उन्मूलन गर्नु थियो । त्यस सन्दर्भमा पार्टी र सरकारमा हर्ताकर्ताका विरुद्ध जीवन–मरणको सङ्घर्ष गर्नु परेको थियो ।
यति बेला रूस, चीन लगायत पहिलेका प्रायः सबै समाजवादी मुलुकहरुमा पँुजीवादको पुनस्र्थापना भएको छ र विश्वमा कहीँ र कतै पनि समाजवादी मुलुक रहेको छैन र पहिलेका कम्युनिस्ट पार्टी र सङ्गठनहरु समेत संशोधनवादी पार्टीमा बदलिएका छन् । त्यसरी कम्युनिस्ट सङ्गठनात्मक रूपले कमजोर बन्न पुगेको छ । साम्राज्यवादी, विस्तारवादी र विश्वभरिका प्रतिक्रियावादी शासक र शोषक वर्गका साथै संशोधनवादी र विभिन्न खाले अवसरवादीहरुले नयाँ जनवादी, समाजवादी र साम्यवादी क्रान्तिको सम्भावना नभएको बताई रहेका छन् । कम्तिमा पनि पँुजीपति वर्गको शासन सत्तालाई समाप्त गर्न सकिने र गर्नु पर्ने आवश्यकता र औचित्य समेत नभएको बताउँदै छन् । अतः तात्कालिक रूपमा कमजोर बन्नुका साथै पुराना दर्शन, दृष्टिकोण, विचार, बानी–ब्यहोरा, चालचलन, रीतिथितिका साथै पुरानो संस्कृतिले जोर पक्रेको छ । तर विज्ञान र प्रविधिको विकाससँगै उत्पादनका लागि तीव्र बन्दै गएको छ । समाजमा उत्पादनका साधनमाथिको स्वामित्व सुदृढ गर्दै आई रहेको शोषक, शासक परिजीवी वर्ग तथा उत्पादन साधनविहीन गरी खाने वर्गबीच सङ्घर्ष निरन्तर चली रहेको छ तथा वैज्ञानिक र प्राविधिक अध्ययन, अनुसन्धान र प्रयोग दिन–प्रतिदिन नयाँ नयाँ रूपमा भई रहेको छ । यसले गर्दा श्रमजीवी वर्गका हक, हित र अधिकारलाई कुण्ठित गर्ने प्रयत्नस्वरूप समाज विकासको क्रमलाई रोक्ने वा रोक्न खोज्ने सपना ढिलो वा चाँडो चकनाचुर हुनु अवश्यंभावी छ । खालि शोषक र शासक वर्ग मात्रै नभएर सारा संसारको निर्माण र पुनर्निर्माण गर्दै आएको श्रमजीवी वर्गले समेत विभिन्न प्रकारका सामाजिक व्यवहार, उदाहरणका लागि उत्पादनका लागि सङ्घर्ष, वर्ग सङ्घर्ष र वैज्ञानिक र प्राविधिक अध्ययन, अनुसन्धान र प्रयोगबाट प्राप्त ज्ञानले आफूलाई सुसंस्कृत गर्दै आएको छ ।
समाजवाद र साम्यवादको विजय अवश्यंभावी छ तथा समाजवादी र साम्यवादी दृष्टिकोण, विचार, संस्कार, संस्कृति, आचार–विचार, चालचलन, रीतिथिति र बानी–ब्यहोरा स्थापित हुनु पनि अवश्यंभावी छ ।

वुर्जुवा व्यवस्थामा निर्वाचन संस्कृति
राम बहादुर बुढा
वुर्जुवा व्यवस्था अर्थात् पँुजीवादी व्यवस्थामा आवधिक निर्वाचनको व्यवस्था संविधान र कानुनमा राखिएको हुन्छ । वुर्जुवा लोकतन्त्रवादीहरु आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राण, गहना, मेरुदण्ड जस्ता उपमाहरु दिएर निर्वाचनको महत्वमाथि जोड दिने गर्दछन् । निर्वाचनका सन्दर्भमा अभिव्यक्त हुने मानिसका सोचाइ, व्यवहार, आनिबानी, तौरतरिका, चलन–प्रचलनलाई समष्टिगत रूपमा निर्वाचन संस्कृति भन्न सकिन्छ । वुर्जुवा व्यवस्थामा विकास भएको निर्वाचन संस्कृतिको अध्ययन हुनु जरुरी छ ।
वुर्जुवा व्यवस्थामा निर्वाचन एउटा खेल हो । त्यो खेलका खेलाडीहरु राजनीतिक दलहरु हुन्छन् । निर्वाचनका बेला जनतालाई झुक्याउने प्रतिष्पर्धा वुर्जुवा राजनीतिक दलहरुले गरी रहेका हुन्छन् । वुर्जुवा पार्टीहरुले आफ्नो पार्टी कुनै वर्ग विशेषको पार्टी हैन, धनी–गरिब सबै वर्गको पार्टी हो, आफ्नो पार्टीले सबै वर्गको अधिकारको व्यवस्था गर्न तयार छ भनी रहेका हुन्छन् । यो सिधै जनताको आँखामा फुलो पार्ने तरिका हो । व्यवहारमा त्यो कदापि सम्भव हुँदैन । वुर्जुवा पार्टीहरु जनताको मत लिएर संसद र सरकारमा गई सकेपछि शोषक, फटाहा, पँुजीपतिहरुको पक्षमा नियम, कानुन बनाई रहेका हुन्छन् । गरिबलाई दमन गर्ने नियम, कानुन नै बनाई रहेका हुन्छन् । खास वर्गको पक्षमा लागी रहेको पार्टी कसरी सबै वर्गको प्रतिनिधित्व गर्ने पार्टी बन्न सक्छ ? यस्तै कपटी, जाली, फट्याइँ, झुटा कुरा गरेर जनतालाई भ्रममा पार्नु वुर्जुवा व्यवस्थाको चुनावी संस्कृतिको एउटा महत्वपूर्ण विशेषता हो ।
के साँच्चै यो वुर्जुवा व्यवस्थामा सबै जनताको चुन्ने र चुनिने अधिकार समान हुन्छ ? हुन्छ, नियम र कानुनमा, कागजमा लेखिएको हुन्छ । तर व्यवहारमा यस्तो ग्यारेन्टी केवल पँुजीपतिलाई मात्र हुन्छ । अमेरिकाको व्यवस्थापिका (काङ्ग्रेस) मा निर्वाचित सिनेटरहरु, बेलायतको व्यवस्थापिका संसदमा निर्वाचित सांसदहरु वा संसारका सबै पँुजीवादी देशका विधायकहरुको वर्गीय पृष्ठभूमि के छ ? त्यसको खोज गर्न थाल्यौँ भने पक्कै पनि त्यहाँ गरिब परिवारको पृष्ठभूमिबाट गएका व्यक्तिहरु नगण्य मात्रामा भेटिन्छन् । अमेरिकाका सिनेटरहरु वा बेलायतका सांसदहरु अधिकांश व्यावसायिक निगम, बैङ्क, बिमा कम्पनी, उद्योग, सेयर बजारका मालिक वा सञ्चालक नै हुन्छन् । नेपालमा पनि त्यो कुरूप संस्कृति चरम रूपमा मौलाउँदै गई रहेको छ । पार्टीका सदस्यहरुको त्याग, योगदान, लगाव, इमान्दारिता, जनताप्रति वफादारिता, अनुशासनको मूल्याङ्कनका आधारमा हेरेर टिकट दिनु पर्दथ्यो । तर भ्रष्टाचारी, तष्कर, बदनामित ठेकेदारहरुले पार्टीबाट पैसाकै बलमा उम्मेदवारीका लागि टिकट प्राप्त गर्ने संस्कार मौलाउँदै गई रहेको छ । एक पटक चुनावको टिकट पाई सकेपछि यस्ता पात्रहरुले धाँधली, मत खरिद गरेर निर्वाचित भई फेरि जनता र देशलाई लुट्ने गर्दछन् ।
यसपालिको संसदीय चुनावमा केन्द्रको समानुपातिक उम्मेदवारको सूचीका लागि ५० हजार, प्रदेश सभाको समानुपातिक उम्मेदवार सूचीका लागि २५ हजार, केन्द्रको प्रत्यक्षतर्फको सांसद उम्मेदवारका लागि १० हजार, प्रदेश सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि पाँच हजार, दलित र महिलाका लागि प्रत्यक्षतर्फ ५० प्रतिशत छुट दिने गरी धरौटीको व्यवस्था गरिएको छ । पहिलो कुरा त सामान्य मजदुर वा किसानका लागि त्यो धरौटी नै मुश्किलको भारी हुन्छ । दोस्रो कुरा, उम्मेदवारी दिई हाले पनि निर्वाचन खर्च उनीहरु जुटाउन सक्दैनन् । त्यसरी चुन्ने र चुनिने अधिकार समान भने पनि त्यो केवल हात्तीको देखाउने दाँत मात्र हो भन्ने प्रष्ट छ ।
हरेक निर्वाचनमा निर्वाचन आयोगले आचार संहिता बनाएको हुन्छ । यसपालिको संसदीय निर्वाचनमा केन्द्रको प्रत्यक्षतर्फको सांसदले २५ लाखसम्म र प्रदेश सभाको सांसदले १५ लाखसम्म प्रचार प्रसार खर्च गर्न पाउने व्यवस्था गरिएको छ । तर तष्कर, भ्रष्ट र लुटेराहरुले करोडौँ रुपैया मत खरिद, भोजभतेर र अन्य प्रचार प्रसारमा खर्च गरी रहेका हुन्छन् । निर्वाचन सकिएपछि निर्वाचन आयोगलाई खर्च विवरण उम्मेदवार र राजनैतिक पार्टीहरुले बुझाउनु पर्दछ । जतिसुकै करोडौँ खर्च गरे पनि आचार संहिताभित्र रहेको अभिनय गर्दै खर्चहरु लुकाएर थोरै खर्च विवरण आयोगलाई पेश गर्दछन् । खर्च विवरण लुकाइएको कुरा कहिल्यै पनि सोधीखोजीको विषय बन्दैन । त्यसरी निर्वाचनमा धेरै खर्च गर्नु तर थोरै विवरण बुझाउनु पँुजीवादी निर्वाचन प्रणालीको आम संस्कृति नै बनेको छ । मानौँ, आचार संहिता पालना गर्न हैन, उल्लङ्घन गर्नका लागि बनाइएको हुन्छ । गत स्थानीय चुनावमा निर्वाचन चिह्न अङ्कित कपडा नलगाउने भनिएको थियो । तर त्यसको प्रयोगमा व्यापकता कति थियो ? हामी सबैलाई थाहा भएको कुरा हो ।
एउटा भनाइ नै छ, निर्वाचनको अर्को नाम धाँधली हो । स्वच्छ निर्वाचन केवल भन्ने कुरा मात्र हो । जतिसुकै लोकतन्त्रवादी मुलुकहरुमा पनि हरेक निर्वाचनमा धाँधली हुने गर्दछन् । अमेरिकामा धेरै पटक राष्ट्रपतीय चुनावमा धाँधली भएको भनेर अदालतमा मुद्दासम्म चलेका थिए । १९२७ मा लाइबेरियामा भएको राष्ट्रपति निर्वाचनमा चार्ल डी.बी. ले दुई लाख ३४ हजार मत लिई विजय प्राप्त गरेका थिए, जबकि १५ हजार मात्र रजिस्टर्ड मतदाता थिए । यसलाई संसारकै खराब निर्वाचन मानिन्छ । वुर्जुवा बुद्धिजीवीहरु खराव निर्वाचनले लोकतन्त्र कमजोर बनाउँछ भनेर चिच्याउन छाडेका हुँदैनन् । तर निर्वाचन कहिल्यै स्वच्छ हुँदैन ।
पँुजीवादी राजनीतिज्ञहरु निर्वाचनमा आफ्नो पक्षमा मत आकर्षित गर्न सक्नु कला हो भन्ने ठान्दछन् । जसले जनताका बीचमा राम्रो कला प्रदर्शन गर्न सक्दछ, उसैले जनताको मन जित्छ र मत तान्दछ भन्ने उनीहरुको भनाइ छ । व्यवहारमा हे¥यौँ भने त्यो प्रायः त्यस्तो कला हुने गर्दछ ः झुट, बेइमानी, छलछाम र ढाँट्न सक्ने कला । भ्रम पार्ने कला । त्यसलाई उनीहरु आफ्नो खुबी र बहादुरी ठान्दछन् । निर्वाचनमा एउटा सिद्धान्त नै बनेको हुन्छ, “जसरी पनि जित्ने” । जसरी पनि जित्नका लागि साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गर्ने गरिन्छ । जनताको पिछडिएको चेतनालाई दुरूपयोग गर्न कुनै कसर बाँकी राखिदैन । “उम्मेदवारलाई माग्ने र खाने” भन्ने एक प्रकारको मगन्ते संस्कृति राजनीतिक दलहरुले निम्न र कमजोर वर्गमा विकास गराएका छन् ।
निर्वाचनलाई “पर्व”, “महापर्व” को रूपमा पनि अथ्र्याउने गरिन्छ । हो, पर्वमा धनाड्यहरुले कमाएको भनौँ वा लुटेको भनौँ, सम्पत्ति गुल्छर्रा उडाउने, आडम्बर र ध्वाँस पिट्ने एउटा गतिलो अवसर हुन्छ । धनाड्यहरुका लागि चुनाव पनि त्यस्तै अवसर हुने गर्दछ । पैसाको सम्मानले मात्र पुगेन, राजनीतिक पदको सम्मानबाट पनि सुभोसित हुने अवसरका रूपमा पँुजीपतिहरुले निर्वाचनलाई प्रयोग गर्ने गर्दछन् । कतिपय समाजका आवाराहरुका लागि पनि निर्वाचन पर्व जस्तै हुन्छ । चाडवाडका बेलामा धनीहरु खुशियालीमा गरिबहरुलाई नाच्न, गाउन, मदिरा खुवाएर तमासा गर्न लगाउँछन् र मनोरञ्जन लिन्छन् । आफ्नो स्वार्थका लागि धनाड्यहरु गरिबलाई चुनावमा त्यसरी नै प्रयोग गर्ने गर्दछन् । सत्ताको शक्तिबाट आफ्ना सारा काला कर्तुतहरुलाई छोप्ने आवरणको नवीकरण गर्ने अवसरका रूपमा पँुजीपतिहरुले चुनावलाई लिने गर्दछन् । माक्र्सले भनेका छन्– पँुजीवादी निर्वाचन भनेको गरिबहरुका लागि आफूमाथि अत्याचार गर्ने, वर्ग, गुट र व्यक्ति छान्ने अवसर हो ।
कम्युनिस्ट पार्टीले यस खालको निर्वाचन संस्कृतिलाई कसरी लिने ? पहिलो कुरा, वुर्जुवा व्यवस्था र त्यसबाट सृजित निर्वाचन संस्कृति तथा त्यसका परिणामका बारेमा जनताका बीचमा स्पष्ट पार्ने अवसरका रूपमा निर्वाचनलाई उपयोग गर्नु पर्दछ । “जसरी पनि जित्ने” जस्तो अवसरवादी संस्कार, संस्कृतिको धज्जी उडाउनु पर्दछ । यसबाट देश जनताको उन्नति हैन, दूर्गति भई रहेको कुरा जनतालाई स्पष्ट गरिनु पर्दछ । दोस्रो, आफ्नो सैद्धान्तिक, राजनैतिक मूल्य–मान्यतालाई जनताको बीचमा प्रचार प्रसार गर्ने र तिनलाई स्थापित गर्ने, सङ्गठन निर्माणको आधार बनाउने जस्ता कार्यमा पँुजीवादी निर्वाचनलाई प्रयोग गरिनु पर्दछ । चुनाव प्रचार प्रसारको दौरान जनवादी र समाजवादी संस्कृतिको प्रचार प्रसार गरिनु पर्दछ । तेस्रो, नजितेको अवस्थामा पनि लगातार देश र जनताको पक्षमा काम गर्नु पर्दछ । निर्वाचनबाट विजय प्राप्त भएमा यही प्रतिक्रियावादी व्यवस्थाभित्र पनि बढीभन्दा बढी शोषित, पीडित वर्ग र आफ्नो देशको हितका लागि काम गर्दै आमूल परिवर्तनको पक्षमा लगातार योगदान पु¥याउनु पर्दछ ।
वुर्जुवा बुद्धिजीवीहरु के बताउँछन् भने कतै भ्रममा नपर्ने, खरिद–विक्री हुन नसक्ने, योग्य, शिक्षित मतदाताहरु भएमा निर्वाचन स्वस्थ, स्वच्छ, धाँधलीरहित हुन्छ । तर स्वयं पँुजीवादी पार्टीहरु नै मतदाताहरुलाई भेडाबाख्रा जस्तै खरिद–विक्रीको वस्तु बनाउने, मतदातामा मगन्ते संस्कृतिको विकास गर्ने काममा लागी रहेका हुन्छन् भने त्यस्तो स्वस्थ निर्वाचन कसरी सम्भव हुन्छ ? सयौँ वर्षदेखि वुर्जुवा निर्वाचनको अभ्यास गर्दै आएका पँुजीवादी देशहरुमा त ती कुरा सम्भव भएका छैनन् भने अझ नेपाल जस्तो देशमा तत्काल त्यो सम्भावना छैन, तैपनि कम्युनिस्ट पार्टीले ती सबै विकृतिपूर्ण संस्कृतिको विरोध गर्दै जनवादी, समाजवादी व्यवस्थाले नै वास्तवमा जनताको मुक्ति गर्छ भन्ने कुरा स्थापित गर्ने प्रयास गर्नु पर्दछ ।

भत्किएका सपनाहरु
मनु विक
आजभोलि गाउँमा सहरमा
जताततै सपनाहरु भत्किएका छन्
सपनालाई साकार पार्ने
हातहरु कताकता लत्रिएका छन्
म चाहन्थेँ सपना नभत्कियोस्
रातमा देखेको सपना
बिहानीको लालीसँगै
मेरो मुटुभरि भएको थियो
रातमा देखेको सपना
भालेको डाँकोसँगै
मेरो मस्तिष्कभरि रहेको थियो
त्यो एउटा सपना
अति मिठो मिठो थियो ।

त्यो एउटा सपना यति रसिलो रसिलो थियो
त्यो एउटा सपना अति भरिलो भरिलो थियो
त्यही सपनाको बलमा म
जीवनका कैयौँ दुःखहरुसँग लडेँ
ज्वारहरुसँग भिडेँ ।

मेरो सपनाले अनेक कठिनाइ
र, दुःखहरुलाई
अति तुच्छ ठानिरहे हलपल हरपल
मैले देखेका सपनाले
मेरो मुटु उचाली रह्यो
मैले देखेको सपनाले
जीवनमा अनेक दर्शनहरु भरी रह्यो
त्यही सपनाले होइन त ?
सगरमाथिा चुम्न खोजेको ?
तर म देखी रहेको छु
सपनाहरु भत्किदैनन्
कताकता अन्धकार गहिराइमा
थाहा छैन सपना भत्किदैछन्
वा, भत्काइदै छ
थाहा छैन सपना हल्लिदै छ
वा, आजभोलि सपना
बिक्रीको माला बनाइदै छ
आजभोलि सपना बजारमा पठाइदै छ
थाहा छैन सपना बजारबाट
फिर्ता आउँछ कि आउदैन ?
कि आउछ सपना खाली हात लिएर
कि जान्छ सपना सबै सिद्धिएर ?

तर मलाई लागी रहेछ
सपना बजारमा जानु हुँदैन
मलाई त लागी रहेछ
सपनाले हल्लिनु हुँदैन
मलाई त लागी रहेछ
सपना भत्किनु हुँदैन
किनकि
जब सपना भत्किन्छ जगबाट
जब सपना मेटिन्छ मस्तिष्कबाट
जब सपना हटाइन्छ मुटुबाट
रात र दिन गर्दै
गाउँ र सहर गर्दै
अनि, आउने छ अन्धकार
सपना देख्ने मस्तिष्कहरु लुट्न
सपना साच्ने मुटुहरु भुट्न
त्यसैले भत्किनु हुन्न सपना
त्यसैले हल्लिनु हुन्न सपना ।

प्रगतिवादी साहित्यिक मान्यता
राम प्रकाश पुरी
(अघिल्लो अङ्कबाट क्रमशः­)
प्रगतिवादी साहित्यको परिभाषा
परिभाषा यस्तो बनोस् कि धेरै शब्दजालको साङ्लोले यसलाई बन्दी नबनाइयोस् । यसलाई दार्शनिक, राजनीतिक, सैद्धान्तिक, वैचारिक र व्यावहारिक हिसाबले प्रगतिवादी भन्न सकिने आधारहरु उपलब्ध गराइनु पर्छ, अन्यथा आडम्वरिताको खोल ओढेको कागजी दस्तावेज हुन्छ । प्रगतिवादी साहित्यको परिभाषा मजदुर वर्गको भाषा, शैली र संस्कारबाट व्यक्त हुन सकोस् । सके त मजदुरहरुले नै यसलाई परिभाषित गरुन् । त्यसो हुन नसकेको खण्डमा यति होस् कि त्यो परिभाषाले मजदुर वर्गको सपनालाई परिभाषित गर्न सकोस् । त्यसैले यहाँ देश–विदेशका लेखकहरुको भनाइलाई अलि अलि समावेश गरिएको भए पनि त्यति धेरै उद्धृत गर्न रुचि राखिएको छैन ।
अर्को कुराप्रति पनि ध्यान आर्कषित गराई हालौँ । प्रगतिवादी साहित्यलाई बौद्धिक विलासिताका लागि प्रयोग नगरियोस् र त्यसरी परिभाषित पनि नहोस् भन्ने हाम्रो जोडदार मान्यता हो, अर्थात् हामी यस्तो भन्न चाहान्छौँ– प्रगतिवादी साहित्य क्रान्तिकारी परिवर्तनका लागि मात्र होइन, सर्वहारा वर्गको सम्पूर्ण उद्देश्य, इच्छा र शक्तिलाई अभिव्यक्त गराउने साहित्यको महत्वपूर्ण विचार शक्ति पनि हो । यसमा सर्वहारा वर्गको विजयका लागि उसको दर्शन, विचार, राजनीति, सिद्धान्त र योजनाबारे नै कुरा गरिन्छ ।
माक्र्सवाद प्रारम्भिक चरणमा रहेको बेलामा गैर सर्वहारा विचारधाराहरुको बोलबाला रहेको थियो । यो समय भनेको कम्युनिस्ट घोषणा पत्र जारी भई सकेपछि (अर्थात १८४८ देखि सन् १८६४ सम्म) को अवधि हो । उक्त अवधिमा कम्युनिस्ट विचारको बहसले उत्कर्षता लिएको भएता पनि ट्रेड युनियनवाद र अराजकतावादी विचार हावी रहेका थिए । सर्वहारा वर्गको सङ्गठित राजनीतिक सङ्घर्ष र क्रान्तिप्रति यी गैर सर्वहारा विचारहरुले विश्वास राख्दैनथे । सहकारी पद्धतिद्वारा राजनीतिक पार्टी, वर्ग सङ्घर्ष, हडताल, ट्रेड युनियनहरु बिना नै पँुजीवादी राज्यको अन्त गराउन सकिन्छ भन्ने प्रुधोँ अराजकतावादका पिता थिए । यिनले “गरिबीको दर्शन” नामक किताब लेखेर मार्ग निर्देशन गर्न खोजेका थिए तर माक्र्सले यो दर्शनलाई विचार र दृष्टिकोणको अभावले ग्रस्त रहेको भनी आलोचना गरे । यसका लागि माक्र्सले “दर्शनको दरिद्रता” नामक किताब लेखे । यसमा माक्र्सले प्रुधोँको अराजकतावादी र गैर सर्वहारा धारणाको आलोचना गर्नुका साथै मजदुर वर्गको क्रान्तिको दर्शनलाई साक्षात्कार बनाउने काम गरे ।
माक्र्सको यो सङ्घर्षबारे हामीले प्रसङ्गवश कुरा गर्नु परेको हो । यो प्रसङ्ग यस्तो हो, प्रुधोँको विचारलाई कुनै साहित्यले आफ्नो आदर्श बनायो भने कस्तो सामाजिक परिणाम आउला ? अनि, माक्र्सको विचारलाई आदर्श बनाएको खण्डमा ? वास्तवमा भन्ने हो भने यी दुबै व्यक्तित्वले मानव जीवनलाई समृद्ध बनाउनेबारे आफ्ना मत प्रकट गरी ती पुस्तकहरु लेखेका थिए । अब कुरा रह्यो, प्रगतिवादले यी दुई पुस्तकहरुमध्ये कुन पुस्तकलाई छान्नु आवश्यक छ ? थप बुद्धिको प्रयोग गर्नु आवश्यक छैन, किनभने प्रगतिवाद माक्र्सवादी सौन्दर्यात्मक साहित्य हो ।
प्रगतिवाद किन कहलिन पुग्यो होला ? यस प्रश्नको जवाफस्वरूप हामी यो भन्न सक्छौँ– मानव जातिलाई समृद्ध बनाउनका लागि गरिएका सबै प्रयासहरुप्रति सम्मान जाहेर गरे पनि सबै प्रयासहरुलाई सही मान्ने यसको हेतु हुँदैन । यसले त वास्तविक र सत्यताको क्षेत्र ओगेटेको पक्षलाई नै पहिचान गर्दछ । यसले गर्दा माक्र्सवादको कित्तामा उभिएर सौन्दर्यात्मक साहित्यलाई उजागर गर्ने उपकरण बन्न गयो, प्रगतिवाद । यस अर्थमा प्रगतिवादलाई यसरी परिभाषित गर्न सक्दछौँ– “मानव जातिका लागि गरिएका सबै प्रयासहरुमध्ये दार्शनिक, सैद्धान्तिक र राजनीतिक रूपमा सबैभन्दा सही, सत्य र ठोस पक्षहरुलाई कलात्मक ढङ्गले व्यक्त गराउने सौन्दर्यात्मक अभिव्यक्ति नै प्रगतिवादी साहित्यिक मान्यता र मूल्य हो ।” के यो परिभाषा प्रगतिवादी सिद्धान्त अनुसार छ ? यसलाई पुष्टि गर्न माक्र्स÷एङ्गेल्सको “साहित्य र कला” कृतिको भूमिका लेखेका बे. क्रिलोभको यो भनाइलाई उद्धृत गर्नु उचित देखिन्छ ः “वैज्ञानिक साम्यवादका संस्थापकहरुको दृष्टिकोणमा कलाको सार, त्यसको आधारशिला, विकास र सामाजिक भूमिका केवल सामाजिक प्रणालीको समग्र विश्लेषणको आधारमा मात्रै बुझ्न सकिन्छ । सामाजिक प्रणालीभित्र आर्थिक तत्वले अर्थात् उत्पादन सम्बन्धहरुसँगको जटिलतम अन्योन्यक्रियामा उत्पादन शक्तिहरुको विकासले प्राथामिक एवम् निर्णायक भूमिका खेल्दछ” (माक्र्स÷एङ्गेल्स ः १५) । यहाँ भन्न खोजिएको कुरा हो– एउटा कुनै सामाजिक प्रणालीमा उत्पादन सम्बन्धको स्थितिलाई बुझ्ने । साहित्य र कलाले वर्गीयतालाई पनि बुझ्दछ र बुझ्नु पर्दछ । अरू सिद्धान्तका साहित्यले यो हैसियत राखेको भेटिएको छैन । तर प्रगतिवादी साहित्यिक सिद्धान्त बोकेको साहित्यले भने यी सबै कुरा बुझेको मात्रै होइन, निर्णय समेत गरेको छ ।
प्रगतिवादी साहित्यिक मान्यताको परिभाषा सम्बन्धी धारणा
प्रगतिशील साहित्यमा विचार पक्षले सबभन्दा ठुलो स्थान लिएको छ । तर यो भन्दा अगाडि छ, प्रगतिवादी साहित्य । यसले त यो निर्णय गर्दछ ः त्यस्तो साहित्यिक अभिव्यक्ति, जसले सर्वहारा वर्गको विषयमा धेरैभन्दा धेरै सकारात्मक छलफल गरेको होस् । किनभने प्रगतिवादी साहित्य नै त्यस्तो एक मात्र साहित्य हो, जसले सम्पूर्ण मानव जातिको न्याय र सुन्दर भविष्यको सुनिश्चिताका लागि विचार र विमर्श गर्नुका साथै मानव समाज र मानिसहरुको जीवन बदल्नका लागि युद्धमैदानको योद्धाको झैँ कार्य व्यवहार गर्दछ । त्यसैले यसमा श्रष्टा र सर्जक स्वयम्को संस्कार, कार्यशैली र व्यवहार पनि जोडिएर आएका हुन्छन् । यो साहित्यिक संस्कारमा स्रष्टा र सृजनाबीचको अन्तर्सम्बन्धको जाँचबुझ कार्यशैली र व्यवहारबाट हुन्छ । कुरा गर्दैमा, लेख्दैमा वा प्रवचन दिदैमा कुनै साहित्यिक सर्जकलाई प्रगतिवादी बन्नु सम्भव हुँदैन । प्रगतिवादी साहित्यिक मान्यता सामूहिक विचारको अभिव्यक्ति हो । त्यसैले अगाडि पछाडि लेखिएकाले यिनीहरुको मूल्यमा अन्तर छ भन्ने भ्रम नहोस् । १९३५ पछि प्रयोगमा आउन थालेको “प्रगतिवाद” पहिले विचार र दर्शनको गम्भीर अर्थमा प्रयोग भएको छ । शब्द चाहे जुनसुकै प्रयोगमा आएको भए पनि प्रगतिवादी साहित्यिक मान्यतालाई सिद्ध गर्ने गरी माक्र्सको समयदेखि नै यो साहित्यबारे बहस र छलफल चल्दै आएको देखिन्छ । यहाँ उल्लेख भएका धारणाहरु मात्र प्रतिनिधि धारणा हुन् भन्ने भ्रम पनि नरहोस्, अरू कैयौँ लेखक, साहित्यकार र सर्जकहरुले पनि प्रगतिवादी साहित्यिक मान्यता सम्बन्धी परिभाषाहरु प्रदान गरेको कुरा समेत हेक्का रहोस् ।
माक्र्स र एङ्गेल्सका अनुसार “सच्चा समाजवाद भनेको त्यस्तो सामाजिक साहित्यिक आन्दोलनको सर्वोत्कृष्ट अभिव्यक्ति हो, जसको उत्पत्ति विशिष्ट पार्टी हितहरुभन्दा बाहिर भएको थियो, जो अब आएर कम्युनिस्ट पार्टीको गठन भई सकेपछि पनि आफ्नो अस्तित्व कायम राख्न चाहन्छ ।”
प्लेखानोभका अनुसार कलाले जन समुदायलाई एकै सूत्रमा बाँध्दछ र साथसाथै एक वर्गलाई अर्को वर्गका विरुद्ध सङ्घर्ष गर्ने प्रेरणा पनि दिन्छ । किनकि, कला वर्ग सङ्घर्षको अभिव्यक्ति हो र त्यो वर्गगत विचार र अनुभूतिहरुको सम्प्रेषणको माध्ययम पनि हो ।
लेनिन, स्टालिनले र माओले सामाजिक व्यवस्थाको सम्पूर्ण चरित्रलाई व्यावहारिक रूपले नै परिभाषित गरे र प्रगतिवादी साहित्य समाजवादी व्यवस्थाको कलात्मक संस्कार हो भन्ने कुरालाई स्थापित गरी दिए ।
म्याक्सिम गोर्की, लुसुन, क्रिस्टफोर कडवेल, राल्फ फक्स, हावर्ड फास्ट, जर्ज लुकास लगायतका महान प्रतिभाहरुले प्रगतिवादी साहित्यका विभिन्न आयामहरुलाई श्रमिक वर्गको इच्छा, उद्देश्य र आकाङ्क्षाको साहित्यिक र कलात्मक मान्यताको अभिव्यक्तिको रूपमा व्याख्या गरेर प्रगतिवादी साहित्यिक मान्यतालाई संस्थागत गरे ।
नेपालमा साम्यवादी राजनीति र साहित्यिक व्यक्तित्वहरुले प्रगतिवादी साहित्य निर्माणमा पनि महत्वपूर्ण योगदान दिएका छन् । उनीहरुले प्रगतिवादी साहित्यका उद्देश्य, कार्य, योजना, प्रवृत्ति, विशेषता लगायतका विषयहरुको उठान गरेका छन् । कतिपयले प्रगतिवादलाई परिभाषित गर्ने क्रममा प्रगतिवादी साहित्यको सन्दर्भलाई विश्लेषण र परिभाषित गरेका छन् । यस्ता व्यक्तित्वहरुमा नयाँ तथा पुराना सबै पुस्ताका छन् । तर यसका बाबजुद पनि नेपालको प्रगतिवादी साहित्य त्यति सन्तोषजनक छैन । यसो हुनुका कारणहरु धेरै हुन सक्छन् । ती कारणहरुबारे यस लेखमा छलफल गरी सकिएको छ ।
विषयवस्तुलाई बुझ्न अलि सजिलो होस् भन्ने हेतुले यहाँ समालोचनात्मक एवम् अनुसन्धानात्मक साहित्यिक–सांस्कृतिक त्रैमासिक प्रगतिवाद विशेषाङ्क भृकुटी मा प्रकाशित केही रचनाहरु, विभिन्न पुस्तक र स्रोतहरुबाट केही धारणाहरुलाई नमूनाको रूपमा उल्लेख गरिएको छ ः
– समाजमा परिवर्तनका पक्षमा उभिने साहित्यलाई प्रगतिवादी साहित्य भन्ने गरिन्छ र त्यसको उद्देश्य हुन्छ– समाजलाई पुरै बदल्नका लागि चल्ने सङ्घर्षमा योगदान दिनु ।…… आजको समाज अनेक प्रकारका सामन्ती वा पँुजीवादी असङ्गति, विकृति वा कुव्यवस्थाबाट ग्रसित छ । त्यस कारण त्यस प्रकारका असङ्गति, विकृतिबाट कुव्यवस्थालाई वा शोषण प्रधान समाज व्यवस्थाको अन्त गरेर शोषणविहीन, स्वतन्त्र, सुखी र सम्पन्न समाजको स्थापना गर्नु आजको दीर्घकालीन ऐतिहासिक आन्दोलनको अभिन्न अङ्गको रूपमा नै प्रगतिवादी साहित्यको सृजना हुन्छ र हुनु पर्दछ (सिंह ः ३१२) ।
– जीवनलाई राम्रोसँग कुँदेर प्रस्तुत गर्ने काम साहित्य र कलामा हुन्छ । साहित्य र कलामा सामाजिक जीवनमा विद्यमान अन्तर्विरोधलाई आकर्षक रूपमा प्रतिबिम्बन गर्ने, जनताका विचार, अनुभूति एवम् इच्छालाई अभिव्यक्ति दिने, सङ्घर्षको मैदानमा भिड्दै आएका जनताका छोराछोरी एवम् वीर र वीराङ्गानाहरुलाई नायक÷नायिका र शोषक उत्पीडकहरुलाई खलनायक खलनायिकाका रूपमा प्रस्तुत गर्ने र प्रतिनिधिमूलक परिघटना पात्र, विचार र भावलाई आधार बनाउने काममा विशेष जोड दिन आवश्यक छ (चैतन्य ः १४४) ।
– जनताका निम्ति साहित्य सिर्जने साहित्यकारले जनरुचिको भन्दा जनहितको ख्याल बढी मात्रामा गर्नुपर्छ । जनता खाल्टोतिर खस्न लागी रहेछ भने अझैँ उतैतिर घचेट्नु जन साहित्यकारको कर्तव्य होइन । त्यस अवस्थामा जनतालाई खाडल र हिलो नभएको उपयुक्त दिशातिर मोड्नु नै साहित्यकारहरुको कर्तव्य हुन जान्छ (शर्मा ः ८) ।
– प्रगतिशील तथा प्रगतिवादी साहित्यमा श्रेष्ठ योगदान दिएका श्याम प्रसाद शर्मा निकै आदरणीय व्यक्तित्व पनि हुन् । यिनको परिभाषा व्यावहारिक र जनजीवनमा भिज्ने खालको छ । यिनले बौद्धिक विलासितालाई रुचाएका छैनन् । श्रम र साधनालाई यिनले केन्द्रमा राख्दछन् र त्यसलाई सिँगार्नका लागि कलाको आवश्यकतामाथि जोड दिएका छन् । यिनी भन्छन्– प्रगतिवादी साहित्यका सन्दर्भमा श्रम, सिर्जना र साधनाको गहिरो सम्बन्ध छ । श्रम गरिएन र साधनारत भइएन भने कुनै पनि विषयमा प्रगति गर्न सकिदैन । कलाको परिष्कारका लागि पनि यी आवश्यक कुरा हुन् (शर्मा ः ३७५) ।
– मानव समाजको विकासमा विचारधारात्मक दृष्टिबाट कला र साहित्यको महत्वपूर्ण भूमिका रही आएको छ (भट्ट ः १०२) । नेपालको प्रगतिवादी साहित्यिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका भट्ट पनि निकै आदरणीय व्यक्तित्व हुन् । यिनले माक्र्सवाद–लेनिनवाद–माओ विचारधाराका संस्थापकहरुप्रति ठुलो विश्वास र कदर गरेका छन् । प्रगतिवादी साहित्य माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट अलग भएर कहिल्यै पनि निर्माण हुन नसक्ने कुरालाई पनि यिनले स्पष्ट गरेका छन् ।
– साहित्यमा प्रगतिवाद उरन्ठेउलो मस्तिस्क र असन्तुलनको अभिव्यक्ति होइन, न त यो कलालाई धमिल्याउने वा महत्व नदिने नासमझ उद्देश्य नै हो । यो जीवनमूलक साहित्यिक आन्दोलन हो, जसले प्रत्येक देशमा आ–आफ्ना समस्या र आवश्यकतालाई मात्र नजर राखी त्यसका उन्नतिशील अंशलाई अँगाल्छ र अवनतिशील तत्वको झाँको झार्न विद्रोह र स्वतन्त्रताको बिगुल फुक्छ । यहाँ भँडुवा र उद्दण्ड लाई ठाउँ छैन, न त अनर्गल राजनीतिक कुरा गर्ने लाई नै यसले तीक्ष्ण आलोचना गर्न छोड्छ (भट्ट ः ५६) ।
– प्रगतिवादी साहित्य, संस्कृतिको क्षेत्रले गम्भीर रूपमा जनतालाई युगमुखी सांस्कृतिक चेतनाले सज्जित पार्न भगिरथ प्रयत्न गर्नु आवश्यक छ (प्रश्रित ः भृकुटी, सम्पादकीय) ।
– आकाश कुुसुममा विमोहित भएर लट्ठ पर्नुको सट्टा जमिनमा टेकेर जीवनको स्वस्थ उपयोगप्रति आस्था जगाउनु प्रगतिवाद हो । वर्गविहीन समाजको रूपमा समाजको मुक्ति तथा वर्ण, वर्ग, लिङ्ग जस्ता विश्वास र सम्पूर्ण जडताबाट मुक्ति प्रगतिवादको अभीष्ट हो (चापागाइँ ः १५५) ।
– प्रगतिवादले शोषित र उत्पीडित वर्ग तथा राष्ट्रको मुक्तिको पक्ष लिन्छ । कला विकासमा श्रम अनि उत्पादन शक्ति र उत्पादन सम्बन्धहरुको अनोन्यक्रियाको भूमिका रहन्छ । वर्ग विभाजित समाजमा कलाको स्वरूप पनि वर्गीय हुन्छ र त्यसले वर्गीय विचारधाराको संवाहन गर्दछ । नयाँ सौन्दर्य चेतनाको विकास गर्नु, समाजलाई अग्रगामी दिशामा रूपान्तरण गर्न सहयोगी भूमिका निभाउनु, शोषक र शोषितमा विभाजित मानव व्यक्तित्वलाई पुनः एकीकरण गर्ने आत्मिक संस्कृतिको निर्माण गर्दै मानिसलाई सौन्दर्यात्मक आनन्द प्रदान गर्नु जस्ता प्रगतिवादी साहित्यका केही उद्देश्य हुन् (ढकाल ः ग) ।
– राजनीतिक सन्दर्भमा माक्र्सवाद र साहित्यका सन्दर्भमा प्रगतिवाद भनिने चिन्तनको दार्शनिक आधार साम्यवाद हो । जहाँसम्म प्रगतिवादको प्रश्न छ, त्यसको आरम्भमा समाज विकासको आधार पहिल्याउनु पर्ने हुन्छ (सुवेदी ः ३६८) ।
– माक्र्सवादको दार्शनिक मान्यता र सिद्धान्तका आलोकमा आलोचनात्मक यथार्थवादका कतिपय उत्तराधिकारलाई लिएर समाजवादी यथार्थवादको उदय भयो (पौडेल ः ४००) ।
– सर्वहारा विश्व दृष्टिकोणका साथ क्रान्तिकारी आशावादको चित्रण गरी समाज रूपान्तरणको निरन्तर प्रक्रियामा साहित्यको भूमिकालाई स्थापित गर्ने काम समाजवादी यथार्थवादले गर्दछ (भट्टराई ः ३४७) ।
– यसले सबै प्रकारका आदर्शवादका साथै अधिभूतवाद, यान्त्रिक भौतिकवाद, व्यवहारवाद, जडसूत्रवाद, दक्षिणपन्थी संशोधनवाद, नव संशोधनवाद, मध्यमार्गी संशोधनवाद, रूपवाद आदि गलत प्रवृत्तिको विरोध गर्दछ ।…. यसले वर्गीय, वैचारिक, राजनीतिक र साङ्गठनिक प्रतिबद्धताको अपरिहार्यतामा जोड दिन्छ (भण्डारी ः १५०) ।
– वास्तवमा प्रगतिवादी साहित्य समाज वैज्ञानिक दर्शनसँग सम्बद्ध समाजवादी यथार्थवादको लेखन पद्धति भएकाले यो प्रगतिशील र प्रगतिवाद दुबै शब्दको प्रयोग हुने गरेको भए तापनि प्रगतिशील साहित्यमा यथास्थितिका विरुद्धको आलोचना भाव सामान्य रूपमा मात्र रहने हुँदा त्यसले माक्र्सवादमा आधारित वा त्यसैसित प्रत्यक्ष सम्बन्धित हुनै पर्ने अपरिहार्यता रह“दैन भने प्रगतिवादले माक्र्सवादकै दर्शनका मान्यतामा आधारित हुनु पर्ने अपरिहार्यता रहन्छ (पाण्डेय ः २३) ।
– माक्र्सवाद मौलिक सिद्धान्तलाई आधार मानेर सिर्जना गरिने साहित्यलाई माक्र्सवादी साहित्य भनिन्छ र यसैको समानार्थबोधक शब्दको रूपमा प्रगतिवादी साहित्य भन्ने चलन नेपाल र भारत लगायत अन्य विभिन्न मुलुकहरुमा व्यापक रहेको पाइन्छ (अधिकारी ः१) ।
– राजनीतिमा माक्र्सवाद र माक्र्सवादी शब्द प्रचलित भए झैँ साहित्यमा प्रगतिवाद र प्रगतिवादी शब्दहरु समान अर्थमा प्रचलित छन् (गिरी ः १८०) ।
– माक्र्सवादी साहित्यले विगत इतिहासका घटनाक्रमका सापेक्षतामा भविष्यको आँकलन गर्न सकिन्छ र भविष्य प्राप्त गर्न सकिन्छ भन्ने दृष्टिकोण प्रस्तुत गर्छ, जुन द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण हो ( पौडेल ः९७) ।
– वस्तु जगतलाई महत्व प्रदान गर्ने माक्र्सवाद र माक्र्सवादको जगमा उभिएको माक्र्सवादी साहित्य सिद्धान्तले यथार्थ जगतलाई प्राथमिक महत्व प्रदान गर्नु स्वाभाविक छ । साहित्यमा यथार्थको प्रतिबिम्बनलाई माक्र्सवादी साहित्य सिद्धान्तले सर्वाधिक महत्व दिएको छ (गिरी ः ३३) ।
– साहित्यलाई वस्तुगत सत्यबाट टाढा राखेर हेर्ने भाववादी कलादृष्टिका विरुद्ध स्थापित माक्र्सवादी साहित्यिक दृष्टिकोण नै क्रान्तिकारी यथार्थवाद हो (ज्ञवाली ः २६७) ।
– प्रगतिवाद माक्र्सवादको साहित्यिक संस्करण हो । प्रगतिवादको दार्शनिक वैचारिक आधार माक्र्सवाद भएकाले माक्र्सवाद विश्वचर्चित इतिहास, ज्ञान–विज्ञान, धर्म, अर्थशास्त्र तथा दर्शनको सार हो । अप्रस्तुत भइकन पनि सकारात्मक पक्षहरु यसमा समाहित भएका हुन्छन् (गौतम ः १६०) ।
– साहित्यमा माक्र्सवादी दृष्टिकोण वा माक्र्सवादी मान्यतालाई आत्मसात गर्दै साहित्य सिर्जना गरिन्छ भने त्यसलाई प्रगतिवादी साहित्य भनिन्छ । प्रगतिवादी साहित्यमा समाजको वर्गीय अवस्थालाई विशेष दृष्टि दिइन्छ । वर्ग विभाजनका कारण समाजमा उत्पन्न भएका अनेकौँ विभेदहरुलाई माक्र्सवादी यथार्थवादले गहिरो अध्ययन गर्दै त्यसको निकासको बाटो पनि प्रदान गर्दछ (इन्द्रेणी ः४५) ।
– माक्र्सवादी दर्शनले समाजमा विद्यमान आर्थिक वैषम्यको कारकका रूपमा मानवीय क्रियाकलापलाई समाजको उत्पादन प्रणालीसँग जोडेर व्याख्या विश्लेषण गर्दछ । प्रगतिवादी साहित्य चिन्तनमा पनि दर्शनको यही पक्ष मुख्य रहेको हुन्छ । प्रगतिवाद साहित्य अध्ययनका लागि वस्तुनिष्ठ एवम् वैज्ञानिक मान्यता हो । यस मान्यता अनुसार साहित्य पनि समाज रूपान्तरण र परिवर्तनको संवाहक तत्व हो (आचार्य ः ५९) ।
– वास्तवमा श्रमजीवी जनताप्रति सम्मान, सामूहिक भावनाको विकास र सिङ्गै देश र समाजको उत्थान गर्ने खालको साहित्य, कला नै प्रगतिवादी साहित्य हो । प्रगतिवादी भन्नु समाजवादी यथार्थवाद नै हो (पोखरेल ः २७३) ।
– साहित्य, कलाको उपयोगितालाई वर्गीय सापेक्षतामा हेर्दै कुरूपका विरुद्ध सुन्दरको, मृत्यु र विसङ्गतिका विरुद्ध जीवन र सङ्गतिको, निराशा र कुण्ठा विरुद्ध आशा र स्वस्थ्यताको, प्रतिकृयावाद र यथास्थिति विरुद्ध क्रान्ति र परिवर्तनको पक्षपोषण गर्दै सर्वहारा मानवतावादको ध्वजा उचाल्नु यसको प्रवृत्तिगत पहिचान हो (बराल ः १७) ।
– प्रगतिवादीहरुको प्रतिबद्धता कुनै एउटा पार्टीप्रतिको नभई माक्र्सवादप्रतिको प्रतिबद्धता हो, श्रमजीवी वर्गप्रतिको प्रतिबद्धता हो, सामाजिकता, सामूहिकता, समाजवादी मानवता र वर्गीय प्रतिबद्धता हो । यस्तो प्रतिबद्धता आलोच्य हुने गर्दैन, गर्छ कसैले भनेमा मानव विरोधी उसको नियत नै खोटो नै हुन्छ (ज्ञवाली ः ५१) ।
– माक्र्सवादी दर्शन भौतिकवादी दर्शन हो । यसै दर्शनबाट प्रगतिवाद प्रभावित र अनुप्राणित रहेको छ (गौतम ः ४९) ।
– क्रान्ति र परिवर्तनलाई आफ्नो लेखनको केन्द्रविन्दु बनाएर वर्ग सङ्घर्षको समेत आह्वान गर्न सक्ने साहित्य प्रगतिवादी साहित्य हुन्छ (नेपाल, २०६७) ।
– प्रगतिवादी साहित्य निश्चित दार्शनिक मान्यताका आलोकमा सचेततापूर्वक गरिने सिर्जना भए पनि त्यसमा कोरा विचार नभई कलात्मक सौष्ठव झल्किनु पर्दछ (उपाध्याय ः ३१४) ।
– वर्गविहीन समाज व्यवस्थाको निर्माणमा सहयोग गर्दै निम्न वर्गीय मानव समुदायको हितलाई प्रस्तुत गर्ने उद्देश्यले भरिपूर्ण साहित्यिक मान्यता (पोखरेल ः ८५) ।
भलै विषयवस्तुलाई यी सबैले समालोचकको आँखाले हेर्न खोजेका छन्, तापनि उनीहरुको भनाइ र हेराइमा एउटै सत्यता अन्तर्निहित छ भन्ने कुरा बुझ्न कुनै गाह्रो छैन । त्यो सत्यता यो हो ः प्रगतिवादी साहित्य समाजवादी यथार्थवादी साहित्य हो, जुन सर्वहारा वर्गीय हुनुका साथै सैद्धान्तिक र क्रान्तिकारी स्वभावको हुन्छ । यो सत्यतालाई संसारका सबै प्रगतिवादीहरुले आत्मसात गर्दै आएका छन् र गर्नु पर्छ पनि । माथि उल्लेखित परिभाषाहरु बाहेक पनि थुप्रै साहित्यिक प्रतिभाहरुले प्रगतिवादी साहित्य सम्बन्धी धारणाहरु व्यक्त गरेका छन् । नमूनाको रूपमा दिइएको भए पनि यिनीहरु मात्र प्रतिनिधि धारणाहरु होइनन्, अरू नयाँ–पुराना कैयन् प्रतिभाका धारणाहरु पनि मूल्यवान छन् । सबै प्रतिभाका परिभाषाहरुको आ–आफ्नै महत्व र गरिमापूर्ण स्थान छ । नमूनाका रूपमा सबैलाई उपस्थित गराउन यस लेखमा सम्भव नभए पनि तिनीहरुको पनि महत्व र गरिमा विशिष्ट छ भन्ने कुरा बिर्सिनु हुँदैन । तिनीहरु अध्ययन–अनुसन्धानको दृष्टिबाट अझ बढी लाभदायक भई रहेका हुन्छन् । पूर्वाग्रह राख्नेहरुले पनि भित्रभित्रै तिनीहरुको अध्ययनबाट प्रशस्त लाभ लिई रहेका हुन्छन् । त्यसैले उद्धरण गरिएका कुराहरुमा मात्र सीमित भई रहनु अध्ययनका दृष्टिले उपयुक्त हुँदैन । विभिन्न स्रष्टा, अनुसन्धानदाता तथा प्रगतिवादी साहित्यका अभ्यासकर्तादेखि अध्येयताहरु सबैका परिभाषाप्र्रति हाम्रो सम्मान र समान अभिरुचि छ । हामी तिनीहरुसँग बढी सहमत छौँ, जसले प्रगतिवादी साहित्यका परिभाषाहरु उचित अर्थ लगाउनका लागि प्रयास गरेका छन् । अझ त्यस्ता प्रतिभाहरुको परिभाषाले हामीलाई बढी आकर्षित गर्ने छ, जुन प्रतिभाहरुले आफूले व्याख्या गरे जस्तो सिद्धान्त अनुरूपको व्यावहारिक जीवन व्यतित गरेका छन् । यो साँचो हो कि सैद्धान्तिक रूपमा ठिकै भए पनि व्यावहारिक जीवनमा त्यसको तालमेल हुन सकेन भने त्यो त पण्डित्याइ“ र आडम्वरी नै हो । त्यसैले प्रतिभाहरुको व्यावहारिक जीवनले मार्गदर्शन कसरी गरेको छ भन्ने कुरा सर्वहारा वर्गले बुझ्नै पर्ने विषय हुन्छ । सैद्धान्तिक रूपमा सहमत हुन सकिए पनि व्यावहारिक रूपमा त्यो आलोच्य नै हुन्छ । ती फरक बहसका विषयहरु हुन सक्छन् । यहाँ यति मात्र भन्नु आवश्यक छ, प्रगतिवादी साहित्य सम्बन्धी सत्य अर्थ निस्कने यस्तै खाले (जो यहाँ समावेश छैनन्) अरू परिभाषाहरुसित पनि सैद्धान्तिक रूपमा हाम्रो सहमति हुन्छ ।
हामीले परिभाषित गर्न खोजेको कुरा प्रगतिवादी साहित्यिक मान्यता हो । यहाँ निनु चापागाइँको केही शब्दहरुलाई सापटी लिदै हामी केही कुरा थप्न चाहन्छौँ । जमिनमा टेकेर जीवनको स्वस्थ उपयोगप्रति आस्था जगाउनका लागि स्रष्टाले कहाँ टेकेर कुरा गरी रहेको छ ? उसको जमिन कहाँ हो ? अर्थात् उसको वैचारिक, दार्शनिक, सैद्धान्तिक र राजनीतिक मान्यताहरु के हुन् ? वास्तवमा कुनै स्रष्टाले टेक्ने जमिन यिनै उपकरणहरुले बनेको छ । यी उपकरणहरु हावादारी हुन् भने जमिनको के कुरा गराइ भयो र ? हावादारी नभए पनि गलत हुन् भने तिनले मानव जातिको समानता र न्यायको मुद्दालाई भद्दा किसिमले प्रस्तुत गर्ने होलान् वा गम्भीर प्रकारको नकारात्मक असर पार्ने होलान्, हैन र ? त्यस्ता साहित्यले जीवनको स्वस्थ उपयोगप्रति आस्था जगाउने कुरा त परै छ, स्वयम् स्रष्टामा अवसरको दाउ छोप्ने बेइमानी प्रवृत्तिको विजारोपण गर्दछ । त्यसैले जमिनमा त टेक्ने हो तर दलदले जमिनमा होइन । दलदले जमिनमा त एकछिन मात्र देखा पर्ने हो, त्यसपछि त त्यही जमिनको गर्भमा निलिनु पर्ने हो । हाम्रो जोड हो त्यस प्रकारको जमिनमा टेक्न नपुगियोस् र स्रष्टाले त्यसरी निलिन नपरोस् । यो पनि जोड दिन आवश्यक छ ः जातिवाद, लिङ्गवाद, वर्णवाद, धर्मवादबाट माथि उठेको साहित्यले मात्र प्रगतिवादको मान्यता हासिल गर्न सक्छ । अन्ततः यो नै भन्नु अर्थपूर्ण हुन्छ ः प्रगतिवादी साहित्यिक मान्यता सर्वहारा दर्शन, राजनीति, सिद्धान्त र विचारमा विचरण गर्ने सौन्दर्यात्मक र कलात्मक अभिव्यक्ति हो । त्यसैले सर्वहारा वर्गको विजयका लागि यसको अभिव्यक्ति हुन्छ र यसको सौन्दर्य भनेको सर्वहारा वर्गका क्रियाकलापहरु हुन्छन् ।
प्रगतिवादी साहित्यिक मान्यतालाई पुष्टि गर्ने आधारबारे पहिले नै चर्चा भई सकेको छ । त्यस्तो आधारमध्ये यथार्थवाद एउटा मुख्य कुरा हो । यथार्थवाद वस्तुपरक हुन्छ । साहित्यले समाजको सन्दर्भमा व्यापक रूपले बहस र छलफल गर्ने भएकाले यथार्थवादको वस्तुपरकता भनेको समाजपरकता पनि हो । समाज भनेको मानव जातिको सम्बन्धको अभिव्यक्ति हो । प्रगतिवादी साहित्यिक मान्यतामा मानव र समाजको सम्बन्धमा विशेष तवरबाट विचार गर्ने दार्शनिक र वैचारिक क्षमता रहेको हुन्छ । त्यसैले यसको मान्यतालाई निदान गर्ने आधार पनि दार्शनिक र वैचारिक हिसाबले महत्वपूर्ण हुन्छ । यथार्थवादी भएता पनि प्रगतिवादी साहित्यिक मान्यता द्वन्द्वात्मक भौतिकवादी दर्शनको जगमा उभिएको हुन्छ । त्यसैले यसको यथार्थवाद नाङ्गो प्रस्तुति होइन । प्रकृतिवाद र रूपवादले अँगाल्ने यथार्थवाद प्रगतिवादको यथार्थवादसँग कुनै साइनो छैन । एउटा युगको समाजमा यथार्थका अनेक रूपहरु हुन्छन् । तर ती यथार्थहरुको आ–आफ्नो प्रवृत्ति र विशेषता रहेको हुन्छ । त्यसैले सबै यथार्थवादीहरु प्रगतिवादी होइनन् तर सबै प्रगतिवादीहरु यथार्थवादी हुन्छन् ।
हाम्रो भनाइ छ ः माक्र्स, एङ्गेल्स वा लेनिनहरुले साहित्य सम्बन्धी व्यक्त गरेका मतहरुको प्रतिनिधित्व गर्ने साहित्य प्रगतिवादी हुन पनि सक्छ, नहुन पनि सक्छ तर समाजको यस्तो वर्ग, जो सबैभन्दा प्रगतिशील छ, त्यसलाई हामी सर्वहारा वर्ग भन्दछौँ, त्यसको उद्देश्य, लक्ष्य, इच्छा र कर्तव्यलाई साक्षात्कार गराउँदै र द्वन्द्वात्मक भौतिकवादी दार्शनिक पद्धतिमा विचरित भई प्रकट भएका साहित्यिक हस्ताक्षर र अभिव्यक्तिहरु प्रगतिवादी साहित्यिक मान्यतालाई आत्मसात गरेका सृजना हुन्छन् । हामीले यस्तो भन्यौँ, किनभने संसारमा कति गजब र शक्तिशाली प्रगतिवादी साहित्यिक सौन्दर्यमा सृजित रचनाहरु छन्, जसप्रति हाम्रो ध्यान कम जान्छ । साहित्यिक साधनाबाट सृजित सृजनाहरुभन्दा पनि राजनीतिक शक्ति भएका मान्छेहरुले लेखेका एकाध साहित्यिक सृजनाको गाथा गाएर आफूलाई सही सिद्ध गर्ने संस्कार हामीमा छ । हामी त्यसलाई उपयुक्त मान्दैनौँ । एउटा उदाहरण पेश गरौँ ः माओका कविताहरुको अध्ययन र मूल्याङ्कन गर्न सकिन्छ तर ती सर्वव्यापी र श्रेष्ठ होइनन् । माओका कविताहरुको भन्दा कला र विचारले सजिएका अनेकौँ अनेक काव्यिक रचनाहरु यो पृथ्वीमा पाइन्छन् । हामीले मान्ने कुरालाई नै मान्ने हो, दासत्वलाई स्वीकार गर्ने होइन । प्रगतिवादी साहित्यिक मान्यतामा सर्वहारा वर्गीय पक्षधरता प्रथम र अन्तिम स्वीकारोक्ति हो । यस्तो स्वीकारोक्तिका लागि माओको कविता बाध्यकारी हुँदैन तर त्यस्तो प्रगतिवादी साहित्य पनि हुँदैन, जसले माओ विचारधाराको सिद्धान्तलाई आत्मसात नगरेको होस् । यसरी भनौँ ः साहित्य र समालोचनाको सृजना गर्दा माक्र्सवादी–लेनिनवादी सिद्धान्तमा विचरण गर्नुको अर्थ साहित्य र समालोचना पनि माक्र्स र लेनिनकै राम्रो र उच्च भन्ने हुँदैन । त्यो प्रगतिवादी साहित्यिक मान्यतामा आउने कुरा होइन । उच्च भए उच्च भन्ने कुरा होला, तर नभएका कुरा जोडेर पूजा गर्ने होइन ।
बिट मार्दै गर्दा हामी यो स्पष्ट गर्दछौँ ः प्रगतिवादी साहित्यिक मान्यताको परिभाषा यस आलेखमा उल्लेख भएका कुराहरुले मात्र पुग्दैन होला, अझ धेरै कुराहरुको खोजी र आविष्कारको खाँचोलाई अस्वीकार गर्नु मुर्खता हुन्छ । (समाप्त)

नयाँ पिँढीलाई विश्वस्त पार्नेबारेमा
प्रकाश थापा मगर
कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरु सक्रिय राजनीतिमा सामेल नहुने सवालमा दुई खालको समस्या देखिएको छ ः प्रथम, जुन अनुपातमा आमाबाबु राजनीतिमा सक्रिय छन्, त्यो अनुपातमा छोराछोरीहरु राजनीतिमा नै छैनन्, द्वितीय, जुन सीमित सङ्ख्यामा छोराछोरीहरु राजनीतिसँग जोडिएका छन्, त्यही अपेक्षा अनुसार उनीहरु सक्रिय राजनीतिमा टिक्न सकेका छैनन् ।
यीमध्ये मुख्य समस्या पहिलो नै हो । किन कम्युनिस्ट पार्टीको नेताका सन्तानहरु राजनीतिमा सक्रिय छैनन् ? सीमित रूपमा सक्रिय भए पनि तिनीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा क्रियाशील छैनन् ? यस सम्बन्धमा विचार गर्नु पर्ने आवश्यकता छँदै छ । तर यस सम्बन्धमा एउटा तथ्य उल्लेखनीय छ– गैर कम्युनिस्ट पार्टीको नेताका छोराछोरीहरु भने वामपन्थीको तुलनामा अपेक्षाकृत बढी क्रियाशील भएका पाइन्छन् । धेरै टाढा नजाऔँ, दक्षिण एसियामा मात्रै पनि विचार गर्दा गैर वामपन्थी क्षेत्रको राजनीतिक नेतृत्वमा वंशको निरन्तरता देख्न सकिन्छ । नेपालमा कोइराला र भारतमा गान्धी परिवारको राजनीतिक नेतृत्वमा निरन्तर क्रियाशीलता यस सम्बन्धी उदाहरण हुन् ।
विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा भएकाले वामपन्थी क्षेत्रमा आकर्षण कमजोर भएको सत्य हो । अर्कातिर, गैर वामपन्थी क्षेत्रको राजनीतिमा वंशको निरन्तरता बुझ्न सकिने विषय हो । कारण ः वामपन्थीका तुलनामा गैर वामपन्थी क्षेत्रको राजनीतिमा प्रशस्त अनुकूलताहरु छन्– दार्शनिक, सैद्धान्तिक–वैचारिक, सङ्गठनात्मक र कार्यशैलीका हिसाबले वामपन्थी पार्टीका तुलनामा गैर वामपन्थी पार्टीको राजनीतिमा अनुकूलताहरु छन् । अझ गैर वामपन्थी क्षेत्रमा कतिपय यस्ता राजनीतिक पार्टीहरु छन्, जो धर्म, जाति, क्षेत्र र वंशका आधारमा सञ्चालित छन् । यी मध्ये केही पार्टीहरु एनजिओद्वारा परिचालित छन् भने कोही विदेशी शक्तिहरुको फन्डिङमा । यस्ता पार्टीहरुको दार्शनिक, सैद्धान्तिक–वैचारिक सङ्गठनात्मक र कार्यशैली ठोस सैद्धान्तिक आदर्शका आधारमा उभिएको हुँदैन । यो विशिष्टतासित कम्युनिस्ट पार्टीको राजनीतिलाई तुलना गर्ने भने धेरै कुरा प्रष्ट हुने छ ः कम्युनिस्ट पार्टीको नेतृत्वका सन्तानहरु स्वाभाविक र सन्तोषजनक रूपले गैर वामपन्थी वा गैर कम्युनिस्ट पार्टीको राजनीतिमा जस्तो क्रियाशील नहुनुको पछाडिका कारण बुझ्न सकिन्छ ।
माथिको सङ्क्षिप्त सङ्केतबाट मात्र पनि कम्युनिस्ट राजनीति अन्य राजनीतिभन्दा पृथक, जटिल र कठिनाइपूर्ण भएको अनुमान लगाउन गाह«ो छैन । त्यस्ता पृथकता, जटिलता र कठिनाइहरु के हुन् त ?
दर्शन ः द्वन्द्वात्मक भौतिकवाद
अन्य पार्टीभन्दा कम्युनिस्ट राजनीतिको मुख्य पृथकता दर्शनको हो । अन्य पार्टीहरुका लागि राजनीति गर्न कुनै खास दर्शनको अध्ययन गर्नु पर्ने आवश्यकता हुन्न, व्यक्तिगत रूपमा कसैले दर्शनको अध्ययनमा रुचि राख्दछ भने त्यो बेग्लै विषय हो र नराम्रो विषय पनि भएन । तर कम्युनिस्ट पार्टीका सदस्यहरुका लागि भने दर्शनको अध्ययन, खास गरी द्वन्द्वात्मक भौतिकवादको अध्ययन प्राथमिक कार्यभार हो । कम्युनिस्ट पार्टीमा नेतृत्व गर्ने व्यक्तिहरुका लागि मात्र होइन, त्यसमा काम गर्ने अन्य नेता÷कार्यकर्ताहरुका लागि पनि दर्शनको अध्ययन अति आवश्यक हुन्छ । कारण ः कम्युनिस्ट पार्टीका निर्णयहरु द्वन्द्वात्मक भौतिकवादी दर्शनको आलोकमा लिइन्छन्, समाज सम्बन्धी निर्णयहरु ऐतिहासिक भौतिकवादको आलोकमा लिइन्छन् । कम्युनिस्ट पार्टीका तार्किक र सामाजिक निर्णयहरुलाई सही ढङ्गले बुझ्नका लागि पनि यी दर्शनहरुको अध्ययन, चिन्तन र मनन् अनिवार्य छ ।
अन्य दर्शनको तुलनामा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन नयाँ पिढीका लागि जटिल वा कठिन छ । त्यसका पछाडिको एउटा कारण हो– यो दर्शन अहिले सत्तासिन पक्षको होइन, बरु प्रतिपक्षको हो । अर्काे पक्ष विषयवस्तुको छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओ सबैले विपरीत वस्तुहरुका बीचको एकता र सङ्घर्षलाई द्वन्द्वात्मक भौतिकवादको मुख्य तत्व बताएका छन् । यसमध्ये विपरीत तत्वहरुका बीचको सङ्घर्ष स्थायी पक्ष हो भने एकता अस्थायी । द्वन्द्वात्मक भौतिकवादको समाज वा इतिहासमा प्रयोग नै ऐतिहासिक भौतिकवाद हो ।
यहाँ उल्लेखनीय पक्ष यो छ– द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादबारे एक स्तरको समझदारी कायम नभइकन न कम्युनिस्ट पार्टीको नेतृत्वले कुनै फैसला गर्न सक्छ, न कार्यकर्ताहरुले ती निर्णयहरुलाई सही रूपमा बुझ्न सक्छन् । उदाहरणका लागि पँुजीवादी व्यवस्थाको प्रसङ्गलाई लिऊँ । जुन देशमा उद्योगधन्दाको विकास भएको छ वा पँुजीको विकास भएको छ, त्यहाँ कम्युनिस्टहरुका लागि पँुजीवाद प्रतिक्रियावादी व्यवस्था हो । तर जहाँको सामाजिक व्यवस्था सामन्तवादी छ वा जहाँ पँुजीको विकास भएको छैन, त्यहाँका लागि पँुजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी व्यवस्था हो । यस प्रकार कम्युनिस्ट पार्टीका लागि एउटै व्यवस्था (उदाहरणका लागि पँुजीवादी व्यवस्था) दुई बेग्ला बेग्लै परिस्थितिमा बेग्ला बेग्लै स्थितिमा रहन्छन् । एउटा परिस्थितिमा पँुजीवादी व्यवस्था प्रगतिशील वा अग्रगामी हुन्छ भने अर्काे परिस्थितिमा प्रतिक्रियावादी । यसरी पँुजीवादी व्यवस्थाको सवालमा कम्युनिस्टहरु समर्थन र विरोध दुवै गर्दछन् । तर समर्थन वा विरोधमध्ये कुन प्रकारको नीति अपनाउने ? त्यस सम्बन्धी निर्णय परिस्थिति अनुसार निर्धारित हुन्छ । त्यस कारण लेनिनले ठोस परिस्थितिको ठोस विश्लेषणलाई माक्र्सवादको आत्मा बताएका थिए ।
जुन व्यक्तिमा विषयवस्तुबारे यस खालको दार्शनिक, सैद्धान्तिक समझदारी कायम हुन्न, उनीहरुले न कम्युनिस्ट पार्टीले जसरी निर्णय गर्न सक्दछन्, न त कम्युनिस्ट पार्टीको यस खालको निर्णयलाई सही परिप्रेक्ष्यमा बुझ्न सक्दछन् ।
सैद्धान्तिक–वैचारिक पक्ष ः समाजवाद–साम्यवाद
कम्युनिस्टहरुको अधिकतम राजनीति समाजवाद–साम्यवाद हो । यो उनीहरुको अन्तिम लक्ष्य पनि हो । समाजवादी र साम्यवादी व्यवस्था स्थापनाका लागि परिस्थिति अनुसारको रणनीति र कार्यनीतिको समग्रता नै सर्वहारा राजनीति हो ।
समाजवाद र साम्यवादको स्थापना दीर्घकालीन र कठिनाइपूर्ण वर्ग सङ्घर्षबाट मात्र सम्भव छ । त्यसका लागि सम्बन्धित देशको परिस्थिति अनुसारको राजनीति तय गर्नु पर्ने हुन्छ । जहाँ पँुजीको विकास भएको छ, त्यहाँ सिधै समाजवादी क्रान्ति मार्फत् समाजवादी राज्यव्यवस्था स्थापना गर्न सकिन्छ । जहाँ पँुजीको विकास भएको छैन, त्यहाँ पँुजीवादी चरणको सर्वहारा क्रान्ति (नयाँ जनवादी क्रान्ति) सम्पन्न गरेर अगाडि बढ्नु पर्दछ । क्रान्ति पूर्वका सर्वहारा राजनीति सत्ता कब्जाको वरिपरि केन्द्रित हुन्छन् । अधिकतम कार्यक्रम समाजवाद–साम्यवाद भए पनि तात्कालिक लक्ष्य (वा कार्यक्रम) नयाँ जनवादी क्रान्ति निर्धारित गरिएको ठाउँमा कम्युनिस्ट पार्टीले एक खालको राजनीति अपनाउँछ भने जहाँ समाजवाद नै तात्कालिक कार्यक्रम बन्दछ, त्यहाँ बेग्लै खालको राजनीति अपनाउँछ ।
यस प्रकार राजनीतिको सवालमा कम्युनिस्टहरु ठोस सैद्धान्तिक–राजनीतिक प्रस्थापनाका आधारमा अगाडि बढ्छन् । यसरी कम्युनिस्ट राजनीति गैर वामपन्थीको जस्तो प्रष्ट र सहज देखिन्न । त्यस कारण नयाँ पिँढीका सामु जति सहजता गैर वामपन्थी राजनीतिमा प्रवेश गर्नुमा छ, त्यति सहजता वामपन्थी राजनीतिमा छैन । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा विवेचना गरेर राजनीतिक योजना र निर्णय निर्धारण गर्ने तौरतरिकामा अवश्य पनि प्रशस्त जटिलताहरु छन्, जुन जटिलतालाई दार्शनिक, सैद्धान्तिक समझदारी कायम नभइकन पार गर्न सकिन्न ।
सङ्गठनात्मक पक्ष ः जनवादी केन्द्रीयता
कम्युनिस्टहरु सङ्गठनको परिचालन जनवादी केन्द्रीयताको सिद्धान्तको आधारमा गर्दछन् । जनवादी केन्द्रीयताको सिद्धान्तभित्र सम्पूर्ण समिति केन्द्रीय समितिको मातहतमा, तल्ला समितिहरु उपल्ला समितिको मातहतमा, अल्पमत बहुमतको मातहतमा, केन्द्रीय समिति सम्मेलन वा महाधिवेशनको मातहतमा र सम्पूर्ण सदस्यहरु सङ्गठनको मातहतमा जस्ता नियमहरु निर्धारित गरिएका छन् । त्यसै गरी छलफलको स्वतन्त्रता र काम–कारवाहीमा एकता तथा सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारी जस्ता पद्धतिहरु पनि छन् । व्यक्तिगत सम्पत्ति सहितको वर्गीय समाजमा व्यक्तिगत वा निजी प्रकृतिका विचारहरु प्रतिबिम्बित गर्ने खालका मतभेदहरु सङ्गठनमा बारम्बार सतहमा आउँछन् । ती मतभेदहरुलाई नियमन गर्नका लािग कम्युनिस्टहरुले अनुशासनको यस्तो संरचना निर्माण गरेका हुन्छन् ।
विद्यमान समाज व्यक्तिगत प्रकृतिको रहेकाले व्यक्तिगत मत, आवेग, संवेदना र हितलाई सर्वोपरि ठान्ने स्थिति बारम्बार निर्माण हुन्छ । राजनीतिक पार्टीमा जब तिनै समाजबाट सदस्यहरु भर्ना हुन्छन्, त्यही खालको मानसिकता पनि सँगै पार्टीमा प्रवेश गर्दछ । यस्तो व्यक्तिगत मतभेदबाट पार्टीलाई माथि उठाउन वा पार्टीलाई व्यक्तिगत मतभेदमा नै रनभुल्ल नपार्न लेनिनले जनवादी केन्द्रीयता सम्बधी अवधारणा अगाडि सारेका थिए । लेनिनपछि स्टालिन, माओ र संसारभरिका कम्युनिस्ट पार्टीहरुले जनवादी केन्द्रीयताको सिद्धान्तलाई अपरिहार्य तत्व मानेर सङ्गठन परिचालन गरी रहेका छन् । जबसम्म समाजमा व्यक्तिगत स्वामित्व रहन्छ, तबसम्म वर्ग सङ्घर्ष रही रहन्छ र वर्ग सङ्घर्षको प्रतिबिम्ब राजनीतिक पार्टीभित्र पनि पर्दछ । यस्तो स्थिति कायम रहँदासम्म जनवादी केन्द्रीयताको सिद्धान्त औचित्यपूर्ण नै रहने प्रष्ट छ ।
गैर वामपन्थी पार्टीमा सङ्गठन व्यक्तिगत स्वविवेकका आधारमा सञ्चालन भएका पाइन्छन् । त्यस्ता पार्टीका सदस्यहरु पनि यही प्रकारको मानसिकता, मनोविज्ञानका साथ पार्टीमा परिचालित हुन्छन् । प्रारम्भिक चरणसम्म सल्लाह, सुझावका बारेमा छलफल भएता पनि अन्ततः नेतृत्वको व्यक्तिगत निर्णय नै अन्तिम हुने स्थिति त्यहाँ हुन्छ । यही स्थितिका कारणले गर्दा यस्ता पार्टीहरुले साम्प्रदायिक, जातीय, क्षेत्रीय÷इलाकीय वा नितान्त व्यक्तिवादी निर्णय लि“दा पनि त्यसप्रतिको विरोधले सार्थक परिणाम ल्याउन सक्दैन । तर कम्युनिस्ट पार्टीमा यस्तो स्थितिको ठिक विपरीत स्थिति रहनाले नयाँ पिँढीबाट भर्ना हुने सदस्यका सामु कठिनाइ उत्पान्न हुन्छ । नयाँ पिँढीका सदस्यका लागि यी सबै पद्धति नयाँ हुन्छन्, असहज हुन्छन् र खालि दार्शनिक–सैद्धान्तिक प्रतिबद्धताका आधारमा मात्र यी पद्धतिलाई सहज रूपमा लिनु सम्भव हुन्छ । त्यस कारण सङ्गठनात्मक पद्धति पनि नयाँ पिँढीका लागि गैर वामपन्थी क्षेत्रका लागि जस्तो सहज र सरल हुन्न ।
कार्यशैली ः जन अनुमोदित आचरण
कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताहरुमा जन अनुमोदित आचरण हुनु आवश्यक छ । जन अनुमोदित आचरणको अर्थ हुन्छ– जनताको हित विपरीत जाने खालका आचरणको निषेध । कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताहरु स्वेच्छाचारी, अराजक, स्वच्छन्दतावादी वा व्यक्तिवादी हुनु हुँदैन भन्ने यसको अर्थ हो । नम्र, शिष्ट, भद्र, दयालु, संवेदनशील—यस खालका आचरण कम्युनिस्ट पार्टीको सदस्यहरुका लागि आधारभूत तत्व मानिन्छन् । अझ जुन कार्यकर्ताहरु जनतासितको प्रत्यक्ष सम्पर्कमा रहन्छन्, उनीहरुको हकमा त जन अनुमोदित आचरण अनिवार्य जस्तै हुन्छ । यदि यस खालको आचरण कायम गर्न सकिन्न भने त्यस्ता नेता÷कार्यकर्ताहरु अलोकप्रिय बन्न पुग्दछन्, फलस्वरूप उनीहरु जनताबाट तिरस्कृत हुन पुग्दछन् ।
यहाँ हामीमा जनता प्रवर्गबारे स्पष्ट समझदारी कायम हुनु पर्दछ । कम्युनिस्टहरुले जनता प्रवर्गभित्र सर्वहारा पङ्क्तिलाई सामेल गर्दछन् अथवा शोषित–पीडित सामाजिक तप्का नै जनता हुन्, जनताको शोषण, दमन गर्ने मुट्ठीभर सामाजिक तप्का जनता हुन सक्दैनन् । अझ ठोस शब्दमा भन्नु पर्दा (वर्ग विश्लेषणका आधारमा) औद्योगिक मजदुर, साना व्यवसायी, खेत मजदुर, गरिब किसान वा निम्न मध्यम किसानहरुको सम्मिलित सामाजिक तप्का नै जनता हो । नयाँ जनवादी क्रान्तिको चरणमा मध्यम किसान, धनी किसान र राष्ट्रिय पँुजीपति जनताका मित्र हुन् ।
कम्युनिस्ट कार्यशैलीका बारेमा छलफल गर्दा स्टालिन र माओले क्रान्तिकारी जोश र दक्षतामाथि जोड दिएका छन् । क्रान्तिकारी दृष्टिकोणद्वारा लैस नभइकन लाल स्प्रिट उत्पन्न हुन्न । खालि जोशिलो क्रान्तिकारी लाल स्प्रिट मात्र भएर पुग्दैन, दक्षता वा कार्यक्षमता र कुशलताको पनि त्यत्तिकै आवश्यकता पर्दछ । क्रान्तिकारी दृष्टिकोणका आधारमा जोश या स्फूर्ति, परिस्थिति अनुकूल निर्णय लिन सक्ने सृजनात्मकता वा वस्तुवादी दृष्टिविन्दु र निर्धारित, निश्चित कार्यभारलाई पुरा गर्ने हदसम्मको दृढता, प्रतिबद्धता, कटिबद्धता, इमान्दारिता कम्युनिस्ट कार्यशैलीका आवश्यक गुणहरु हुुन् ।
कम्युनिस्टहरुका उपर्युक्त आचरण, कार्यशैली, नैतिकता सम्बन्धी विषयवस्तु कठिन छन् । सबैभन्दा अप्ठेरो विषय सामूहिक अनुशासनको हो । व्यक्तिवादी प्रकारले, अनियन्त्रित र स्वच्छन्द प्रकारले चल्न खोज्ने प्रवृत्तिका सामु सामूहिक अनुशासन पहाड बनेर उभिए जस्तो हुन्छ । त्यस कारण नयाँ पिँढीका लागि कम्युनिस्ट अनुशासन कठिन विषय बन्न जान्छ ।
उत्तर आधुनिक प्रवृत्ति
अहिलेको युग साम्राज्यवादी हो । साम्राज्यवाद भनेको आधारभूत रूपमा पँुजीवादी व्यवस्था नै हो । तर पँुजीवादी व्यवस्थाभित्र कुनै वस्तु वा सेवाहरुले विश्वव्यापी रूपमा एकाधिकार कायम गर्दछन् भने त्यसैलाई साम्राज्यवादी चरण भनिन्छ । कुनै देशका वस्तु वा सेवाले विश्वभरि एकाधिकारको हदसम्म विकास गर्दछन् (पँुजी निर्यात) र त्यो देशको राज्यसत्ताले यस्तो पँुजीलाई समर्थन गर्दछ भने त्यस्तो राज्य व्यवस्थालाई साम्राज्यवादी भनिन्छ । जस्तै– अमेरिकी राज्यसत्ता साम्राज्यवादी राज्यसत्ता हो । तर वर्तमान समय साम्राज्यवादबाट मात्र सन्तुष्ट छैन । त्यसको सुधारस्वरूप साम्राज्यवादभित्रैबाट उत्तर आधुनिक प्रवृत्ति उदाएको छ । यस्तो प्रवृत्तिले आफूलाई आधुनिक युगबाट पनि अगाडि बढेको दावी गर्दछ । साम्राज्यवादलाई पनि पिछडिएको ठान्दछ । तर यस खालको दावी गरेता पनि उत्तर आधुनिकताका पक्षधरसित कुनै सुसङ्गत वा प्रष्ट अवधारणा छैन । उसले अहिलेको विश्वमा दर्शन, नैतिकता, आदर्श, इतिहास, साहित्य, कला, कानुन जस्ता कुनै पनि शाश्वत चिजको अस्तित्व नभएको दावी गर्दछ । आँखाले जुन चिज प्रष्ट रूपमा देख्न सकिन्छ, त्यही नै अन्तिम सत्य हो भन्ने उसको तर्क छ । खाऊँ, पिऊँ, मोज गरूँ, आदर्श, नैतिकता भन्ने केही छैन भन्ने प्रवृत्ति उत्तर आधुनिकतामा पाइन्छ । यस्तो अमूर्त विचारको प्रभाव नयाँ पिँढीमा पनि प्रशस्त परेको छ ।
पँुजीवाद, साम्राज्यवादलाई एक अर्थमा उत्तर आधुनिकतावादले फाइदा पु¥याएको छ । किनकि दर्शन, कानुन, इतिहास, कला, साहित्य, संस्कृति जस्ता कम्युनिस्टहरुले अत्यधिक जोड दिने क्षेत्रमा यसले पानी धमिल्याई दिएको छ । यस अर्थमा पँुजीवादीहरुलाई हाइसञ्चो भएको छ । यता कम्युनिस्टहरुका अगाडि भने गम्भीर चुनौती थपी दिएको छ । उत्तर आधुनिकतावादी प्रवृत्तिले सबैभन्दा बढी प्रहार कम्युनिस्ट आदर्श, नैतिकतामाथि गर्दछ । अन्तिम लक्ष्य समाजवाद–साम्यवादसम्म पुग्नका लागि कम्युनिस्टहरुले जसरी दीर्घकालीन लक्ष्य निर्धारण गर्दछन्, त्यहाँसम्म पुग्नका लािग कठोर नैतिकता, अनुशासन, आचरण कायम गर्दछन्, उत्तर आनुधिकतावादले त्यसका सामु प्रशस्त अवरोध सृजना गरी दिन्छ । प्रकृति जस्तै मानव समाज पनि नियमानुशासित छ, शोषणविहीन समाज निर्माणको मार्गका पथिकहरुमा कठोर अनुशासन, नैतिकता, आचरण हुनु आवश्यक छ भन्ने आदर्शद्वारा आफ्ना नेता÷कार्यकर्ताहरुलाई लैस गर्नमा जति कठिनाइ कमयुनिस्टहरुलाई छ, त्यति अरू पक्षलाई छैन । त्यस कारण कम्युनिस्टहरुको नेतृत्वमा उत्तर आधुनिकतावादको प्रभावलाई निस्तेज नपारिकन नयाँ पिढीलाई कम्युनिस्ट आन्दोलनको पक्षमा व्यापक मात्रामा सामेल गर्नु सम्भव छैन ।
नकारात्मक परिस्थितिको सकारात्मक परिणाम
कम्युनिस्ट चरित्र नकारात्मक परिस्थितिको सकारात्मक परिणामको रूपमा पनि अगाडि आउँछ । कम्युनिस्ट वैचारिक प्रवर्ग हो । यो तीव्र वर्ग सङ्घर्षको बीचबाट जन्मिन्छ । जहाँ सामन्त र पँुजीपति वर्गको शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहाँ नै कम्युनिस्ट चरित्र स्थापनाका लागि वस्तुगत आधार तयार हुन्छ । रुसमा जारशाहीको चरम शोषण, दमन, चीनमा पछिल्लो समयमा च्याङकाइसेकको राष्ट्रिय स्वाधीनताको विरुद्धमा जापानी साम्राज्यवादपरस्तताको वस्तुगत आधारमा नै त्यहाँका क्रान्तिकारी कम्युनिस्ट आन्दोलन सशक्त रूपमा स्थापित भएको थियो । नेपालमा शाह र राणाहरुको जहानियाँ निरङ्कुशता र भारतीय विस्तारवादको राष्ट्रियता, जनतन्त्र र जनजिविका विरोधी गतिविधिका कारण नै वामपन्थी वा कम्युनिस्टको प्रभाव बढी रहेको छ । रुस, चीन, भारत जस्ता देशमा कम्युनिस्ट प्रभाव घटी रहेका बेला नेपालमा उनीहरुको प्रभाव बढी रहनुका पछाडि यिनै कारणहरुले पनि काम गरी रहेका छन् । २०७२ सालमा शक्तिशाली भूकम्पले देश थर्थराई रहेका बेला आफ्नो संविधान आफै बनाए वापत् लगाइएको नाकाबन्दीले नेपाली जनतालाई भारतको विस्तारवादी भूमिकाबारे वस्तुगत रूपमा नै स्पष्ट बनाएको छ ।
समाज विकासको नियमले बताउँछ– जहाँ शोषण, दमन, अन्याय, अत्याचार तीव्र र सर्वाङ्ग हुन्छ, त्यहीँ नै उत्पीडित वर्गको सशक्त प्रतिरोध हुन्छ । यस्तो प्रकारको सशक्त प्रतिरोधको लिकबाट नै मुक्ति–आन्दोलनको रेल अगाडि बढ्छ । यसरी समाजमा भई रहेको शोषण, दमनको सारतत्वबारे आम जनतालाई, युवा पिँढीलाई स्पष्ट पार्न सकेको खण्डमा कम्युनिस्ट पार्टीप्रति युवा पिँढी आकर्षित हुन सक्दछ । त्यसका विपरीत यदि हँसिया–हथौँडा अङ्कित झण्डाभित्रैबाट शोषण, दमनको सारतत्वलाई लुकाउने वा विकृत पार्ने प्रयास गरिन्छ भने त्यसको दोष युवा तप्का वा नयाँ पिँढीलाई दिन सकिदैन । जसरी दक्षिणपन्थी अवसरवादीहरुले प्रतिक्रियावादको पिछलग्गु बनेर शोषण, दमनमाथि पर्दा राख्न तँछाडमछाड गर्दछन्, त्यतिखेर नयाँ पिढी रनभुल्ल पर्नु वा उनीहरुले समग्र राजनीतिक क्षेत्रप्रति नै अरुचि प्रकट गर्नु अन्यथा होइन । यस्तो परिस्थितिमा कम्युनिस्ट क्रान्तिकारी शक्तिहरु मैदानमा आउनु पर्दछ । उनीहरुले देशी–विदेशी प्रतिक्रियावादीका साथै दक्षिणपन्थी र उग्र वामपन्थी अवसरवादको भण्डाफोर गर्न सक्नु पर्दछ, तब मात्र नयाँ पिढीले वितृष्णापूर्ण बनेको विद्यमान राजनीतिभित्रको वास्तविकता वा त्यसभित्र लुकेको सुनौलो आदर्शप्रति आशातित नजरले हेर्ने विश्वास गर्न सकिन्छ । त्यसपछि मात्र विद्यमान शोषणमूलक समाजमा आमूल परिवर्तनका लागि पहलकदमी आफ्नो हातमा लिने छ ।
नेताका सन्तानहरु नेता बन्नु अपरिहार्य छ ?
एउटा प्रश्नबारे छलफल गरौँ । के कम्युनिस्ट पार्टीको नेताका सन्तानहरु त्यही पार्टीको नेतृत्वमा पुग्नु अनिवार्य वा अपरिहार्य छ वा नेताका सन्तानहरु पनि नेता नै बन्नु अपरिहार्य छ ?
यस्तो अनिवार्यता वा अपरिहार्यता छैन । कारण ः कम्युनिस्ट राजनीति सामन्ती राजनीति होइन, जहाँ राजनीति मार्फत् राष्ट्रको कार्यकारी बन्ने जहानियाँ परम्परा लागु होस् । जस्तो कि माथि नै चर्चा गरियो, वामपन्थी क्षेत्रमा नेताका सन्तानहरु पनि कम्युनिस्ट पार्टीका अन्य सदस्यहरु जस्तै दर्शन, सिद्धान्त, सङ्गठनात्मक पद्धति र कम्युनिस्ट अनुशासन, नैतिकता र आचरणबाट खरो उत्रनै पर्दछ । खालि नेताका सन्तान भएकाले उनीहरुलाई कम्युनिस्ट पार्टीको सदस्यताको आधारभूत शर्तप्रतिको पालनामा छुट दिन सकिन्न । दर्शन, दृष्टिकोण, सङ्गठनात्मक क्रियाशीलता, अनुशासन, नैतिकता, आचरणको समग्रतामा नै कम्युनिस्ट पार्टीको सदस्यता दिने प्रचलन भएकाले नेताका सन्तानलाई पनि स्वतः यी नियमहरु लागु हुन्छन् ।
नेताका सन्तान र अन्य सदस्यका बीचमा कम्युनिस्ट पार्टीमा कुनै पनि प्रकारको भेदभाव वा सहुलियतको व्यवस्था गर्ने चलन इतिहासमा पाइन्न । नेताका सन्तानमा राजनीतिक संस्कार हुन सक्दछ (यद्यपि यस्तो स्थिति अनिवार्यतः पाउन सकिन्न), अन्य सदस्यमा त्यस्तो संस्कार नहुन सक्छ । तर दुवै श्रेणीका सदस्यको पहिलो शर्त दृष्टिकोण हो । दर्शन, सिद्धान्तमा प्रष्ट नभइकन कोही पनि कम्युनिस्ट पार्टीको सदस्य बन्न सक्दैन । तर खालि दर्शन र सिद्धान्तप्रतिको ओठे समर्थनले मात्र काम चल्दैन, त्यसलाई व्यवहारमा सही सावित गर्न सक्नु पर्दछ अथवा आफूले स्वीकार गरेको दर्शन र सिद्धान्त अनुरूपको व्यवहार कम्युनिस्ट पार्टीको सदस्यमा हुनु पर्दछ । त्यस कारण पार्टीको उपल्लो पदमा पुगेका व्यक्तित्वहरुले आफ्ना सन्तानहरुलाई खालि दार्शनिक, सैद्धान्तिक क्षेत्रबाट प्रशिक्षित गरेर पुग्दैन, सैद्धान्तिक स्वीकारोक्तिलाई व्यावहारिक बनाउन सङ्गठन र आन्दोलनमा पठाउनु पर्दछ । यस्तो व्यावहारिकता मार्फत् आफूलाई अनुकूल वा अनुरूप प्रमाणित गरी सकेपछि मात्र नेतृत्वले आफ्ना सन्तानलाई नेतृत्वका लागि प्रस्तावित गर्न सक्दछ ।
कम्युनिस्ट आदर्श कायम गरौँ
निश्चित रूपमा अहिलेको समस्या कम्युनिस्ट पार्टीभित्रको भाइभतिजावाद होइन, बरु नेतृत्वका सन्तान, परिवारको राजनीतिप्रतिको वितृष्णा हो । त्यसलाई परिवर्तन गर्न कम्युुनिस्ट पार्टीको नेतृत्वले परिवारलाई पार्टीकरण गर्नमा ध्यान दिनु पर्दछ । उनीहरुको व्यवहारले राजनीतिलाई व्यवसाय वा क्लबको मनोरञ्जन जस्तो एकाङ्गी रूपमा लिनु हुँदैन । आफूले अपनाएको दर्शन, सिद्धान्त, राजनीतिबारे परिवारलाई पनि जानकारी गराउने, घरायसी वा पारिवारिक मामिलामा पनि कम्युनिस्ट नैतिकता, अनुशासन र आचरणप्रति ध्यान दिने गर्नु पर्दछ । कम्युनिस्ट पार्टीको नेतृत्वका परिवारहरुमा राजनीतिप्रतिको वितृष्णाको एउटा कारण नेतृत्वको सिद्धान्त र व्यवहारमा देखिने भिन्नता र कतिपय बेलामा देखा पर्ने बिल्कुल विपरीत स्थिति पनि हो । उदाहरणका लागि घरमा श्रीमतीसितको व्यवहार, शारीरिक श्रममा भाग नलिने प्रवृत्ति, घरभित्रका उमेरले पाका र आफूभन्दा साना सदस्यप्रतिको व्यवहार, घरका सदस्य र बाहिरका सदस्यबीचको सम्बन्ध, अवसर र त्यागको सवालमा अपनाइने दृष्टिकोण, पद–प्रतिष्ठा र पेसाको सवालमा व्यक्त हुने दृष्टिकोण, आफूलाई अरूसितबाट विशेष वा उच्च सम्मान पाउने अपेक्षा, गल्तीको सवालमा आफूप्रति वा परिवार जनप्रति उदार रवैयाको आशा, समग्रमा कम्युनिस्ट दर्शन, सिद्धान्त, राजनीति, अनुशासन, नैतिकता र आचरणको सवालमा अभिनय गर्नु, वास्तविक व्यवहार, खास गरी घर–परिवारसितको व्यवहारमा विपरीत स्थिति कायम गर्नु—यस खालको असङ्गति कायम रहँदासमम्म नयाँ पिँढी कम्युनिस्ट पार्टीप्रति विश्वस्त हुन सक्दैन ।
जब परिस्थिति प्रतिकूल हुन्छ, तब कम्युनिस्टहरुले झनै बढी र उच्च स्तरको आदर्श प्रस्तुत गर्न सक्नु पर्दछ । यस्तो आदर्श खालि कुनै खास ठाउँमा मात्र होइन, फिल्डमा, दैनिक व्यवहारमा, घर–परिवारमा समेत प्रस्तुत गर्न सक्नु पर्दछ । आम जनताले पार्टीप्रतिको समर्थन दर्शन, सिद्धान्तप्रति प्रत्यक्ष समर्थनद्वारा मात्र होइन, दैनिक व्यवहारमा व्यक्त हुने क्रियाकलापका आधारमा गर्दछन् । त्यस कारण सिद्धान्त, दर्शनका छोटा कुरा गरौँ, तर त्यसभन्दा बढी व्यवहारमा आफू कम्युनिस्ट भएको सावित गरेर देखाऔँ—जनतालाई प्रशिक्षित गर्ने, आफ्नो घर–परिवार वा नयाँ पिढीलाई प्रशिक्षित वा विश्वस्त गर्ने महत्वपूर्ण तरिका यही हुन सक्छ ।
समाजको ऐतिहासिक नियमबारे प्रशिक्षण
विश्व कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेका कारण नयाँ पिँढीको कम्युनिस्ट आन्दोलनप्रति आकर्षण अपेक्षाकृत सन्तोषजनक नहुनु अन्यथा होइन । त्यसो भए पनि समाजको ऐतिहासिक नियम अनुसार भने वर्गीय समाजको अन्तिम परिणति वर्गविहीन समाजको स्थापना नै हुन सक्दछ । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनलाई स्वीकार गर्नेहरु यस खालको विश्वास राख्दछन् । यो दर्शनमाथि विश्वास राख्ने माक्र्सवादीहरु मान्दछन्– वर्ग रहेसम्म वर्ग सङ्घर्ष जारी रहन्छ र वर्ग सङ्घर्षले सर्वहारा अधिनायकत्वको मार्ग हुँदै वर्गविहीन समाज निर्माण गर्दछ । तर सिद्धान्तमा एउटा पङ्क्तिमा पुरा हुने उपर्युक्त समाजको ऐतिहासिक नियम जब व्यवहारमा जान्छ, त्यसले सिङ्गै युग बरावरको काल व्यतित गर्दछ । रुसमा १९१७ मा सर्वहारा समाजवादी क्रान्ति सम्पन्न भएपछि स्टालिन जीवित रहेसम्म (१९५३ सम्म) पनि समाजवादी चरण पुरा हुन सकेन । स्टालिनको निधन भएपछि रुसी सर्वहारा वर्गले वर्ग सङ्घर्षमा आफ्नो नेता गुमाउन पुग्यो । माओको निधनपछि चिनियाँ सर्वहारा वर्गलाई पनि त्यस्तै भयो । यसरी कुनै पनि देशमा समाजवादी चरण पुरा हुन पनि दशकौँ लाग्न सक्छ भने साम्यवादी व्यवस्था अतित्वका लागि त झन् शताव्दी लाग्ने प्रष्ट छ । त्यसै पनि माक्र्स, एङ्गेल्सले साम्यवादी व्यवस्थालाई विश्व व्यवस्था बताएका छन् । विश्व व्यवस्था बताउनुका पछाडि माक्र्स, एङ्गेल्सको एउटा प्रस्थापनामा यो थियो– साम्यवाद एउटा मात्र देशमा स्थापना हुने छैन, त्यसका लािग न्यूनतम रूपमा एउटा महादेशीय भूगोलमा साम्यवादी व्यवस्था अस्तित्वमा आउने छ । त्यस्तै सामरिक रूपले महत्वपूर्ण क्षेत्र वा शक्ति सन्तुलनयुक्त क्षेत्रमा साम्यवादी व्यवस्था अस्तित्वमा आउन सक्ने छ ।
यहाँ जुन समाजवादी, साम्यवादी व्यवस्था स्थापनाको प्रसङ्ग उठाइएको छ, त्यो पँुजीको विकसित अवस्था भएको मुलुकको हकमा सत्य हो । त्यसका विपरीत पँुजीको अविकसित अवस्था वा राष्ट्रिय स्वाधीनता प्राप्त गरी नसकेको अवस्थामा त पँुजीवादी चरणको सर्वहारा क्रान्ति फरक र लामो बाटो हुँदै अगाडि बढ्नु पर्ने छ । नेपाल यही श्रेणी अन्तर्गतको मुलक हो । त्यसको अर्थ हुन्छ– समाजको ऐतिहासिक नियम नेपालमा अरू मुलुकमा भन्दा बढी दीर्घकालीन र कठिनाइपूर्ण ढङ्गले लागु हुने छ । यस प्रकारको समझदारी नेपाली कम्युनिस्टहरुमा हुनु आवश्यक देखिन्छ ।
समाजको ऐतिहासिक नियम जब व्यवहारमा लागु हुन्छ, जीवन्त र सृजनात्मक अवस्था उत्पन्न हुन्छ । नेपालको ठोस परिवेशसित जोडेर हेर्दा नेपाली भूमिमा कम्युनिस्ट सिद्धान्तको प्रयोग यसरी हुने अनुमान गर्न सकिन्छ ।
क. सर्वप्रथम नेपालले राष्ट्रिय स्वाधीनता प्राप्त गर्नु पर्ने छ । राष्ट्रिय स्वाधीनता नेपालको राष्ट्रिय अस्तित्वका लागि जीवन–मरणको सवाल हो । सर्वहारा क्रान्ति पूर्व पनि यसका लागि देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरुको मोर्चाबन्दी आवश्यक पर्ने छ ।
ख. राष्ट्रिय स्वाधीनताको निर्णायक टुङ्गो क्रान्तिकारी कम्युनिस्टहरुले लगाउने छन् । नयाँ जनवादी क्रान्ति नै राष्ट्रिय स्वाधीनता प्राप्ति मार्गको पहिलो कदम हुने छ ।
ग. नयाँ जनवादी व्यवस्था स्थापनाका साथै समाजवादी व्यवस्थाको तयारी अगाडि बढ्ने छ । स्वामित्वको सामूहिक र सार्वजनिक रूपान्तरण यसै चरणमा पुरा गरिने छ ।
तात्कालिक राजनीतिमा नेपाली कम्युनिस्टहरुले सर्वाधिक ध्यान दिनु पर्ने विषय राष्ट्रिय स्वाधीनता हो । राष्ट्रिय स्वाधीनता प्राप्त भएपछि मात्र देश वास्तविक रूपमा सार्वभौम सत्ता सम्पन्न हुने छ । यदि त्यसपछि सर्वहारा वर्गको राज्यसत्तामा नेतृत्व कायम हुन्छ भने देशमा सामन्तवादी, साम्राज्यवादी शोषणको अन्त हुने छ र राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र कायम हुने छ ।
नेपाली कम्युनिस्टहरुको यस खालको सामाजिक रोडम्याप नयाँ पिँढीले त्यतिखेर नै व्यावहारिक रूपमा बुझ्न सक्ने छ, जब, एकातिर, परिस्थिति त्यही प्रकारको हुने छ, अर्कातिर, नयाँ पिँढी ऐतिहासिक भौतिकवादी विश्व दृष्टिकोणद्वारा लैस हुने छ । उदाहरणका लागि नेपाली कम्युनिस्टहरुले नयाँ पिँढीलाई देश अझै पनि स्वाधीन नभएको, देशको अर्थतन्त्र राष्ट्रिय आत्मनिर्भर नभएको र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन विद्यमान सामन्ती विस्तारवादी र साम्राज्यवादी शोषण समाप्त पार्नु पर्ने आवश्यकताबोध गराउन सक्नु पर्दछ । त्यसका लागि ठोस उदाहरण सहित नयाँ पिँढीमा स्पष्ट समझदारी हस्तान्तरण गरिनु पर्दछ । भारतीय विस्तारवादको नेपालमा माइक्रो म्यानेजमेन्टको हदसम्म आन्तरिक मामिलामा हस्तक्षेप, देशमा बढ्दो व्यापार घाटा, सीमा अतिक्रमण, परनिर्भरता, साम्राज्यवादी अर्थनीति, जसभित्र भूमण्डलीकरण, उदारीकरण र निजीकरण पनि पर्दछन्, का कारण बढ्दो मुद्रास्फिति, घट्दो जी.डी.पी र न्यून मानव विकास सूचकाङ्क, श्रमशक्ति र कच्चा पदार्थ निर्यात तर खाद्यान्न आयात, राजनीतिक नेतृत्वको पारश्रित मानसिकता जस्ता विषयमा नयाँ पिँढीको आँखा खुलाउन सक्नु पर्दछ । त्यसपछि मात्र कम्युनिस्ट पार्टीप्रतिको आकर्षण बढ्ने छ ।
यी सबै विषयमा काम गर्दा वा यी सैद्धान्तिक प्रस्थापनालाई व्यावहारिक रूप दिन सर्वप्रथम त कम्युनिस्ट नेतृत्व नै आदर्श बन्न सक्नु पर्दछ । सिद्धान्त, दर्शन, राजनीतिमा आदर्शका कुरा गर्ने, तर व्यवहारमा पदलोलुप, भ्रष्ट, भाइभतिजावाद, सिद्धान्तहीनता र आडम्बरी नेतृत्व हुन्छ भने यस्तो नेतृत्वले न त नयाँ पिँढीलाई प्रशिक्षित गर्न सक्छ, न त शोषणविहीन समाज निर्माणको कार्यभार पुरा गर्ने नैतिक आँट र अधिकार नै राख्न सक्छ ।

सांस्कृतिक रूपान्तरण र निर्वाचित जन प्रतिनिधिको दायित्व
गिरी प्रसाद बुढा
हाम्रो देशको इतिहास विश्वका कैयौँ देशहरुका इतिहासभन्दा लामो र पुरानो छ तर यहाँको सांस्कृतिक तथा राजनीतिक परिवर्तनको अवस्था भने विश्वका अन्य देशका तुलनामा अत्यन्तै बक्र रेखामा र धिमा गतिमा अगाडि बढी रहेकोे छ । यसरी नेपाली राजनीतिमा आएको परिवर्तन र नेपाली जनवर्गको सांस्कृतिक अवस्थामा आएको परिवर्तनलाई हेर्ने हो भने खासै सन्तोषजनक अवस्था देखिदैन ।
हामीले सोभयत सङ्घ र चीन जस्ता क्रान्ति सम्पन्न गरेका देशहरुका इतिहास हे¥यौँ भने त्यहाँ नयाँ व्यवस्था स्थापना भएको छोटै समयमा नै त्यहाँका जनताका सांस्कृतिक स्तर तीव्र गतिमा माथि उठेको पाइन्छ । १९२१ मा साम्यवादी दलको स्थापना भएको चीनमा १९४९ अक्टोबर १ मा साम्यवादी सरकारको स्थापना गरिएको थियो अर्थात् गणतन्त्र चीनको घोषण गरिएको थियो । चीनमा शासन सत्ता फेरिएको छोटो समयमा नै व्यापक मात्रामा भूमिसुधार कार्यक्रम लागु गरियो । सामाजिक कुरीति तथा भ्रष्टाचारलाई समाप्त पार्ने अभियान प्रारम्भ गरियो । खास गरी कर छल्ने, घुस लिने, सरकारी ठेक्कामा ठग्ने, आर्थिक गुप्तचरको चोरी, राष्ट्रिय सम्पत्तिको चोरी जस्ता पाँच किसिमका अपराध गर्ने अपराधीहरुलाई मृत्युु दण्ड जस्तो कठोर सजायको समेत व्यवस्था गरियो । यसले चिनियाँ जनवर्गको जीवन स्तर उचाल्न र उनीहरुको सांस्कृतिक अवस्थालाई उँचो बनाउन धेरै समय लागेन ।
यसै गरी १८८३ देखि रुसमा सामाजिक जनवादी मजदुर पार्टी निर्माणका लागि सङ्घर्ष सुरु भए पश्चात् विभिन्न आरोह–अवरोह पार गर्दै १९०४ मा बोल्सेभिक पार्टीको आविर्भाव हुन पुग्यो र १९१७ मा महान् अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भए पश्चात् स्थापना भएको सोभियत सत्ताले पनि छोटो समयमा नै रसियन जनताका कल्याण र सांस्कृतिक स्थितिमा आधारभूत सुधार ल्याई दियो । जमिन्दार, कुलाक, महाजन, नाफाखोर, सुदखोर आदिका शोषणमा पिल्सएर रहेका किसानहरु शोषणबाट मुक्त बने । उनीहरु समाजवादको मान्यता बोक्दै सामूहिक खेतीमा अग्रसर बने । पुँजीवादको सेवा गर्ने पुराना बुद्धिजीवीहरुको ठाउँमा समाजवादको सेवा गर्ने नयाँ बुद्धिजीवीहरुको विकास हुन पुग्यो । उत्पादन साधनहरुबाट वञ्चित मजदुर वर्गले प“ुजीपति वर्गवाट ती उत्पादनका साधनहरु खोसेर सार्वजनिक सम्पतिमा फेरी दिए र मजदुरहरु स्वयम् उत्पादनका साधनहरुको मालिकको हिस्सेदार हुन पुगे ।
जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरेका देशहरु मात्रै होइन, विश्वका कैयौँ पुँजीवादी देशहरुमा पनि त्यहाँका जनताको विकास र सांस्कृतिक स्तर हाम्रो देशको जनताका विकास र सांस्कृतिक स्तरभन्दा कैयौँ गुणा उच्च रहेको देख्न पाइन्छ । जापान, स्विटजरल्यान्ड, फ्रान्स, बेलायत आदि देशको विकास र त्यहाँका जनताका सांस्कृतिक अवस्थालाई हामीले उदाहरणको रूपमा हेर्न सक्दछौँ ।
यता, हाम्रो देशको परिवर्तनको इतिहास हेर्ने हो भने साह्रै दुखद रहेको छ । १०४ वर्षसम्म राणा शासनको चङ्गुलमा देश अल्झी रह्यो । यसपछि झण्डै ३० वर्षसम्म पञ्चायती व्यवस्थाले जनता चुसी रह्यो । पञ्चायती व्यवस्थाको अन्त्य पश्चात् जनताले बहुदलीय व्यवस्था स्थापना गरे । यो व्यवस्थाले पनि देश र जनताको सेवा गर्न सकेन । २०६२–६३ को जन आन्दोलन पश्चात् आएको गणतन्त्रले पनि आजसम्म जनताको सांस्कृतिक स्तर उकास्ने कार्यमा कुनै उल्लेखनीय कार्य गर्न सकेको छैन । हाम्रा बाउबाजेका पालामा नेपाली युवाहरु ब्रिटेन, भारत, हङकङ जस्ता देशहरुमा लाहुरे हुने गर्दथे । भारतका कुनाकुनासम्म पुगेर मजदुरी गर्थे । चौकिदारी गर्दथे । जुठा भाडा माझेर जिविका चलाउँथे, पसिना बगाउँथे अर्थात् नेपाली युवाको रगत र पसिना स्वदेशमा होइन, विदेशमा नै बग्दथ्यो । हिजोका दिनहरुमा हाम्रा बाउबाजेहरुमा रहेको यस्तो निम्न खाले सांस्कृतिक चेतना अहिले हाम्रो पालामा पनि कायम नै रहेको छ । अहिले पनि नेपाली युवाहरु लाहुरे बनेर विदेशकै सेवा गर्न तँछाडमछाड देखिन्छन् । दैनिक सयौँको सङ्ख्यामा नेपाली युवाहरु खाडी लगाएत संसारका कैयौँ देशहरुमा निर्यात भई रहेका छन् । यसरी नेपाली समाजमा भएको निम्न खाले सांस्कृतिक चेतनाका कारण स्वदेशका निम्ति बग्नु पर्ने नेपाली युवाका रगत र पसिना विदेशमा बगेर खेर गई रहेको छ । यस्तो खाले निम्न सांस्कृतिक चेतनामा नै हामी अगाडिको लामो पुस्ताको दुखद दिनहरु बित्दै गएका छन् । समानता, स्वतन्त्रता र सभ्यताको सुन्दर परिवेश देख्न नपाउँदै हाम्रा बाउबाजेहरुलाई यो संसारबाट बिदा हुनु प¥यो । सधैँ सधैँ सामन्ती शोषण र रुढिवादको अप्ठ्यारा कर्मकाण्ड गर्दैमा उनीहरुको जुनी बित्यो । कुनै अमुक शक्तिलाई सहारा ठान्ने र शोषक, सामन्त वा यस्तै समाजको कथित ठुलाठालुहरुका सेवा गर्ने कुरालाई धर्म ठानेर जिन्दगीभरि आफ्नो सारा शक्ति दुखैदुखमा खर्चेर मर्नु पर्ने दुखद सिलसिला अझै पनि चली नै रहेको छ । हाम्रो देशको सांस्कृतिक रूपान्तरणको गतिमा देखिएको यो ढिलाइले अझै हाम्रो पुस्ताले पनि हाम्रा बाउबाजेकै नियतीमा जिन्दगी सुम्पनु पर्ने विवशता देखिएको छ ।
समयको क्रमसँगै आज विभिन्न शासन प्रणाली पार गर्दै गणतन्त्रसम्म आएर हाम्रो देशले राजनीतिक परिवर्तनका केही फड्को पार गरी सकेको छ । यसरी राजनीतिक परिवर्तनले केही कदम पार गरी सकेको देखिएता पनि हाम्रो सांस्कृतिक मूल्य र मान्यताले भने खासै चित्तबुझ्दो खुड्ीकलो पार गर्न सकेको छैन अर्थात् राजनीतिक परिवर्तनको तुलनामा हाम्रो सांस्कृतिक रूपान्तरणको अवस्था धेरै नै पछाडि रहेको छ । यस्तो अवस्थामा आज हाम्रो देशमा निकै लामो समय पश्चात् जन निर्वाचित प्रतिनिधिहरु मार्फत् स्थानीय तह सञ्चालनको अभ्यास हुन थालेको छ । आज कैयौँ स्थानीय तहमा कम्युनिस्ट पार्टीको स्कुलबाट आएका व्यक्तिहरु तथा लामो समयसम्म वाम आन्दोलनमा खारिएका र सांस्कृतिक रूपान्तरणका कुरा गर्दै आएका व्यक्तित्वहरु पनि निर्वाचित भएर कुर्सीमा बसी सकेको अवस्था छ । आफूलाई कम्युनिस्ट वा वामपन्थी भन्नेहरुका निम्ति सांस्कृतिक रूपान्तरणको पक्षमा ध्यान पु¥याउन सक्ने यो एउटा सुनौलो अवसर पनि हो । यसका लागि हाल निर्वाचित जन प्रतिनिधिहरुले कला, साहित्य र संस्कृतिको क्षेत्रमा विकास गर्नुका साथै सांस्कृतिक रूपान्तरणका निम्ति तल उल्लेख गरिएका केही विषयहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ ।
(१) प्रगतिशील कला, साहित्य तथा संस्कृति प्रबद्र्धनका लागि जन प्रतिनिधिहरुले निम्न बमोजिमका कार्यक्रमहरु सञ्चालनमा ल्याउन सके उपयुक्त हुन सक्ने छ ः
– प्रगतिशील नाटक, कथा, कविता, गीत, नृत्य आदि विधागत प्रतियोगिताहरु सञ्चालनमा ल्याउनु पर्दछ ।
– प्रगतिशील कला, साहित्य तथा सांस्कृतिक रूपान्तरणको विषयवस्तु समेटिएको रेडियो कार्यक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ ।
– नगर, गाउँ तथा वडाका मुख्य मुख्य स्थानहरुमा प्रगतिशील अध्ययन केन्द्र, सूचना केन्द्र तथा पुस्तकालयहरु सञ्चालनमा ल्याउनु पर्दछ ।
– विश्व प्रशिद्ध दार्शनिक, चिन्तक, वैज्ञानिक, कलाकार, साहित्यकार र सहिदहरुका प्रतिमा निर्माण कार्यमा ध्यान दिनु पर्दछ ।
– प्रगतिशील कला तथा साहित्यमा योगदान दिने स्रष्टाहरुलाई सहयोग, सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रमहरु ल्याउनु पर्दछ ।
(२) आम जनताका बीचमा सामन्तवाद, रुढिवाद तथा साम्राज्यवाद विरोधी राजनीति तथा सांस्कृतिक क्रान्तिको कार्यमा चेतना फैलाउन निम्न बमोजिमका चेतनामूलक कार्यक्रमहरु ल्याउन सके उपयुक्त हुन सक्ने छ ः
– धर्म, ईश्वर, स्वर्ग, नर्क, पाप, पुण्य जस्ता कुनै पनि किसिमको अदृष्य तत्वहरुको विरोधमा निरीश्वरवादको प्रचार प्रसारका कार्यक्रमहरु गर्नु पर्दछ ।
– जनताका दिमागलाई भुत्ते पार्ने रुढिवाद गाँसिएको भद्दा संस्कार र चाडवाडहरुलाई विस्तारै विस्थापित गर्दै जानका लागि र क्रान्तिकारी विचार सम्प्रेषण गर्नका लागि पार्टी स्थापना दिवस, नारी दिवस, सहिद दिवस, मजदुर दिवस, जन आन्दोलन दिवस आदिलाई चाड र उत्सवका रूपमा निर्माण र विकास गर्ने कार्यक्रमहरु गर्नु पर्दछ । यसका साथै सहकारी नमूना गाउँ, रुढिवादमुक्त टोल, मदिरा निषेधित गाउँ, भेदभावमुक्त इलाका, श्रम तथा मजदुर मैत्री क्षेत्र आदि सामाजिक विभेद मेटाउने तथा सभ्य समाज निर्माण गर्ने अभियानहरु चलाउनु पर्दछ ।
– शासक वर्गले जबर्जस्ती लादेका संस्कार, संस्कृति र धर्मलाई होइन, स्थान विशेषका भाषाभाषी, जाति वा समुदायका जीवनसँग जोडिएका, जनताको हितमा रहेका र पर्यटनको हिसाबले महत्वपूर्ण हुन सक्ने जनताका आफ्नै मौलिक र विशिष्ट संस्कृति र सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्नु पर्छ ।
– क्षमता, योग्यता, उद्यमशीलता, सच्चरित्रता, सत्यता र इमान्दारिताको आधारमा मानिसको मूल्याङ्कन गर्ने संस्कारको विकास गर्नु पर्छ । चाकरी, चाप्लुसी, भ्रष्टाचार, नातावाद, कृपावाद जस्ता कुरीतिहरुको अन्त्य गर्नु पर्छ ।
यी माथि उल्लेखित कार्यहरु बाहेक हरेक जन प्रतिनिधिले नयाँ संस्कृति निर्माणको पक्षमा र प्रगतिशील कला, साहित्य र संस्कृतिको क्षेत्रमा आफै पनि सिर्जनशील बनेर नयाँ नयाँ सिर्जनात्मक कार्यहरु गर्नु पर्दछ । आफूलाई सबैभन्दा सच्चा, इमान्दार, कर्तव्यनिष्ठ, नमूना जन प्रतिनिधिको रूपमा स्थापित गर्न प्रयत्नशील हुनु पर्दछ । हरेक जन प्रतिनिधिले सादा जीवन बिताउने र कठोर परिश्रम गर्ने कार्यशैलीमा डटी रहनु पर्दछ । आफ्नो पद, प्रतिष्ठा, ज्ञान, सिप, शक्ति वा व्यक्तित्वको घमण्ड नगरी विवेकशील, विनम्र र दुख–कष्ट सामना गर्ने गुण बोक्नु पर्दछ र सधैँ जन उत्तरदायी बन्नु पर्दछ ।
हरेक जन प्रतिनिधिले कम्तीमा आफू रहेको स्थानीय तहलाई नयाँ संस्कृतिको यात्रामा हिडाउन जरुरी छ । जन प्रतिनिधिहरुको भूमिकाका कारण स्थानीय तहका हरेक बुद्धिजीवीहरु पुँजीवादको सेवा गर्न छाडेर समाजवादको सेवा गर्ने अर्थात् समाजवादको पक्षमा लड्न सक्ने बन्न सकुन् । प्रत्येक स्थानीय तहमा श्रमप्रति श्रद्धा अभिव्यक्त हुने र शोषणप्रति घृणा पैदा हुने संस्कृति मौलाउन सकोस् । त्यसैगरी प्रत्येक स्थानीय तहमा व्यक्तिवादले होइन, सामूहिकतावादले पुरस्कृत हुने अवसर प्राप्त गरोस् । कर छल्ने, घुस खाने र घुस दिने जस्ता भ्रष्टाचारीहरु कहिल्यै उठ्न नसक्ने गरी दण्डित बनुन् । हरेक स्थानीय तहका निर्वाचित जन प्रतिनिधिहरुका अगाडि आफू रहेको स्थानीय तहलाई यसरी समृद्ध बनाउनका निम्ति सुनौलो अवसर रहेको छ । यो अवसरलाई सबै जन प्रतिनिधिहरुले उपयोग गरेर अगाडि बढेमा सिङ्गो देशकै काचुली फेरिन सक्ने छ र हामीले हाम्रा बाउबाजेले जस्तो पिछडिएको संस्कृतिमा होइन, नयाँ र उच्च संस्कृतिको परिवेशमा रम्न पाउने अवस्था सिर्जना हुने छ ।
२०७४ साउन २९
मुसिकोट–५, रुकुम

कविता किन बिक्दैन ?
(रविन्द्र मिश्रलाई जवाफ)
मीन बहादुर राना
कवि रविन्द्र मिश्र सरल कविता लेख्ने कवि हुन् । लामो समय समाचारको जगतमा छाएका र समाज सेवामा रमाएका रविन्द्र मिश्र राम्रा कवि पनि हुन् । उनको राजनीतिक र सामाजिक विषयका आलेखहरुको पुस्तक पनि प्रकाशित भएको छ । बिम्ब, प्रतिक र मिथकहरुलाई कवितामा सरल र सजिलै खेलाउने कविमध्ये उनी पनि एक हुन् । सञ्चार कर्मी भएर लामो समय काम गरेका रविन्द्रका कवितामा समाचार बन्न नपाएका धेरै घटनाहरुको मर्म अटाएका छन् । ‘माओवादी विद्रोहीको कविता’ र ‘माओवादी पीडितको कविता’ जस्ता कवितामा द्वन्द्वकालको मानसिक अवस्था दर्शाउन खोजेका छन् । यी कवितामा कविले कतैप्रति झुकाव नराखेर यथार्थ पस्केका पनि छन् । ‘कान्दाका चेपाङ’ कवितामा चेपाङहरुको अवस्था र विकासे परियोजनाको परिणाम देखाएका छन् ।
यति बेला रविन्द्र आफै पनि नेता भएका छन् । सत्तामा नपुगुञ्जेल त भन्न मिलेन । पार्टी जत्रो भए पनि शक्ति र सत्तामा पुग्न बेर लाग्दैन । उनको कविता ‘नेताजी, तपाई त सारै गन्हाउनु भो’ भन्ने कवितामा जस्तो सत्तामा पुगेपछि आफू नगन्हाई दिए हुन्थ्यो भन्ने शुभेच्क्षा छ ।
संयोगले यो कविता सङ्ग्रहको विमोचन हुँदा प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा मलाई पनि सहभागी हुने मौका मिलेको थियो । विमोचन कार्यक्रममा कविले आफ्नो मन्तव्यमा पनि कविता नबिक्ने विषयमा चिन्ता गरेका थिए । कवि रविन्द्रको त्यो कार्यक्रमको समाचारमा पनि कविता नबिक्ने कुराको हेडलाइन बनेको थियो । कला–कला भन्दा भन्दै हामीले कला पनि वर्गीय हुन्छ भन्ने बिर्सनु हुँदैन । कविता पनि वर्गीय नै हुन्छ । कविले आफू कुन वर्गको कवि हो भनेर नचिन्ने त कुरै भएन । त्यति ठुलो प्रचार र व्यक्तित्वको आडमा पनि कविता नबिकेपछि अन्य कुनाकाप्चामा रहेर कविता लेख्नेहरुको के हाल होला ? प्रश्न उठ्न सक्छ ।
कवि रविन्द्र मिश्रको कविता सङ्ग्रहमा सङ्ग्रहित कविता र कविको विचार पढेपछि आफ्नो पठनाभूति प्रस्तुत गर्दै छु । यस पठनानुभूतिमा कविको कविताभन्दा पनि कविता किन बिक्दैन भन्ने कुरामा केन्द्रित हुने छु ।
यसरी पढौँ कविता शीर्षकको कवितामा पढौँ को ठाउँमा लेखौँ भनेको भए म शत–प्रतिशत सहमत हुने थिएँ तर कविले पढौँ भनेका छन्–
मुटुको धड्कन बढोस्
आँखाबाट आँशु झरोस्
अतीतलाई स्पन्दित गरोस्
वर्तमानलाई उद्वेलित पारोस्
तर्कहरु तरङ्गित होउन्
दर्शन झमझम दर्कियोस्
हेर्नेहरु टोलाई रहुन्
सुन्नेहरु लट्ठै परुन्
यो उदाहरण हो । साँच्चिकै कविता त्यसरी लेख्ने हो भने कविता जस्तो कविता आउँछ । कविको चिन्ताको विषय पनि समाधान अवश्य हुन्छ । लेख्नेले नै फिटकिरी हालेको चिया जस्तो कविता लेखी दिएपछि पढ्नेले उनले भने झैँ गरी पढ्न कसरी सक्ला ? पाठकलाई त्यसरी तान्न सक्ने कविता लेख्ने हो भने त नेपाली कविताले संसारका सबै कविताहरुलाई पछाडि पार्ने थियो । त्यो असम्भव पनि छैन । हामीबाटै सम्भव छ । हामीले त्यो प्रयास गर्नतिर लाग्दा राम्रो हुने थियो । हो कविता समचार भने पक्कै होइन । ‘बरु म उपन्यास पढ्छु’ शीर्षकको कवितामा कविले कविताको दुरुह अवस्थालाई व्यक्त गरेका छन् । तर उपन्यासको अवस्था पनि कविताभन्दा माथि उठेको जस्तो लाग्दैन ।
कविताको विज्ञ होइन, भन्दा भन्दै पनि कविताका बारेमा धेरै उच्च विचार व्यक्त गरेका छन् । मेरो भन्नुमा कवि मिश्रले नेपालको मात्र होइन, बेलायत समेतको कवि र कविता लेखन पारालाई प्रष्ट पारेका छन् । “मानिसहरु कवितै बुझ्दैनन्, कविता बुझ्ने चेष्टा नै गर्दैनन्, कविता बिक्दै बिक्दैन, राम्रो उपन्यास लेखे त्यसबाट जिविकोपार्जन गर्न सकिन्छ, राम्रो कविता लेखे पनि त्यसबाट जिविकोपार्जन गर्न सकिन्न आदि आदि । सिनेमा र कला बुझेनन् भनेर दर्शकलाई, सङ्गीत मन पराएनन् भनेर श्रोतालाई र कविता मन पराएनन् भनेर पाठकलाई दोष दिनु सरासर गलत हो । कविले कविता ज्यादै क्लिष्ट हुनु हुँदैन भन्ने विचार राखेका छन् । यस विचारमा म पनि सहमत छु । म मात्र कवितालाई बिकाउको नजरले हेरिएकोमा असहमत छु । कविता मात्र होइन, सबै खाले किताबका लेखकले आफ्नो स्तर किताबको बिक्रीलाई नै आधार बनाउन थालेका छन् ।
तर म हाम्रा समस्त कविहरुलाई के कुरामा स्पष्ट पार्न चाहन्छु भने उपभोक्तावादी संस्कृतिमा सबै कुरालाई बिकाउको नजरले हेरिन्छ । महङ्गो कागज, झिलिमिली कभर, विज्ञापन, प्रचार जस्ता हतियार प्रयोग हुन थालेका छन् । किताब र चाउचाउको प्रचार एकै किसिमले गरेको देख्दा मलाई यस्तो लाग्छ कि हाम्रा यी प्रचारवालाहरुको सबै सिर्जनाको स्तर चाउचाउ बराबर छ । किन्यो, खायो, सकियो, फेरि–फेरिलाई न चाहिने, न पाइने । खोल र कम्पनी फरक–फरक, तर भित्र एउटै । रक्सी झैँँ । फरक त नाम किन्ने हो, फरक सामान होइन । बजारको चरित्र यस्तै त छ । त्यसैमा हाम्रा कविहरुले कवितालाई पनि मिसाउन पुगे । त्यही भिडको एक पात्र कवि रविन्द्र भएका छन् ।
यो सबै असल विचार, उच्च स्तरको कला र सजीव प्रस्तुतिको अगाडि केही होइन । तपाईको रचना बिक्री भएछ भने राम्रो तर बिक्री भए जस्तै तपाईको विचारको प्रभाव कति पर्छ ? त्यसलाई हेर्नु पर्छ । हाम्रो ध्यान पाठकद्वारा कति पटक र कहिलेसम्म पढिन्छौँ भन्ने कुरामा जानु पर्छ । किन्नका लागि किनेर दराजमा थन्क्याउनका लागि पाठकहरुले हाम्रा किताब नकिनुन् भने सोच्नु राम्रो हुन्छ । किताब त पढ्नका लागि किन्ने हो । पढ्ने भनेको जीवनका लागि हो । पढाइ जीवनको खाँचो हो । तर कुनै मानिसले कुनै कविको रचना पढेन भने उसको जीवन अपुरो हुन्छ भन्ने केही छैन । यो नियम सबैको किताबमा बराबर लागु हुन्छ । कम्तीमा पनि रचनाले पाठकलाई थोरै मनोरञ्जनसम्म दिन सक्यो भने पनि राम्रो मान्न सकिन्छ ।
कवि रविन्द्र मात्र होइन, मैले यस्ता किताब नबिक्ने गुनासो धेरैबाट सुनेको छु । मैले यस्ता मनोग्रन्थी बोक्ने आम कविलाई पैसा कवि नाम राख्न रुचाउँछु भने कसैलाई मन कवि भन्छु । किनकि उहाँहरुले आफ्नो मनलाई मात्र मिठो लाग्ने कविता लेख्नु हुन्छ । सित्तैमा दिए पनि नपढूँ जस्तो लाग्ने कविता कसले किनी दिने ? आफै कविले पनि लेखेपछि दोहो¥याएर नपढेको कविताको किताब पाठकले पैसा खन्याएर किनेर पढी दिनु पर्ने ? पाठकले किन किताब किन्ने भन्ने कुनै बलियो जवाफ नभए त्यो किताब कसरी बिक्छ ? आजभोलि किताबको मूल्य राख्दा ‘सहयोगस्वरूप’ भन्ने चलन पनि चलेको छ । सहयोगस्वरूप नै हो भने त खालि कापी राम्ररी बिक्न सक्छ, किताब नै किन बेच्ने ? यस्तै हो भने त किताबको परिभाषा पनि फेरिने पो हो कि ? सहयोग माग्ने ठाउँ हुन्छ, पाठकसित होईन । कसैकसैले व्यक्तिगत र संस्थागत मूल्य भनेर दुई वटा मूल्य पनि राख्छन् । संस्थामा त तपाईको किताब जति धेरै रहन्छ, त्यति नै राम्रो होइन र ? हो भने त्यही मूल्यमा अलि धेरै किताब छाड्नुस् । क्यै गरी कसैले पढ्दा पढ्दै केही किताब यताउता भए पनि बाँकी किताब त रही रहन्छ ।
कविता, कथा, उपन्यास जस्तो लामो आख्यान नहुनाले पनि किताब नै किनेर पढ्ने खाँचो हुँदैन । म त भन्छु– कथासम्म पनि राम्रो छ भने अर्को पटक किताब हेर्नु पर्दैन । हाम्रोमा त कथा र कविता छुट्टाउन पनि हम्मे–हम्मे पर्छ र पो । सुन्दर कविता त एक पटक सुने मात्र पुग्छ । घिमिरेको ‘गाउँछ गीत नेपाली… कण्ठ नभए पनि त्यसको प्रतिबिम्ब मनमा रही रहेको छ । भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे’ त्यत्तिकै स्मरणीय छ । हरिभक्त र देवकोटा नाम सुन्ने बित्तिकै उनीहरुका केही रचनाको प्रतिबिम्ब मनमा उत्रिन धेरै बेर लाग्दैन । राम्रो कविता छ भने त झन् किन्नै पर्ने खाँचो पर्दैन । कसैको मुखबाट सुन्न पाए मात्र पनि हुन्छ । त्यसैले प्रश्न कविताको किताब किन किन्दैनन् होइन, कविता किन, सुन्न खोज्दैनन् मान्छेहरु भन्ने हो । सुन्न झ्याउ नलाग्ने कविता लेख्ने हो भने अझैँ पनि कविताप्रतिको आकर्षण घटेको छैन । मान्छेहरुको मन ढुङ्गा भएको छैन । हो, कविता मरेको समाज बाझो हुन्छ । कला बिनाको समाज मरुभूमि हुन्छ । नेपाली समाज जाग्दै गरेको समाज हो । यो मर्दै गरेको समाज होइन । त्यसैले यहाँ कविताप्रतिको आर्कषण बढ्दै छ र कविहरुमा पनि युग अनुसार नयाँ जागरण आउन खाँचो छ । आउँदै गरेको पनि छ ।
कविहरु आँखामा टिलपिल टिलपिल आँशु लिएर कविता लेख्छन् वा भनौँ आकासमा बादल गर्जे भैmँ गर्जेर कविता लेख्छन् । कविता लेख्दै गर्दा कविहरु हाँसे भने अल्लि बढी नै हाँस्छन् । त्यतिको हाँसो आजसम्म अरू कोही हाँसेको नहोस् । रोए भने पनि आजसम्म कोही नरोए जति रुन्छन् । तर जुन प्रभाव कविको मनमा पर्छ, त्यो प्रभाव पाठकमा पार्न कमैले सक्छन् । अर्को कुरा प्रायः कविहरुले आफ्नो कुरा लेख्छन् । पाठकको कुरा लेख्न सकेको भए पो पाठकले सुन्ने । आफ्नो कुरा त आफैले लेख्ने, अनि खाफैले सुन्ने त हो नि । आफ्नो एकलापे गनगन सुनेन भनेर पाठकलाई सत्तेसराप गर्नु राम्रो होइन । पाठकको पनि विचार हुन्छ । पाठक पनि चिन्तन गर्छन्, पाठक पनि सोच्न सक्छन् भनेर सोचेर कविता लेख्ने हो भने कविता सुन्नलाई मान्छेहरु टिकट काटेर आउँछन् ।
कविता रमाइलो हो । त्यो रमाइलोमा मिसाएर कविले आफ्नो विचारलाई पाठकका अगाडि प्रस्तुत गर्छन् । कविता कला हो भने कवि कलाकार । कविले आफ्नो विचारलाई कलाको चास्नीमा चुर्लुम्म डुबाएर पाठकका अगाडि प्रस्तुत गर्नु पर्छ । कविता रोमान्स हो । सिद्धान्त ठोस हुन्छ । त्यही सिद्धान्तलाई कविले कवितामा तरल बनाएर प्रस्तुत गर्छन् र आम पाठकलाई त्यही सिद्धान्तको पानीले भिजाउँछन् । कवितामा त्यही सिद्धान्तका कुरा कलाको चास्नीमा डुबेर आउँछ । कविता हार्दिक हुन्छ । दर्शनले बाहिर घोच्छ भने त्यही दर्शनका कुरा कवितामा आउँदा भित्र सुम्सुम्याउँछ र सबैले त्यही कुरा भन्दै गरेको कविता सुन्न मन पराउँछन् ।
कविज्यू आफ्नै समाज नबुझ्ने त अवश्य हुनु हुन्न ? नेपाली समाजलाई कविता नबुझ्ने भन्नु महामुर्खता हुन आउँछ । कविले आफ्नै समाजलाई समाजलाई बुझ्न नसकेको हुन्छ । दोहोरीमा कुरा गर्ने, अन्ताक्षरीमा रमाउने र मान्छे जन्मदा गीतले स्वागत गर्ने, मर्दा गीतले बिदाइ गर्ने संस्कार भएको समाज हो हाम्रो । रोइला, असारे, झ्याउरे, सिलोक, सवाइ, गाउँखाने कथा, खुर्पेटी नानीको र टुहुरी केटीको कथा जस्ता कुरामा रमाउने नेपाली समाज हो । यहाँ कविता किन महत्वहीन छ भने हामीले सस्ता उचाइमा उक्लन फुक्लो विद्वता र सस्तो शब्दाडम्बर देखाउन थाल्छौँ । हाम्रा कविता पढ्दा डिक्सनेरी र शब्दकोष साथसाथै राख्नु पर्छ । कविता पढ्ने पाठकसित कविले कविता लेख्दा हेरेको प्रकाशनकै डिक्सनेरी नहुन पनि सक्छ ।
म यस्तो किन भन्दै छु भने हाम्रा केही कविहरुमा ज्यादा संस्कृतमोह छ । संस्कृत शब्द अटाई नअटाई ठुसेर कविता बनाएपछि खास्साको कविता बन्यो भन्ने भान उनीहरुमा छ । संस्कृत शब्द नै साहित्यिक शब्द हो भन्ने मनोग्रन्थीले काम गरेको अवस्थामा त्यस्ता पुराणकालीन कविता लेखिन थाल्छन् । फेरि अर्कातिर आधुनिक छाँट देखाउने ध्याउन्नमा जटिल अङ्ग्रजी शब्दहरुको प्रयोगले पनि नेपाली कविता नभएर नेपाङ्ग्रेजी कविता बनाएको हुन्छ । अङ्ग्रेजीमा भन्दा धेरै प्रभावकारी भएको मनोदशाको उपज हो यो । कसैकसैमा हिन्दी र कतिपय जातीय भाषा ठोकठाक गरेर कविता लेख्ने प्रवृति पनि नभएको होइन । यस्ता कुराले कविता बोझिलो र दुर्वोध्य हुन्छन् ।
कवि पैसा कमाउने कारखाना होइन । कविताको कारखाना हो । सिर्जनात्मक कामलाई पैसासित जोख्न मिल्दैन । सिर्जनात्मक कार्य गर्नु त सेवा हो । सिर्जनात्मक काम गर्नु भनेको बौद्धिक उत्पादन हो । रचनात्मक कामको न कुनै सीमा हुन्छ, न कुनै मूल्य । अब त कविता मात्र होइन, गीत पनि बिक्न छाडी सकेको छ । तर नबिक्नु नै प्रमुख कुरो होइन । गीतमा रम्ने त नेपाली संस्कृति नै हो । पाठकले पहिलेभन्दा अझ धेरै गीत सुन्छन् र कविता पनि अझ धेरै पढ्ने र सुन्ने गर्छन । प्रविधिले त्यस्तै बनाई दिएको छ ।
२०७४ भदौ ३ गते

गजल÷कल्पना पौडेल जिज्ञाशु
युवालाई रोजगार दिन काम हुनुपर्छ ।
स्वदेशमै विकासमूलक नाम हुनुपर्छ ।१।

देशका कर्णधार युवा विदेशिन बाध्य हुँदा ।
लाग्छ नेतृत्वको दिमाग जाम हुनुपर्छ ।२।

अब आफ्नै देशभित्र कृषि क्रान्ति ल्याउँदै ।
पौरखी हातको मिहिनेत खुलेआम हुनुपर्छ ।३।

सुविधाका सबै साधन सहरमा मात्र किन ?
विकासको उदाहरण घरगाम हुनु पर्दछ ।४।

देशको गौरव सगरमाथा हेर्दा लाग्छ सधैँ ।
पर्यटक आउने–जाने ठुलो लाम हुनुपर्छ ।५।

हत्या, हिंसा, शोषणले पिल्सिएछ देश आज ।
नेपालीको आत्माभित्र शान्तिको घाम हुनुपर्छ ।६।

गजल÷केशव गाह पाल्पाली
दुष्टहरु जब कुविचार बोकेर आउने छन् ।
बुद्ध पनि पक्कै हतियार बोकेर आउनेछन् ।१।

लौरो टेकी जानु भा’छ हाम्रा बा अदालत ।
हुन सक्छ बाँच्ने अधिकार बोकेर आउने छन् ।२।

फर्किएनन् गाउँतिर चुनाव जितेपछि ।
कसरी पो भन्नु रोजगार बोकेर आउने छन् ।३।

अत्याचार मेट्न युवाहरु समय अनुसार ।
कलम र कहिले तरवार बोकेर आउने छन् ।४।

होमिएका जनयोद्धाहरु जितेर रणभूमि ।
देश चलाउने सूत्रधार बोकेर आउने छन् ।५।

सांस्कृतिक रूपान्तरणमा बाधक हिन्दूवाद
युवराज आचार्य
वर्गीय मुक्ति आन्दोलनसँगै जोडिने एउटा महत्वपूर्ण पक्ष समाजको सांस्कृतिक रूपान्तरण हो । त्यसका निम्ति चलाइने वर्ग सङ्घर्षको प्रकृति र त्यसको नेतृत्व सर्वहारा वर्गको उत्कृष्टताले मात्रै त्यो कुरा सम्भव रहन्छ । १९६६ देखि १९७६ सम्म चीनमा माओत्सेतुङको नेतृत्वमा सम्पन्न भएको उच्चतम चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति संसारभरकै कम्युनिस्टहरुलाई माक्र्सवादी, लेनिनवादी दृष्टिकोणलाई अँगाल्न प्रयत्न गर्ने बनाउन सफल छ । माओत्सेतुङले जुन प्रकारको उत्कृष्टता विश्वसामु प्रदर्शन गरे, त्यसको परिणाम नै हो– जनवादी गणतन्त्र चीनको आधुनिक परिचय । यहाँनिर सांस्कृतिक रूपान्तरणको आन्दोलन र त्यसले वर्ग सङ्घर्षमा खेल्ने भूमिकालाई हेर्दा नेपालको आफ्नो एतिहासिक पृष्ठभूमि जुन प्रकारले पुरातन मूल्य–मान्यता तथा धार्मिक दृष्टिकोणमा आधारित छ, त्यसको कठिनतम बिन्दु र सम्भाव्य वर्ग सङ्घर्षको स्वरूपलाई मनन् गर्दा ग्रामीण वर्ग सङ्घर्षलाई निस्तेज पार्नका निम्ति त्यस ऐतिहासिक पृष्ठभूमि नै एउटा प्रवृत्तिका रूपमा जकडिएर रहेको महशुस हुन्छ ।
विज्ञानको गतिशीलता सर्वस्वीकार्य हुन्छ । मुख्यतः विज्ञानलाई भौतिक, जैविक र रसायन गरेर तीन भागहरुमा वर्गीकरण गरेर पदार्थको स्वरूपलाई व्याख्या गरिएको हुन्छ । हरेक किसिमको विज्ञानमा पदार्थको गतिशीलता अनिवार्य हुन्छ । फलस्वरूप पदार्थको भौतिक, जैविक तथा रासायनिक गुणहरुमा परिवर्तन आउँछन्, जुन कुरालाई पदार्थ रूपान्तरणको अवस्था तथा आवश्यकताले निर्धारण गर्दछ । भौतिक पदार्थहरुको बीचमा हुने विभिन्न शक्ति सन्तुलन, घर्षण तथा उर्जा सञ्चयको प्रक्रिया र त्यसैको आधारमा परिभाषित भौतिक विज्ञानमा कुनै समय मानव जीवनको अस्तित्व तथा समाज विकास तथा रूपान्तरणका नियमहरु आधारित हुन्थे भने समयको परिवर्तनसँगै विज्ञानमा आएको विकासको प्रभावस्वरूप विभिन्न खोज तथा अनुसन्धानले गर्दा पदार्थहरुको अवस्थिति नै शक्तिको श्रोतको रूपमा परिभाषित भई भौतिक विज्ञान अगाडि आई रहेको छ ।
त्यस्तै, विभिन्न जिवजन्तु तथा वनस्पतिहरु पनि कुनै समय एक प्रकारका थिए भने समयसँगै रूपान्तरित भई नयाँ नयाँ जिवजन्तुहरु तथा वनस्पतिमा रूपान्तरण भएका छन् । अर्कोतर्फ डाइनासोर कुनै बेला पृथ्वीमै ठुलो प्राणीमा पर्दथ्यो तर त्यसको विकसित स्वरूप अनुकूल वातावरणको अभावमा लोप हुन पुग्यो । यसबाट के देखिन्छ भने रूपान्तरणको प्रकृया तथा गतिशीलताको निश्चित नियमहरु थेग्न नसक्ने र रूपान्तरित भई नयाँ बन्न नसक्ने सम्पूर्ण चिजहरुको अस्तित्व रहदैन भन्ने कुराको प्रमाणलाई विज्ञानले बलियोसँग प्रस्तुत गर्दछ । यसरी पदार्थ रूपान्तरित भई नयाँ पदार्थ बन्ने प्रकृयामा पदार्थको रासायनिक स्वरूपको आन्तरिक रूपान्तरण नै प्रमुख हुन्छ । अतः विज्ञानको गतिशीलता ती तीन प्रकारहरुमा निर्भर रही यसका विभिन्न स्वरूपमा पदार्थहरुको विभिन्न चक्रहरुको परिणाम हो भन्ने कुरा पनि पुष्टि हुन्छ ।
जब प्रकृतिमा रहेका विभिन्न चक्र तथा घटनाहरुलाई विज्ञानले निश्चित नियममा बाध्दछ, त्यस बेला ती चक्र तथा घटनाहरुलाई त्यही प्रकृतिमा रहेका विभिन्न जिवजन्तु तथा बहुसङ्ख्यक मानिसहरुले स्वीकार गर्ने अवस्था रहन्छ । त्यसको परिणमस्वरूप विज्ञानका नियमहरु मानव जीवन विकासको साधकको रूपमा स्थापित हुन्छन् र अन्ततः ती घटनाहरु कुनै निश्चित नियम सहित समाज तथा विश्वमा एउटा सर्वमान्य वाद को रूपमा स्थापित हुन्छन् । विज्ञान घटनाको प्रमाणको प्रतिमूर्ति पनि हो । त्यस कारण मानव तथा समाज शास्त्रमा पनि व्याख्या गर्न सकिने घटना तथा नियमहरुलाई वैज्ञानिक दृष्टिकोणबाट हेर्न सकिन्छ । त्यसरी नै यही मानव तथा मानव जातिभित्र हुने अनेकौँ समुदायहरुको संस्कृति, चालचलन तथा रीतिरिवाजले पनि आपनै किसिमको पृथक् दृष्टिकोणहरु बोकेका हुन्छन्, चाहे ती सत्यतामा आधारित हुन्, चाहे असत्यतामा आधारित । यहाँनिर एउटा महत्वपूर्ण कुरा के आउँछ भने मानिसहरुको समूह अर्थात्् एक अर्थमा समाजको सामाजिक उन्नति र सामूहिक हितका निम्ति गरिने सङ्घर्षमा सहयोगी तथा असहयोगी भूमिकामा धेरै मानिस तथा तिनीहरुका प्रवृत्ति देखा पर्न सक्दछन् । तीमध्ये सहयोगी तत्व र असहयोगी तत्वहरु दुवैको दृष्टिकोण आ–आफ्नो ढङ्गबाट सही हुन्छन् तर सत्य अर्थात् विज्ञान एउटै हुन्छ र सहयोगी तत्वकै पक्ष सत्य सावित हुन्छ ।
संस्कृति कुनै पनि मानव समुदायको पहिचान हो । संस्कृतिभित्र उक्त समुदायका अनेकौँ पक्षहरु समावेश भएका हुन्छन् । समुदायभित्र रहेका हरेक जात÷जाति, धर्म, वर्ग, लिङ्ग तथा क्षेत्रहरुको आ–आफ्नै मौलिकतामा संस्कृतिको निर्माण तथा विकास भएको पाइन्छ । आदिम साम्यवादी युगमा प्रकृतिसँगको सङ्घर्ष, प्रकृतिको उपभोगका नियमहरुको खोज तथा मानव अस्तित्वको रक्षाका साथै विकासका निम्ति गरिने क्रियाकलापहरु एउटा संस्कृतिको रूपमा रहेको थियो । त्यसपछिका विभिन्न युग तथा समय चक्रमा मानव सभ्यतामा भएको विकास, सामाजिक संरचनामा आएको परिवर्तन तथा मानिसमा हुर्कदै गएको चेतनाले आदिम युगको संस्कृतिमा रूपान्तरण आयो । सामाजिक तथा सांस्कृतिक पक्ष दास युग, सामन्तवादी युग हुँदै पँुजीवादी युगसम्म आई पुग्दा तिनै समय अनुकूल अवस्थाहरुमा रह्यो ।
आदिम साम्यवादी युग पछाडिका सांस्कृतिक पक्षहरुमा खास गरी मानिस मानिसबीचको सङ्घर्षको परिणामस्वरूप पनि संस्कृतिमा परिवर्तन आउँदै गयो । यहाँनिर के देखिन्छ भने संस्कृति समाजको एउटा सिलसिला, परम्परा हो र यसका अनुयायी तथा पक्षपातिहरु घटनाको पात्रको रूपमा आउँछन् भने चेतना तथा मानिसको सोचाइ एउटा परिवर्तनशील तत्वको रूपमा रहन्छ । चेतनामा आएको परिवर्तनले नै संस्कृति अर्थात् घटनाको परिवर्तन सम्भव हुन्छ र जुन विज्ञानसम्मत छ । यसरी हुने परिवर्तन कुनै न कुनै गतिशीलताको कारणले सम्भव भएको कुरा पनि सत्य हो । यसबाट के देखिन्छ भने समाजको सांस्कृतिक पक्ष पनि गतिशीलतामा आधारित नै छ र सकारात्मक होस् या नकारात्मक होस्, संस्कृतिमा परिवर्तन पनि निश्चित छ । संस्कृतिमा हुने परिवर्तन समाजको वर्ग तथा त्यसका बहुआयायिक पक्षहरुसँग पनि प्रत्यक्ष रूपमा जोडिएको छ ।
विश्वभरको इतिहासमा ऐतिहासिक परिवर्तन र तिनीहरुले ल्याएको सामाजिक रूपान्तरणका पक्षहरुलाई अध्ययन गर्दा समाजको वर्गीय रूपान्तरणसँगै संस्कृतिमा पनि रूपान्तरण आएको पाइन्छ । किनभने प्रगतिशील समाजमा सङ्घर्षको चरणमा समाजको वर्ग र त्यहाँको संस्कृतिलाई परिवर्तनको हिसाबले एक सिक्काका दुई पाटाको रूपमा लिन सकिन्छ । नेपालको सन्दर्भमा हाम्रो राष्ट्रिय पहिचान परम्परागत आस्था तथा मूल्य र मान्यताको आधारमा नै व्याख्या गरिएको पाइन्छ । देशमा चलेका हालसम्मका ठुला राजनीतिक सङ्घर्ष तथा विद्रोहहरुले ल्याएका सामाजिक परिवर्तनसँगै समाजको सांस्कृतिक पक्षहरुमा पनि व्यापक परिवर्तनहरु आई रहेका छन् ।
देशभित्रका विभिन्न जात÷जाति, धर्म, वर्ग, लिङ्ग तथा क्षेत्रगत हिसाबमा फरक फरक संस्कृतिहरु रही आएका छन् । खास गरी २०६२–६३ को आन्दोलन पश्चात् हिन्दू अधिराज्य नेपाल धर्म निरपेक्ष राष्ट्रको रूपमा घोषित अवस्थामा छ । यस अवस्थासम्म आई पुग्दा नेपाली जनताले धर्म तथा संस्कृतिको नामबाट विभिन्न प्रकारका सामाजिक तथा वर्गीय विभेदहरुको सामना गर्नु परेको थियो । अहिलेको समयमा पनि यो कुरा कुनै न कुनै रूपमा यथावत छ र मात्रै गतिशीलताको नियम अनुसार संस्कृतिको स्वरूपमा नकारात्मक स्वरूप यथावत रहने नै गरी परिवर्तनहरु आएका छन् । अन्तरिम संविधानको दोस्रो संशोधनबाट जब नेपाललाई विभिन्न राज्यहरुमा विभाजन गरी शासन व्यवस्थाको स्थापना गर्ने (सङ्घीयता) भनियो । त्यस पश्चात् विभिन्न जात÷जातिहरुले विभिन्न धर्म तथा जात र क्षेत्रको आधारमा देश विभाजन गर्नु पर्छ भन्ने माग गरे । त्यसले पनि समाजको संस्कृतिलाई प्रगतिशीलतातर्फ अगाडि बढ्नबाट रोक्न सक्ने निश्चित छ । विशेषतः सहरी इलाकाको तुलनामा ग्रामीण भेगहरुको सांस्कृतिक पक्ष पुरातन तथा वर्गीय रूपमा पूर्वाग्रही प्रकारको रहेको छ । विशेषतः हिन्दू धर्म र यस अनुसारको संस्कृति नै स्थापित हाम्रो समाजमा केही सीमित समुदायहरु संस्कृति बचाउने ठेकेदारको रूपमा स्थापित छन् । प्रमुखतः कथित उपल्लो जातीय समुदायका मानिसहरु उच्च पद तथा कार्यविधिहरुका निर्माता छन् भने तिनीहरुका पक्षधरको रूपमा उनीहरुकै सेवक अन्य समुदायका मानिसहरु छन् । अन्य जातहरुमा पनि जातीय विभेद तथा तहकै आधारमा कतिपय सांस्कृतिक पक्षहरुमा सामन्ती चरित्रमा आधिपत्य जमाउने काम भएका नै छन् । तर समग्रमा भएसम्म कथित उपल्लो जातीय समुदायका मानिसहरुबाटै सम्पूर्ण धार्मिक क्रियाकलापहरु सम्पन्न पार्ने प्रचलन यथावत छ ।
यहाँनिर कथित उपल्लो जातीय संस्कारको चर्चा गरी रहेको अवस्थामा तिनै कथित उपल्लो जातीय समुदायका मानिसहरुको जुन प्रकारका धेरै खाले चरित्रहरु देखा परी रहेका छन्, ती चरित्रहरुको अध्ययन गर्दा समाजमा मानिएको संस्कृति हिन्दूवादको रूपमै स्थापित भई रहेको अवस्था छ । धेरै खाले चरित्रको एउटा मात्रै उदाहरण हेर्दा के भेटिन्छ भने एउटै कथित उपल्लो जातीय समुदायले त्यो भन्दा तल्लो मानिएको समुदायमा सम्पूर्ण धार्मिक कार्यहरु सम्पन्न गराउँछ । तर धार्मिक कार्यको समयमा बाहेक अन्य समयमा तल्लो जात भन्दै उसले छोएको खादैन । त्यस कारण उनीहरुको यो चरित्र सानो पैसाको लोभलालचमा मनलागी गर्ने तथा समाजको सामन्तवादी चरित्रलाई मलजल गर्ने खालको देखिन्छ । कतिपय वैवाहिक तथा अन्य धार्मिक समारोहमा धर्म बचाउने पक्षमा पनि तिनै कथित उपल्लो जातीय समुदाय नै अगाडि देखिन्छ । विवाहमा पण्डितहरु बोलाएर यज्ञ लगाउने, भोजभतेर लगाउने, दाइजोहरु लेनदेन गर्ने लगायतका सामाजिक रूपमा विकृत संस्कार तथा संस्कृतिहरुको रक्षाकवचको रूपमा कथित उपल्लो जातीय समुदाय नै अग्र पङ्तिमा रही रहेको छ । समाजका हरेकजसो परम्परागत संस्कार तथा संस्कृतिहरुमा हिन्दूवादको नै एकछत्र आधिपत्य छ र अन्य जात÷जातिहरुले पनि त्यो एकछत्रता कायम हुने अवस्थालाई मलजल गर्न बाध्य रहेका छन् । यसबाट के देखिन्छ भने हिन्दूवाद एक्लो पात्र होइन, यो विभिन्न समुदायहरु सम्मिलित एउटा खराब प्रवृत्ति हो । यसले वर्ग सङ्घर्ष तथा समाजको अग्रगामी परिवर्तनलाई निस्तेज पार्नका लागि भूमिका खेली रहेको छ ।
हिन्दूवादी सांस्कृतिक परम्परामा कर्ताका रूपमा ब्राह्मण समुदायहरु अगाडि देखिन्छन् । तर त्यो रूप पक्ष मात्र हो । अन्तर्यमा ब्राह्मणहरु सबै वर्गीय रूपमा सम्पन्न स्थितिका नहुन पनि सक्छन् । एउटा यथार्थ यो हो– ब्राह्मण समदुायको एउटा भाग अहिले पनि विपन्न छ वा ठुलो भाग अर्ध सर्वहारा वा निम्न पँुजीवादी तप्काको छ । त्यस कारण सम्पूर्ण ब्राह्मण समुदायलाई हिन्दूवादको क्याडर ठान्नु गलत हुने छ । सांस्कृतिक रूपान्तरणमा अगाडि बढ्दा तिनै उत्पीडित ब्राह्मण समुदायलाई पनि साथै लिएर आदर्शवादको विरुद्ध उभिनु पर्ने छ । वस्तुगत रूपमा विचार गर्दा कम्युनिस्ट नैतिकता, आचरण र अनुशासन अपनाउन स्वयं ब्राह्मण समुदायबाट आएका कम्युनिस्ट पार्टीका सदस्यलाई धेरै नै कठिन छ । उनीहरुमा जुन लामो समयदेखिको संस्कार, संस्कृति र परम्परा छ, यो पक्षले जसरी उनीहरुमा सामाजिक रूप लिई सकेको छ, त्यसको सापेक्षता कम्युनिस्ट नैतिकता, आचरण र अनुशासन कायम गर्न निकै गाह«ो छ । त्यस कारण जातिवादीहरुले जस्तो जातीय दृष्टिकोणवाद कथित ब्राह्मणवादको चर्चा गर्नुभन्दा तिनै ब्राह्मण समुदायबाट आएका समुदायलाई लिएर प्रगतिशील तथा कम्युनिस्ट नैतिकता, आचरण र अनुशासनको पक्षमा पहलकदमी गर्नु उचित हुने छ ।
समाजमा रहेका हरेक समुदाभित्रका हुने खाने र हुँदा खाने मानिसबीचको विभाजन नै वर्गीय विभाजन हो । हुने खानेले हुँदा खानेमाथि गर्ने सम्पूर्ण किसिमका अन्याय तथा अत्याचारहरु अन्त्यका निम्ति कठिन तथा लामो सङ्घर्ष आवश्यकता पर्दछ । सांस्कृतिक रूपान्तरण तथा त्यसको अग्रगामी रूपान्तरणको प्रश्न पनि वर्गीय मुक्तिसँगै जोडिएको एक महत्वपूर्ण प्रश्न हो । वर्गिय मुक्तिका लागि सांस्कृतिक रूपान्तरण अनिवार्य हुन्छ । त्यही सांस्कृतिक रूपान्तरणको प्रकृयालाई समाजका शोषित वर्गहरुको चेतना स्तरसँगै जोडेर उनीहरुलाई वर्गीय मुक्तिका निम्ति सहभागी गराउने प्रयत्न गर्नु जरुरी हुन्छ । आज त्यही समाजको सांस्कृतिक पक्षहरुमा जसरी हिन्दूवादको चरित्र प्रमुखका साथ स्थिर अवस्थामा रही रहेको छ र त्यसले सांस्कृतिक रूपान्तरणमा नकारात्मक भूमिका खेली रहेको छ । त्यसको अन्त्य हुनु पर्दछ । त्यसका निम्ति सम्पूर्ण शोसित वर्गहरु सचेतताका साथ अगाडि बढ्नु पर्दछ ।

युवामा भूमिगत भएका एक जनाको चिठी
फिलिपिन्सको असफल वामपन्थी आन्दोलनको धेरै वर्षपछि एक जना कार्यकर्ताको सम्झना
पत्रिसियो ना. आबिनालेस
(पत्रिसियो न. आबिनालेस फिलिपिन्स विश्व विद्यालय–दिलिमान १९७२ को ब्याचको हुन्, जुन सालमा मार्कोसले सैनिक शासन घोषणा गरेको थियो । १९८६ अघि नायक भागेर देश छोड्यो भन्ने कुरा सुन्दा ऊ कामरेड र साथीहरुसँग सडकमै रोएर बसी रहेको थियो । अहिले उनी हवाई विश्व विद्यालयको प्यासिफिक र एसियाली अध्ययन विभागमा पढाउँछन् ।)
फेर्डिनन मार्कोस डिकटदोर बन्दा म १६ वर्षको थिएँ । ऊ र उसको निकृष्ट स्वास्नीको शासनमा म ३० वर्ष पुगेको थिएँ । त्यसैले साथीहरुले खानपिनका लागि भेटेर युवाकालका बारेमा सोध्दा म धेरैजसो हिच्किचाउँछु र मलाई अप्ठ्यारो लाग्छ ।
धेरै जना साथीहरु यस्ता प्रश्नको जवाफ दिदा निजी कुरामा ध्यान दिन्छन् । उनीहरुले भन्लान्– मोजमस्ती गरे । रक्सी खाएँ । केटा अथवा केटीहरुसँग हिडे । बाआमाको पैसा उडाएँ । अलि गम्भीर हुनेहरुले आफ्ना समय राम्रा गुरुहरुसँग, पुस्तकालयमा वा जागिर खानेको तयारीमा बिताएको गर्वसाथ बताउलान् ।
यस्ता जवाफ प्रायः व्यक्तिगत चरित्रको विकाससित सम्बन्धित हुन्छ । अवश्य पनि १६ देखि ३० वर्षसम्मका युवाहरुले आफ्नै विश्लेषण गरेर प्रौढ अवस्थासम्म परिपक्व हुन्छन् । यस सन्दर्भमा राम्रो सङ्गत भयो भने महत्वाकाङ्क्षालाई चुनौती दिन्छ, जसलाई कि जीत प्राप्त गर्नु पर्दछ कि हारेको खण्डमा असफलता स्वीकार्नु पर्दछ ।
मेरो अनुभव अलि फरक थियो । म १६–१७ वर्षमा के गरी रहेको थिएँ भन्ने प्रश्न सोध्नेलाई यो जवाफ दिन्छु– ‘म साम्यवादी विचारधारा अनुसार नेतृत्व गरेको भूमिगत समूहको सदस्य बनेँ, जसको राष्ट्रभरि अधिनायकतन्त्र विरुद्धको आन्दोलनमा विद्यार्थी राजनीति पुनः निर्माण गर्ने उद्देश्य थियो ।
विशेष मैले के के गरेँ भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर छ– अहिले मात्र खुला रूपमा भन्न सक्ने भएको छु । यही हो, म प्रचार प्रसारका लागि पत्रिका छापी रहेको थिएँ । कामरेड र नयाँ बनी रहेका नयाँ कामरेडहरुलाई सूचना दिलाई रहेको थिएँ । केही समयसम्म म आफै हाम्रा रक्षाका निम्ति पिलबक्स बन्ने बम बनाउन सिकी रहेको थिएँ ।
त्यसमाथि म नक्कली पारिवारिक इतिहास रचना गर्ने कलामा पनि सिपालु बनेँ, उपनामहरु सम्झेर र सक्कली नाम र ठाउँ बिर्सेर समेत । अहिले पनि नाम सम्झन गाह«ो लाग्छ, बुढो भएकाले होइन, त्यही तालिमको प्रभावले गर्दा । हाम्रो आकाङ्क्षा के थियो ? कसैकसैले भन्थे– गलत आत्मविश्वास गरेर कि हामी ग्रामीण क्षेत्रमा पठाउने वा सहरमा पूर्ण रूपमा भूमिगत भएर जाने कार्यकर्ताको आदेशको तयारी गरेर बसी रहेका थियौँ । हाम्रो परिवार, साथीभाइ घिनलाग्दो बुर्जुवा जिन्दगीलाई पछि लागेर छोड्न र पुरै सर्वहारा बन्न तयार हुनु पर्दथ्यो ।
हो, हामी यस लक्ष्यको निम्ति मर्न समेत तयार थियौँ ।
हामीले पढ्ने सामग्री तथा हाम्रो तालिमले निर्देशन दियो– धेरै राजनीति र इतिहास, गणित र विज्ञान पुग्ने गरी मात्रै अध्ययन गर्नु पर्दछ । यसै गरी पढ्ने किताब र उपन्यास समेत तालिमले निर्देशन दियो ः माक्र्सको कम्युनिस्ट घोषणा पत्र, लेनिनको के गर्नु पर्छ ? र अवश्य, जोसे मा सिसोनको फिलिपिन समाज र क्रान्ति पनि अनिवार्य पढ्नु पर्दछ ।
अमेरिकन लेखहरु पढ्न हामीलाई वञ्चित गरिएको थियो, साम्राज्यवादी संस्कृति प्रचार गर्ने स्वभाव भएको हुनाले । तर केही लेखलाई हामीले आलोचनाको रूपमा लिन्थ्यौँ । कार्लोस बुलोसन र कहिलेकाहीँ चोम्स्कीको दुई÷चार लेख हामी पढ्थ्यौँ । हलिउड फिल्म पक्कै पनि मनाही थिए । सटर्डे नाइट फिभर जस्तै जन ट्रभोको आश्चर्यजनक कम्मर भाचिने नाचको नक्कल गर्न डिस्को जान निषेध थियो ।
राजनीतिमा चासो नदिने साथीहरुको विचारमा यस्तो पढाइ अनौठो मात्रै थिएन, (तँ मजदुर बन्न चाहन्छस् ? तँ जिन्दगीमा एक दिनको काम पनि गरेकै छैनस् । तेरो मर्ने धोको छ कि क्या हो ?) अति नै बोरलाग्दो पनि हुने थियो । (किताब पढेर रातभरि माओको छलफल गरेर मात्रै बस्छस् ?) । तर हामीले इतिहास हाम्रै पक्षमा थियो भन्ने मतमा विश्वास गर्दथ्यौँ । जनताकै लागि हामी राजनीति गरी रहेका थियौँ । हाम्रो बलिदान हाम्रो बालबच्चाहरुको फाइदाका निम्ति थियो ।
हाम्रो विरोध गर्नेहरुको विचारलाई हामी हेप्दथ्यौँ । यी सानो मन भएकाहरुले हाम्रा उच्च उद्देश्य बुझेकै थिएनन् । त्यसैगरी हाम्रा उद्देश्यसित मतभेद राख्ने पुराना साथी टाढा राख्थ्यौँ । चन्दा लिदा वा भेट्न ठाउँ चाहिएको बेलामा कहिलेकाहीँ मात्रै उनीहरुलाई खोज्न जान्थ्यौँ । एक अर्थमा हामी उपकरणवादी थियौँ । तर पनि जनताका निम्ति हामी दस्तावेज थियौँ ।
लामो अनुभवबाट हामी झन् दृढ भयौँ । जब गाउँतिर र मनिला बाहिरका सहरमा सफलताहरुको समाचार आयो, हामी सहिद भएका कामरेडहरुको विलाप र सम्मान गथ्र्यौं र जेलमा परेकाहरुसँगको एकबद्धता देखाउँथ्यौँ । समातिएकाहरुमाथि गरिएको यातनापूर्ण घटनाहरुलाई चर्चसामु उहाँ मार्फत् सार्वजनिक गराउँथ्यौँ । १९७० को दशक समाप्त हुन लागेको बेलामा क्रान्ति सफल हुने हाम्रो ठुलो अपेक्षा थियो । मात्रै हामीले यस्तो सार्विक विश्वास राख्नु पर्दथ्यो ।
अनि, यसको फल प्राप्त भयो पनि । १९७५ डिसेम्बरमा फिलिपिन्स विश्व विद्यालयमा हामीले पहिलो जुलुस निकाल्यौँ । क्याम्पसमा सुरक्षाकर्मीका लाठीचार्ज खान पुग्यौँ । त्यसका बाबजुद मजदुर र गरिबसँग एकता देखाउन अर्को वर्ष अझै निर्भिक खालको विरोध प्रदर्शन गथ्र्यौं । त्यसपछि १९७७ मा ट्युसन फिस बढाउने मार्कोस सरकारको अचानक निर्णयले गर्दा देशभरि विद्रोही स्वभावका साथ हामी संयोजित रूपमा सडकमा निस्केका थियौँ । त्यस क्रममा फिलिपिन्स विश्व विद्यालयमा कक्षा बन्द भएपछि प्राध्यापक र प्रदर्शक समेत विद्यार्थीसँग कजेल हलमा जम्मा भएका थिए ।
ट्युसन फिस बढाएकोमा विद्यार्थी तथा अभिभावकहरुको सामूहिक रिसको फाइदा उठानका लागि सैनिक शासन घोषणा भएदेखिको पहिलो विद्यार्थी सङ्गठन बनाउन मेरा कोही कमरेडहरुले जिम्मा लिएका थिए । यही नै हो सफलताको एउटा कदम । हामी एक–अर्कालाई भन्दथ्यौँ– हाम्रो धैर्यताको फल प्राप्त भई रहेको थियो ।
तर हामी जति जति प्रतिबन्धित र कठोर बनेका थियौँ, हामी त्यति नै साना थियौँ । जीवनको रङ्ग–तरङ्गको प्रभावबाट आफूलाई बचाउन त्यति शक्तिशाली र सफल थिएनौँ । हाम्रा बुर्जुवा बानी बाँकी रही रहन्थ्यो वा केही समयका लागि फाल्न नसके पनि फेरि फर्केर आउथ्यो । कसैकसैले अमेरिकन फिल्म हेर्न भाग्ने पनि गर्दथे । भर्खर खोलिएको डुन्किन डुनोट्सको मिठाइ खाएर असीम आनन्द लिन्थ्यौँ । नेसनल बुक स्टोरमा सस्तोमा बेचिने हाम्रा उपन्यासहरुलाई गुलियो खाजा जस्तो मिठो मानेर निल्दथ्यौँ । एक जना कार्यकर्ता साथी पनि एक दिन द गडफादर (मलाई सबैभन्दा मन पर्ने फिल्म) हेर्ने अवसर लिन आएका थिए ।
त्यसैगरी बैँसले मातेका मनहरुलाई पनि लाइनमा राख्न गाह«ो थियो । कार्यकर्ताले गर्न हुने र नहुने कुराको सूची दिए पनि, आन्दोलन बाहिरकासँग हिड्ने, कार्यकर्ताको आशिर्वाद बिना एक–अर्कासँग हिड्ने र यौन सम्बन्ध राख्ने, यौनको मोजमस्ती लिने कुरा रोक्न सकिदैनथ्यो । केही समयपछि साधारण सदस्यदेखि लिएर कार्यकर्तामाथि समेत पार्टीको नियम उल्लङ्घनमा यौन अवसरवाद भन्ने आरोप लगाइने गरिएको थियो । यस आरोपलाई धेरैले स्वीकार गरेर सजाय भोगेका पनि थिए । अरू कतिपयले ठुलो पदवाला भएका हुनाले केही सजाय लिनु परेन ।
हामी २४÷२५ वर्षको भएपछि हाम्रा राजनैतिक विचार अलि कम कठोर हुन थाल्यो, विशेष गरी वरिपरि घट्ने घटनाले गर्दा । पहिलो खण्डमा अब बेस एरिया मा विद्यार्थीहरु चाहिएका थिएनन् । मजदुर किसान सङ्गठनहरु आफैले प्रतिबद्ध सदस्यहरु बनाउँदै थिए । उनीहरुलाई हामी जस्ता बुर्जुवा बुद्धिजीवीहरुको खाँचो थिएन । हामी अब आन्दोलनमा कामलाग्दो जस्तो देखिएनौँ ।
मेरा लागि यस भ्रम निवारणले निराशा गराई दियो । कामरेडहरुले स्टालिन, माओ र पोलपोटले गरेका राजनीतिक कारवाहीको समर्थनमा बोलेको सुन्दा मलाई आन्दोलनमा बस्नै मन लागेन र केही समयपछि म निस्केँ । म इतिहासकार हुन खोजेको मान्छेले केही क्रियाकलाप नराम्रो भए पनि समाजवाद संरक्षणका लागि आवश्यक हो भन्ने कुरा स्वीकार्न सकिनँ । १९७८ सम्म म सहयात्री मात्रै भएर चित्त बुझाउन थालेको थिएँ ।
अरू उमेर बढेका कम्युनिस्टहरु नयाँ पुस्तामा केही प्रतिबद्धताको प्रभाव नदेखेर हरेश खान थाले । सैनिक शासनमुनि हुर्काएकाहरुलाई १९६० दशकको आन्दोलनका बारेमा केही पनि थाहा थिएन । यस्तो अराजनैतिक अवस्थाले गर्दा त्यति बेलाका युवाहरु बरु आफ्नो देश वा विदेशमा राम्रो आम्दानी दिने कामलाई आकर्षित मानी रहेका थिए । प्रहरीको नजर जताततै भएकाले पनि यिनी सैनिक शासनका बच्चाहरु लाई कम्युनिस्टहरुको नजिक ल्याउन अत्यन्तै गाह«ो भयो ।
समय अनुसारका परिवर्तन नगरिकन कसै कसैलाई कठोर लाइन लिए सैनिक शासनका बच्चाहरु को बेवास्ताका लागि कडा गाली गरियो । जबसम्म दुई धु्रवीय राजनीत फुट्ने अवस्थामा पुग्छ, तब उनीहरु जबर्जस्ती पक्ष लिनु पर्ने हुने छ भन्ने विश्वास गर्दै साथीहरु भन्थे— सङ्कटले छिटो राजनीतिकरण र क्रान्तिकारी विचार बढ्छ, अनि विद्यार्थी र अरू सबै जनता अवश्य पार्टीसँग आउने छ ।
तर त्यही कुरा त्यसरी भएन । बरु १९८३ मा आकिनोलाई हत्या गरेपछि कुरा झन् झन् जटिल हुँदै गयो । हाम्रा मास बेस, विद्यार्थीहरु क्रान्ति बाहिरका समूहहरुका भटाभट सदस्य बन्दै गए । पहिलो चोटीमा हामी जसले आफैलाई महान् सर्वहारा दाजुभाइ, दिदीबहिनीका स्वर नै भन्ने ठानेका थियौँ, मनिलाका सुनैसुनका टोलका बुर्जुवाहरु सँगसँगै उभिएर एक जना मानव अधिकार टोडेर नाम चलेको कर्नलसँग सहमति ग¥यौँ कि मार्कोसको काल आई सकेको थियो ।
जति नयाँ थियो, त्यति नै अविश्वसनीय पनि थियो । तर पनि नयाँ राजनीति ले एउटा कट्टर र अपरिवर्तनीय विचारधारा, जसले झन् झन् जटिल हुँदै गएको र अति नै परिवर्तन भई रहेको राजनीतिक अवस्थालाई बुझाउन सकी रहेको थिएन । यस्तो राजनीतिक प्रणालीले अन्तिम दिनको पूर्व सूचना दियो । त्यसपछि १९८६ मा फिलिपिनो वामपन्थी संसार बिग्रियो । मार्कोस विद्रोही राजनीति गर्नेहरु, असन्तुष्ट सैनिकहरु, चर्चका प्रिस्ट र पास्टरहरु, मध्यम वर्ग र सर्वहारा वर्ग पनि समेटिएको एउटा सानो अव्यवस्थित समूहले मन्त्रीको विदाइपछि एकीकृत भएर वामपन्थीहरुको सहभागिता बिना अधिनायक तन्त्र ढाल्यो ।
त्यति बेला नै थियो, जब हामीसँग हिँडेका साथीहरु ३० वर्षका भयौँ र फेबु्रअरी २६, १९८६ मा खर्खना र गाउँ जानु बाहेक अरू विकल्पमा पनि थियो भनेर महशुस ग¥यौँ । यी विकसित स्थिति कसरी पत्ता लगायौँ र के के गरेर कार्यरत भयौँ भन्ने कुरा अर्को लामो कहानी हो, जुन भविष्यमा लेख्ने लायक हुने छ ।
१९७२ र त्यसपछिको १४ वर्ष निरङ्कुश शासनमुनिको युवा काललाई फर्केर हेर्दा यस्तो अनौठो मिश्रणको भावना मलाई लाग्छ । एकातिर, दुनियालाई राम्रो बनाउन खोज्ने आदर्श, आशावादी देशका लागि र गरिबकै लागि लडेको सदस्य हुँ भनेर गर्व लाग्छ । सडकमा उठेर लडेको हुनु एउटा साहस देखाउने, गर्वसाथ लगाउने तक्मा जस्तो छ । अर्कातिर, यस गर्वसँग घनिष्ट रूपले बाधिएको दुःख छ । किनकि हामीले राम्रोसँग सुरु गरेको कुरा बिग्रियो, झन् न्यायले निरङ्कुशतामाथि शक्तिशाली भएको बेलैमा ।
अब बुढेसकालमा बस्दा म यो तितोमिठो उपसंहार स्वीकारेको छु र यी कुरा कसरी भयो भनेर लेख्न थाल्नु आवश्यक भएको छ ।

महाकाव्यको परिचय
हरि प्रसाद खनाल
कविताको बृहत्् आयाम बोकेको स्वरूप महाकाव्य हो । साहित्यको सर्वाधिक उर्वर एवं पुरानो विधा कवितालाई मानिन्छ । कविता तत्सम शब्द हो । यस शब्दको ब्युत्पत्ति कवि शब्दमा ता प्रत्यय लागेर कविता शब्दको निर्माण हुन्छ । कवि भनेको कविता लेख्ने, रच्ने भन्ने व्यक्ति भन्ने बुझिन्छ भने कविता शब्दले कविद्वारा गरिएको कर्म वा रचना गरिएको सिर्जना भन्ने हुन्छ । कविलाई पूर्वीय वाङ्मयमा मनिषी परिभू स्वयम्भूको स्थान दिइएको छ । मधुर शब्द वा ध्वनि व्यक्त गर्ने कुनै कुराको मनोरम काल्पनिक वर्णन गर्न सक्ने परमेश्वरीय रूप रचनाशक्तिले सम्पन्न स्रष्टा्को रूपमा कविलाई चिनाइएको छ । समुच्चमा भन्नु पर्दा मधुर भाषाको शब्दमा छन्द वा लयात्मक माध्यमबाट जीवन र जगतको काल्पनिक नव सिर्जन वर्णन गर्ने कविहो भने उसको कार्य वा कृति कविता हो । काव्य शब्दको प्रयोग प्रथमतः सम्पूर्ण साहित्यका अर्थमा लिने गरे पनि हाल काव्य शब्दले अर्थ सङ्कोचको रूपमा कविताको प्रबन्धात्मक उपविधा जनाउने अर्थमा खुम्चिन आएको छ । कविताले भने मुक्तक फुटकर कवितामा मात्र स्थापित भएको छ ।
श्रव्य पाठ्य विधाको रूपमा परम्परागत रूपमा लिदै आएको कविता भाषिक माध्यमका रूपमा गद्यको व्यतिरेक उभिने पद्यात्मक भेद मात्र होइन, भाव र लयको उचित समन्वय रहेको जगत जीवन सम्बन्धी मानवीय अनुभव अनुभूतिको विशिष्ट उक्ति हो । कविताका विभिन्न भेदहरु रूपहरु रहेका छन् । रूपगत आकृति लम्बाइ, गहिराइको स्वरूपका आधारमा चार प्रकारमा विभाजन गर्न सकिन्छ–
१. लघुतम रूप
२. लघु रूप
३. मध्यम वा मझौला रूप
४. बृहत्् रूप
१. लघुतम रूप
कविताको सवैभन्दा छोटो सानो रूप लघुतम रूप हो । तीन हरफदेखि एक अनुच्छेदसम्म रचित कविता लघुतम रूपका रूपमा लिन सकिन्छ । तीन हरफ र १७ अक्षरमा लेखिने जापानी हाइकु र नेपालीमा लेखिने चार हरफे मुक्तकमा कविताको सङ्क्षिप्त रूप पाइन्छ । तीनहरफ बढी भएमा कविताको लघुतम रूप तयार हुन्छ । गीत स्तुति र सूक्तका सङ्क्षिप्त रूपहरु लघुतम कविता हुन् । आकारमा सानो भए पनि जीवनका क्षणिक अनुभूति र विचारको सूत्रात्मक प्रस्तुति रहेको हुन्छ ।
२. लघु रूप (फुटकर कविता) ः
मुक्तकभन्दा अलि विस्तृत तर खण्डकाव्य भन्दा सानो कविताको रूप लघु कविता हो । फुटकर कविता गीत गजल लघु कविता हुन् । यसको संरचना दुई श्लोक वा अनुच्छेददेखि बढीमा सयौँ हरफ पनि हुन सक्छन् । यसमा कविको कुनै खास भावधारा मनोदशाको सिङ्गो अभिव्यक्ति प्रकट गरिएको हुन्छ । रेडियो पत्रपत्रिका आदि सञ्चारका माध्यमबाट प्रचारित प्रसारित लोकगीत आधुनिक गीत फुटकर कविताको रूपलाई लघुरूप मानिन्छ ।
३. मध्यम वा मझौला रूप ः
लघु कविताभन्दा विस्तृत बृहत् रूपभन्दा सानो आकारको कविताको रूपलाई मध्यम रूप भन्न सकिन्छ । कविताले प्रबन्धात्मक आयाम प्राप्त गरेपछि मझौला रूप पाउँछ । गाथाहरु लहरी सवाइ लामा कविताहरु कविताका मध्यम रूप अन्तर्गत पर्दछन् । भावनाको आख्यानीकरण गर्दै मानव जीवनको कुनै एक पक्षसँग सम्बन्धित विषयको प्रस्तुति यसमा रहन्छ । संस्कृतको कोषकाव्य स्वच्छन्दतावादी गीतिकाव्य प्रयोगवादी लामा कविता यसमा पर्दछन् । खण्डकाव्यमा जीवनको एक भाग वा खण्डलाई परिच्छेद वा सर्गमा विभाजन गरी लेखिन्छ । आख्यानात्मक र आख्यान निरपेक्ष सुक्ष्म आख्यान वा आख्यानको विकल्पमा केन्द्रीय कथ्य चेतना प्रवाह शैलीमा लेखिएका लामा कविताहरु मझौला आयाम भएको कविताको उपविधा मानिन्छ ।
४. बृहत् रूप ः
कविताको सवैभन्दा लामो विस्तृत, गहिरो र बृहत् रूप भएको उपविधा महाकाव्य हो । यसका पनि ललित र आर्ष गरी दुई आधारभूत भेदले गर्दा बृहत् र बृहत्तर वा बृहत्तम संरचनाको समष्टिगत रूप नै महाकाव्य भन्न सकिन्छ । यसमा जीवनको समग्रताको सङ्कथन गरिने हुँदा आख्यानीकरणको अनिवार्यता रहन्छ । आर्ष महाकाव्यमा त कुनै जाति समाज वा युगको विराट धरातलमा जीवन र मानवताको विविधता र विशालताको विस्तृत भन्दा विस्तृत सङ्कथन गरिने भएकाले यसमा विभिन्न उपकथाहरु संयोजन रहन्छ । महान्् कवित्वको गरिमा महिमा अपेक्षित हुनु स्वाभाविक मान्नु पर्छ । कविताको सबैभन्दा विशाल उपविधा महाकाव्य हो । सुक्ष्म आख्यान भएको भाव विचारमा आधारित ललित नव्यकाव्य तरुण तपसीलाई पनि महाकाव्यधर्मी रचनाको रूपमा लिइन्छ । पश्चिमी साहित्यमा महाकाव्यलाई वीरकाव्य भनि पनि चिनिन्छ ।
महाकाव्य सम्बन्धी पूर्वीय एवं पाश्चात्य विद्वानहरुका धारणा
महाकाव्यको स्वरूप निर्धारण गर्न वा स्पष्ट पार्ने क्रममा विभिन्न विद्वानहरुले परिभाषा दिएका छन् । हजारौँ वर्ष पहिले काव्यलाई श्रव्य र दृष्य दुई हाँगामा विभाजित गरिएको पाइन्छ । छापाखानाको विकास भएपछि पाठ्य काव्यका रूपमा पनि स्थापित भएको मान्न सकिन्छ । पूर्वीय साहित्यमा महाकाव्यको विस्तृत चर्चा व्याख्या गरिएको छ । नाटकलाई जति महत्व दिइएको छ । त्यसै गरी महाकाव्यलाई पनि प्राचीनतम विधाको रूपमा पाश्चात्य साहित्यमा महत्व दिइएको छ । पूर्वमा बाल्मिकीको रामायण व्यासको महाभारत सर्वप्राचीन महाकाव्य मानिन्छ । पश्चिममा होमरको इलियट र ओडिसीलाई प्राचीनतम महाकाव्य मानिन्छ । महाकाव्य लेखनको परम्परा हजारौँ वर्ष पुरानो रहेको छ । पूर्व र पश्चिममा यिनै प्राचीनतम महाकाव्यको आधारमा रहेर आ–आफ्ना महाकाव्यीय मान्यतालाई अगाडि सारेका छन् ।
पूर्वीय दृष्टिमा महाकाव्य
अग्नि पुराणमा महाकाव्यका विषयमा चर्चा भए पनि आफ्नो धारणा अगाडि सार्ने पूर्वीय आचार्य भामह हुन् । इसाको पाँचौँ शताब्दीमा आफ्नो काव्यालङ्कार कृतिमा भामह भन्दछन्– “लामो कथानक भएको महान् चरित्रमा आधारित नाटकीय पञ्च सन्धि सहित उत्कृष्टम र अलङ्कृत शैलीमा लेखिएको, जीवनका विविध रूप र कार्यहरुको वर्णन गर्ने सर्गबद्ध सुखान्त काव्य नै महाकाव्य हो ।” आचार्य भामहले आधारभूत कुरा सहित सङ्क्षिप्त भएको हुँदा उनको परिभाषाबाट धेरै पूर्वीय विद्वानहरु प्रभावित छन् ।
छैटौँ शताब्दीमा आचार्य दण्डीले आफ्नो काव्यादर्श ग्रन्थमा महाकाव्यलाई यसरी चिनाउँछन्– “महाकाव्य सर्गमा बाँधिएको प्रारम्भ मङ्गलाचरणबाट गरिने, कथानक इतिहास प्रशिद्ध वा कुनै सत्यमा आधारित, चतुवर्गको फलप्राप्ति मा आधारित, उद्देश्य, नायक चतुर र उदाप्ता, सहर, समुद्र, पर्वत, ऋतु, चन्द्रोदय, सूर्योदय, जलक्रिडा, विवाह, बिछोड आदिको सुन्दर वर्णन सहित अनेक भाव, रस, अलङ्कारले सिँगारिएको, पञ्चसन्धियुक्त, सर्गको अन्त्यमा बेग्लै छन्दको प्रयोग महाकाव्यमा गरिन्छ ।” आचार्य दण्डीले महाकाव्यमा वर्णन गरिने विषय प्रारम्भ सर्ग र छन्दको प्रयोग जस्ता स्थूल बाह्य पक्षमा विशेष जोड दिएको देखिन्छ ।
सातौँ शताब्दीमा आउँदा रुद्रटले महाकाव्य धारणा विस्तृत रूपमा प्रस्तुत गरेका छन् । रुद्रटका अनुसार “महाकाव्यको कथा उत्पाद्य वा अनुत्पाद्य पनि हुन सक्छ तर त्यो लघु हुनु हुँदैन, विस्तृत हुनु पर्छ । यसमा अवान्तर कथाहरु पनि समाविष्ट हुन्छन् । यसले युग जीवनका विविध रूप पक्ष तथा घटनाहरुको चित्रण गर्दछ । यसको नायक द्विजकुलोत्पन्न सर्वगुण सम्पन्न महान् वीर विजिगिषु शक्तिमान नीतिज्ञ कुशल राजा हुन्छ । अन्त्यमा उसैको विजय हुन्छ, साथै यसमा प्रतिनायक र उसको कुलको पनि वर्णन हुन्छ ।” रुद्रटले पूर्ववर्ती महाकाव्य संस्कृतका र प्राकृत अपभ्रशं रोमान्टिक महाकाव्यलाई ध्यानमा राखेर महाकाव्यको स्वरूपलाई निर्धारण गरेका छन् । उनको धारणामा पूर्ववर्ती परिभाषामा थप कुरा कथावस्तु काल्पनिक पनि हुन सक्ने रहेको छ ।
रुद्रटपछि महाकाव्यका विषयमा कलम चलाउने विद्वानहरुमा हेमचन्द्र र विश्वुनाथ हुन् । हेमचन्द्रले दण्डीको परिभाषामा थपथाप गर्दै काव्यानुशासन ग्रन्थमा भन्छन्– “महाकाव्यमा जीवनका व्यापक अनुभव र कार्यहरुको चित्रण हुनुका साथै शब्दवैचिग्य, अर्थवैचिग्य, उभयवैचिग्यमा रसानुरूप सन्दर्भ अर्थानुरूप छन्द अनि समस्तलोकरञ्कता आदी हुनु पर्छ ।”
आचार्य विश्वनाथले साहित्यदर्पन ग्रन्थमा महाकाव्यलाई रेखाङ्कन गर्दै बताए अनुसार सर्गहरुमा बाँधिएको पद्यकाव्य विशेष नै महाकाव्य हो ।
कुनै एक जना मात्र धीरोदात्त गुणलेयुक्त देवविशेष वा प्रख्यात वंशको राजा नायक हुन्छ । कुनै कुनैमा भने एउटै कुलीन वंशमा उत्पन्न अनेकराजाहरुलाई पनि नायक बनाउन सकिन्छ ।
– शृङ्गार वीर शान्त रसमध्ये कुनै एउटा अङ्गी अन्य सहाएक रस प्रयोग हुन्छ ।
– नाटकका सबै सन्धिहरु आवश्यक मानिन्छ ।
– कथावस्तु ऐतिहासिक वा कुनै महापुरुषको जीवनसँग सम्बद्ध लोक प्रसिद्ध हुनु पर्छ ।
– धर्म, अर्थ, काम, मोक्ष चारै पुरुषार्थ देखाई कुनै एक वर्गको फल प्राप्तिसम्म पुग्नु पर्छ ।
– नमस्कारात्मक आशीर्वादात्मक र वस्तुनिर्देशनात्मकमध्ये कुनै एक प्रकारको मङ्गलाचरणबाट महाकाव्यको प्रारम्भ गर्नुका साथै दुर्जनको निन्दा र सज्जनको प्रसंसाबाट पनि थालनी गर्न सकिन्छ ।
– प्रत्येक सर्गका पद्यहरु कुनै एउटै छन्दमा रचिनु पर्छ र प्रत्येक सर्गको अन्तिम पद्य अर्कै छन्दमा हुनु पर्छ ।
– साह«ै छोटा पनि नभएका र सारै लामा पनि नभएका आठभन्दा बढी सर्गहरु रहन्छन् ।
– कहीँ कहीँ नानाछन्दहरुमा रचना गरिएका श्लोकहरु पनि हुन सक्छन् ।
– सर्गको अन्तिम पद्यले अगाडि आउने सर्गको कथाको सङ्केत गरेको हुनु पर्छ ।
– साँझ–बिहान सूर्य–चन्द्र रात–दिन प्रदोष–अन्धकार शिकार पर्वत ऋतु वन–उपवन समुद्र संयोग–वियोग मुनि स्वर्ग सहर यज्ञ लडाइ“ यात्रा विवाह साम दाम दण्ड भेद पुत्रजन्म आदि विषयहरुको यथास्थान वा यथासम्भव साङ्गोपाङ्ग वर्णन गरिन्छ,
– महाकाव्यको नामाकरण कविको नायकको वा कथावस्तुको वा अन्य आधारमा राख्न सकिन्छ ।
– प्रत्येक सर्गको नाम त्यही सर्गमा वर्णित विषयवस्तुको आधारमा राखिन्छ ।
यसरी महाकाव्यका विषयमा पूर्वीय आचार्यहरुमध्ये विश्वनाथले दिएको परिभाषा विस्तृत रूपमा रहेको र उनका महाकाव्यीयमान्यताहरु आजसम्म धेरै हदसम्म मानिदै आएको छ ।
पाश्चात्य दृष्टिमा महाकाव्य
पश्चिमी साहित्यमा महाकाव्यलाई दुई वर्गमा बाँडिएको पाइन्छ ः विकसित महाकाव्य, कलापूर्ण वा अलङ्कृृत । महाकाव्य महाकवि होमर, इलियड र ओडिसी विकसित महाकाव्य हुन् भने महाकवि भर्जिलको इनिड, महाकवि दातेको डिभाइन कमेडी, मिल्टनको प्याराडाइज लस्टक र प्याराडाइज रिगेन्ड जस्ता महाकाव्यहरु कलापूर्ण महाकाव्य हुन् । महाकाव्यका सम्बन्धमा पश्चिमी परम्परामा कलम चलाउने आचार्य अरस्तु हुन् । अरस्तुले (इ.पू. ३८४–३२२) काव्यशास्त्रमा नाटकका विषयमा विस्तृत चर्चा गरेका छन् । उनका दृष्टिमा महाकाव्य काव्यानुकृतिको एक भेद हो । यसको कथानक त्रासदी समान हुन्छ । त्यसमा आदिमध्ये र अन्त्य मिलेका घटनाको विकास रहेको हुन्छ । त्यसमा उचित आनन्द प्रदान गर्ने शक्ति हुन्छ, यो इतिहास मात्र होइन । महाकाव्यको कथानक इतिहासबाट चयन गरिएको हुन्छ । यसमा त्रासदीका जस्तै उच्च स्तर, कोटीको पात्रको पद्यबद्ध अनुकृति रहन्छ । यसमा जीवनका विविध पक्षको चित्रण तथा प्रासङ्गिक कथाहरुका साथै अति प्राकृतिक वा अलौकिक तत्वहरु समावेश हुन्छ । असम्भव घटनाहरु हुनु पर्छ भन्ने होइन, भाषा असामान्य शब्दहरुको हुनु हुदैन । शैली गम्भीर र उदात्तता अपेक्षित रहन्छ । अरस्तुले इलियड र ओडिसी महाकाव्यका आधारमा प्रस्तुत गरेको देखिन्छ । पश्चिमी क्षेत्रमा महाकाव्यको विस्तृत र गहिरो लक्षण प्रस्तुत गर्ने काम अरस्तुबाट नै भएको पाइन्छ ।
अरस्तुपछि एबर क्रोम्बीले द एपिक ग्रन्थमा महाकाव्यलाई चिनाउदै निम्न कुरा भनेका छन्– ठुलो आकार हुँदैमा महाकाव्य हँुदैन । जब कविको कल्पना, विचारधारा तथा उसको अभिव्यक्तिबाट विशेष शैलीको प्रयोग महाकाव्यमा हुन्छ । त्यसले काव्यलाई महाकाव्य बनाई दिन्छ । यसमा एउटा पुष्ट स्पष्ट एवं प्रतीकात्मक उद्देश्य रहेको हुन्छ, जसले महाकाव्यको गतिलाई आद्योपान्त सञ्चालन गर्दछ । क्रोम्बीले महाकाव्यको प्रबन्धात्मक संरचना शैली कविको कल्पना विचारको उदात्तता उद्धेश्य सङ्गठन गतिशील हुनु पर्ने कुरामा जोड दिएका छन् ।
पश्चिमी समालोचक सी.एम. बाबरा र वाल्टेयरले पनि विशुद्ध चर्चा गरेका छन् । समालोचक जे.ए. कडनका अनुसार महाकाव्य एउटा लामो आख्यानात्मक, वर्णनात्मक कविता हो, जुन बृहत् रूपमा रचना गरिएको हुन्छ । योद्धा वा नायकहरुले गरेका कार्यहरुसँग सम्बन्धित हुन्छ । बहुआयामिक नायक र केन्द्रीय कथा जसमा लोककथा मिथक दन्त्यकथा इतिहास मिसिएको हुन्छ । इतिहास र राष्ट्रकै उच्च अभिलाषा आकाङ्क्षा प्रदर्शित गर्ने भएकाले राष्ट्रिय महत्वको हुन्छ । तर कहिलेकाँही दम्भपूर्ण पनि हुन सक्छ । मूलतः महाकाव्य दुई प्रकारका हुन्छन् ः प्राथमिक, जसलाई मौखिक वा आदिम कालीन दोस्रो, जसलाई साहित्य भनिन्छ । मौखिक, परम्परागत र पटक पटक दोहो¥याइन्छ र धेरै लामो समयपछि मात्र कुनै कुनै स्थितिमा मात्र लेखिन्छ । दोस्रो सुरुमै लेखिन्छ ।
नेपाली साहित्यका प्रसिद्ध समालोचक वासुदेव त्रिपाठीका अनुसार महाकाव्य त्यही हो, जसले कुनै जाति राष्ट्र र युगको समग्र जीवनका विविध पक्ष र रूपहरुको प्रस्तुतीकरण सुसङ्गत कवितात्मकद्वारा गर्न सकियोस् ।
समालोचक भानुभक्त पोखरेलले आफ्नो सिद्धान्त र साहित्यमा महाकाव्यलाई चिनाउदै भन्छन्– महाकाव्य भनेको विशिष्ट गरिमा महत्व र ओजनले भरिएको सुसङ्गठित, विशाल काव्याकृति हो ।
माथि उल्लेखित पूर्वीय पश्चिमी नेपाली विद्वानहरुले दिएका महाकाव्य सम्बन्धी मान्यताहरुलाई तुलनात्मक अध्ययन गर्दा पूर्वमा अग्नि पुराण, भामह, रुद्रट, दन्डी, विश्वनाथसम्म आई पुग्दा र पश्चिममा अरस्तु, क्रोम्बी, बाबरा, वाल्टयेर, कडनसम्म आई पुग्दा महाकाव्यको आकार, स्वरूपका विषयमा विस्तृत व्यापक परिष्कृत परिमार्जित व्याख्या धारणा दिएको पाइन्छ । अन्य समालोचकहरुको धारणामा पूर्णता नभएको भए पनि पूर्वमा विश्वनाथ र पश्चिममा अरस्तुका महाकाव्यीय लक्षण आधिकारिक र उपयुक्त रहेको मान्न सकिन्छ ।
समग्रमा भन्नु पर्दा महाकाव्य युग, समाज, जीवन जगत, सभ्यता, संस्कृतिलाई समावेश गर्ने बृहत् आख्यान उपआख्यान भएको प्रबन्धात्मक रचना हो । यसमा विशिष्ट किसिमको चरित्रहरु गुण प्रभावकारी र गतिशील परिवेश रहेको हुन्छ । विशिष्ट भाव, विचार, लय र छन्दको महाप्रवाह कवित्वलाई समेटेर निर्माण गरिएको हुन्छ । सर्गबद्व संरचना आख्यानको विस्तृत आयाम वातावरणको भव्य स्वरूप प्रतिबिम्बित गरेको हुन्छ । सिङ्गो युग समाज, राष्ट्र, सभ्यता, संस्कृति, जीवनलाई प्रस्तुत गरिएको हुन्छ । विश्वलाई समेत प्रभाव पार्ने बृहत् बृहत्तर वा बृहत्तम स्वरूप भएको महासंरचना महाकाव्यमा पाउन सकिन्छ । महाकाव्यको लेखन पनि असाधारण क्षमता कवित्वको प्रवल प्रवाह भएको विराट प्रतिभाको खाँचो पर्छ भन्दा अत्युक्ति हुँदैन ।
सन्दर्भ सूची
१. जोशी, कुमार बहादुर (२०५२), महाकवि देवकोटा र उनका महाकाव्य, तेस्रो संस्करण, काठमाडौँ ः साझा प्रकाशन ।
२. ढुङ्गेल, भोजराज र दाहाल, दुर्गा प्रसाद (२०६०), नेपाली कविता र काव्य, पहिलो संस्करण, एम.के. पब्लिसर्स एन्ड डिस्टिब्युटर्स, भोटाहिटी, काठमाडौँ ।
३. नेपाली कविता (भाग २), त्रि.वि. नेपाली केन्द्रीय विभाग, साझा प्रकाशन, काठमाडौँ ।
– प्रद्वीप्त दियालो (वर्ष ३, अङ्क ३, २०७४)

गजल÷राम प्रसाद गैरे पाल्पाली
फुल्छ फूल गुलाबको सुकेर झर्न केको बेर ।
जन्मिन्छ धरतीमा मानिस अनि मर्न केको बेर ।१।

बाच्दासम्म लोभको भकारी नभरिने लालची जात ।
लोभैलोभले बेइमानी गहिरो खाडलमा पर्न केको बेर ।२।

आखिर कुनै दिन मानिसको चेतनाले काम गर्ने छ ।
सामन्ती रीतिरिवाज समाजबाट पर सर्न केको बेर ।३।

विश्वास हटाई अविश्वासी चिन्तनको विकास हुँदा ।
जात÷जातिको आडमा भाइ काटमार गर्न केको बेर ।४।

मर्नुभन्दा बौलाउनु निको भने झैँ कामको खोजीमा ।
गरिबीको वेदना पोको पारी समुद्र तर्न केको बेर ।५।

नयाँ दिन
अर्जुन शर्मा
मान्छेको रगत चुस्ने रक्तपिपासुका विरुद्ध
मान्छे मान्छेबीच विभेद पैदा गर्नेका विरुद्ध
किसान मजदुरमाथि अत्याचार लाद्नेका विरुद्ध
ज्वारभाटा जस्तै गर्ने तेरो सोच ।

झन् झन् चट्टान बन्दै गई रहेछ
दुश्मनप्रतिको मेरो घृणा
बादलु झैँ फैलिदै छ
हो, शरीर मेरो अब
सङ्घर्षमा होमिई सक्यो
अब त्यो न त रोकिने छ
न त हार नै स्वीकार्य छ
वर्गयुद्ध जति अगाडि बढ्छ
साहस त्यति बढी रहेछ
दुश्मनको विरुद्धमा शरीर
झन् झन् स्पात बनी रहेछ ।

त्यो हिमाल चुम्ने यात्रामा
म त डाँफे बनी उडी रहेछु
माथि माथि आकाशबाट
नौलो धर्ती देखी रहेछ
हिजोका सपनाहरु आज
विपना बन्न लागेको छ
सारा संसार धर्ती आज
सङ्घर्षको मैदा भा छ
थाहा छैन तत्काल युद्ध
कसको पोल्टामा जाला ?
तर हाम्रो विश्वास छ–
युद्ध हाम्रै पक्षमा छ
किनकि हामी
न्याय र समानताको लडाइँ लड्दै छौँ
बहुसङ्ख्यक उत्पीडित वर्गको साथमा
उदीयमान सर्वहारा वर्गको माझमा ।

त्यसैले दृढताका साथ हामी भन्छौँ–
अबको संसार हाम्रै बन्ने छ
बुर्जुवाका पुराना सत्ता अब
ढल्दै गई रहेका छन्
नयाँ नयाँ जोशका साथ
नव मानव आई रहेछन्
त्यही नव मानव साथ
म पनि युद्ध मैदानमा छु
संसार बदल्ने अठोटसाथ
युद्धकै नौलो विहानमा छु
नौलो संसारमा उद्भाव ल्याउने
धारिलो तिख्खर हतियार बन्दै छ
आत्मसमर्पण गर भन्दै
मलाई बुद्धि दिनेहरुलाई
म चुनौती दिन्छु–
मेरो शरीर कायरतादेखि होइन
साहसमुखी बनी रहेछ
वर्ग सङ्घर्षको असली शिक्षाले
झन् झन् दृढ बनी रहेछ ।

दुश्मन हजारौँ कोष टाढा छ
झुक्नु पर्ने दिनहरु त अब
दुष्ट शोषक दलालको छ
पुराना विचार संस्कृति
राहु झैँ बनी रहेछ
त्यसैले विजयको शङ्खनाद गर्दै
हिमाल पहाड तराई तम्तयार बनी रहेछ
साराका सारा विश्वका देशहरुमा
शोषकको तख्ता पल्टिदै छ
मजदुर सत्ता जन्मिदैछन्
सर्वहाराहरु शिखर चुम्न लम्किदै छ
अँध्यारा दिनहरु चम्किला ताराले
चम्काई रहेछन्
जताततै बिहानी लालीको आगमनको
हर्षोल्लास छ
उज्यालो छर्न सूर्यका किरण
कैयौँ गुना आतुर छन्
त्यस्तो नौलो नयाँ दिन
साँच्चै सुनौलो दिन बन्ने छ
सारा धर्ती खुशियालीमा एकैसाथ रम्ने छ
त्यही उज्ज्वल नयाँ दिन
छिट्टै अब आउने छ
क्रान्तिको ज्वाला विजयको झण्डा फहराउँदै
समाजको नयाँ दैलो उघार्दै ।

हो छिट्टै आउने छ
दुनियाँका सारा कठिनाइ लत्याउँदै
शोषकका सारा कर्तुत हत्याउँदै…… ।

रंगमञ्चबारे संक्षिप्त विवेचना
बर्टोल्ड ब्रेख्त
१८९८ मा जर्मनीमा जन्मेका राम्रा नाटककार, कवि र रङ्गमञ्च निर्देशक पनि हुन् बर्टोल्ट ब्रेख्त । हिटलरको शासन कालमा कहिले युरोप त, कहिले अमेरिकामा प्रवासी जीवन बिताएका ब्रेख्त हिटलरको पतनपछि १९४९ मा बर्लिन फर्के । हुन त उनले जीवन कालमा कहिल्यै पनि कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण गरेनन् तर १९२० को दशकदेखिका उनका कृतिहरु सामाजिक सौन्दर्य शास्त्रका सिद्धान्त र व्यवहारलाई उजागर गर्ने खालका छन् । उनको इपिक थिएटर (महाकाव्य रङ्गमञ्च) को अवधारणा पूर्णतः आधुनिक विचारयुक्त मानिन्छ, जसमा यथार्थवादलाई प्रयोगधर्मी तौरतरिकाहरुसँग जोडेर मनोरञ्जन प्रदान गरिन्छ । उक्त रङ्गमञ्चमा कलाकार र दर्शकहरु दुवै सक्रिय रहनु पर्छ, जसले गर्दा पृथकीकरणको असर देखाउन सजिलो हुन्छ । उनको रङ्गमञ्चको अवधारणा आधुनिक यथार्थवाद सँग नजिक छ तर लुकास जस्ता सामाजिक यथार्थवादीहरुसँग मेल भने खाँदैन । १९४८ मा लेखिएको र १९४९ मा प्रकाशन गरिएको द सर्ट ओर्गानम ब्रेख्तको अवधारणा प्रस्टाउने र साहित्यलाई समाजवादी धारबाट व्याख्या गर्ने प्रभावकारी पुस्तक हो ।
–१–
रङ्गमञ्चले मानिसका बीचमा घटेका काल्पनिक अथवा वास्तविक घटनालाई मनोरञ्जनात्मक दृष्टिकोणद्वारा सजीव चित्रण गर्दछ । नयाँ पुरानो जे भए पनि त्यसलाई नै हामी रङ्गमञ्च भन्दछौँ ।
–२–
यही परिभाषालाई हामी केही हदसम्म मानिस र भगवानका बीचमा घटेका घटनासँग पनि जोड्न सक्छौँ तर ती विषयवस्तु एकातिर पन्छाउनका लागि हामी न्यूनतम कोशिस गर्ने गर्छौं । त्यो हदसम्म स्वीकार गर्दा पनि हामीले अझै यो भन्नै पर्ने हुन्छ– रङ्गमञ्च संरचनाको महत्वपूर्ण काम भनेको मनोरञ्जन दिनु नै हो । हामीले जानेसम्मको रङ्गमञ्चको महत्वपूर्ण कार्य भनेको यही नै हो ।
–३–
अरू कलाले जस्तै रङ्गमञ्चले पनि स्थापनादेखि नै मानिसलाई मनोरञ्जन दिने काम गर्दै आई रहेको छ । त्यही कार्यले नै रङ्गमञ्चलाई खास इज्जत दिएको छ । रङ्गमञ्चलाई मनोरञ्जन बाहेक अरू कुराको आवश्यकता पनि पर्दैन । उक्त परिभाषालाई उल्ट्याउनु नै छ भने पनि हामीले रङ्गमञ्चलाई कुनै पनि माध्यमद्वारा उच्च स्थान दिनु आवश्यक पर्दैन, उदाहरणका लागि नैतिकताको व्यवस्थापकको रूपमा । यदि रङ्गमञ्चले नैतिकताको साथमा मनोरञ्जन दिन असफल भयो भने हाम्रो नयाँ परिभाषा पनि आधारहीन बन्ने खतरा रहन्छ । रङ्गमञ्चबाट कुनै किसिमको शिक्षाको आशा पनि गर्न सकिदैन । यसको वस्तुगत वा अध्यात्मिक परिधिमा कुनै पनि हालतमा मनोरञ्जनात्मक बाहेक अन्य कुनै उपभोगमुखी सन्देशको आशा गर्न सकिदैन । वास्तवमै रङ्गमञ्च पूर्णतः अपेक्षाधिक हुनु पर्छ, किनकि हामी त्यसैमा बाँची रहेका छौँ । मनोरञ्जनभन्दा प्रमाणित गर्न सजिलो अरू केही हुँदैन ।
–४–
त्यसैले अरस्तुपछिका प्राचीन मानिसहरुले वियोगान्त नाटकबाट मनोरञ्जन बाहेक अरू केही पनि माग गरेनन् । रङ्गमञ्च धर्मबाट आएको भनेर त भनिन्छ तर यो पनि भन्न सकिन्छ– दुवैलाई छुट्याएपछि मात्र रङ्गमञ्च बन्न पुग्छ । त्यसो भए प्राचीन धार्मिक कार्यमा नभएको रहस्य रङ्गमञ्चले लिएर आयो ? अरस्तुले लेख्ने गरेका संवेगरेचन (क्याथरसिस) नै एउटा शुद्धीकरण हो, जुन आनन्दित रूपमा मात्र सम्पन्न गरिँदैन, मनोरञ्जनको उद्देश्यका लागि पनि गरिन्छ । रङ्गमञ्चबाट धेरै चाहना गर्नु भनेको आफैलाई होच्चाउनु मात्र हो ।
–५–
जब मानिसहरु आनन्दको उच्च र निम्न तहहरुका बारेमा विचार राख्छन्, उनीहरुलाई कलाले भावहीन तरिकाले हेर्ने गर्छ । जति बेलासम्म कलाले मानिसलाई आनन्द दिन सक्छ, त्यतिखेरसम्म यसले माथि, तल र बायाँतिर शान्तसँग रहने चाहना गर्छ ।
–६–
तर पनि रङ्गमञ्चले निर्माण गर्ने साधारण र जटिल खालका आनन्दहरु छन् । जसरी प्रेमद्वारा सहवासमा पुगिन्छ, त्यसरी नै जटिल खालका आनन्दहरु उच्च तहमा पुग्छन् । तिनीहरु अत्यन्त जेलिएका हुन्छन्, भावमुखी हुन्छन्, विरोधाभाषपूर्ण हुन्छन् र बढी परिणामुखी हुन्छन् ।
–७–
तत्कालीन समयमा समाजभित्र रहने मानिसको अवस्था अनुसार नै आनन्दहरु पनि विभिन्न समय अनुसार फरक फरक हुन्छन् । लुई चौधौँको सामन्ती दरवारिया शासनमा भन्दा कुनै निरङ्कुश शासकद्वारा शासित ग्रीक जनताले फरक तरिकाले मनोरञ्जन प्राप्त गर्नु पथ्र्याे । मानवीय जीवनका फरक फरक अवस्थाको एकैसाथ प्रतिनिधित्व गर्ने खालको रङ्गमञ्चको आवश्यकता महशुस गरिन्थ्यो । उक्त प्रतिनिधिहरु फरक जीवनको मात्र नभएर फरक खालको प्रतिनिधित्व गर्ने हुनु पथ्र्यो ।
–८–
मानवीय जीवनको अवस्थामा आकर्षक र सम्भाव्य हुने खालका मनोरञ्जन अनुसार नै पात्रहरुलाई फरक खालको भूमिका दिइन्थ्यो र त्यस्तै फरक दृष्टिकोण अनुसार नै परिस्थितिहरु निर्माण गर्नु पथ्र्याे । कथाहरु फरक किसिमले भनिने हुँदा ग्रीकहरु अज्ञातलाई पनि सजाय कम नहुने अपरिहार्य दैवी नियमहरुसँग आफ्नै किसिमले आनन्दित हुन सक्थे । त्यस्तै गरी, पृथ्वीका ठुलाबडाहरुद्वारा गरिने कर्तव्यको दरबारिया नियमकोे आत्म नियन्त्रणबाट फ्रान्सेलीहरु आनन्दित हुन्थे । त्यस्तै, एलिजाबेथ युगका अङ्ग्रेजहरु पनि तत्कालीन युगमा अनियन्त्रित रूपमा फैलिएको नयाँ खाले निजात्मक व्यक्तित्वको स्वचेतनाशीलतामा रमाउने गर्थे ।
–९–
हामीले सदैव यो पनि सम्झी रहनु पर्छ– त्यस्ता फरक खालका प्रतिनिधित्वहरुले दिने आनन्द प्रतिनिधित्वको समानता देखाउने कार्यसँग मुश्किलले आधारित हुन्छ । अझ गल्ती र उल्लेख्य असम्भाव्यतासँग त झन् मुश्किलले पर्छ, यद्यपि गलत प्रतिनिधित्वसित केही हदसम्म स्थिरता रहन्छ र असम्भाव्यता आफैमा स्थिर हुन्छ । यी सम्पूर्ण कुराहरु भनिएका कथामा बाध्यकारी क्षणको भ्रम पैदा गरिएको हुन्छ, जुन सबै प्रकारका काव्यिक र रङ्गमञ्चीय माध्यमद्वारा निर्मित हुन्छन्, यद्यपि आज पनि हामीहरु त्यस्ता खाले गल्तीलाई नदेखे झैँ गर्ने गर्दछौँ । यदि सोफोक्लिजको अध्यात्मिक शुद्धताबाट रासिनको बलिदानी कार्यबाट, सेक्सपियरका अनियन्त्रित उन्मादबाट, तिनीहरुका कथाका प्रमुख पात्रका वैभवशाली भावनालाई समात्न सक्यौँ भने केही पाउन सक्छौँ ।
–१०–
रङ्गमञ्चले प्राचीन समयदेखि गर्दै आई रहेको मानिसबीचमा घट्ने घटनाको विभिन्न खाले प्रतिनिधित्वले गल्ती र असम्भाव्यताका बाबजुद पनि मनोरञ्जन दिँदै आई रहेका छन् । वर्तमानका त्यस्ता धेरै सङ्ख्यामा भएका प्रतिनिधित्वले पनि हामीलाई मनोरञ्जन नै दिन्छन् ।
–११–
हामी त्यो हदसम्म फरक फरक समयावधिमा भएका प्रतिनिधित्वबाट सन्तुष्ट हुन सक्छौँ, जुन कुरा त्यस बेलाकै बालबच्चाहरुका लागि मुश्किलले सम्भव हुन सक्यो भने के हामी आफै समयमा उचित मनोरञ्जन प्राप्त गर्न असफल भएकोमा शङ्काको घेरामा छैनौँ र ?
–१२–
यद्यपि हाम्रो जीवन उनीहरुको जस्तै भएको महशुस गरिए पनि हाम्रा रङ्गमञ्चबाट प्राप्त हुने मनोरञ्जन भने प्राचीन मानवका भन्दा कमजोर सावित भएका छन् । हामीहरुले पुराना कामलाई समानुभूति जस्तो तुलनात्मक रूपमा नयाँ तरिकाले अपनाउँछौँ, जसमा उनीहरु कम मात्रामा आधारित हुन्थे । त्यसैले हाम्रा पुर्खाहरुले प्राप्त गर्न सक्षम हुनेभन्दा हाम्रो मनोरञ्जनका स्रोत मूलतः अरूमा निर्भर छन् । हामीहरु भाषाको सुन्दरतामा, कथानकको वैवभतामा, हाम्रो व्यक्तिगत कल्पनालाई एकत्रित गर्ने पाठमा पूर्णतः निर्भर हुन्छौँ । तिनीहरु नै कथामा भएका कमी–कमजोरीलाई लुकाउन निश्चित काव्यात्मक र रङ्गमञ्चीय माध्यम हुन् । हाम्रा रङ्गमञ्चमा त्यस्ता कथाहरु भन्न सक्ने क्षमता वा इच्छा नै छैन, यद्यपि तिनीहरु महान् सेक्सपियर कालका नै किन नहुन् । अरस्तुको भनाइ अनुसार नाटकको आत्मा भन्ने नै कथानक हो । हामीहरु मानवीय जीवनलाई खस्रो र बेहोसीपूर्ण तरिकाले प्रतिनिधित्व गरेका देखेर बढीभन्दा बढी विचलित भएका छौँ, जुन काम प्राचीन कृतिहरुमा मात्र नभएर पुरानो स्वादमा बनाइएका नयाँ कृतिहरुमा पनि पाइन्छ । हाम्रो प्रशंसाका तरिकाहरु पूर्णतः मिति गुज्रेका हुन थालेका छन् ।
–१३–
हामीलाई रङ्गमञ्चको आनन्दबाट वञ्चित गर्ने खालका मानवीय घटनाको प्रतिनिधित्व हुनु भनेको गलत तरिका हो । त्यसै कारणले त रङ्गमञ्चमा देखाइने कुराप्रति हाम्रो र हाम्रा पुर्खाको फरक सम्बन्ध रहेको छ ।
–१४–
जब हामी रङ्गमञ्चले मानवीय जीवनको प्रतिनिधित्व गर्दा समग्र र संवेदनशील तथा तत्कालै प्रभाव पार्ने मनोरञ्जनको खोजी गर्दर्छाैं । हामीले आफूलाई वैज्ञानिक युगका बच्चाबच्चीको रूपमा सम्झिनु पर्छ । हाम्रो सामाजिक जीवनलाई विज्ञानको नयाँ तरिकाले निर्देशित गरेको छ ।
–१५–
सयौँ वर्ष अगाडि फरक फरक देशमा बस्ने तर एक–आपसमा सहमत हुने केही सीमित मानिसले प्रकृतिको रहस्य निचोर्ने आशामा निश्चित किसिमका परीक्षणको प्रदर्शन गरे । ठुला सहरमा बस्ने कालिगढको एउटा वर्गका मानिसले आफ्नो नयाँ परीक्षणलाई जनमानसमा ल्याई दिए र तिनीहरुले त्यसको व्यावहारिक प्रयोग गरे । उनीहरुले व्यक्तिगत फाइदा बाहेक नयाँ विज्ञानबाट केही पनि फाइदाको आशा गरेनन् ।
हजारौँ वर्षसम्मका तौरतरिकामा अपरिवर्तनशील रहेको कला वर्तमानमा व्यापक विकसित भएको छ । धेरै ठाउँमा प्रतिस्पर्धासँग जोडिएर भिन्न भिन्न दिशाका मानिसहरु जम्मा हुन्छन् र धेरै मात्रामा कलाको उत्पादन गर्दछन् । कुनै समयमा नचिताएका दुर्लभ कुरामाथि पनि मान्छेले आफ्नो शक्ति देखाउन थालेका छन् ।
–१६–
मान्छेले पहिलो पल्ट आफ्नो गृह–ग्रहलाई बस्नयोग्य बनाउन पहिलो पल्ट सचेत र सामूहिक प्रयासको सुरुवात गरेको छ । पृथ्वीका धेरै तत्वहरु, जस्तै– कोइला, तेल, पानी अहिले आएर बहुमूल्य सम्पत्ति बनेका छन् । यन्त्र चलाउन बाफ निर्माण गरियो । केही झिल्का र भ्यागुताका खुट्टाको तन्काइले बत्ती उत्पादन गर्ने प्राकृतिक शक्तिको रहस्योद्घाटन गरी दिए र आवाजलाई महादेशभन्दा बाहिरलाई दिए । सबैतिरबाट मान्छेले आफूलाई नयाँ दृष्टिले हेर्न थाल्यो । आफूलाई सजिलो बनाउन थाल्यो तर अझै पनि अज्ञात वस्तुहरु रहन पुगे । मान्छेको वातावरण एक दशकदेखि अर्काे दशकसम्म निकै परिवर्तन हुन थाल्यो । मैले अहिले यो लेख लेखी रहेको मेसिन मेरो जन्म हुने बेलासम्म अज्ञात नै थियो । मेरा हजुरबुबाले कल्पना नै नगरेका द्रुत गतिको नयाँ यानमा म सवार हुन्छु । ती पुराना दिनहरुमा केही कुरा पनि यति छिटो चल्दैनथ्यो । मेरो बुबाले गर्न नसकेको काम म हावामा उड्दै छु । म बुबासँग महादेशको चौडाइभन्दा बाहिरको कुरा गर्थें तर अहिले म मेरै छोरासँग हिरोसिमा विस्फोटनको चलायमान तस्बिर हेर्दै छु ।
–१७–
नयाँ विज्ञानले गर्दा नै यो व्यापक परिवर्तन सम्भव भएको हुन सक्छ र हाम्रो वातावरणलाई महत्वपूर्ण परिवर्तन गरी दिएको छ । तर अझै पनि हामीले सम्पूर्ण कुराहरु विज्ञानले नै निर्धारित गरी रहेको छ भनेर भन्न सक्दैनौँ । किन नयाँ किसिमको सोचाइ र भावनाले मान्छेको ठुलो समुदायलाई अझैसम्म पनि हस्तक्षेप गर्न सकेन त ? प्रकृतिलाई नियन्त्रणमा राख्न र चुस्न सफल भएको विज्ञानलाई शक्तिमा ल्याउने बुर्जुवा वर्गले अन्धकार छाएको अर्कै क्षेत्रमा प्रयोग हुनबाट रोकी रहेको छ । सबै मान्छे समान हुन् भन्ने उक्त कार्य नयाँ बौद्धिक तौरतरिका बिनै प्रयोग गरिएको थियो । त्यसैले गर्दा नै यसको प्रयोग गर्ने मानिसबीच सुमधुर सम्बन्ध स्थापित गर्न सजिलो बनाएको छ ।
–१८–
वर्तमानमा मािनसबीचको सुमधुर सम्बन्ध तोड्न पहिलेभन्दा बढी समूहमा विभक्त गरेको छ । उत्पादनमा वृद्धि हुँदा पीडाको पनि वृद्धि हुँदै जान्छ । थोरै मान्छेको पनि शोषण गर्ने हुनाले प्रकृतिको पनि शोषण गर्न छाड्दैनन् । सबै जनाको प्रगति हुँदा केहीलाई मात्र फाइदा हुन्छ । उत्पादनशीलताको सदैव वृद्धि विनासकारी युद्धको माध्यम बन्न पुग्छ । त्यस्तो युद्धको समयमा हरेक देशका आमाहरुले आफ्ना बच्चालाई काखी च्यापेर त्रसित हुँदै विज्ञानको घातक आविष्कार आकाशमा खोज्छन् ।
–१९–
विज्ञानका घातक आविष्कार जस्तै मान्छेले पनि कुनै समयमा अनुमान नै गर्न नसकिने प्राकृतिक विनास गरे । त्यसैको परिणाम अहिले भोग्दैछन् । विज्ञानलाई फाइदाको रूपमा मात्रै लिने बुर्जुवाले यसको फल आफैले मात्र लियो । दमनलाई परिवर्तन गर्न प्रयोग ग¥यो । उक्त वर्गलाई राम्ररी थाहा थियो– यदि विज्ञान सञ्चालनका कार्यहरु यथावत नै रहने हो भने यसका नियम नै एक दिन भङ्ग भएर जानेछन् । त्यसैले त सयौँ वर्ष अगाडि स्थापना भएको र मानव समाजको चरित्रको व्याख्या गर्ने विज्ञानको जन्म नै कामदारहरुको एउटा नयाँ वर्गका बीचमा विज्ञानको विकास हुँदै गयो र उक्त वर्गको प्राकृतिक तत्व नै बृहत् उत्पादन गर्नु थियो । त्यहाँदेखि नै शासकद्वारा सञ्चालित व्यवस्थामा ठुला ठुला विनास देखिन थाले ।
–२०–
मान्छेको जीवनलाई सजिलो पार्ने विन्दुमा विज्ञान र कलाको मिलन हुन्छ । एउटाले जीवनलाई व्यवस्थित गर्छ र अर्काेले हामीलाई आनन्द दिन्छ । आगामी युगमा पनि कलाले नयाँ उत्पादनशीलता मार्फत् मनोरञ्जन दिई रहने छ । त्यसले नै हाम्रो अवस्था सुधार गर्ने छ । यदि यसलाई नबिगारी राख्ने हो भने सबैभन्दा ठुलो आनन्द प्रदान गर्ने छ ।
–२१–
यदि हामीले आफूलाई उत्पादनको उक्त बृहत् उत्कण्ठाप्रति समर्पित गर्दै जाने हो भने मानव जीवनका प्रतिनिधित्वहरु कस्ता देखिन पुग्लान् ? हामीले आनन्दपूर्वक रङ्गमञ्चमा उतार्न समाज र प्रकृतिप्रति उक्त उत्पादनशील अवधारणाले कस्तो प्रभाव पार्ला ?
–२२–
उक्त अवधारणा छिद्रान्वेशी हुन्छ । यो नदीतिर फर्केर नदीकै परिचालन गर्नु, फलफूलको रुखतिर फर्केर रुख बढाउनु, हवाईजहाज र गाडी निर्माण गर्दा गतिको मापन गर्नु र समाजसँगको साक्ष्ाँत्कारमा समाजलाई नै उल्टाई दिनु सरह हो । हाम्रो मानवीय सामाजिक जीवनको प्रतिनिधित्वहरु तिनै नदी किनारावासी, फलफूल उत्पादक, यन्त्र निर्माणकर्ता र समाज उल्टाउनेहरुका लागि नै हुन् र तिनीहरुलाई नै हामी रङ्गमञ्चसम्म आमन्त्रण गर्दछौँ । जब हामी उनीहरुको दिमाग र हृदयका लागि एउटा दुनियाँ प्रदान गछौँ र उनीहरुका रमाइला पेसाहरु नबिर्सिकनै आत्मनिर्णय अनुसार परिवर्तित हुन भन्छौँ ।
–२३–
त्यस्ता स्वतन्त्र अवधारणाहरु रङ्गमञ्चले मात्र उठाउन सक्छ । यो समाजका सबैभन्दा बलियो धारहरुसँगै बहन्छ । समाजमा महान् विकल्पहरु प्रस्तुत गर्न अधैर्य हुनेहरुसँग रङ्गमञ्च सम्बन्धित हुन्छ । अरू केही नभएर पनि कला समयानुकूल भयो भने मात्र हाम्रो वैज्ञानिक युगको रङ्गमञ्च सहरदेखि बाहिरतिर केन्द्रित हुन्छ । जहाँ रङ्गमञ्च आफ्ना ठुला ठुला समस्याका बाबजुद पनि खुला रूपमा परिश्रमी र उत्पानशीललाई मनोरञ्जन प्रदान गर्न सक्षम हुन्छ । उनीहरुले हाम्रो कलाको मूल्य तिर्न र मनोरञ्जनको नयाँ तरिका बुझ्न कठिन मान्नेछन् । हामीहरु पनि विभिन्न तरिकाबाट उनीहरुले के चाहन्छन् र कसरी चाहन्छन् भन्ने बुझ्नु पर्छ । उनीहरुको चाहनाको निश्चितताका बारेमा पनि ढुक्क हुनु पर्छ र प्राकृतिक विज्ञानबाट टाढा रहेका मान्छेहरु आफैँ टाढा नभएर दबाबपूर्ण तरिकाले टाढा राखिएका मात्र हुन् । पहिले उनीहरुले नै समाजमा नयाँ विज्ञानको विकास गर्थे । उनीहरु नै वैज्ञानिक युगका वास्तविक बालबच्चा हुन् । तिनीहरुले नै आवश्यक परेका बखतमा रङ्गमञ्चलाई चलायमान बनाउँछन् । उत्पादनशीलतालाई मनोरञ्जनको मुख्य स्रोत बनाउने रङ्गमञ्चले यसको आशयलाई पनि जोड दिन्छ, जहाँ स्व–उत्पादनले गर्दा मान्छेहरु मान्छेद्वारा नै आफूलाई व्यवस्थित गर्ने, मनोरञ्जन पाउने र रमाउने नाममा तडपी रहेका छन् । यदि वास्तविकताको प्रभावकारी प्रतिनिधित्व गर्ने हो भने रङ्गमञ्च वास्तविकताबाट परिचालित हुनु पर्छ ।
–२४–
त्यही वास्तविकताले नै रङ्गमञ्चलाई शिक्षा र आम सञ्चारको नजिक पु¥याउँछ । हामीले यसका सबै विविधताभित्रका ज्ञानका कच्चा पदार्थहरु खोलेर दुःख उठाउँदैनौँ, जसले सुरुदेखि नै आनन्द दिने कार्यलाई रोकी रहेका हुन्छन् । खोजीनीति अध्यापनका अझै पनि आनन्द पाउने स्वतन्त्रता छ । यसले समाजमा काम गर्नलायक प्रतिनिधित्वको निर्माण गर्दछ । यसले एउटा खेलले जस्तै समाजमा पूर्ण रूपमा प्रभाव पार्ने काम गर्दछ । रङ्गमञ्चले समाज निर्माण गर्नेलाई समाजका अनुभव विगत र वर्तमानलाई एकै तरिकाले संश्लेषण गर्दछ । यसले त्यस्तो तरिकाले संश्लेषण गर्दछ– दर्शकले दैनिक अथवा शताब्दीका मुख्य घटनालाई दिग्गज, कर्मठ र उत्तेजक बिहानले शुद्धीकरण गरेका धारणा, गूढार्थ र भावनालाई प्रशंसा गर्दछन् । उनीहरु समस्या समाधानबाट प्राप्त हुने बौद्विकता, आगामी व्यक्तिप्रति सहानुभूतिको व्यावहारिक भाव देखिने रौद्र रूप, मानवतालाई सत्कार देखाउने भावना अथवा मानवताको विभिन्न प्रकारबाट आनन्दित हुन्छन् । छोटकरीमा भन्नु पर्दा उत्पादनहरु गर्ने कुनै न कुनै तरिकाले आनन्दमा रमाउँछन् ।
–२५–
रङ्गमञ्चले आफ्ना दर्शकहरुलाई तात्कालिक युगको आचरणमा पनि रम्ने बनाउँछ, जो समालोचकमा थोरै मात्रामा उत्पादन हुन्छ । समालोचनात्मक तरिकालाई आनन्दमा रूपान्तरित गर्ने, त्यसो गर्दा रङ्गमञ्चले नैतिक धरातलमा केही पनि प्राप्त गर्दैन, यद्यपि पूर्ण समाज विरोधी पनि समाजका लागि मनोरञ्जनको स्रोत बन्न सक्छ, चाहे त्यो जतिसुकै धेरै मात्रामा होस् या जतिसुकै दबाबमूलक प्रस्तुति नै किन नहोस् । यस्तो बुझ्न सक्ने शक्ति भएको प्रमाणित हुन्छ र अरू अनावश्यक तर महत्वपूर्ण क्षमता विनासकारी अन्त्यका लागि प्रयोग हुन्छन् । निकै विनासकारीको पनि समाजले प्रशंसा गर्न सक्छ, यदि समाजले त्यसलाई राम्रोसँग बुझ्छ भने । त्यसपछि हामी त्यसलाई आफ्नो बनाउँछौँ ।
–२६–
हामीले आफ्नै अगाडि रङ्गमञ्चको सूक्ष्म चिरफारलाई स्वीकार गर्न गाह«ै पर्छ । अब हामी रङ्गमञ्चको एउटा क्षेत्रभित्र प्रवेश गरौँ र दर्शकमाथि यसको प्रभावका बारेमा हेरौँ । हाम्राबारेमा खोजीनीति गर्दा कुनै खास अवस्थामा हामी आफैलाई स्थिर भएको पाउँछौँ । उक्त स्थिर आकृतिहरु एक–आपसमा कमै मात्रामा कुराकानी गर्छन् । उनीहरुको सम्बन्ध सपनामा निदाई रहेको व्यक्तिहरुको जस्तो हुने गर्छ । वास्तवमा तिनीहरुका आँखा त खुलै हुन्छन् तर उनीहरु देख्नुको साटो घुरेर हेर्छन् । ध्यानपूर्वक सुन्नुको सट्टा कानले श्रवण मात्र गर्छन् । उन्मत्त भए झैँ रङ्गमञ्चमा हेर्छन् । उनीहरुका लागि हेर्नु र सुन्नु केवल क्रियाकलाप हुन् र ती आनन्ददायी पनि हुन्छन् । तर ती दर्शकले आनन्द मात्र होइन, रङ्गमञ्चमा जीवन्तता खोज्छन् । उक्त छुट्टिएको अवस्था, जसले अस्पष्ट र गहिरो सनसनी पैदा गर्छ, पात्रहरु उक्त क्रियाकलापमा झन् गहिरिँदै जान्छन् । हामी उक्त परिस्थितिलाई सहज रूपमा पनि स्वीकार गर्न सक्दैनौँ ।
–२७–
त्यस्ता उत्कण्ठाका क्षण र मानसिक अवस्था उत्पादन गर्न रङ्गमञ्चले दुनियाँको एक टुक्रा काटेर प्रदर्शित गरेको हुन्छ । यसको प्रदर्शक अति निम्न कोटीका वस्तुबाट बनाइएको हुन्छ । त्यस्ता खाले रङ्गमञ्चको प्रशंशा गर्नु पर्छ, जसले वास्तविक दुनियाँको अति कमजोर पक्ष उजागर गरेर पनि दर्शकको भावनालाई अत्यन्त चलायमान बनाई दिन्छ ।
–२८–
कुनै परिस्थितिमा हामीले त्यस्ता रङ्गकर्मीलाई माफी दिनु पर्छ, जसले आनन्दलाई पैसामा बिक्री गर्दछन्, दुनियाँको वास्तविक प्रतिनिधिले गर्दा ख्याति कमाउन सक्दैनन् र अवास्तविक कुराहरु जादुमय रूपमा प्रस्तुति गर्दछन् । तिनीहरुको मानवीय प्रतिनिधित्व गर्ने क्षमताका कामभित्र विभिन्न कोणबाट देखिन्छ । खास गरी मुख्य पात्रलाई गौण राखेर गौण पात्र मार्फत् मानवताको ज्ञान दिने गर्छन् । त्यसो गर्दा दर्शकलाई तिनीहरुसँग परिभाषित गर्न सजिलो हुन्छ र सबै सवालमा पात्रका सम्पूर्ण चरित्र साँधुरो अवस्थाबाट तानिएका हुन्छन् र एकै पल्ट यो कसरी भयो भन्न सक्छन् ।
जसरी रङ्गमञ्चमा एउटा बच्चाले खेलौनाको घोडा चढ्दा त्यो दृश्यले दर्शकहरुको मानसिकतालाई छुन्छ, किनभने त्यो दृश्य निश्चित सनसनीका लागि एउटा महत्वपूर्ण विन्दु बन्दछ । दर्शकहरु सपनामा देखे जस्तो यथार्थभन्दा टाढाको दुनियाँमा सहवर्ती बन्दछ ।
–२९–
हामी त्यस्तो रङ्गमञ्चको चिरफार गर्दैछौँ, जसले हाम्रो वैज्ञानिक युगका आशावादी साथीहरुको हृदयलाई कोमल पार्ने अरूको भनाइमा विश्वास गर्ने र आनन्दित हुने भिडमा उनीहरुलाई परिर्वतन गर्न सक्षम छ ।
–३०–
वास्तवमा आधा शताब्दीदेखि रङ्गमञ्चले समाजको संरचना विरुद्ध अथवा निश्चित सामाजिक खराबीका विरुद्ध विद्रोह गर्ने व्यक्तिहरुको तथा मानवीय सामाजिक जीवनको विश्वासिलो प्रतिनिधित्व गर्न सफल भएको छ । तिनीहरुले भाषा, कथानक र अध्यात्मिक मागका तात्कालिक र विशेष नियन्त्रणलाई प्रयोग गर्न रुचि राख्छन् । तिनीहरु हुर्के बढेको समयको विज्ञानको स्वच्छ हावा अहिले लगभग हराई सकेको छ । उक्त भिन्नतालाई विशेष महत्वका साथ लिइएन । प्रतिनिधित्वमा एउटाले अर्काेलाई आनन्दित तुल्याउदैनथ्यो । मानव सम्बन्धका क्षेत्र हाम्रो दृष्टिमा त आए तर ती क्षेत्र पकडमा आएनन् । प्राचीन तरिकाबाट हाम्रा भावनाहरु विकल्पविहीन नै रहे ।
–३१–
रङ्गमञ्चहरु सधैँभरि एउटा निश्चित वर्गले मात्र आनन्द लिने केन्द्र बने, जुन वर्गले मानवीय सम्बन्धलाई खुकुलो पार्ने साहस राखेन, वैज्ञानिक आत्मालाई प्राकृतिक क्षेत्रमा लागु गर्नबाट वञ्चित राख्यो । जनताको सानो हिस्सा निमुखा वर्गले मात्र, बौद्धिक व्यक्तिद्वारा व्यक्त अनिश्चित र कम महत्वमा जोड दिँदै, पुरानो खालको मनोरञ्जनको आवश्यकता महशुस ग¥यो । यस्तो खाले मनोरञ्जन गरिबका लागि भरपर्दाे राहत बन्यो ।
–३२–
अब हामी सम्पूर्ण अवरोधका बाबजुद पनि अगाडि बढ्नु पर्छ । जब हामी युद्ध मैदानमा ओर्लिन्छौँ, हामी लड्नु नै पर्छ । अविश्वासले हिमालहरु नै चलायमान भएको हामीले देखेका छैनौँ र ? एकपछि अर्काे वस्तु पर्दाले छोपिएको छ, अब हामी उक्त पर्दा खोलौँ ।
–३३–
कुनै बेला रङ्गमञ्च समाजबाट प्रभावित हुन नसके पनि यसले समाजको बनावटको प्रतिनिधित्व भने गर्दछ । आफ्नो समयको समाजका निश्चित नियमहरु नमान्ने इडिपस दण्डित भयो । भगवानले ती नियमहरु देख्छन् र उनी आलोचनाभन्दा बाहिर छन् । आफ्नो भाग्य आफ्नो छातीमा लिएर हिँडेका सेक्सपियरका एकान्तप्रेमी पात्र घातक र व्यर्थ रिसको खप्नै नसक्ने शक्ति लिएर आउँछन् । आफ्नै विनासको तयारी गर्छन् र तिनीहरुको जीवन विकृत बन्न पुग्छ । उक्त विनास पनि आलोचनाभन्दा बाहिर छ । मानवले जङ्गली आनन्दका लागि सबैतिर बलिदान दिन्छ । हामीलाई यो पनि थाहा छ– ती जङ्गलीहरुको पनि आफ्नै कला थियो । हामीले अब अर्के खाले कलाको निर्माण गर्नु पर्छ ।
–३४–
साधारण जीवनले अस्वीकार गर्ने उत्कर्ष र पराकाष्ठामा भाग लिन हाम्रो आत्मा अन्धकारमय शरीरलाई छोडेर सपना जस्ता लाग्ने रङ्गमञ्चका पात्रहरुभित्र प्रवेश कहिले गर्छ त ? त्यस्ता चरमोत्कर्षका क्षणहरुलाई काट्ने ती पात्रहरुका अनुभवमा विलीन हुँदा ती नाटकहरुको अन्त्यमा कस्तो प्रकारको राहत महशुस हुन्छ ? सामाजिक बन्देज कायम भएको र कानुनका अगाडि अज्ञानतालाई पनि क्षमा नदिइने समाजको इडिपसभित्र हामी प्रवेश गर्छाैँ । सबै चिज स्वामित्वमा आधारित हुने र इष्र्याले हामीलाई दुःख दिने हुँदा हुँदै पनि हामी ओथेलोभित्र प्रवेश गर्छाैँ । समाजमा प्रतिस्पर्धा गर्न र नियमहरु परीक्षण गर्नका लागि हामीलाई स्वतन्त्रताको आवश्यकता पर्छ अन्यथा हामीलाई यसले ध्वस्त बनाउँछ र पनि हामी वालेन्स्टाइनभित्र प्रवेश गर्छाैँ । गति दिन पुराना बानीहरु पनि घोस्ट तथा द वेभर्स जस्ता नाटकका लागि आवश्यक हुन्छन् । किनकि त्यहाँ पनि पृष्ठभूमिको आकारभित्र सामाजिक बनावटले आफैलाई प्रश्नका लागि खुला राख्छ । प्रमुख पात्रको सुक्ष्म दृष्टि, भावना र आवेगले हामीमाथि जबर्जस्ती गर्छन् । त्यसैले समाजका बारेमा हामीहरुले जति कुराहरु पृष्ठभूमिबाट थाहा पाउँछौँ, त्यति धेरै कुरा पात्र, कथा र अन्य अभिनयबाट थाहा पाउँदैनौँ ।
–३५–
हामीलाई त्यस्तो खालको रङ्गमञ्चको आवश्यकता छ, जसले मानवीय सम्बन्धका क्रियाकलापहरु हुने निश्चित ऐतिहासिक क्षेत्रभित्र हुने भावना, अन्तर्दृष्टि र आवेगहरु प्रस्फुटन गर्न दिने रङ्गमञ्च मात्र नभएर रङ्गमञ्चको आफ्नै क्षेत्र परिवर्तन गर्न सक्ने सोचाइ तथा भावनालाई प्रयोग र उत्साहित गर्न सकोस् ।
–३६–
कुनै पनि क्षेत्रलाई ऐतिहासिक रूपमा सम्बन्धित शब्दमा व्यक्त गरिनु पर्दछ । अर्काे शब्दमा भन्नु पर्दा हामीले विगत समयका फरक फरक सामाजिक संरचनालाई ग्रहण गर्ने र तिनलाई फरक देखाउने कुरालाई नङ्ग्याएर हाम्रो जस्तै सरल र शुद्ध पार्ने बानीलाई हटाउनु पर्छ, बरु हामीले तिनीहरुको विविधता र स्थायित्वविहीनतालाई हाम्रो आँखा अगाडि ल्याउनु पर्छ, जसले गर्दा हाम्रो आफ्नै समय पनि अस्थायी देखियोस् ।
–३७–
यदि हामी हाम्रो रङ्गमञ्चका पात्रहरु सामाजिक आवेग अनुसार चल्छन् । तिनीहरु समय अनुसार फरक फरक हुन्छन् भन्ने कुरामा निश्चित हुन्छौँ भने हामीले हाम्रा दर्शकलाई ती पात्रहरुसँग परिचित गर्न झन् कठिन बनाउँछौँ । दर्शकले म त्यो परिस्थितिमा भएको भए भनेर सोच्न थाल्छ । यदि हामी हाम्रो समयका कृतिहरुलाई ऐतिहासिक कामको रूपमा लिन थाल्यौँ भने उसले आफैले गरेको काम पनि नमिल्दो ठान्ने छ र त्यहाँबाटै आलोचनात्मक धारणा सुरु हुन्छ ।
–३८–
ऐतिहासिक अवस्थालाई रहस्यात्मक शक्तिका रूपमा कल्पना गर्नु हुँदैन, बरु ती अवस्थालाई मान्छेद्वारा निर्मित, व्यवस्थित रूपमा लिनु पर्दछ र ती अवस्थालाई हाम्रो अगाडि भएका क्रियाकलापको रूपमा लिनु पर्छ ।
–३९–
यदि एउटा पात्रले आफ्नो समयमा रहेर ऐतिहासिक व्यवहार देखाउँछ र अरू समयमा फरक प्रस्तुति देखाउँछ भने ऊ साधारण अर्थमा “हरेक व्यक्ति” हुन सक्तैन र ? यो कुरा सत्य हो, एउटा मानिसले आफ्नो वर्ग र परिस्थिति अनुसार फरक फरक रूपमा जवाफ दिन्छ । त्यसो हो भने हामीले जवाफका अरू भिन्नताहरु पनि हुन सक्छन् भनेर सोध्न सक्दैनौँ र ? एउटा जीवित मान्छे, जो प्रस्तुत परिस्थितिसँग परिचित हुन सक्तैन, उसलाई कहाँ राख्ने त ? यो पनि स्पष्ट छ– उसको रङ्गमञ्चको प्रतिरूपलाई प्रकाशमा ल्याई दिनु पर्छ । ऐतिहासिक परिभाषा दिने पूर्ण प्रतिरूपले अन्य क्षण र विशेषताको पनि झलक दिन्छ अथवा एउटा मान्छेले एउटा उपत्यकामा आफ्नो दृष्टिकोण परिवर्तन गरी वा एक–आपसमा बाझ्ने वाक्य उच्चारण गरी भाषण गर्दछ भने त्यहाँ जुध्ने प्रतिध्वनिका विरोधको त्यसले सामना गर्नु पर्छ ।
–४०–
त्यस्ता प्रतिबिम्बहरुले दर्शकको बौद्विकतालाई स्वतन्त्र र अति चलायमान छोड्नु पर्ने क्रियाकलापहरुको माग गर्छन् । दर्शकले हाम्रो समाजको उद्देश्यमूलक दबाबलाई मानसिक रूपमा त्याग्दै हाम्रो बनावटसँग काल्पनिक मिलनको आवश्यकता महशुस गर्दछन् । यही नै संश्लेषण गर्न र सफल गर्न नेतृत्वदायी भूमिका खेल्ने तरिका हो ।
–४१–
एउटा सिँचाइ विज्ञले पानीलाई पहाडी क्षेत्रमा लैजाँदा त्यस पानीको प्रवाह हुने चाप र फरक वेगका बारेमा विभिन्न काल्पनिक गति तथा पहिलेको (नदीको) आधार सहित नदीतिर हेर्छ । एउटा समाजवादीले नदीतिर हेरी रहँदा त्यसको छेउमा काम गर्ने कामदारका नयाँ खालका कुराहरु सुन्छ । त्यसै गरी, दशर्कले पनि रङ्गमञ्चको खाका र प्रतिध्वनिबाट त्यस्तै कामदारका परिस्थिति भेट्याउनु पर्छ ।
–४२–
त्यस्तै खालका प्रतिबिम्ब उत्पादन गर्ने उद्देश्यका साथ प्रथम र द्वितीय विश्वयुद्धको बीचमा बर्लिनको सिफवाउरडाम रङ्गमञ्चमा गरिने क्रियाकलाप पनि छुट्याइएको असरमा आधारित थियो । प्रतिनिधित्वले जसलाई एक्लो र पृथक बनाउँछ, त्यसको विषयवस्तु चिन्न हामीलाई सजिलो पार्छ । तर साथमा यसलाई अपरिचित जस्तो पनि पारी दिन्छ । प्राचीन र मध्ययुगीन रङ्गमञ्चले आफ्ना पात्रलाई मानव वा जनावरका मुकुण्डो लगाउन दिएर पृथक् बनाउँथे । एसियाली रङ्गमञ्चले आफै पनि साङ्गीतिक तथा मूक अभिनयको पृथक् असर देखाउँछन् । उक्त तरिका निश्चय पनि समानुभूतिका लागि बाधक थिए तर त्यो तरिकाबाट जति समानुभूति अरूबाट प्राप्त गर्न सकिदैनथ्यो, ती पुराना तरिकाको सामाजिक उद्देश्य हाम्रोभन्दा पूर्णतया फरक थियो ।
(ब्रेख्तको प्रस्तुत रचना हामीले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा वि.सं. २०७२ सालमा प्रकाशित माक्र्सवादी साहित्य सिद्धान्तका प्रतिनिधिमूलक विचारहरु पुस्तकबाट लिएका छौँ । त्यसको अनुवाद नवराज पाण्डेले र सम्पादन प्रा.डा. कृष्णचन्द्र शर्माले गर्नु भएको हो । यस अङ्कमा हामीले ब्रेख्तका ती ७६ मध्ये ४२ वटा अंशहरु प्रस्तुत गरी रहेका छौँ । आगामी अङ्कमा बाँकी अंशहरु प्रस्तुत गरिने छ ।)

जापानमा तिजी कार्यक्रम अविश्मरणीय
ओसाका । रोजगारीको सिलसिलामा जापानको टोकियो र ओसाकामा रहेका नेपालीहरुले यस वर्षको तिज अविश्मरणीय किसिमले मनाएका छन् । जापान नेपाली एकता समाजको टोकियो र ओसाका क्षेत्रीय समितिको आयोजनामा उनीहरुले भव्य र अविश्मरणीय किसिमले तिजी कार्यक्रम २०१७ मनाएका हुन् ।
जापान नेपाली एकता समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रमलाई नेपालबाट आमन्त्रित जन गायिका निलिमा पुन, लोक दोहरी गायिका मञ्जु पौडेल र लोक गायक तेजस रेग्मीका प्रस्तुतिहरुले अविश्मरणीय बनाएको थियो । जापान नेपाली एकता समाजको टोकियो क्षेत्रीय समितिले तिजको अघिल्लो दिन अगस्त २३, २०१७ (२०७४ भाद्र ७ गते) मा टोकियोस्थित मेगुरोकु मेगुरोमा तिजी कार्यक्रम सम्पन्न गरेको थियो । ओसाका क्षेत्रीय समितिले तिजकै दिन अगस्त २४ (२०७४ भाद्र ८ गते) का दिन को–को प्लाजा सिन ओसाकामा निकै भव्य तरिकाले तिजी कार्यक्रम सम्पन्न गरेको थियो ।
तिजी कार्यक्रमका लागि नेपालबाट आमन्त्रित जन गायिका निलिमा पुनले स्टेजमा उत्रेर आफ्नो प्रस्तुति दिदा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए । जन गायिका पुनले को–को प्लाजा सिन ओसाकाको स्टेजमा उत्रनासाथ देशको वर्तमान अवस्थाको दर्दनाक व्यथा सुनाउदै सुरुमा राष्ट्रिय एकताको गीत पस्किइन् । मधेशी पाहाडी बोलको उक्त गीत जन गायिका पुनले पस्की रहदा दर्शकहरुले ताली बजाएर साथ दिई रहेका थिए । परदेशिएका खसमको सम्झनामा स्वदेशमा रहेका चेलीहरुको मनमा सल्बलाएको भावनालाई समेटेर तयार पारिएको रक्तिमको चर्चित आएन परदेशी बोलको गीत जन गायिका पुनले प्रस्तुत गर्दा हल परै भावुक बनेको थियो । हलमा उपस्थित दर्शकमा महिला दिदीबहिनीहरुको सङ्ख्या ठुलो थियो । जन गायिका पुनले प्रगतिशील तिजी गीतहरुमा महिला दिदीबहिनीहरुलाई छमछमी नचाइन पनि । “फर्क फर्क हे छरिएका जहान”, “तिजै आयो भन्छन्” र “यो देशलाई” लगायतका तिजी गीतहरु जन गायिका पुनले प्रस्तुत गरी रहदा दर्शकले मन थाम्न सकेनन र अधिकांश महिला दिदीबहिनीहरु उठेर छमछमी नाच्न थालेका थिए ।
स्टेज क्विन को उपमा पाएकी लोक दोहरी गायिका मञ्जु पौडेलको प्रस्तुतिमा पनि महिला दिदीबहिनीहरु धोको फेरेर नाचेका थिए । आफ्ना चर्चित तिजी गीतहरु गायिका पौडेलले पस्की रहदा मञ्चमै पुगेर नाच्ने चेलिबेटीहरुको भिड नै लागेको थियो । आकर्षक उद्घोषण कला समेत बोकेकी गायिका पौडेलका प्रत्येक प्रस्तुतिहरुले उपस्थित दर्शकलाई निकै मोहित पारेका थिए । गायिका मञ्जु पौडेलले तिजी गीतका साथै आफ्नो चर्चित गीत “धुँवासरि” समेत प्रस्तुत गर्न छुटाइनन् ।
त्यस्तै, आकर्षक प्रस्तुति नेपालबाट आएका लोक दोहरी गायक तेजस रेग्मीको पनि रहेको थियो । स्थानीय जनजिब्रोयुक्त शब्दहरुलाई कलात्मक तरिकाले उनेर गीत बनाउन खप्पिस बागलुङकै कलाकार तेजस रेग्मीका गीतहरुमा पनि के पुरुष, के महिला सबै छमछमी नाचेका थिए । गायक रेग्मीले तिजी गीतका साथै दर्शकहरुको मागलाई मध्यनजर गर्दै आफ्नो चर्चित गीत “घुम पाकुम घुम” समेत प्रस्तुत गरेर दर्शकहरुलाई मन्त्रमुग्ध पारेका थिए ।
जापान नेपाली एकता समाजको नौमति बाजाको टोली कार्यक्रममा अर्को आर्कषणको केन्द्र बनेको थियो । रक्तिमका पुराना कलाकार सचित्र केसी र सिर्जना गौतमको नृत्य पनि दर्शकहरुको मन जित्न सफल रहेको थियो । जापानमै रहेर पनि आफ्नो कला मार्फत् नेपाली कला र संस्कृतिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका कलाकारहरु दुर्गेस कार्की, भुवन सापकोटा, दिपक केसी, दिनेस केसी, दिलु खत्री र यम सापकोटाको समेत प्रस्तुतिहरु रहेको ओसाकाको सो तिजी कार्यक्रम साँच्चै नै आकर्षक र अविश्मरणीय रहेको थियो । कार्यक्रमबाट अतिथि कलाकार, स्थानीय कलाकार, दर्शक र आयोजकहरु सबै निकै सन्तुष्ट देखिन्थे ।
ओसाका क्षेत्रीय समितिद्वारा उक्त कार्यक्रम आयोजना गरिए पनि त्यसलाई सफल पार्न जापान नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष यमलाल सापकोटा, वरिष्ठ उपाध्यक्ष भीम केसी र नेता हेमलाल गौतम लगायत अहोरात्र खटिनु भएको थियो । कार्यक्रममा सफल पार्न व्यवस्थापकीय कार्यमा उहाँहरुको महत्वपूर्ण हात रहेको थियो । कार्यक्रमको सञ्चालन आयोजक सङ्गठनका सचिव मिलन शर्मा र रक्तिमका पुराना कलाकार सचित्र केसीले गर्नु भएको थियो । कार्यक्रममा लक्की ड्र कुपन मार्फत् एक दर्शकलाई सुमेध टुस एन्ड ट्राभल्सले नेपाल जाने आउने टिकटको ब्यवस्था समेत गरेको थियो । उक्त लक्की ड्र चितवन घर भई हाल जापानमा रहनु भएका कृष्ण पौडेललाई परेको थियो । समग्रमा कार्यक्रम निकै भव्य सभ्य र शानदार रूपमा सम्पन्न भएको थियो ।

रक्तिमका अध्यक्ष जीवन शर्मालाई मातृशोक
काठमाडौँ । प्रगतिशील सांस्कृतिक आन्दोलनका धरोहर रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष जनगायक जीवन शर्मालाई मातृशोक परेको छ ।
शर्माकी आमा द्रौपदा देवी आचार्यको ८८ वर्षको उमेरमा २०७४ भदौ ३० गते शिक्षण अस्पताल काठमाडौँमा निधन भएको थियो ।्
निधन भएकै दिन पशुपति आर्यघाट काठमाडौँस्थित विद्युतीय शवदाह गृहमा उहाँको पार्थिव शरीरको अन्त्यष्टि गरिएको छ । दाहसंस्कार पूर्व आमा द्रौपदा देवीको आँखादान गरिएको थियो । सोही दिन आमा द्रौपदा देवी आचार्यप्रति अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, नेकपा (माओवादी केन्द्र) का नेता तथा साहित्यकार आहुति, प्रगतिशील लेखक सङ्घका अध्यक्ष मातृका पोख्रेल लगायतका नेपालका वाम तथा प्रगतिशील आन्दोलनमा क्रियाशील व्यक्तित्वहरुको ठुलो सङ्ख्यामा पशुपति क्षेत्र पुग्नु भएको थियो ।
जनगायक शर्माले आमाको मृत्यु पश्चात् परम्परागत काजकिरिया गर्नु भएन । शर्मा मात्र होइन, उहाँको परिवारका कुनै पनि सदस्यहरु परम्परागत काजकिरियामा बस्नु भएन । काठमाडौँको सिफलस्थित एक किरियापुत्री घरमा परिवारका सबै सदस्यहरु जम्मा भएर आमाको तस्बिर राखी पाँच दिनसम्म शोककाल बिताउनु भयो । साथीभाइ, आफन्त जन, राजनेता र सांस्कृतिक कर्मीहरु त्यहीँ गएर मृतकप्रति श्रद्धाञ्जली तथा शोक–सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गर्नु भयो ।
यसरी शोककाल बिताई रहेको स्थानमा आएर आमा उपचाररत रहँदा शिक्षण अस्पतालमा पुगेर आफूहरुप्रति सहानुभूति र समवेदना व्यक्त गर्नेहरुप्रति जनगायक शर्माले हार्दिक कृतज्ञता एवं आभार व्यक्त गर्नु भएको छ ।

रक्तिमको प्रशिक्षण सम्पन्न
तमघास । रक्तिम सांस्कृतिक अभियानले गुल्मीको सत्यवती–२, पिपलबोटमा तीन दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । रक्तिम सत्यवती गाउँ समितिको आयोजनामा सो कार्यक्रम २०७४ असोज १७ देखि १९ गतेसम्म सम्पन्न भएको थियो ।
रक्तिम जिल्ला समितिकी सदस्य उषा थापाको प्रमुख आतिथ्यता तथा प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको थियो । प्रगतिशील तथा जनवादी गीत, सङ्गीत र नृत्यको प्रशिक्षण दिइएको सो कार्यक्रमको अन्तिम दिन समापन कार्यक्रम आयोजना गरिएको थियो ।
राष्ट्रिय जनमोर्चा गुल्मीका सदस्य मित्रलाल त्रामू, अखिल नेपाल महिला सङ्घ गुल्मीकी जिल्ला अध्यक्ष जमुना कँुवर र प्रशिक्षार्थीका तर्फबाट थमी कँुवरले मन्तव्य राख्नु भएको सो कार्यक्रमको अध्यक्षता विमला कँुवरले र सञ्चालन निर्मला कँुवरले गर्नु भएको थियो ।

रक्तिमको जिल्ला भेला सम्पन्न
परासी । रक्तिम सांस्कृतिक अभियान, परासीको जिल्ला भेला २०७४ असोज २१ गते सुनवलमा सम्पन्न भएको छ । मेघराज गौतमको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन अभियानका केन्द्रीय सल्लाहकार रेम रानाले गर्नु भएको थियो ।
भेलाले मेघराज गौतमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको सचिवमा हमाल, कोषाध्यक्षमा वन्दना राना र सदस्यमा किरण तामाङ, मुना काफ्ले र सृजना राना रहनु भएको छ । समितिको दुई स्थान हाल रिक्त रहेको छ ।

जापानमा रक्तिम अभियान गठन
ओसाका । प्रगतिशील सांस्कृतिक अभियानको नायक सङ्गठन रक्तिम सांस्कृतिक अभियान जापानमा पनि गठन भएको छ ।
नेपालमा लामो समयसम्म रक्तिममा कार्यरत रहेर प्रगतिशील सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका जन कलाकार सचित्र केसी रक्तिम सांस्कृतिक अभियान जापानको अध्यक्षमा चयन हुनु भएको छ । त्यस्तै, रक्तिम जापानको उपाध्यक्षमा तेज केसी, सचिवमा गोपाल सापकोटा, सहसचिवमा खड्क पुन र कोषाध्यक्षमा प्रकाश बिसी (बादल) रहनु भएको छ । १३ सदस्यीय सो समितिका अन्य सदस्यहरुमा निरु मल्ल, मन बहादुर सलामी, धन केसी (विशाल), गोपाल खत्री, माया पुन, टीका केसी, दिलु खत्री र सिरु गौतम रहनु भएको छ । समितिको इन्चार्ज भीम केसी रहनु भएको छ ।
रोजगारीको सिलसिलामा जापानका विभिन्न शहरमा पुगेर पनि नेपाली कला, संस्कृति एवं प्रगतिशील सांस्कृतिक आन्दोलनको जगेर्नामा लागी परी रहेका कलाकारहरुको सेप्टेम्बर १९, २०१७ (२०७४ भदौ ३ गते) सम्पन्न भेलाले रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समिति जापान गठन गरेको हो । सो समिति जापान नेपाली एकता समाज अन्तर्गतको हो ।

रक्तिमको जिल्ला समिति पुनर्गठन
तौलिहवा । रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुको तेश्रो जिल्ला भेला सम्पन्न भएको छ । नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेको प्रमुख आतिथ्यता र अभियानका अध्यक्ष माधव भाट क्षेत्रीको अध्यक्षतामा चप्परगाउँमा सो भेला सम्पन्न भएको हो ।
भेलाले मन बहादुर नेपालीको अध्यक्षतामा ११ सदस्यीय रक्तिमको जिल्ला समिति पुनर्गठन गरेको छ, जसको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा सुलोचना पराजुली, सहसचिवमा पूजा रेग्मी र कोषाध्यक्षमा लक्ष्मी खनाल रहनु भएको छ । त्यस्तै, सदस्यमा ईश्वरा पुन, नारायण भाट क्षेत्री, गोविन्द बुढाथोकी र नर बहादुर घर्ती मगर रहनु भएको छ । सल्लाहकारमा निवर्तमान अध्यक्ष माधव भाट क्षेत्री र हिमलाल वाग्ले रहनु भएको छ ।
कार्यक्रममा अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष मेनका शर्मा, राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का सदस्य हिमलाल वाग्ले लगायतले शुभकामना दिनु भएको थियो । समारोहको अध्यक्षता माधव भाट क्षेत्रीले, सञ्चालन गोविन्द पौडेल र स्वागत मन्तव्य सुलोचना पराजुलीले गर्नु भएको थियो ।
उद्घाटन समारोहको समापनसँगै बन्द सत्र सुरु भएको थियो । बन्द सत्रमा अध्यक्ष माधब भाट क्षेत्रीले दोश्रो भेलादेखि हालसम्मका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्नु भएको थियो । मेनका शर्माको अध्यक्षता रहेको अध्यक्ष मण्डलले प्यानल प्रस्तुत गरेको थियो ।

रक्तिमको नगर समिति गठन
तौलिहवा । रक्तिम सांस्कृतिक अभियान कपिलवस्तु अन्तर्गत बुद्धभूमि नगर समितिको प्रथम भेला २०७४ भदौ २४ गते सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा प्रदेश नं. ५ का प्रदेश सदस्य हिमलाल वाग्लेको प्रमुख आतिथ्यता सो भेला गोरुसिङ्घेमा सम्पन्न भएको थियो । भेलामा रक्तिमका जिल्ला अध्यक्ष मान बहादुर नेपालीको पनि उपस्थिति थियो ।
भेलाले नर बहादुर घर्ती मगरको अध्यक्षतामा नौ सदस्यीय बुद्धभूमि नगर समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी खनाल, सचिवमा गोविन्द बुढाथोकी र कोषाध्यक्षमा विमला भुसाल रहनु भएको छ । त्यस्तै, सदस्यहरुमा भिमलाल घिमिरे, मञ्जु पौडेल, रुका बन्जाडे, सरस्वता अधिकारी र भोज बहादुर घर्ती मगर रहनु भएको छ ।
भेला नर बहादुर घर्ती मगरको अध्यक्षता र मीना नेपालीको सञ्चालनमा सम्पन्न भएको थियो ।

झटारो÷रारा नेपाल
चरी को चिठी
कमरेड अध्यक्षद्वय,
लाल अभिवादन !
यहाँ हामी कमरेड पुष्पलाल, मदन, मनमोहन, नारायण विलास, निरञ्जन गोविन्द, नर बहादुर, सुरेश वाग्ले, पोष्ट बहादुर, कृष्ण सेन, रत्न कुमार लगायत सबै कमरेडहरु विन्दास तरिकाले आरामै छौँ । आशा छ, चुनावी चटारोले व्यस्तता बढाएको भएता पनि मत्र्यलोकको कान्तिपुर नगरीमा रहनु हुने तपाईहरु सम्पूर्ण कमरेडहरु सकुशल रहनु भएको होला ।
कमरेड अध्यक्षद्वय,
यो खबर सुन्दा निश्चय पनि खुशीले गदगद हुनु हुने छ कि तपाईहरुले गरेको वाम एकताबाट यहाँ कमरेड पुष्पलालदेखि नर बहादुर कर्माचार्यसम्मका सबै वरिष्ठ कमरेडहरु हर्षविभोर हुनु भएको छ । कमरेड पुष्पलालले त मदन कमरेडलाई भन्दै हुनु हुन्थ्यो– “ऊ हेर्नू त कमरेड, मेरो सपना साकार हुँदै छ । कमरेड पुष्पलालले त्यसो भनी रहँदा कमरेड निरञ्जन गोविन्द बैद्य, नारायण विलास जोशी, नर बहादुर कर्माचार्य सबै सबै हर्षित मुद्रामा हुनु हुन्थ्यो । तपाईहरु दुवै अध्यक्ष कमरेडहरुलाई उहाँहरुले हृदयदेखि धन्यवाद दिनु भएको छ । कमरेड मदन र मनमोहनले छ्यास्स कुरा निकाल्नु भएको थियो– “आखिर यसरी हामीसँगै आउनु थियो भने २०५२ सालबाट त्यत्रो उपद्रो किन मच्याएको होला ? बल्ल अहिले ठिक भयो ।” कमरेड मदन र मनमोहनको कुराको जवाफ पनि कमरेड पोस्ट बहादुर र कृष्ण सेनले मुस्कुराएरै दिनु भयो– “त्यति नगरेको भए त तपाईहरुले पनि कहाँ गन्नु हुन्थ्यो र हामीलाई ?” विमति कसैको थिएन । अहिलेको चुनावी एकता र पछि पार्टी एकता गर्ने गरी तपाईहरु दुवैले बनाउनु भएको वाम गठबन्धनको खबरले सबै वरिष्ठ कमरेडहरुको मुहारमा छुट्टै चमक आएको थियो । उहाँहरुले त्यहाँ तपाईहरुले पार्टी एकताको घोषणा गर्दाका दिन यहाँ पनि विशेष समारोहको आयोजना गर्ने योजना बनाउनु भएको छ । उक्त समारोहमा कमरेड कार्ल माक्र्स, कमरेड लेनिन, कमरेड माओत्सेतुङ, कमरेड स्टालिन, कमरेड होची मिन्ह, कमरेड चे ग्वेभारा लगायत विश्व कम्युनिस्ट आन्दोलनका सबै महान् हस्तीहरुलाई बोलाउने कुरा गर्दै हुनु हुन्थ्यो ।
वरिष्ठ कमरेडहरुले खुशीले गदगद हुँदै त्यसरी योजना बनाई रहँदा मेरो मनमा भने अनेकथरि तर्कनाहरु खेली रहेका थिए । सशस्त्र द्वन्द्वकालका ती दिनहरु, शान्ति प्रक्रियामा आई सकेपछिका पनि ती कटुतापूर्ण सम्बन्धका दिन र घटनाहरु मेरो मानसपटलमा फन्फनी नाची रहेका थिए । आखिर अहिले यसरी नै मिल्नु थियो भने हिजो द्वन्द्वकालमा तिनकै सुराकी गर्न हामीलाई किन लगाइयो ? सिँगौरी खेल्दा कति ठाउँमा हाम्रा सिङहरु भाचिए– त्यसको कुनै गन्ती छैन । रुकुमका यदु गौतमको तस्बिर अहिले पनि आँखा अगाडि नाची रहन्छ । ती सबै विगतका कुरा भए कति सम्झी राख्ने ? बिर्सिएकै बेस । दुवैको जात, धर्म, भान्सा सबै मिल्थ्यो, त्यसैले मिलेकै राम्रो । बरु यस्तो मिल्ती धेरै पहिल्यै हुनु पथ्र्यो । हामीबीचमा फरक केही थिएन, मात्र फरक देखिनलाई अनेकथरि बहाना बनाइएको थियो । उनीहरुको पनि रातो रङ पुरै हराई सकेको थियो । हाम्रो त धेरै पहिल्यै हटी सकेको थियो, रातो रङ । दुवै काला काला भएपछि “काले काले मिलेर खाऊँ भाले” भन्ने व्यवस्था मिलाउनु नै उत्तम हुन्थ्यो । त्यो व्यवस्था अहिले आएर मिलाइयो राम्रै भयो । यसमा मेरो गुनासो यत्ति हो कि यस्तो मिलती धेरै पहिल्यै गर्नु पथ्र्यो । ढिलै भए पनि जे भयो, राम्रै भयो । त्यसैले अरू वरिष्ठ कमरेडसँगै यहाँ पनि म खुशी नै छु ।
त्यता वाम एकता हुने खबर पाएपछि यताको लोकमा वी.पी., सुवर्ण शमशेर, गणेश मान र गिरिजा बाबुहरुको पनि दैनिक बैठक चली रहेको छ । त्यताका देउवा, रामचन्द्र र सशाङ्कहरुको अवस्था कस्तो छ कुन्ति ? यता वी.पी. र जी.पी. हरुको निधारमा पसिना खाली छैन । छटपटिदै यता र उता दगुरी रहन्छन् । कमरेड पुष्पलालसँगको घटिष्टता पनि टुटाउनु भएको छ अहिले उहाँहरुले भेट हुँदा पनि देखेको नदेखे झैँ गरी हिड्छन् आजभोलि । जय प्रकाश नारायण र इन्दिरा गान्धीहरुले उहाँहरुलाई सान्त्वना दिदै हुनु आउनु भएको छ । उनीहरुको दैनिक मिटिङ चली रहेको छ । शायद त्यो वाम एकतालाई कसरी तोड्ने भनेर बृहत् योजना बनाउँदै छन् उनीहरु । तपाईहरुलाई मिल्न नदिन अनेकथरि जालहरु फ्याकिन सक्छन् भन्नेतर्फ तपाईहरु पक्कै पनि सचेत हुनु हुन्छ भन्ने मैलै ठानेको छु । चुनाव सकिएपछि पुरेतका गाई जस्तै चारतिर नछिरलिनु होला । त्यसरी छिरलिनु भयो भने त्यता देउवा, रामचन्द्र र मोदीका हाड हास्ने छन् भने यता वी.पी., जी.पी. र इन्दिराका । हाम्रा वरिष्ठ कमरेडहरुलाई यता पनि सम्हाल्न धौ धौ पर्ने छ हामीलाई ।
कमरेड अध्यक्षद्वय,
अहिले यो पत्र लेख्नु पर्नाको खास कारण भने अर्कै छ । तपाईहरुसँग मेरो थोरै गुनासो छ । कुनै पनि पार्टी चलाउनलाई तीन न को आवश्यकता पर्नेमा तपाईहरु जानकार र विज्ञ नै हुनु हुन्छ भन्ने सोचेको थिए मैले । तिन न अर्थात् डन, गन र धन बिना पार्टी चलाउन सकिदैन भनेरै तपाईहरुले हामी जस्ता स्वतन्त्र चरि हरुलाई आफ्नो घरभित्र भित्राउनु भएको थियो । आखिर हाम्रो साथ र सहयोगबाटै तपाईहरुले विगतका चुनावहरु जित्दै आउनु भएको थियो । आफ्नो काम फत्ते भएर या त्यहाँ हाम्रो औचित्य सकिएपछि वरिष्ठ कमरेडहरुको सुरक्षार्थ मलाई यता पठाउनु भएको होला भन्ने मैले सोचेको थिएँ । आखिर मलाई अन्तमा प्रहरी लगाएर सिसाको गोली उपहार दिनु भयो । तर आज देख्दै छु– “मनाङे” भाइलाई मनाङबाट प्रदेश सभामा सांसद बनाउँदै हुनु हुँदो रहेछ । यस्तो विभेद किन कमरेड ? एउटै चरित्र बोकेका हामी दुई पात्र एउटालाई यता पठाउने र अर्कोलाई प्रदेश सभामा किन ? के प्रदेश सभा भनेको यताको लोक जस्तै हो ? तपाईहरुको यो विभेदकारी नीतिले मेरो चित्त साह«ै फाटेको छ । लुगा भएको भए फाटे पनि सिलाउन सकिदो हो, चित्त फाटेपछि सिलाउन नमिल्दो रहेछ । अरुणा लामा दिदीले ठिकै गाउनु भएको रहेछ– “…….यसपालि त मनै फाट्यो केले सिउने केले टाल्ने हो……. ।” आफ्नो पेशा र काममा दीपक मनाङे, अभिशेष गिरी, गणेश लामा, सुजन बाहुन, विरेन्द्रे महर्जन, अभिमान सिंह बस्नेत, राजु श्रेष्ठ, सगुन श्रेष्ठ, ललित गुरुङ, विश्वक्रान्ति, प्रवेश श्रेष्ठ, मनोज पुन र कुमार घैँटे भन्दा म नै अब्वल थिए । शायद मेरो त्यही खुबी र क्षमता देखेरै तपाईहरुले मलाई पार्टीमा भित्राउनु भएको थियो । तर आज मलाई यता पठाएर त्यता ‘मनाङे’ लाई सांसद ? यसैमा हो, मेरो चित्त फाटेको । त्यो कुरा सम्झियो कि मन भक्कानिएर आउँछ ।
अस्ति भर्खर यहाँ मेरो घैँटे भाइसँग भेट भएको थियो । ऊ यहाँ आएर पनि वी.पी., जी.पी. हरुकै बथानमा बसेको रहेछ । गगन दाइले त्यहाँ गए सी वी.पी. र गणेश मानहरुसँगै बस्नु भनेकाले त्यतै बसेको भन्दै थियो । आखिर भेडा भेडाकै बथानमा, बाख्रा बाख्राकै बथानमा भनेको यही होला । यहाँ हाम्राबीचमा दैनिक वर्ग सङ्घर्ष चली रहन्छ । मेरो चिन्ता त्यहाँ खुश्बुको भन्दा पनि तपाईहरुको लागी रहेको छ । खुश्बु त अर्कै टिपेर सुइकिई सकी रे ! अब मलाई त्यसको चिन्ता छैन । मलाई त चिन्ता अब तपाईहरुको मात्र छ । अब तपाईहरुको सुरक्षा कसले गर्ला ? अब चुनाव कसरी जित्नु होला तपाईहरुले ? सुन्दै छु, गणेश लामा, रोज राणा सबै एकगठ भएका छन् रे, तपाईहरुलाई हराउन । अब तपाईहरुको अवस्था के होला ? तपाईहरुकै चिन्ताले गर्दा यो पत्र कोरेको हुँ ।
मलाई यता पठाए पनि त्यता रुपन्देहीतिरबाट त्यो मनोज भाइलाई उम्मेदवार बनाएको भए हुने थियो । हाम्रो बथानबाट नयाँ पुस्तामा अलि गरी खाने खाले त्यसैलाई देखेको छु मैले । उता गणेशले काभ्रेबाट रुखको टिकट पाएछन् । यता हाम्रो मनोज विचरा चिल्लै “हात लाग्यो सून्य” । जति धेरै डनहरुको प्रतिनिधि सभामा र प्रदेश सभामा प्रतिनिधित्व गराउन सक्यो, त्यति तपाईहरु सुरक्षित हुनु हुन्थ्यो । संसदभित्र वर्ग सङ्घर्ष चर्काउन तपाईहरुलाई मद्दत पुग्थ्यो । तपाईहरुले ल्याउन खोजेको समाजवाद पनि शायद अलि चाडै आउने थियो कि ! आगामी दिनमा यस्ता कुराहरुमा ख्याल राख्नु होला । क्रान्तिकारी डन हरुको संसदमा प्रतिनिधित्व सुनिश्चित गर्ने कुरालाई कहिल्यै नबिर्सनु होला, मेरो विशेष अनुरोध तपाईहरुलाई ।
अन्त्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तपाईहरुलाई विजयको शुभकामना सहित यो पत्रको यहीँ बिट मार्न चाहन्छु ।
उही तपाईहरुकै प्रिय चेलो
कमरेड चरी
स्वर्गलोकबाट